पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

बागलुङ  :  एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्‍यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि उस्तै । अभावै अभावमा गुज्रिएको विद्यालय अहिले जिल्लाकै नमूना बनेको छ ।    अझै पनि विद्यालयमा समस्या छन्, नभएका होइनन् । तर अहिले विगतको तुलनामा निकै सुविधासम्पन्न भएको छ । निसीखोला गाउँपालिका–३ झिवाखोलामा रहेको यस विद्यालय पश्चिम बागलुङकै अग्रणी विद्यालयमध्येमा पर्छ । निसीखोलामा यस विद्यालयभन्दा अगाडि धेरै विद्यालय स्थापना भए पनि सबैभन्दा पहिले माध्यमिक तहसम्म पढाइ हुने पहिलो विद्यालय भने प्रभा मावि नै हो ।    विसं २०१७ मा स्थापना भएको विद्यालय २०२७ सालमा मध्यमिक तहसम्म पढाइ थालिएको थियो । विसं २०२८ मा नयाँ शिक्षा नियम लागू भएपछि विद्यालयलाई माविबाट निमाविमा झारिएको थियो । विद्यार्थीको चाप र स्थानीयको मागपछि सरकारले १४ वर्षपछि पुनः २०४२ सालमा मावि तहमै रुपान्तरण गरी पठनपाठन सञ्चालन गरिँदै आइएको छ । निसीखोलामा प्रभा माविभन्दा अघि यस क्षेत्रमा माध्यमिक तहसम्म पढाइ हुँदैनथ्यो ।   साविक बोहरागाउँ, निसी र देवीस्थान गाविसअन्तर्गतका विद्यार्थी घण्टौँ लगाएर यस विद्यालयमा पुगेर अध्ययन गर्दै आएका थिए । तर पछि निसीमा ज्ञानेन्द्र मावि, देवीस्थानमा देवीस्थान माविमा १० कक्षासम्म पढाइ हुन थालेपछि यस क्षेत्रका विद्यार्थीलाई केही राहत पुगेको थियो । लामो समय माध्यमिक तहसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा विसं २०६७ देखि बाह्र कक्षा सञ्चालनमा आयो ।    कक्षा १२ सम्म सञ्चालनमा आएपछि निसीखोलाका विद्यार्थीलाई सहज भएको छ । किसान मजदुरका छोराछोरीले पनि घरबाटै उच्च शिक्षा हासिल गर्न पाउने वातावरण तयार भएको स्थानीय बताउँछन् । झिवाखोलामा बाह्र कक्षा सञ्चालन नहुँदा यहाँका सयौँ विद्यार्थी उच्च शिक्षा लिन निसीखोला बाहिर जानुपर्ने बाध्यता थियो ।   निसीखोलाको केन्द्र भागमा रहेको हुँदा विद्यार्थीको चाप पनि उत्तिकै छ ।  विद्यालयमा स–साना टहरादेखि काठ र ढुङ्गाबाट बनेका भवनमा पठनपाठन सञ्चालन गर्दै आएको यस विद्यालयमा अहिले सुविधासम्पन्न भवन बनेका छन् । भौतिक संरचनाका हिसाबले सुविधासम्पन्न भएको र अब शिक्षालाई गुणस्तरीय बनाउनतर्फ लागेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले बताउनुभयो । उहाँले पछिल्लो समय कक्षा ११ मा विद्यार्थीको चाप बढेपछि विद्यालय भवनसमेत आवश्यक परेको बताउनुहुन्छ ।   “वर्षौँसम्म भौतिक संरचना अभावमा विद्यार्थीलाई कहिले खुला चौरमा, कहिले जीर्ण भवनमा राखेर पठनपाठन गरायौँ, जोखिममै विद्यालय सञ्चालन गर्न बाध्य भयौँ, केही वर्ष अघिसम्म पर्याप्त विद्यालय भवन थिएन, पुराना र जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो, अहिले विभिन्न सङ्घसंस्था र सरकारको सहयोगमा भवन निर्माण भएका छन्, निकै सहज भएको छ”, आचार्यले भन्नुभयो, “अहिले भवन करिब–करिब अन्तिम चरणमा पुगेको छ, चारकोठे भवन बन्दै छ, यो बनिसक्यो भने भौतिक संरचानमा हामी कमजोर हुने छैनौँ, अहिले विद्यार्थीको चाप पनि बेढेको छ ।”   