पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

पोखरा:   पोखरा महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको डिजिटल प्रविधिमा आधारित ४५ दिने तालिम विहिबार सम्पन्न भएको छ ।  तालिमको समापन कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता डा.सन्तोष कोइरालाले डिजिटल बजारमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्नुभयो ।  पछिल्लो पुस्ता विज्ञान र प्रविधिमा अभ्यस्त हुनु पर्नेमा जोड दिदै कोइरालाले डिजिटलमा आधारित शिपले बेरोजगार नरहने बताउनुभयो ।  राज्यले अनुसन्धानको क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिदै कोइरालाले अनुसन्धान विनाको योजना कार्यान्वयन हुन नसक्ने स्पष्ट पार्नु भयो ।  कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रविधिसँगै सामाजिक शिक्षामा स्थानीय सरकारले जोड दिनु पर्ने बताउनुभयो । डिन अधिकारी पछिल्लो पुस्ता प्रश्न सोध्ने भन्दा पनि मौन रहने र समस्याबाट भाग्ने प्रबृत्तिका रहेको बताउनु भयो । समस्यासँग जुध्ने भन्दा पनि भाग्ने प्रकृतिले युवापुस्ता पलायन हुँदै गएको उल्लेख गर्नुभयो ।  युवा बैज्ञानिक विकल्प ढुंगानाले शिप सिक्ने भन्दा पनि त्यसको निरन्तरता ठुलो कुरा भएको बताउनुभयो । उहाँले एउटा उमेर समूहमा जिज्ञासु बन्नेहरुले त्यसलाई निरन्तरता दिए मात्र लक्ष्य प्राप्ती हुने उल्लेख गर्नुभयो ।  समापन कार्यक्रमका अध्यक्ष समेत रहनु भएका पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले प्रविधिले युवा र देशलाई परिवर्तन गर्ने उल्लेख गर्दै, वडालाई प्रविधि मैत्री बनाउने गरी योजना शुरु गरिएको बताउनुभयो ।  अध्यक्ष थापाले युवा पुस्ताले प्रविधिको सिकाईपछि त्यसलाई आय आर्जनको माध्यमका रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।  उहाँले वडाले तीन सामुदायिक विद्यालयमा बुक फ्रि डे को अवधारणा अनुसार शिपविकासको प्रविधिलाई अगाडी बढाएको बताउनुभयो ।  ४५ दिनसम्म संचालन गरिएको तालिममा भिडियो सम्पादनमा ३१, ग्राफिक्स डिजाईनमा ४५, रोवटिक्समा २९ र व्यक्तित्व विकासको तालिममा १८ जना सहभागी रहेका थिए ।  समापन कार्यक्रममा प्रशिक्षार्थीहरुले तयार गरेको रिमोट कन्ट्रोल रोवटिक्स सिजरबाट रिवन काटेर शुभारंभ गरिएको थियो । साथै विद्यार्थीहरुले तयार पारेका छ वटा रोवटिक्स प्रोजेक्ट, बर्ष भरिका चाड पर्व विशेष दिनको ग्राफिक्स डिजाईन र छोटो डकुमेन्ट्री प्रदर्शनीमा राखिएको थियो ।  तालिममा प्रशिक्षार्थीका रुपमा रहेका विद्यार्थिहरुले पोखरा विश्वविद्यालयले आयोजना गरेको प्रविधि प्रतिस्पर्धामा सहभागी भै स्मार्ट कृषि र स्मार्ट डस्ठबिनमा दोश्रो र तेश्रो स्थान हासिल गर्नेलाई वडाध्यक्ष थापाले सम्मान गर्नु भएको थियो ।   

पोखरा:  कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य  पदार्थको उत्खनन तथा संकलन कार्यमा   रोक लगाइएको छ। नदिजन्य  तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो । ढुङ्गा,  गिटि ,बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड २०७७ को कानुनी ब्यबस्था बमोजिम उक्त निर्णय गरिएको हो । सो ब्यबस्था अनुसार असार ,साउन र भदौ महिनामा उत्खनन तथा संकलन कार्य गर्न नपाइने उल्लेख छ। सो निर्णय कडाइका साथ कार्यान्वयन गरिने र अवज्ञा गरेमा कानुन अनुसार कडा कारबाही गरीने सो समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनु भयो । पौडेलले सो कार्यमा सम्लग्न ब्यबसायी तथा आपूर्तिकर्ता र  सरोकारवालाहरू सहित आम जनसमुदाय सचेत हुँदै निर्णयको कार्यान्वयन र मापदण्डको पालनामा सरिक हुन आग्रह गर्नुभयो। बैठकले नदिजन्य पदार्थको मौज्दात आर्थिक बर्षको अन्त्य सम्म शून्य गर्नुपर्ने र सो हुन नसकेमा बाकी मौज्दात सम्बन्धित पालिकाले जफत गरि लिलाम गर्ने कानुनी ब्यबस्थालाइ कडाइका साथ लागू गर्न कास्कीका सबै पालिकालाइ अनुरोध समेत गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले उल्लेख गरे। संचालनमा रहेका खानी ,क्रसर तथा प्रसोधन उध्योगले असार मसान्त भित्र आफ्नो उत्पादनको बार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सार्बजनिक गरि सो को जानकारी सम्बन्धित पालिका र अनुगमन समितिलाई दिनुपर्ने ब्यबस्थालाई समेत कडाइका साथ अनुगमन गरिने निर्णय भएको  बरालले बताउनुभयो ।

