कास्की: पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एनएमबी बैकको एटिएम मेशिन तोडफोड गर्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष २५ वर्षिय मनोज कुमाल रहेका छन् । पक्राउ परेका कुमालले आज बिहानै करिब ४ बजे खुकुरी प्रयोग गरी तोडफोड गरी नगद चोरी गर्न प्रयास गरेका थिए । सोही सुचनाको आधारमा कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार पक्राउ परेका कुमालको साथबाट साढे १२ फिट लामो फलामको खुकुरी बरामद गरिएको छ । ‘हामीले नियन्त्रणमा लिएका छाैं । कुमालले साढे १२ फिटको खुकुरी प्रयोग गरिएको पाइएको छ,इन्सपेक्टर खड्काले भने, 'अहिले कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दा दर्ता गरि ७ दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ यसअघि हिजो (सोमबार) मात्रै पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोड्न प्रयास गरेका पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । यसैगरि सोही घटनामै संलग्न रहेका पोखरा १६ बस्ने १९ वर्षिय अनिश रानालाई भाग्ने क्रममा पक्राउ गरिएको थियो । उनीहरुलाई पनि जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो पदकबाट उनी सम्मानित भएका हुन् । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक समेत रहेका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील छन् । यसअघि उनी प्रजातन्त्र सेनानीको नाउँमा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, हिमदूत पत्रकारिता पुरस्कार, रोयल सहकारी पत्रकारिता पुरस्कार, इर्खबहादुर श्रीप्रभा गुरुङ स्मृति पुरस्कार र गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए । उनका चार वटा मौलिक कृति तथा छ वटा सम्पादित कृति प्रकाशित छन् ।
पोखरा । पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो । तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगतीको बारेमा उजागर गर्न समेत पत्रकार समक्ष आग्रह गरे । प्राविधिक कारण तय भएका केही ठाउँको खेल स्थल परिवर्तन हुन सक्ने संकेत गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल पोखरा रंगशालामा रहेका संरचनालाई मर्मत तथा स्तरउन्नती गर्नको लागि पर्याप्त बजेट नछुट्याइएको गुनासो गुरुङले गरे । पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भएको उनको भनाई थियो । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधरणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने विश्वास उनको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर वानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए । तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागीता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । पौडेलका अनुसार पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई रहेका छन् । राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्न्पूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।
पोखरा । छोरी तथा बुहारी पढाऔं, उज्ज्वल भविष्यका लागि अगाडि बढौं नाराका साथ क्रियाशिल संजिवनी दिदिबहिनी केन्द्रको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा बिर्मला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति र सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, शारदा शर्मा, सरु अधिकारी चयन हुनुभएको निर्वाचन समिति संयोजक गुणाखर सापकोटाले जानकारी दिनुभयो। साधारणसभा तथा अधिबेशनको उदघाटन गर्नुहुदै प्रमुख अतिथी पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन कुमार प्रजापतिले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको छोरी बुहारीहरुलाई शिक्षामा सहयोग गर्ने अत्यन्तै उदाहरणीय अभियानमा रहेको संजिवनी दिदि बहिनी केन्द्रलाई सधै साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। छोरी बुहारीलाई शिक्षामा मात्रै सहयोग नभई कोरोना महामारी लगायतको कठिन अवस्थामा विशेष सहयोग अभियान समेत सञ्चालन गरेको संजिवनीको मानवीय सेवामुलक कार्यको प्रसंसा व्यक्त गर्नुभएको। कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नाटा केन्द्रिय सदस्य कमला गुरुङ, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल लगायतले शुभकामना व्यक्त गर्नुहुदै संजिवनी दिदि बहिनी केन्द्रको गतिविधीको प्रसंसा गर्नुहुदै साथ सहयोग रहने बताउनुभयो।कार्यक्रममा संजिवनीबाट छात्रबृत्ति प्राप्त गरी रेडियोलोजिस्ट अध्ययनरत युनिया विकले संजिवनीको सहयोगले आफ्नो अध्ययनको सपना पुरा हुने भन्दै आफ्नो अनुभूति व्यक्त गर्नुभएको थियो। कार्यक्रममा संजिवनी दिदि बहिनीका सल्लाहकार पवन कुमार प्रजापति हालै पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएको, नाटाको केन्द्रिय सदस्य कमला गुरुङ, आजिवन सदस्य किरण गुरुङ मेची महाकाली दिदि बहिनीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा, फोटो पत्रकार तथा वेब डिजाइनर मणि सरब्ज गुरुङ, निशुल्क कार्यालय प्रदान गरेकोमा पोखरा ११ की हिरादेवी गुरुङ, सहयोगका लागि संस्थापक गिता भट्टचनलाई सम्मान गरिएको थियो। यसरी नै कार्यक्रममा संस्थाको नयाँ आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो। साधारणसभामा अध्यक्ष बीना गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सचिव कौशिला गुरुङले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो। केन्द्रकी अध्यक्ष बीना गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा सदस्य मिलन थापाले स्वागत र सचिव कौशिला गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
पोखरा : स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने कास्कीका ३४ जना उम्मेदवारीसहित देशभरबाट ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको हो । स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो। हेर्नुहाेस् सुची:-
गलकोट : बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ । जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिनुभयो । “सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।” स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । “अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ । डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ ।
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।
बागमती : मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।
काठमाडौं : राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उहाँको भूमिका फेरिन्छ । मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उहाँका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउनुहुन्थ्यो । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउनुहुन्छ । “डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । सफारी कुदाएर दैनिक चार÷पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ । सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उहाँको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उहाँ लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउनुहुन्छ । “कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ”, उहाँ बताउनुहुन्छ । स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गर्नुभयो ।