आचार्यले भौतिक संरचनाको पर्याप्ततासँगै अब गुणस्तरीय शिक्षा प्रदानतर्फ जोड दिन थालेको बताउनुभयो । नयाँ–नयाँ प्रविधिको विकाससँगै शिक्षहरूलाई पनि सोहीअनुसारको तालिम प्रशिक्षण दिएर शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन थालेको आचार्यको भनाइ छ । “भौतिक संरचनाको विकाससँगै हामी अब कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छौँ भन्नेतर्फ केन्द्रित भएका छौँ, अहिलेसम्म भवन अभाव थियो, अब त्यति धेरै समस्या नहोला, विद्यार्थीको चाप पनि बढेकै छ, विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर शिक्षालाई प्रविधिसँग पनि जोडेर जाने लक्ष्य राखेका छौँ”, प्रअ आचार्यले भन्नुभयो ।   अहिले विद्यालयमा सात सय ५० विद्यार्थी अध्ययनरत रहेको जानकारी गराउँदै उहाँले प्रावि तहमा पनि विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुुभयो । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा प्रावि तहमा एक सय ३०, आधारभूत र मावि तहमा गरी छ सय २० विद्यार्थी अध्ययनरत छन् । उहाँले नमूना विद्यालयका रूपमा यस विद्यालयलाई अगाडि सार्न माग गरिरहेको बताउनुभयो । अहिले कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको उहाँको भनाइ छ ।   “विद्यार्थीको उत्साह निकै देखियो, यहाँ कहिल्यै पनि विद्यार्थीको कमी भएन, अहिले झन् विद्यार्थीको चाप बढेको छ, व्यवस्थापनलाई पनि हामीले चुस्त बनाएका छौँ, ११ कक्षा र साना कक्षामा देखिएको विद्यार्थीको चापले हामी पनि उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “शिक्षाको गुणस्तर राम्रो भएर पनि हो कि जस्तो लागेको छ, विद्यार्थीको बाक्लो उपस्थितिले हामी पनि खुसी छौँ, अझै केही व्यवस्थापन गरिरहेका छौँ, चारकोठे भवन बनिसकेपछि हाम्रा धेरै समस्या समाधान हुने छन् ।”   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशविक्रम शाहीले प्रभा मावि भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षाका लागि आफूहरू लागिरहेको बताउनुभयो । उहाँले गोर्खा वेलफेयर ट्रसले १३ कोठे सुविधासम्पन्न भवन बनाइदिएपछि विद्यालयको भौतिक संरचनामा ठूलो परिवर्तन आएको भन्दै अब भौतिक संरचनामा विद्यालय कमजोर नरहेको बताउनुभयो ।   “अब विद्यालय पहिलेको जस्तो भौतिक संरचनाको अभावमा गुज्रिनु पर्दैन, विभिन्न सङ्घसंस्थाको सहयोगले विद्यालय भवन निकै राम्रो बनेका छन्, अझै केही कोठा थपिँदैछन्”, अध्यक्ष शाहीले भन्नुभयो, “निरन्नतर प्रयास गरिरहेका छौँ, अब गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।” विद्यालयमा विज्ञानका प्रयोगशाला, कम्प्युटरलगायत अन्य आवश्यक सामग्रीको समेत व्यवस्थापन भएको अध्यक्ष शाहीको भनाइ छ ।

हनुमाननगर : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ५ सम्मको पठनपाठन हुन्छ । विसं २०१६ मै स्थापना भएको यो विद्यालय जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । विद्यालय तथ्याङ्कअनुसार हाल यहाँ दुई सय २५ विद्यार्थी अध्ययनरत छन् । पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा शिक्षक भने दुई जना छन् ।    “दुई जना शिक्षकले पाँच वटा कक्षाको पठनपाठन कहाँ सम्भव हुन्छ र”, विद्यालयका प्रधानाध्यापक प्रविण कर्ण भन्नुहुन्छ, “पठनपाठनको औपचारिकता मात्रै निर्वाह गरिरहेको छु ।” विद्यालयको पठनपाठन सँगसँगै प्रधानाध्यापकका रुपमा अन्य जिम्मेवारीसमेत बहन गर्नैपर्ने बाध्यता उत्तिकै रहेको उहाँको भनाइ छ । केही महिनाअघिसम्म विद्यालयमा चार जना शिक्षक थिए । दुई जना लगातार अवकाश पाएर गए । अब सम्पूर्ण विद्यालयको जिम्मेवारी प्रधानाध्यापक कर्ण र अर्का शिक्षक अमनकुमार मिश्र माथि छ ।    