पोखरा: पोखरामा आजदेखि ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप’ जि–२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप हुँदै छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा यही असोज ९ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन १३ देशका एक हजार चार सय २५ खेलाडी पोखरा आइसकेका मूल आयोजक समितिका सचिव जगन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार एउटै खेलका लागि यति ठूलो सङ्ख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमा नै पहिलो हो । प्रतियोगितामा सिनियर र जुनियरतर्फको विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १४ वर्षदेखि ६० वर्षसम्म महिला र पुरुष गरी विभिन्न आठ तौल समूहमा तथा पुम्सेतर्फ १४ देखि ६० वर्षभन्दा माथि एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणाले जानकारी दिनुभयो । प्रतियोगिताका लागि तेक्वान्दो महासङ्घको छाता संस्था वल्र्ड तेक्वान्दोका अध्यक्ष डा चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडरेशनका अध्यक्ष लिक्यू सिोओकलगायत पोखरामा आउने बताइएको छ । विश्वभरिका खेलाडी, निर्णायक तथा प्रशिक्षक, तेक्वान्दो महासङ्घका विशिष्ट पदाधिकारीसहित दुई हजारभन्दा बढीको सहभागिता हुने अनुमान आयोजकको छ । विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न पाँच हजारभन्दा बढी तेक्वान्दो प्रेमी पोखरा आउने अपेक्षा गरिएको सङ्घले जनाएको छ । यसअघि हालसम्म दुई पटक सफलतापूर्वक काठमाडौँमा सम्पन्न भएको प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो ।
बागलुङ: बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताउनुभयो । उहाँले गाउँपालिकाले अझै बढी पर्यटक भित्र्याउनका लागि झरना वरपर थप पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक दुई बढी पर्यटक आउने गरेको बताउनुहुन्छ । “पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्, यसले स्थानीयलाई उत्साहित बनाएको छ ।” वार्षिक करिब २२ हजार बढी पर्यटक भित्रिने गरेको भन्दै यस वर्ष लामो वर्षा हुँदा कम कम आएको उहाँले बताउनुभयो । “यस्तो ठाउँमा पर्यटक आउलान भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थालेकी, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै बढीलाई भित्र्याउन सकिन्थ्यो होला”, घर्तीले भन्नुभयो । गुल्मीको भुवाचिदीबाट घुम्न आउनु भएका आकाश पौडेलले सामाजिक सञ्जालमा गाईघाट झरनाको फोटो देखेको र निकै सुन्दर लागेर घुम्न आएको बताउनुभयो । “यसभन्दा अगाडि मेरा साथीहरु घुम्न आएका थिए, उनीहरुले राम्रो राम्रो फोटो खिचेर लगेका थिए, मैले पनि सामाजिक सञ्जालमा धेरै फोटो देखेको थिएँ, त्यही भएर घुम्न आएको निकै सुन्दर रैछ झरना, निकै आनन्द आयो घुम्न”, उहाँले भन्नुभयो । ताराखोला गाउँपालिका–१ का अध्यक्ष यमबहादुर श्रीसले आगन्तुकलाई आकर्षित गर्नका लागि झरनाको फेदमा पौडिने पोखरी, त्यस वरपर बगैँचा र विश्रामस्थल निर्माण गरेको बताउनुभयो । “झरना आकर्षक छ, जनप्रतिनिधिका रुपमा आएदेखि यसको विकास र प्रवद्र्धनमा लागेका थियौँ, अहिले पनि लागि रहेका छौँ”, अध्यक्ष श्रीसले भन्नुभयो, “झरना वरपर बगैँचा निर्माण गरेका छौँ, फेदमा पौडी खेल्न मिल्ने पोखरी बनाएका छौँ, अन्य संरचना पनि विस्तारै बनाउने तयारीमा छौँ ।” गत साउनमा ताराखोलामा आएको ठूलो बाढीले सडकदेखि झरना पुग्ने पुल बगाउँदा अहिले आगन्तुकलाई समस्या भएको छ । पुल निर्माणका लागि गाउँपालिकाले यस वर्ष रु २० लाख विनियोजन गरेको र प्रदेश सरकारसँग थप बजेट माग गरेर यसै वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने अध्यक्ष श्रीस बताउनुहुन्छ । “बर्खामा पनि पर्यटकको आगमन उल्लेख्य थियो, साउनमा खोलाले पुल बगाइदियो, त्यसपछि झरना अवलोकन गर्न आउने आगन्तुकलाई समस्या भयो, अहिले फड्के हालेर वारपार गर्ने व्यवस्था त मिलाएका छौँ तर त्यो जोखिमपूर्ण छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “यहाँ पुल निर्माणका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको छ, प्रदेश सरकारसँग पनि केही बजेट माग गरेर यसै वर्ष पुल निर्माण गर्ने योजना छ, जति सक्दो पर्यटकलाई भित्र्याउने प्रयासमा हामी छौँ ।”