पोखरा:   नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आपत्ति जनाउँदै आज देशभरका सुनचाँदी व्यवसायीहरुले पसल बन्द गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ  र नेपाल हस्तकला महासंघले आज र भोली पसल बन्द गर्दै बजेटमा आपत्ति जनाएका हुन् ।  सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर लगाएको , सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायीहरुल विरोध गर्दै आएका छन् ।  सुनचाँदी व्यवसायीहरुको तीन महासंघको केन्द्रिय सर्कुलर अनुसार व्यवसायीहरुले आज कास्कीका प्रमुख जिल्ला अधिकारी लाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् ।  व्यवसायीहरुले पोखराको सृजनाचोकमा जम्मा भएर नारा जुलुससहित रत्नचोक, वाइचोकहुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर ज्ञापन पत्र बुझाएका हुन् ।  व्यवसायीहरुले हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मुल्य अभिवृद्धि कर तत्काल पुनविचार गरी खारेज गरिनुपर्ने, सुनचाँदी कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहन गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने माग गरेका छन् ।  यस्तै कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावहरुको विस्तृत अध्ययन गरियोस् र त्यसबिना करको दायरा नबढाइनुपर्ने । छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्र्तराष्ट्रिय मान्यता प्राप्त को व्यवस्था गरिनुपर्ने ।  यस्तै निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिपर्ने माग गरिएको छ ।  सुनचाँदी व्यवसायीहरुले माग सम्बोधनमा सरकारले वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

पोखरा:   पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन्  ।  पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएकी थिइन् ।  बुबा भीमबहादुर तामाङले बुधबार उनी सम्पर्कमा आएको र परिवारको जिम्मामा रहेको बताए । पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखी खोजी गरेपनि भेटिएको थिएन ।   यो पनि पढ्नुहोस ​ विद्यालयबाट घर हिडेकी पोखराकी पूर्णिमा ६ दिनदेखि सम्पर्क विहिन    

पोखरा:   पोखरामा आज दिउँसो ल्यान्डिङ गर्ने क्रममा दुई वटा  प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् ।  पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो ।  सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो । उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पोखरा:   पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन देखि सम्पर्क विहिन भएकी छन् ।  पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएको उनका बुबा भीमबहादुर तामाङले जानकारी दिए ।  पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखी खोजी गरेपनि अझै सम्पर्कमा नआएको भीमबहादुरले जानकारी दिए । छोरी हराएर वडा प्रहरी कार्यालय बगर पुग्दा प्रहरीले सहयोग नगरेको समेत उनले गुनासो पोखे ।  बगर प्रहरीलाई खबर गर्दा नदिपुर प्रहरी विटमा पठाएको उनले सुनाए । पूणिमालाई भेटिएमा नजिकको प्रहरी कार्यालय वा ९७०८८१३२६४ वा ९८१९१०७०४० मा सम्पर्क गरिदिन उनले अनुरोध गरेका छन् ।