शिक्षकको अभावमा एउटै कोठामा दुई÷दुई वटा कक्षालाई राखेर पढाउँदा पनि एउटा कक्षामा शिक्षक अपुग नै हुन्छ । प्रायःजसो कार्यालय सहयोगीलाई समेत खटाउनुपर्ने बाध्यता रहने गरेको प्रधानाध्यापक कर्ण बताउनुहुन्छ । वडा नं १ मै रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालय बेल्ही मल्हनियाँमा हाल तीन सय ९२ बालबालिका अध्ययनरत रहेको विद्यालय तथ्याङ्कले देखाउँछ । कक्षा ६ सम्मको पठनपाठन हुने यस विद्यालयमा शिक्षक भने तीन जना मात्रै छन् । शिक्षकको अभावमा एउटै कोठामा तीन÷तीन वटा कक्षा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक राम साह बताउनुहुन्छ ।    तिलाठी कोइलाडी गाउँपालिकाकै वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था झन् बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३ सय ६१ बालबालिका अध्ययनरत छन् । शिक्षक भने दुई जना मात्रै छन् । दुई शिक्षकमध्ये प्रधानाध्यापकलाई अधिकांश समय अफिसको काम तथा बैठक गोष्ठीमै जानुपर्ने बाध्यता हुन्छ । चालु शैक्षिकसत्रको चौथो महिना चलिरहँदासमेत यहाँका विद्यार्थीले पाठ्यक्रमअनुरुप सबै विषय पढ्न पाएका छैनन् । शिक्षकको अभावमा एउटै कोठामा विद्यार्थीलाई राखेर पठनपाठनको औपचारिकता निर्वाह गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक देवनारायण पण्डित बताउनुहुन्छ ।    विसं २०३६ मै स्थापित यस विद्यालयले पछिल्लो लामो समयदेखि यसरी नै शिक्षकको अभाव झेल्दै आएको छ । दुई वर्षअघिसम्म यहाँ चार जना शिक्षक कार्यरत थिए । दुई जना शिक्षकले अवकाश पाएको पनि दुई वर्ष भयो तर रिक्त रहेका ती पद अझै पूर्ति गर्न सकिएको छैन ।    सोही वडामा रहेको कृष्णकुमारी देवी आधारभूत विद्यालयमा कक्षा ६ सम्मको पठनपाठनका लागि मात्र चार शिक्षक छन् । वडा नं ५ कै राष्ट्रिय प्राथमिक विद्यालय कोबर्साइन र राष्ट्रिय प्राथमिक विद्यालय कुसहा कोबर्साइनमा पाँच/पाँच वटा कक्षा सञ्चालन भने दुई/दुई जना शिक्षकका भरमा भइरहेको छ ।    साविको छ वटा गाविसलई समाहित गरेर बनाइएको तिलाठी कोइलाडी गाउँपालिकाको आठ  वडामा १३ आधारभूत विद्यालय सञ्चालित रहेकामा १३ वटै विद्यालयमा शिक्षकको अभाव रहेको छ ।    दरबन्दीअनुसार त परै जाओस् कम्तीमा एउटा कक्षा बराबर एक शिक्षकको न्यूनतम आवश्यकता पनि पूरा गर्न सकिएको छैन । शिक्षक अभावबारे आफूहरु पछिल्लो लामो समयदेखि गाउँपालिकालाई ताकेता गरिराखेको भए पनि हालसम्म पालिकालगायतका सरोकारवाला निकायबाट ठोस पहल हुन नसकेको स्थानीय प्रधानाध्यापकको सामूहिक गुनासो छ ।    गाउँपालिका भएदेखि नै यहाँका विद्यालयमा शिक्षकको अभावै रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झा बताउनुहुन्छ । “सुरुदेखि नै शिक्षकको अभावै रहेको छ, पछिल्लो समय शिक्षकको अनिवार्य अवकाशपश्चात् झन् अवस्था जटिल भएको हो”, झाले भन्नुभयो, “हामी पहल गरिराखेका छौँ, स्वयंसेवक शिक्षक भर्ना गरेर भए पनि समस्या समाधानतर्फ हामी अघि बढ्ने योजनामा छौँ ।”    निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीले शिक्षा क्षेत्रलाई वास्तै नगरेका कारण यस्तो अवस्था आएको स्थानीय अभिभावक सुशील यादवको आरोप छ । “यस पालिकाअन्तर्गतका विद्यालय पछिल्लो तीन वर्षदेखि व्यवस्थापन समितिविहीन रहेको छ”, यादवले भन्नुभयो, “पुराना जनप्रतिनिधि त जे गर्नु थियो गरेर गए, आएका नयाँ जनप्रतिनिधिको रवैया पनि उस्तै देख्छु ।”   