बलेवा : अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो । ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयोे, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने रु” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताउनुभयो । भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो । “पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योेजना छ”, कायतले भन्नुभयो, “अस्थायीरूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो ।
काठमाडौं : प्रत्येक वर्ष सेप्टेम्बर २१ तारिखका दिन मनाइने अन्र्तराष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् २००२ मा संयुक्त राष्ट्रसङ्घ महासभाले सेप्टेम्बर २१ लाई स्थायीरूपमा अन्र्तराष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । नेपालमा पनि सन् २००२ देखि नै विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरिन्छ । सन् २००२ अघि सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव पारित गरी राष्ट्रसङ्घ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो । यस अवसरमा आज मानवअधिकार तथा शान्ति समाजलगायत संस्थाले विभिन्न कार्यक्रम गरी विश्व शान्तिका लागि माग गर्ने भएका छन् । विश्व शान्तिका लागि व्यक्तिदेखि शान्तिको सुरुआत हुनुपर्ने र त्यसको वातावरण प्रत्येक देशले बनाउनुपर्ने माग गरिँदै आएको छ ।
चितवन : चितवन प्रहरीले लागुऔषध खैरो हेरोइनसहित छ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१५ सूर्यनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरो हेरोइनजस्तो देखिने १० ग्राम पाँच सय मिलीग्राम लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाका साथबाट स्टिलको थाल दुई थान, १० वटा अर्ध जलेको अवस्थामा रु पाँचको नोट, लाइटर चार थान, १२ खिल्ली चुरोट, टुक्रा पारेको अवस्थाको ब्लेड आठ टुक्रा, सिक्का तीनवटा, एक सय ५५ पुरियामा लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ बस्ने वर्ष २२ का सन्तोष परियार, वडा नं १९ बस्ने वर्ष २२ का यमबहादुर आलेमगर, लमजुङ घर भई हाल भरतपुर २० बस्ने वर्ष ३० का तुलबहादुर गुरुङ, भरतपुर-१५ बस्ने वर्ष २३ का प्रशन्न गुरुङ, नवलपरासी देवचुली नपा-१५ घर भई हाल भरतपुर-१५ बस्ने वर्ष २३ का चेतबहादुर क्षेत्री र भरतपुर-२७ मेघौली बस्ने वर्ष ३६ का सुरेश महतो रहेका छन् ।
मनाङ : मनाङ कारागारमा दुई जना कैदीबन्दी रहेका छन् । कारागारका अनुसार जबर्जस्ती करणी मुद्दाका एक र सुन चोरी पैठारी मुद्दामा एक जनाले कैद भुक्तान गरिरहेका छन् । एक जनाले चालु आर्थिक वर्षमा मात्रै जबर्जस्ती करणी मुद्दामा जेल चलान भई कैद भुक्तान गरिरहेको मनाङ जिल्ला अदालतका स्रेस्तेदार तारादत्त बडूले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाले भने १७ किलोग्राम सुन चोरी पैठारी मुद्दामा कैद भुक्तान गरिरहेका छन् । हालसम्म मनाङको कारागार शिक्षा कार्यालयको भवनमा राखिएको छ । देशकै कम कैदीबन्दी रहने मनाङमा तराई क्षेत्रमा निर्माण गरिने डिजाइनमा कारागार निर्माण गरिएको छ । करिब रु दुई करोडको लागतमा उक्त कारागार भवन निर्माण गरिएको भए पनि शिक्षाकै भवनमा कैदीबन्दी राखिँदै आएको स्रेस्तेदार बडूले बताउनुभयो । देशका विभिन्न जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् तर मनाङमा करिब शून्यजस्तै हुने गरेको छ ।
