पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा  :  पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्षले वडाका फुटपाथ पसल र अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ ।   महानगर र वडाबाट स्वीकृति नलिइकन निर्माण भएका स्थायी, अस्थायी टहरा र अतिक्रमित जग्गामा एवं मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने अभियान चलेको उल्लेख गर्दै वडा कार्यालयले ७ दिन भित्र संरचना हटाउन सुचना प्रकाशित गरेको हो ।  सुचनामा भनिएको छ, ‘वडा कार्यालयमा स्वीकृति नलिइकन निर्माण भएका स्थायी तथा अस्थायी टहरासमेतका अतिक्रमति जग्गामा एवम् मापडण्ड विपरित निर्मित संरचना हटाउने अभियान चलिरहेको हुँदा स्वीकृत नलिइकन निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाइदिनुहुन यो सुचना प्रकाशित गरिएको छ । सुचनामा ७ दिनभित्र पहिलो चरणमा जिरो किलोमिटर देखि उत्तरतर्फ र बागलुङ राजमार्गको दायाँबायाँको सडकमा महानगर र वडाको स्वीकृति नलिइकन निर्माण भएको संरचना हटाउन निर्देशनसमेत दिइएको छ ।     ७ दिन भित्र संरचनाहरु सम्बन्धित सरोकारवाला व्यक्तिबाट संरचना नहटाए प्रचलित कानुन बमोजिम हटाउँदाको खर्चसमेत असुल हुने सुचनामा बताइएको छ ।

  पोखरा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ ।    पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा  कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् ।   विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता दिग्गज खेलाडीहरुलाई पोखरा एभेन्जर्सले आफ्नों टिममा अनुबन्धन गराएको छ । सुवोध त्रिपाटी र आतिस ज्ञवालीको वर्नशिपमा रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ गते सम्म टियु खेल मैदानमा हुनेछ । 

    पोखरा:  गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बिच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार रसियन कल्चर सोको कार्यालय काठमाण्डौमा दुवैपक्षबिच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरें ।   हस्ताक्षर पश्चात सदस्य सचिव श्रेष्ठले आफुहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ’ श्रेष्ठले भने ।   रसियन दुतावासका प्रथम सचिव समेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’ उनले वाचा गरे ।   सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्विकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।   सांस्कृतिक टोलीको सहभागीतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिका बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रसियन कल्चर सो’ समेत हुनेछ । यो ‘कल्चरल सो’ मार्फत गण्डकी प्रदेशबासीले रसियन कल्चरको बारेमा जानकारी पाउने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको विश्वास छ ।

म्याग्दी  :  म्याग्दीकी एक मनकारी महिलाले पितृ कार्य (श्राद्ध) मा खर्च गरिने रकम क्यान्सर रोगीको उपचारका लागि सहयोग गर्नुभएको छ ।   म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटकी शिवकुमारी घिमिरेले आफ्ना स्वर्गीय ससुराको श्राद्धको तिथि पारेर आज पेटको क्यान्सर रोगबाट पीडित रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीका ४७ वर्षीय रीमबहादुर विकलाई आर्थिक सहयोग गर्नुभएको हो ।    आर्थिक अवस्था अत्यन्त कमजोर रहेका विकको आर्थिक उपचारमा समस्या भएको थाहा पाएपछि घिमिरेले आफ्ना दिवङ्गत ससुरा रुद्रबहादुर घिमिरेको श्राद्ध तिथि पारेर रु  सात हजार पाँच सय पाँच आर्थिक सहयोग गर्नुभएको क्यान्सर पीडित विकले जानकारी दिनुभयो ।   स्व ससुरा घिमिरे, स्व सासु कालिका घिमिरे र स्व पति भद्रबहादुर घिमिरेको सम्झनामा पोखरास्थित गण्डकी मेडिकल कलेज ९जिएमसी० अस्पतालमा उपचारत विकलाई बेनीको कालीपुल बसपार्कमा भेटेर उक्त रकम हस्तान्तरण गरेको सहयोगदाता घिमिरेले बताउनुभयो ।   “उहाँको अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि सक्दो सहयोग गरेकी हुँ”, घिमिरेले भन्नुभयो, “क्यान्सर जस्तो जटिल रोगले थलिएका भाइको उपचारमा थोरै भए पनि सहयोग गर्न पाएँ खुसी लागेको छ ।”    विगत एक वर्षदेखि पेट दुख्ने समस्याले ग्रसित विकको उपचारको क्रममा गत जेठ २७ गते भरतपुर क्यान्सर अस्पतालले पेटमा क्यान्सर भएको पत्ता लागेको थियो । औषधि उपचार गरिरहेका विकलाई चिकित्सकले पेटको शल्यक्रिया गर्नुपर्ने स्वास्थ्य सल्लाह दिएका छन् ।   हाल क्यान्सर रोगको अप्रेशन गर्न महँगोे खर्च लाग्छ । अहिले शरीरमा ‘किमो’ र औषधि प्रयोग भइरहेको छ । पेटको क्यान्सरको शल्यक्रिया गर्न रु २० लाख बढी खर्च हुने अस्पतालले बताएको विकले जानकारी दिनुभयो ।   दैनिक आरन र फर्निचरको काम (काठे काम) गरेर परिवारको गुजारा चलाउँदै आएका विकलाई क्यान्सर रोगको उपचारमा आर्थिक जुटाउन परिवारलाई समस्या भएको छ । पतिको क्यान्सर रोगको उपचारका लागि आर्थिक सहयोग गरिदिन पत्नी लक्ष्मी विकले अपिल गर्नुभएको छ । 