शिक्षा शाखा प्रमुख झाका अनुसार यसअघिका जनप्रतिनिधिको संलग्नतामा त्यतिबेलै बनाइएको कार्यविधिको विवादका कारण यहाँका विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसकेको हो ।    कार्यविधिमा विद्यालय व्यवस्थापन समिति छनोट प्रक्रिया निकै विवादित रहेको थियो । कार्यविधिअनुसार विद्यालय व्यवस्थापन समितिका चार सदस्यमध्ये दुई वडाध्यक्षले र दुई गाउँपालिका अध्यक्षले मनोनीत गर्ने प्रावधान थियो । उक्त प्रावधानलाई कुनै पनि विद्यालयका अभिभावकले स्वीकार गर्न नमानेपछि विद्यालय व्यवस्थापन समिति छनोट कार्य पछिल्लो तीन वर्षदेखि ठप्प रहेको हो । विद्यालय व्यवस्थापन समिति नहुँदा बाहिरबाट शिक्षक सरुवा गरेर ल्याउन तथा नयाँ शिक्षक नियुक्त गर्नसमेत कठिनाइ भइरहेका कारण प्रायजसो विद्यालयमा शिक्षकको अभाव भएको हो । वर्षौंदेखिको समस्यालाई एकैछिनमा समाधान गर्न सकिने अवस्था नरहेको गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी साह बताउनुहुन्छ ।    शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको वेथितिकै आधारमा आफूहरुले जनतासँग मत मागेको साह भन्नुहुन्छ, “हाम्रो प्राथमिकता नै शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार गर्नुपर्ने हो, थोरै समय लाग्ला तर त्यसलाई सुधार गर्छौं ।” 

गलेश्वर : विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ ।   एक शताब्दी अघि बागलुङ गलकोटका समाजसेवी लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयवासीको सीपलाई प्रयोग गरी निर्माण गरेको उक्त पुल यस क्षेत्रकै पहिलो हो ।  बेनीका अगुवा ८४ वर्षीय नैनकुमार श्रेष्ठका अनुसार तत्कालीन समयमा काँचो फलामलाई गोलमा तताएर कुटेर साङ्ले लठ्ठा बनाएर पुल निर्माण गरिएको थियो ।   अहिले पुलमा प्रयोग भएका साङ्ले लठ्ठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् । तत्कालीन समयमा दुईवटा साङ्ले लठ्ठामा फलामको पाता राखेर एउटा काठको फल्याकमात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो । विसं २०१४ मा बाबियाचौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा हालको झोलुङ्गे पुलको रूपमा विकास गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।   “यो ठाउँमा त्यसअघि कुनै पुल थिएनन्, तत्कालीन गुल्मी र बागलुङमा अड्डा रहँदा म्याग्दी र पर्वतका सबैजसो यही बाटो भएर वारपार गर्थे । लामो समयसम्म म्याग्दीखोला पारि र वारिका स्थानीयले वारपार गर्ने मुख्य बाटो यही बन्यो”, उहाँले भन्नुभयो । जिल्लाकै पुरानो र स्थानीय स्रोतसाधनलाई प्रयोग गरी बनाइएको पुल जीर्ण बनेपछि चार वर्षअघि बेनी नगरपालिकाको पहलमा सामान्य मर्मत गरिएको थियो । अहिले पुल जीर्ण छ । पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको छ ।    पुरानो र ऐतिहासिक महत्वको पुलको काठ कुहिएको छ । जालीमा खिया लागेको छ । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेश श्रेष्ठका अनुसार प्राविधिकको सल्लाहअनुसार पुलको स्वरुप नबिग्रने गरी मर्मत र संरक्षण गर्ने योजना छ । साङ्ले लठ्ठाको तौल धेरै भएकाले नदीमा लठ्ठालाई तन्काउन तत्कालीन समयमा यस क्षेत्रका प्रायःजसो सबै गाउँबाट स्थानीय बेनी झेरका बुढापाका बताउँछन् । 