काठमाडौं : सङ्घीय संसद्का दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) ले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयभित्र प्रमाणिकरण हुन सकेन । सभामुख अग्प्रिसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणिकरणका लागि पठाउनुभएको थियो । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणिकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि आज राति १२ बजे समाप्त भएको छ । मङ्गलबार राति १२ बजेसम्म उक्त विधेयक प्रमाणिकरण नभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणिकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ । यसअघि दुबै सदनले पहिलो पटक गत साउन १६ गते उक्त विधेयक पारित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणिकरणका लागि पठाइएको थियो । राष्ट्रपतिले संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्नुहुँदै आठ बुँदासहित साउन २९ गते संसद्मा फिर्ता पठाउनुभएको थियो । त्यसपछि संसदका दुवै सदनले दोस्रो पटक पनि विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी संविधानअनुसार विधेयक दोस्रो पटक पनि प्रमाणिकरण हुन सकेन भने अर्कातर्फ प्रतिनिधिसभाको चालु अधिवेशन पनि समाप्त भइसकेकाले अब सो विधेयक के हुन्छ भन्ने विषयमा आम नागरिकको चासो बढेको छ ।
तनहुँ ः बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरीदेखि भञ्ज्याङ चौतारी बाघस्थलसम्मको ‘मिनी ग्रेटवाल’ निर्माण कार्य सम्पन्न भएको छ । चीनको जस्तै झझल्को दिने गरी निर्माण गरिएको मिनी ग्रेटवाल निर्माण कार्यमा हालसम्म रु ७४ लाख खर्च भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरी थालिएको मिनी ग्रेटवाल पर्यटकको पहिलो आर्कषण बन्ने विश्वास गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । प्राकृतिक दृश्य अवलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्ध कमाएको बन्दीपुरमा करिब दुई किलोमिटर दूरीको ‘मिनी ग्रेटवाल’ निर्माण गर्न लागिएको हो । कूल लागत रु सात करोड रहेकाले बहुवर्षीय कार्यक्रमअन्तर्गत योजनाअनुरुप निर्माण कार्य अघि बढाइएको उहाँले बताउनुभयो । नेपाल सरकारको रु चार करोड ५५ लाख र बन्दीपुर गाउँपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहेको सो गाउँपालिकाले जनाएको छ । उक्त विनियोजित बजेटले पर्खाल निर्माण गर्ने, पार्क, कफी शप, होटललगायत संरचना निर्माण गर्ने योजना छ । दुईतिर वाल लगाउने र बीचमा आर्कषक सिँढी निर्माण गरी दायाँबायाँ आर्कषण बत्ती जडान गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको किंवदन्ती रहेको पाइन्छ । मिनी ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट र साइकलबाट सवार गर्न सकिने छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रका बीचमा रहेको बन्दीपुरलाई केन्द्रको पनि केन्द्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । कोभिड–१९ को महामारीको समयपछि बन्दीपुरमा पर्यटकको आगमनमा वृद्धि गर्न सकिने छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दीपुर पग्न सकिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड र टाकुरा हेर्न सकिन्छ ।
पोखरा : पोखरा महानगरपालिका ३ नदीपुर स्थित फुलबारी पार्क अगाडी सवारी दुर्घटना भएको छ । बेलुका करिब सवाँ सात बजे ग १ ख ८५२२ नम्बरको टिप्परले पार्किङमा रहेको ग १० प ६६८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । उक्त टिप्पर अनियन्त्रित हुँदा स्कुटरलाई ठक्कर दिएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनका अनुसार टिप्परको ठक्करबाट स्कुटर पूर्णरुपमा क्षति भएको छ । दुर्घटनाबारे थप अनुसन्धान गर्न टिप्पर चालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

