काठमाडौं : महाअभियोग लागेपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । प्रधानन्यायाधीश जबराले आफू माथिको महाअभियोगको कारबाही टुंगो नलाग्दै नियमित काममा फर्किन लागेको सूचना सर्वोच्चमा पठाएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएको छ । महाअभियोग सिफारिस समितिले शनिबार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा जबरामाथि महाअभियोग लगाउन सिफारिस गरिएको छ । साथै केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेश गरी टुंगो लगाउनुपर्ने पनि उल्लेख छ । संविधानको धारा १०१ को उपधारा ९६० र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले पनि गत २०७८ फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद, सर्वोच्च अदालत, न्याय परिषद र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुंगो नलागेसम्म कामकाज गर्न नपाउने व्यहोरा उल्लेख गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसदले सफाइ नदिएसम्म जबराको निलम्बन कायमै रहने बताए । संवैधानिक व्यवस्था विपरीत जबरा सर्वोच्च फर्किन लागेको हल्लापछि कानुन व्यवसायीहरुले उनलाई गेटमा रोक्ने तयारी गरेका छन् । यसअघि जबराको कार्य सम्पादनमा प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले तीन महिना लामो आन्दोलन गरेका थिए ।
अछाम : अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही,सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही,४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही,१७ बर्षीय कल्पना शाही,१३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही,३ बर्षीय कल्पना शाही,२१ बर्षीय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी,१७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी,१५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ । यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई,३ बर्षीय कलु दमाई,४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।
पोखरा : नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको सातौं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमालेको भातृ जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । जिल्ला सम्मेलन तथा अधिवेसनको अवसरमा नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट स्थानीय निर्वाचनमा निर्वाचित २५ जना जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम संयोजक किसान सेवा परियारले बताए । सो सम्मेलनमा कास्की जिल्लाभरका ४ सय ५६ जना प्रतिनिधिहरुको जमघट हुने संयोजक परियारले बताए । नेपाल उत्पीडित जातीय मुक्ति समाज कास्कीका अध्यक्ष धनबहादुर विश्वकर्माले प्रत्येक तीन/तीन वर्षमा गर्नुपर्ने जिल्ला सम्मेलन ११ वर्षपछि गर्न लागेको बताए । उनका अनुसार उक्त अधिवेशन आगामी ३ गते हुनेछ । उनले संविधानमा लेखिएको हक अधिकारका लागि पार्टीमै आन्तरिक द्वन्द्ध गरिरहेको बताए । ‘नेपालको संविधानमा दलितको लागि हक अधिकार लेखिएको छ, उनले भने ‘तर व्यवहारमा लागु छैन त्यसैले हक अधिकारको प्राप्तीको लागि पार्टीमा र दैनिक व्यवहारमा दबाबमूलक कार्यक्रम गर्दै आएका छौं ।’
पाेखरा: इन्टरनेशलन वाटरकलर सोसाइटी (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा आजदेखि ‘आर्ट क्याम्प’ सुरु भएको छ । पोखरा महानगरपालिका १ बगरस्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भवनमा आज (शनिबार) देखि ‘पोखरा आर्ट क्याम्प’ सुरु भएको हो । आगामी ४ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प प्रतिष्ठानको भवनमा मात्रै सिमित नहुने कार्यक्रम संयोजक मनोज योञ्जन तामाङले बताए । सो क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको कलासहित सहभागिता रहेको तामाङले बताए । उनका अनुसार नेपालबाट ९० भारतका ८, बङ्गलादेशका १७ र इरानका ६ जना कलाकारको सहभागिता रहेको छ । आर्ट क्याम्पअन्तर्गत आज (असोज १ गते) भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी भएका छन् । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुने कार्यक्रम संयोजक मनोज तामाङले बताए । यसैगरि आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले क्याम्पको दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरि कार्यशाला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार तेस्रो दिनभने विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सिमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको गुरुङले बताए । आयोजकले कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने लक्ष्य लिएको छ । संगीत र कलाको राजधानी हो पोखरा: पूर्वगृहमन्त्री अधिकारी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले पोखरा संगीत र कलाको राजधानी भएको बताए । ‘पोखरा एक प्राकृतिक कला भएको पर्यटकीय स्थल हो, उनले भने,‘ पोखरा संगीत र कलाको राजधानी हो । कलाको माध्यमबाट राज्यलाई चिनाउन महत्वपुर्ण योगदान रहन्छ ।’ उनले कलाले मान्छेलाई सुखस्दुखमा साथ दिने धारणा राखे । ‘कलाले सुखःदुखमा साथ दिन्छ । हरेक कदमकदम कलाको साथ मिल्छ, उनले भने, ‘कलाले संसारलाई एक बनाउनसमेत महत्वुपर्ण योगदान पु¥याउने गर्छ ।’ पोखराका कलाप्रेमी अशोक पालिखेले भने महेन्द्रपुलको आर्ट ग्यालेरी र पुस्तकालय सार्नमा महानगरलाई केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य रहेको बताए । ‘महानगरपालिकाको परिभाषा पुरा हुन विश्वविद्यालय, अस्पताल, कला संग्रहालयहरु अनिवार्य रहन्छ छ, पालिखेले भने, ‘तर पोखरा महानगरले चाँही भएको भवन भत्काएर अर्काे ठाउँमा बनाउने घोषणा गरेको छ । यसमा केन्द्र र प्रदेश सरकारको साथ अनिवार्य हुन आवश्यक देखिन्छ ।’