  पोखरा: नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ ।    विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको रु २० अर्ब  खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिनुभयो ।   उक्त जलासययुक्त आयोजनाबाट  एक सय ५०  मेगावाट  जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो  । विसं २०७४ मा  सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो । बेगनास तालमा भइरहेको पानीको सतहलाई  एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रुपातालको छेउमा विद्युत्गृह निर्माण गरी गृहबाट निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ ।    उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा  दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पुर्याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिनुभयो । बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा  विद्युत्गृह सञ्चालन गर्न सजिलो भएको छ ।    दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ । बेगनास भन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्ने छ ।    अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिकांश सरोकारवाला निकायका व्यक्तिले वातावरणीय तथा सामाजिक प्रभाव नहुने गरी जलविद्युत्  आयोजना सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । स्थानीय सरकोकारवाला समेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।    प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।     गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय जनताको सहमति र उनीहरूलाई नै रोजगारीमा सहभागी गराई आयोजना सञ्चालन गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका ऊर्जा सचिव डा सन्तोष कैनीले ‘पीक आवर’का समयमा विद्युत् उत्पादन गर्नका  लागि भनेर आयोजनाले घाटाको योजना सञ्चालन गर्न नहुने बताउनुभयो ।    स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत् आयोजनाका नाउँमा बस्ती नै डुब्ने सिञ्चाइ नै बन्द हुने किसिमबाट आयोजना सञ्चालन हुन नुहने बताउनुभयो । साथै उहाँले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।    स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ  सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले  बेगनास तालको पानीले आठ सय ८० हेक्टर  जमिन सिँचाइ भएको र विद्युत् आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट बञ्चित हुन नहुने बताउनुभयो ।

पोखरा:  गण्डकी प्रदेशको सर्वाेत्कृष्ट प्रहरीको उपाधिबाट प्रहरी नायब निरिक्षक सन्तोष सुवेदी पुरस्कृत भएका छन् ।   नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सुवेदीलाई भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।   उनले भदौ महिनामा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार पुरस्कृत सुवेदीले विभिन्न स्थानको बैंकको एटिएम फोडेर पैसा चोरी गर्ने, विन्ध्यवासिनी मन्दिर परिसरबाट दानपेटिका चोरी गर्ने, तनहुँमा भएको कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त र विभिन्न समयमा लागुऔषध सम्बन्धि मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।     