पोखरा:   पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अवैध सन्तानको संज्ञा दिएका छन् ।   पोखरामा जारी नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारलाई जनताले नपठाएको भन्दै अवैध सम्बन्धबाट बनेको बताएका हुन् ।   उनले जनादेशबाट नभइ परमादेशबाट वर्तमान सरकार अवैध रुपमा बनेको उल्लेख गरे । ‘यो सरकार अवैध सन्तान जस्तै हो कसरी आयो भन्ने जनता अनविज्ञ छन्, उनले भने ‘जनताले पठाएको सरकार होइन यो परमादेशले बनाएको सरकार हो ।’    उनले परमादेश सरकारले देशलाई दुर्घटना तर्फ घकेलेको बताउदै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि चुनावमा एमालेले जित्नै पर्ने दबाब रहेको धारणा राखे ।  ‘मंसिर ४ गतेको चुनाव एमालेले जित्नै पर्छ, उनले भने,‘ सामाजिक न्याय प्राप्तका लागि, समाजिक सद्भाव कायम गर्न, विकासको पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्छ ।’   राष्ट्रिय सद्भाव कायम गर्न र समृद्ध नेपाल निर्माण गर्न एमालेले मंसिर ४ गतेको चुनाव जित्न आवश्यक रहेको उल्लेख गर्दै श्याम टमोटले लेखेका गीत नै गुनगुनाए । ‘हातमा कलम हुनेहरु कलम लिएर उठ, हातमा औजार हुनेहरु औजार लिएर उठ, उनले थपे, ‘केही नहुनेहरु आवाज लिएर उठ । यो देशको मुहार फेर्नलाई उठ ।’   उनले माधब कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले थ्रेसहोल्ड क्रस गर्न नसक्ने दाबी गरे ।  ‘अहिले ति मान्छेहरु चोक्टा खान गएका झोलमा डुबेर फट्या फट्याक भइरहेका छन् । यो चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ । माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन, उनले भने, ‘तपाइहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला । नोट गरेर राख्नुस । चुनावसम्ममा माधब नेपालसँग आफुबाहेक कार्यकर्ता नै रहदैनन् ।’   उनले फरक प्रसंगमा लोकतन्त्रको आन्दोलन सफल भएपनि कार्यान्वयन हुन नसकेको बताउदै चिन्ता व्यक्त गरेका थिए । 

  पोखरा । लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ ।    लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन पोखराको चिप्लेढुङ्गा, न्युरोड हुदै सभागृहसम्म झाँकी तथा र्यालीसहित सम्मेलन सुरु भएको महासचिव हुमबहादुर गुरुङले जानकारी दिए ।    सम्मेलनलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति कार्यक्रम रहेको छ ।    सम्मेलन पोखराको सभागृहमा सुरु भएको छ ।  