पोखरा:  पोखरामा खाना बनाउने सीप बढाउन तालिम शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको आयोजना, रेवान पोखराको सहयोग र हेल्बिटासको प्राविधि सहयोगमा तालिम शुरु भएको हो । पोखराको लेकसाइडमा रहेका विभिन्न रेष्टुरा तथा क्याफेमा कार्यरत ४० जना कुकहरु तालिममा सहभागी भएका छन् । उनीहरुलाई इन्डियन र कन्टिनेन्टल खाना बनाउने सीप स्तरोन्नति तालिम दिइने आयोजकले जानकारी दिएका छन् । तालिमको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटकहरुलाई स्तरीय र स्वदिष्ट खाना पस्किन तालिम उपयोगी हुने बताए ।  तालिम लिन व्यक्ति, काम गर्न सस्था र देशकै लागि पनि तालिम प्राप्त व्यक्ति हुदाँ फाइदा पुग्ने बताए । उनले तालिम लिइ सकेपछि इमान्दारीता पनि देखाउन आवश्यक रहेको बताए । कार्यक्रममा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले तालिमले अझ काममा अझ निखारता ल्याउने बताउदै तालिम पछि स्तरीय सेवा प्रदान गर्न लाग्नु पर्ने बताए । कार्यक्रममा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख विजय पौडेल, रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतम, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा सीप विकास एकाईका फोकल पर्सन सञ्जिब बहादुर कोइराला लगाएतले तालिमले खानाको गुणस्तरीयता बढाउने बताए । उनीहरुले विदेशमा थोरै जनशक्तीले पनि धेरै काम गर्ने प्रबृतिको उदाहरण दिदै तालिम पछि  उनीहरु पनिले पनि राम्रो काम गर्न विश्वस व्यक्त गरे । तालिम पछि सहभागीले व्यावसायिक खाना पकाउने सक्ने छन् । तालिममा अनुभवी शेफ, दिपक शर्मा, बिजय पौडेल लगाएतले इन्डियन परिकारजस्तै बटर चिकन, बिर्यानी, पनीर टिक्का लगायत र कन्टिनेन्टल परिकारहरु पास्ता, सिज्लर, स्टेक आदि बनाउने सीप स्तरोन्नति गर्न सक्ने बताउने छन् ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले तामाकोक तार चोरी गरेको आरोपमा ३ जना भारतीय नागरिक र १ जना नेपालीलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतको विहार स्थायी घर भई पोखरा १२ ढिकालेथर बस्ने २२ वर्षीय मनोज कुमार सिंह, सोही स्थानमै बस्ने भारतीय २७ वर्षीय करण कुमार शाह, पोखरा ८ बस्ने ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका २ स्थायी घर भई हाल पोखरा ५ जिरो किलो बस्ने ३१ वर्षीय श्याम बहादुर तामाङ रहेका छन् ।    उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले गत २३ गते पक्राउ गरेको हो ।   कास्की प्रहरीलाई पोखरा १४ छिनडाँडामा रहेको नेपाल टेलिकमको कपर केवल र अन्य घरायसी समाग्री चोरी भएको भन्दै निवेदन परेको थियो ।   सोही निवदेनको आधारमा खोजतलास गर्दै मनोज कुमार सिंहले ढिकालेथरमा सञ्चालन गरेको र मुकेश कुमारले पृथ्वीचोकमा सञ्चालन गरेको कवाडी खानामा उक्त समानहरु बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।   उनका अनुसार पक्राउ परेका ४ जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धि मुद्धामा ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।   यी हुन् बरामद गरिएका समानहरु:-      

पोखरामा पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिता आयोजना हुने भएको छ ।   फुटबलर सुदिप सुनारको नेतृत्वमा आगामी असार ३ गते पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा प्रतियोगिता आयोजना गरिने भएको हो ।   उक्त प्रतियोगिताको मुख्य उद्देश्य ट्यालेन्ट हन्टमार्फत उत्कृष्ट ७ जना विद्यार्थीलाई न्यू ग्यालेक्सी माविमा छात्रवृत्ति (स्करलरसीप) प्रदान गर्ने रहेको सुदिप सुनारले जानकारी दिए ।    उनले सो प्रतियोगितामा ८, ९ र कक्षा १० का विद्यार्थीहरुले सहभागिता जनाउन पाउने बताउदै छात्रवृत्तिको व्यवस्था भने एसइई दिएका विद्यार्थीलाई मात्र प्रदान बताए ।   ‘यो पहिलो संस्करणको प्रतियोगिता हो । यसले निरन्तरता पाउँछ । प्रतियोगिता राख्नुको मुख्य उद्देश्य भनेको क्षमतावान र प्रतिभावान खेलाडीको खोजी गर्नु हो, उनले भने, ‘यो प्रतियोगिताको उत्कृष्ट ७ जना खेलाडीलाई कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि शत प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेका छौ । त्यसका लागि न्यू ग्यालेक्सी माविसँग समन्वय गरेका छौं ।’     उनले विद्यार्थीको इच्छा अनुसार जुनसुकै विषय अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था गरेको स्पष्ट पारे ।   ‘यो प्रतियोगितालाई ट्यालेन्ट हन्टको रुपमा पनि लिएको छु, उनले भने, ‘बेस्ट ७ जनालाई स्कलरसीपको व्यवस्था गरेकाले कक्षा ११ र १२ मा उनीहरुले चाहे अनुसारकै विषय पढ्न पाउँनेछन् ।’   सो प्रतियोगिताको विजेताले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।    यस्तै उपविजेताले  रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको साथमा आकर्षक पुरस्कार प्रदान गरिने उनले बताए ।   प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क नगद रु १ हजार निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८०२८०८६९८ र ९८००६९२१४१) पनि गर्न सकिनेछ ।    प्रतियोगिताको फाइनलमा स्पेशल गेष्टका रुपमा राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङको सहभागिता रहनेछ ।   सो प्रतियोगितामा न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले साथ दिएको छ । यस्तै ब्रोडकास्टिङ पार्टनरको रुपमा स्पोर्ट भाइब्स नेटवर्क रहेको छ भने, मिडिया पार्टनरमा सुनगाभा न्यूज रहेको छ ।