बागलुङ:  हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो ।   जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटका स्थानीयवासी आफ्ना पशुचौपाया लिएर लेक चढ्ने गर्छन् ।   करिब चार महिना बेँसी सुनसान जस्तै हुन्छ । बर्खा रोकिएर चाडपर्व शुरु भएसँगै उनीहरु बेँसी झर्न शुरु गर्छन् । चार महिनादेखि सुनसान भर्कोबाङमा यतिबेला निकै रौनक छाएको छ । वडा नं ६ मा पर्ने भर्कोबाङमा सयौँ वस्तुभाउ र मानिसको चहलपहल छ । मध्यपहाडी लोकमार्गभन्दा केही माथि रहेको पहाडको थुम्को (भर्कोबाङ) मा स्थानीयवासीले आफ्ना पशु चौपायालाई लेकबाट झारेका छन् ।   असोज ५ गतेभन्दा अगाडि कसैले पनि बेँसीमा पशु चौपाया झार्न नपाउने नियम छ । मकै भित्राइसकेपछि अहिले यो ठाउँ खुल्ला र हरियाली छ । अब केही दिन स्थानीयका सयौँ पशु चौपाया यहीँ हुनेछन् । लेकबाट झरेका सयौँ पशु चौपायाले भर्कोबाङको पाटाहरु भरिएका छन् ।   ती पाटाहरुमा सयौँको सङ्ख्यामा गाई, गोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राहरु निकै रमाइरहेका देखिन्छन् । गोठालाहरुले पाटाहरुको छेउछाउतिर गोठ बनाएका छन् । उनीहरु अब केही दिन यहीँ गोठमा दिन रात बिताउने छन् ।   असोज ५ गते भल्कोटवासीले विशेष दिनका रुपमा पनि लिइन्छ । महिनौदेखि परिवारसँग छुटेकाहरु पनि अब भेट हुन्छन् । असोज ५ गते नै अधिकांश गोठलाहरु बेँसी झर्ने गर्छन् भने केही विस्तारै दशँैसम्म आउँछन् । स्थानीयवासीले लेक जाँदा महिनौंलाई पुग्ने खर्च बोकेर जाँने हुँदा बेँसी झेरपछि मात्रै परिवारसँग भेट हुने गर्छ ।   लेकबाट सयौँ पशु चौपाया बेँसी झरेपछि दशँै आएको सन्देश दिन्छ । यहाँका एक परिवारले दजनौँ पशु चौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस पु¥याउनकै लागि उनीहरु लेकमा लैजाने गर्छन् । करिब चार÷पाँच महिना लेकमा बिताउँदा उनीहरुले चोयाबाट विभिन्न सामग्री निर्माण गर्ने, घ्यू उत्पादन गर्ने र बेच्ने गर्छन् ।   यसरी नै जीविकोपार्जन गर्दै आएका स्थानीयहरु अहिले पनि परम्परागत पशुपालनमै रम्न चाहन्छन् । स्थानीय वासिन्दाले लेक वैशाखदेखि नै जान पाउने व्यवस्था गरे पनि बेँसी झर्न असोज ५ नै कुर्नु पर्ने नियम बनाएका छन् ।   “असोज ५ गते बेँसी झर्ने नियम हाम्रा पाकापुर्खाले बनाएका हुन्, हामीले त्यसलाई निरन्तर मान्दै आएका छौँ, ५ गतेभन्दा अगाडि झर्नेलाई कारबाही हुन्छ, जरिवाना गरिन्छ, किनकी यहाँका एकै परिवाले धेरै वस्तुभाउ पाल्छन्, पहिला बेसी झार्नेले यहाँ भएको घाँसहरु एक्लै खुवाउँछ, त्यसले गर्दा सबै एकैपटक असोज ५ गते नै बेँसी झर्नु पर्ने नियम छ, कोही ५ गतेभन्दा पछाडि पनि झर्छन्” स्थानीय धनिश्वर बुढाले भन्नुभयो ।   उहाँले असोज ५ गतेभन्दा पछाडि आउँदा जरिवाना नलाग्ने स्थानीय बताउनुहुन्छ ।   बुढा मगरले धेरैजसो गोठालेहरु असोज ५ मा नै बेँसी झर्ने र भेडी गोठालेहरु मात्रै केही समयपछि मात्रै बेँसी झर्ने बताउनुभयो । उहाँले महिनौँलाई पुग्ने खर्चपर्च बोकेर लेक जाने र समय–समयमा गाउँ झर्ने, आफन्त भेट्ने र आवश्यक सामानहरु लिएर फर्किने गरेको बताउनुहुन्छ । “लेकबेँसी गर्ने त हाम्रो परम्परा नै भयो, गाउँलेले धेरै पशु चौपाया पाल्छन्, बाह्रै महिना एकै ठाउँमा राखेर पाल्न सकिन्न, त्यही भएर बर्खामा लेक जान्छौँ, हिउँद्मा बेसी झर्छौँ,” उहाँले भन्नुभयो “थोरै चौपाया हुन्थे भने बेँसीमै पनि पाल्न सकिन्थ्यो, धेरै हुँदा समस्या हो, बाउ बाजेले पाल्दै आएको हाम्ले छोड्न पनि भएन, लेक बेँसी गर्ने त हाम्रो लागि नौलो कुरा होइन, रहर भनौँ कि बाध्यता भनौँ, यो त गर्न परिहाल्यो ।”   गाउँका करिब दुई सय गोठाला रोल्पा, रुकुम र बागलुङको सिमाना तथा उच्च पहाडी क्षेत्रमा जाने गर्छन् ।   