गलकोट :   बागलुङ कांग्रेसले थालेको बिपी स्मृति भवन निर्माणले सार्थकता पाउन थालेको छ ।    भवनका लागि जग्गा खरिदसँगै शुभेच्छुकबाट सहयोग सङ्कलन अभियानलाई तीव्रता दिइएको छ । अब बन्ने भवनमा पार्टी कार्यालय सञ्चालन गरिने पार्टीले जनाएको छ । स्मृति भवन बनाउनका लागि एक हजार एक सदस्य समिति गठन गरेको कांग्रेसले पछिल्लो पाँच महिनायता भवन निर्माणका लागि रु एक करोड सङ्कलन गरिसकेको छ ।    कांग्रेस बागलुङको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति जित शेरचनको समितिले जग्गा खरिद गरेर भवन निर्माण गर्ने अठोट लिएसँगै रकम सङ्कलन तीव्रता पाएको हो । छोटो समयमै घडेरी व्यवस्थापन गरेर रकम सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “करिब दुई करोड रकम बागदान भइसकेको छ, हामीले उठ्ने रकम मात्रै बोल्न लगाएका छौँ, रकम सहयोग गर्नका लागि कांग्रेस समर्थकले आफैँ बोलाउने अवस्था छ । हालसम्म एक करोड रकम खातामा जम्मा भइसकेको छ, रकम उठ्ने कार्यले तीव्रता पाएको छ ।   रु १० करोड उठाउने लक्ष्य रहेको छ, जसले जग्गा खरिदको रकम तिर्न, घर निर्माण गर्न र कोष स्थापना गर्ने तयारी छ ।” कांग्रेसले बिपी स्मृति भवन बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद भइसकेको र हाल पार्टी कार्यालय बनाउनका लागि कांग्रेस शुभेच्छुकबाट रकम सङ्कलन अभियान चलाइ राखेकोे कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताउनुभयो । 

बलेवा  :  बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् ।   रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी  दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिनुभयो । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।   “बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।   विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले  ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताउनुभयो । गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