काठमाडौं: नेपाल महिला साफमा पाँचौ पटक फाइनल पुगेको छ । बंगलादेश भने दोस्रो पटक फाइनल पुगेको हो । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउने भएको छ । नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन् । महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ । सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो । यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १-० ले पराजित गरेको छ । भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ । १२ वर्षे इतिहासमा पहिलो पटक भारत फाइनल पुग्न नसकेको हो । यस अघि चार पटक नेपाललाई फाइनलमा हराएर भारतले उपाधि उचालेको थियो । यस्तै एक पटक भारतले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । पाँच पटकको च्याम्पियन भारत महिला साफको इतिहासमा दोस्रो पटक पराजित भएको छ । यस अघि समूह चरणमा भारतलाई बंगलादेशले हराएको थियो ।
काठमाडौं : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ । यही सम्झनामा नेपालका कालिगडहरुले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।
पोखराः नेकपा एमाले कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङका आमा मनकुमारीको शुक्रबार राती निधन भएका छ । फेवासिटी अस्पतालमा उपचारकोक्रममा ८४ वर्षीया मनकुमारीको निधन भएको आफन्तजनले बताएका छन् । गुरुङको शुक्रबार राती ८४ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय मनकुमारीको४ छोरा र ४ छोरी छन् । विदेशमा रहेकी छोरी पोखरा आइपुगेपछि उनको अन्त्येष्टी गरिने परिवारजनले बताएका छन् ।
नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ । गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ । कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो । सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरुलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो । “गुम्बामा प्राथमिकतहदेखि पिएचडीसम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै उद्धार गर्न केन्द्रित भयौँ ।” प्रहरी प्रमुख पण्डितले भन्नुभयो, “उनीहरुलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसारलगायत अपराधसमेत आकर्षित हुनेसक्ने हुँदा सोही बमोजिम अनुसन्धान अघि बढाइने छ ।” मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समितिले खेलाडीलाई १० लाख रूपैयाँ बराबरको खेल सामग्री वितरण गरेको छ । नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार पोखरा रंगशालामा खेलसम्बद्ध संघसंस्था, प्रशिक्षक र खेलाडीलाई खेलकुद विकास समितिले सामग्री वितरण गरेको हो । बास्केटबल, भलिबल, फुटबल, आइटिएफ तेक्वान्दो, केन्पो काइ, बक्सिङ, मुआ थाइ, उसु, एथलेटिक्स, कराँतेलगायत खेलका संघसंस्था, प्रशिक्षक र खेलाडीलाई १ देखि ६६ थानसम्म सामग्री वितरण गरिएको छ । खेल सामग्री वितरण गर्दै मेयर आचार्यले असोज अन्तिममा पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी मिहिनेत गर्न प्रशिक्षक र खेलाडीलाई आग्रह गरे । ‘पोखरा उत्कृष्ट आतिथ्यता दिने सहर हो । पाहुनालाई सम्मानजनक व्यवहार गर्न चुक्न हुँदैन,’ उनले भने, ‘सम्मान त गर्ने हो, त्यो सँगै पदक पनि जित्नुपर्छ । ३६ खेलमध्ये धेरैभन्दा धेरै खेलमा पदक गण्डकी प्रदेशले ल्याउने गरी मिहिनेत आवश्यक छ ।’ नवौँ राष्ट्रिय खेलकुद सफल पार्न स्थानीय आयोजक भएको नाताले पोखरासँगै प्रदेशका खेल संघ र खेलाडी लाग्नुपर्ने उनले बताए । ‘राम्रो भयो भने त्यसको जस् हामीले नै पाउँछु । केही नराम्रो भए पोखरा र हाम्रै बद्नाम हुने हो । खेलसँग सम्बन्धित सबै अनुशासित र मर्यादित हुन जरुरी छ,’ उनले भने । पोखराबाट राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रशिक्षक उत्पादन गर्ने गरी योजना ल्याउने मेयर आचार्यले बताए । थोरै बजेट भए पनि सके जति खेललाई सामग्री बाँडेर सम्बोधन गर्ने प्रयास गरेको खेलकुद विकास समिति अध्यक्ष दिपकबहादुर गोदारले बताए । नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलाई यसपटक सम्बोधन गरेको उनको भनाइ थियो । खेलकुद विकास समितिको कार्यालय मेयर आचार्यले शुक्रबार नै रंगशालामा उद्घाटन गरेका छन् । यसअघि कार्यालय ड्यामसाइडस्थित शिक्षा महाशाखासँगै थियो । खेलसम्बद्ध निकाय भएको र रंगशालामा राख्दा कार्यसम्पादनमा सहज हुने भएकाले कार्यालय सारिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले बताए ।