उनीहरु गोठ रिग, खोलाखर्क, तिलचनलगायतका ठाउँमा हुन्छन् । गाई भैँसी गोठालाहरु केही तल्लो भागमा गोठ बनाएर बस्ने गर्छन् भने भेँडाबाख्रा गोठालाहरु चार हजार दुई सय मिटरको उचाइसम्म पुग्ने गर्छन् । चरन क्षेत्रका रुपमा निकै प्रख्यात मानिने रिग, खोलाखर्क क्षेत्र वस्तुभाउ बेँसी झर्न थालेसँगै सुनसान बन्न थालेको छ । असोज ५ गतेदेखि दशैँसम्म मध्यपहाडी लोकमार्गको भल्कोट–पातीहाल्ने खण्डमा सयौँ गाई, गोरु, भेडाबाख्रा र भैसीको हुल देखिन्छन् । अघिअघि पशुचौपाया, पछिपछि गोठालाहरुले निकै ठूलो भारीसहित झरिरहेका हुन्छन् । उनीहरुले गाईवस्तु बाँध्ने किलो, दाम्लो, लत्ता कपडा, ठेकीलगायतका सामानहरु बोकेका भेटिन्छन् ।   महिनौँ लेकमा बसेर गाउँमा झर्दै गरेका उनीहरुको अनुहारमा निकै चमक छाएको थियो । महिनौँ परिवारसँग भेट नभएका उनीहरु ५ गते सबैसँग भेटघाट हुने गर्छन् ।   घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशु चौपाया झार्न जान्छन् । असोज ५ गतेभन्दा अगाडि–पछाडि बेँसी झर्दा पुर्खाहरुले बनाएको नियम भत्किने भन्दै सोही दिनै झर्नु पर्ने उनीहरु मान्यता राख्छन् । “असोज ५ त हाम्रा लागि निकै खुसी हुने दिन हो, यतिका समय लेकमा बस्यौँ, आज परिवारसँग भेट हुन्छ, तीतोमीठो के छ ?   सँगै बसेर खान पाइन्छ, दुखम्–सुखम्का कुरा हुन्छ, यो त हाम्रो परम्परा हो नि, पुर्खाहरुले नै बनाउनु भएको नियम हो, हामीले मिच्नु हुन्न, त्यही भएर हामी तोकेकै समयमा बेसी झ¥यौँ” स्थानीय देवबहादुर घर्तीले भन्नुभयो ।   उहाँले अबको १२ दिन भर्कोबाङमै आफ्ना पशु चौपाया चराउने र त्यसपछि भल्कोट घरमा झार्ने बताउनुभयो । उहाँले यहाँ अझै केही दिन वस्तुभाउका लागि घाँस रहेको हुँदा आफू पनि गोठ बनाएर यही बस्ने बताउनुभयो । “अबको १२ दिनपछि मात्रै तल घरमा झर्नु पर्ला, अहिले घाँस पनि राम्रो रै’छ, यहाँ, भेँडागोठालाले अझै भेँडा ल्याएका छैनन्, तिनीहरु आए भने तल झर्नु पर्ला, म पनि गोठ बनाएर यहीँ बस्छु”, घर्तीले भन्नुभयो, “यहीँ बसेर यिनीहरुको रेखदेख गर्न पर्याे, अब केही दिनपछि तलै घर छेउका बारीमा लगेर चराउनु पर्ला, बारीमा लगेपछि केही समय त्यही चराउने त्यसपछि बाँधेर डाला काटेर हाल्नुपर्छ, अब अर्को बर्खामा मात्रै हो लेक लाने ।”   घर्तीले अबको तीन महिनासम्म बारीकै घाँसले पुग्ने भन्दै त्यसपछि वन जङ्गलमा जानु पर्ने बताउनुभयो । उहाँले हिउँद्को समयमा लेकमा हिउँ पर्ने हुँदा बेँसीमै पशु चौपायालाई घाँस काटेर खुवाउनु पर्ने उहाँको भनाइ छ । बेँसीमा सयौँको सङ्ख्यामा रहेका चौपायाको व्यवस्थापन गर्न निकै गाहे हुने घर्तीकोे भनाइ छ । गाउँमा घाँस निकै कम हुने र सबैका पशु गाउँमै हुने हुँदा घाँसको व्यवस्थापनमा निकै समस्या पर्ने उहाँ बताउनुहुन्छ । “बेँसीमा पशुपाल्न निकै गाहे छ, गाउँभरिका गोठालाहरुको वस्तुभाउ गाउँमै हुन्छन्, सबैले घाँस काटेर खुवाउँछन्, यहाँ घाँसको निकै दुःख हुन्छ, सजिलो त लेकमै हुन्छ, एउटाका कम्तिमा पनि २५ वटा गाईभैँसी हुन्छन्, अझ भेँडाबाख्रा पाल्नेको त सयौँ हुन्छन्, तिनीहरुलाई घाँस कसरी पुर्याउने ?” घर्तीले भन्नुभयो “अबको तीन महिनामा त यतै जसोतसो घाँसको व्यवस्था हुन्छ, हिउँ पर्ने बेला भयो भने हिउँमै डालेघाँस काट्न लेकमै पुग्नु पर्छ, चौपायालाई लेकमा लगे चिसोले मर्छन् ।” यसवर्ष भेँडापालक तमबहादुर विकले असोज ५ गते नै भेँडा बेसी झार्नु भएको छ । उहाँले अघिल्लो वर्षहरुमा दशैँको दुई दिन अगाडि झर्ने गर्नुहुन्थ्यो ।   विकले यसवर्ष भेँडा केही भेँडालाई बजारमा लैजाने हिसाबले बेँसी छिटो झारेको बताउनुभयो । बर्खाको समयमा बेँसीमा भेँडाहरु पाल्नै नसकिने हुँदा लेक लैजानु परेको उहाँको अनुभव छ ।   