  कास्की ।  कास्कीको माछापुच्छ्र्रे  गाउँपालिका–३ घाचोकका लेखनाथ लम्साल ४६ वर्ष पुग्नुभयो । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह छैन । बस्तुभाउलाई कुँडोपानी र घाँसको बन्दोबस्त गरी एकाबिहानै पोखरा झर्नु उहाँको दैनिकी हो । उमेर छिप्पिदै गए पनि अध्ययनका लागि घाचोक–पोखरा यात्रा एक घण्टा लगाएर छिचोल्नुहुन्छ ।    गण्डकी विश्वविद्यालयले गत वर्षदेखि सुरु गरेको व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन, बिएसएम) को पहिलो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ्, लम्साल । सानैदेखि भलिबलप्रति रुचि राख्ने उहाँ खेलकुद व्यवस्थापनको पढाइ पूरा गर्न लागि पर्नुभएको छ । खेल क्षेत्रमै केही गर्नुपर्छ भन्ने लक्ष्य बोकेर हिँड्नुभएका लम्साल विश्वविद्यालयले सो कक्षा सुरु गरेको खबरले उत्साहित हुनुभयो । अग्रज, अनुज र खेल क्षेत्रकै दिग्गजहरुको सल्लाहमा उहाँ बिएसएममा भर्ना हुनुभएको हो । उहाँ अहिले दोस्रो सेमष्टरमा अध्यनरत हुनुहुन्छ ।    पढेर दक्ष खेलाडी उत्पादन गर्ने र आफैँले तालिम केन्द्र खोल्ने योजना उहाँले सुनाउनुभयो । खेलकुदमा विकृति बढ्दै गएकाले त्यस्तो विकृति रोक्न शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ । “खेल खेलेरमात्र हुँदैन, यसलाई पढ्नु पनि पर्छ”, उहाँले भन्नुभयो, “ व्यवस्थापन तहको व्यक्तित्व विकास गर्नुपर्ने रहेछ । यसका लागि के–के आवश्यक पर्ने रहेछ भन्ने कुरा जान्न मैले कक्षा लिइरहेको छु ।” एक खेलाडी र कुशल प्रशिक्षकका लागि संस्कृति र उत्पे्ररणा पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।    नेपालमै पहिलोपटक सुरु खेल व्यवस्थापनमा उहाँ जस्तै २१ जना अध्ययनरत छन् ।  पहिलो सेमेष्टरमा १२ र दोस्रो सेमेष्टरमा नौ विद्यार्थी छन् । त्यहाँ पढ्नेको उमेर १८ देखि ४६ वर्षसम्मको छ भने उहाँहरु छुट्टाछुट्टै खेलसँग सम्बन्धित हुनुहुन्छ । नेपालको महिला भलिबलकी कप्तान अरुणा शाहीसँगै अन्य खेलका खेलाडी र खेल क्षेत्रमा भविष्य सोच्नेले बिएसएम पढिरहनुभएको छ ।   अध्ययनपछि काम गर्ने क्षेत्र धेरै भएका कारण पनि प्रदेशले यसतर्फ चासो देखाएको हो । नेपालमा यो पढाइ सकेपछि धेरै सम्भावना रहेकाले गण्डकी विश्वविद्यालयले पढाइ सुरु गरेको बिएसएमका संयोजक डा मधुसुदन सुवेदीले बताउनुयभो । डा सुवेदी पनि भारतबाट खेलकुद विषयमा विद्यावारिधि गरेर बिएसएमको संयोजकको जिम्मा लिनुभएको हो । “नेपालमा कम्तीमा पाँच हजार व्यावसायिक व्यवस्थापक चाहिएको छ”, डा सुवेदी भन्नुहुन्छ, “त्यसैले क्षेत्र धेरै छ । सबैलाई पढ्न सुझाव दिन्छु ।”    बिएसएममा जुनसुकै सङ्कायमा १२ पास गरेको भर्ना हुन सक्छन् । चारवर्षे सेमेस्टर प्रणालीअनुसार आठ सेमेस्टरमा पढाइ हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको विशेष सहयोगमा कम खर्चमा उक्त पढाइ सञ्चालन भइरहेको उहाँको भनाइ छ । चार वर्षे पढाइ सक्दा रु तीन लाख ८० हजार लाग्ने उहाँले जानकारी दिनुभयो । “ आठ सेमेष्टर सक्दा रु तीन लाख ८० हजार खर्च आउँछ”, उहाँले भन्नुभयो, “यो रकम भनेको एकदमै कम हो, विदेशमा म आफैँ पढ्न जाने भनेर बुझ्दा तीन वर्षे कोर्सका लागि निर्क खर्च लाग्ने थाहा पाएको छु ।”   एक सेमेष्टरमा ४० जनाको कोटा भए पनि अहिले सोचेजस्तो विद्यार्थी भर्ना नभएको संयोजक डा सुवेदीले जानकारी दिनुभयो । “यो नेपालकै पहिलो कोर्ष भयो अनि हामीले सुरुका वर्षमा सबै ठाउँमा पुग्न सकेनौँ यसले गर्दा पनि थोरै भर्ना भएका हुन्”, उहाँले भन्नुभयो । अहिले तेस्रो सेमेष्टरको भर्ना प्रक्रिया सुरु भएको छ । तेस्रो समेष्टरका लागि धेरै जनाबाट फोन, म्यासेज, इमेल आएको उहाँले बताउनुभयो । अबको सेमेष्टरमा ४० वटै कोटा पुग्ने गरी भर्ना हुने उहाँको अनुमान छ ।    नेपालमै पहिलोपटक गण्डकी विश्वविद्यालयले सञ्चालन गरेको यो कोर्ष भने भाडाको भवनबाट सञ्चालन भईरहेको छ । पोखरा १८ हिमाली टोलमा रहेको फिस्टेल एकेडेमीको पुरानो भवन भाडामा लिएर कक्षा सञ्चालन गरिरहेको पोखरा विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले जानकारी दिनुभयो । योसँगै पोखरा विश्वविद्यालयअन्तर्गत पढाइ हुने सबै विषयलाई स्तरीय बनाउन भवन निर्माणको काम चलिरहेको प्रा डा गुरुङले बताउनुभयो । नेपाल सरकारबाट जग्गा प्राप्तिपछि पोखरा ३२ ज्ञानकुञ्जमा विश्वविद्यालयको भवन शिलान्यास गरेर काम अघि बढेको छ   विश्वविद्यालयअन्तर्गत अहिले ब्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट, फार्मेसी, आइटी, बिबिए र बिएएलएलबिको कक्षा सञ्चालन गरिएको छ । विश्वविद्यालयले आगामी दिनमा मेकानिकल इन्जिनियरिङ, माउण्टेनिङ एग्रीकल्चर र खानी इन्जिनियरिङको विषयमा पढाइ सुरु गर्न छलफल चलिरहेको कुलपति प्रा डा गुरुङले जानकारी दिनुभयो ।