स्थानीयवासीको सयौँ पशुचौपाया हुने भएकाले गाउँमा घाँस पु¥याउन सकिने अवस्था आएपछि आफूहरु लेक बेँसी गर्नु पर्ने अवस्था भएको उहाँको भनाइ छ । “यस वर्ष भेँडा पनि बढे, केहीलाई दशैँको बेला बजारमा लगेर बेच्छु भनेर छिटो झारेको छु, २५ वटा भेँडा यसपालि बेच्ने योजना छ, धेरै पाल्न पनि सकिन्न” उहाँले भन्नुभयो “बर्खामा त गाउँमा पशुहरु राख्न सक्ने सम्भावना नै हुँदैन, वनमा चरण पर्याप्त हुन्छ, यहाँ त हजारौँ गाईभैँसी र भेडाबाख्रा हुन्छन्, त्यति धेरैलाई कहाँबाट घाँस पु¥याउन सकिन्छ ?,   यति धेरैलाई गाउँमा राख्ने अवस्था नै हुँदैन, जिजुबाजेले पनि उहिलेदेखि नै लेकबेंसी गर्ने परम्परा बसाल्नु भएछ, हामी पनि अब त्यही नै ग¥यौँ, अबका पुस्ताले गर्लान् जस्तो लाग्दैन ।” उहाँले खर्बामा गाउँका सबै वस्तुभाउहरु लेक जाने हुँदा बेसीमा घाँस पलाउने र फर्किएपछि केही महिना गाउँमै पाल्न सकिने बताउनुभयो ।   विकले पशु चौपायालाई लेकबाट बेँसी झारेपछि लेकमा पनि अर्को पटक जाँदा प्रशस्त घाँस पाइने बताउनुहुन्छ । “पुर्खाहरुले जुन थिति बसाल्नुभयो त्यो हामीहरुले मान्दै आएका छौँ, उहाँहरुले त्यतिबेला असोज ५ मा नभएर जहिले आए पनि हुने जहिले गए पनि हुने खालको निमय बनाइदिएको भए, यति धेरै पशु पाल्न गाहे हुन्थ्यो, अब त हामी बेसी झ¥यौँ लेकमा पनि घाँस पलाउँछ, बर्खाभरि मल पनि भयो, यहाँ पनि बर्खाभरि पशु थिएनन्, घाँस पलाएको छ ।” विकले अब वैशाखसम्म जसोतसो बेँसीमै भेँडाहरु पाल्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।   उहाँले भेँडालाई अबको दुई महिनासम्म गाउँमा प्रसस्त घाँसहरु पाइने भए पनि पुस महिनादेखि लेकमा पुगेर कटुस, खर्सुङलगायतका डालेघाँस काटेर खुवाउने बताउनुभयो । निसीखोला गाउँपालिका–५ र ६ का अधिकांश स्थानीयवासी पशुपालनतर्फ बढी आकर्षित छन् ।

धादिङ:  धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।   काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको हो ।   घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका छन् । सडक अवरुद्ध पारेका छन् । अहिले पृथ्वीराजमार्ग हुँदै गुड्ने सवारी गजुरी आसपासमै रोकिएका छन् ।   सडक खुलाउन स्थानीय र पीडितका आफन्तहरूसँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।   गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ–ठाउँमा सवारी रोकेका छन् । बसमा लगाएको आगो धुनिबेँसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ ।   आक्रोशित भीडले सडकमा नाराबाजी गरिरहेका छन् । घटनास्थलमा थप भीड बढ्न नदिन प्रहरीले काठमाडौँतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौँ सवारी जाममा परेका छन् । एम्बुलेन्सलाई भने प्रहरीले स्कटिङ गरेर पास गराइरहेको छ ।

तनहुँ:  जिल्ला प्रहरी तनहुँले तीन जनालाई गाँजासहित पक्राउ गरेको छ ।   तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित वेनीटारबाट बुधबार २२ किलो गाँजासहित दुई महिला र एक युवकलाई पक्राउ गरेको हो ।   पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

झापा​:   इलाम–८ का सन्देश रम्तेल विश्वशान्तिको कामना गर्दै ह्विलचेयरमा मेचीमहाकाली यात्रामा निस्किएका छन् ।   उनले असोज ३ गते झापाबाट यात्रा सुरु गरेका हुन् ।   मेची महाकाली यात्रा सकिएपछि पशुपतिनाथ, लारुम्बा र लुम्बिनीको माटो बोकेर विश्वभ्रमणमा निस्कने समेत उनले घोषणा गरेका छन् ।