दार्चुला : अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताउनुभयो । यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ । घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।
पोखरा: पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय महिला भलिबलको अन्तिम चारमा अर्चलबोट क्लब, लामाचौर पुन समाज, हैदागा तनहुँ र एसियन सुज प्रवेश गरको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शुक्रबार) भएको खेलमा अर्चलबोटले ठाडाखानीलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको मुख्य रेफ्री राम पुनले जानकारी दिए । उनका अुनसार अर्काे खेलमा एसियन सुजले गुरुकुल स्कुललाई २५–४ र २५–१० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्याै । शान्ता भलिबल प्रशिक्षण केन्द्रको अनुपस्थितिमा हैदागा तनहुँ वाकओभरमार्फत जीत्दै सेमिफाइनलको यात्रा तय गर्याे । शनिबार पहिलो सेमिफाइनल खेल हैदागा तनहुँ र एसियन सुजबीच हुनेछ भने अर्काे सेमिफाइनल खेल अर्चलबोट र लामाचौबीच हुने कार्यक्रम संयोजक मजोज खड्काले बताए । उनका अनुसार आज भएको पुरुषतर्फको पहिलो खेलमा माछापुच्छ्रै गाउँपालिकालाई जिएम समाज कावासोतीले २५–१३ र २५–१६ को सोझो सेटमा पराजित गर्याे । त्यसैगरि अर्काे खेलमा सशत्र प्रहरी बल मालेपाटनले आयोजक निलोलाई २८–२६ र २५ १८ को सोझो सेटमा हरायो । अन्तिम खेलमा छन्त्याल युवा क्लबलाई गलकोट क्लबले २८–२६, २५–१५ र २५–१५ को सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अुनसार शनिबार महिला तर्फको सेमिफाइनल खेल र पुरुष तर्फका २ प्रिक्वाटरखेलसँगै सेमिफाइनल खेल सञ्चालन गरिनेछ । महिला तथा पुरुषको फाइनल खेल आइतबार सम्पन्न गरिने आयोजकले जनाएको छ ।
पोखरा । पोखरामा सवारी साधन अनुमति पत्रको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्की गण्डकी प्रदेश, कास्की पोखराबाट सञ्चालन गरिएको वर्ग ‘के’ स्कुटरको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । भदौँ २२ गते सञ्चालन भएको उक्त परिक्षामा तनहुँ भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षा दिने जिल्ला मकवानपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा प्रकाउ परेका हुन । साथै उक्त परिक्षा दिन लगाउने भानु नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ को निरा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए । दोषीलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
वालिङ ः गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिनुभयो । बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “कुल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ । पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ । उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ । सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । उक्त पुल जीर्ण र पुरानो भएकाले चार–पाँच वर्षदेखि अधिकतम १० टन भारवहन क्षमताका सवारीसाधनलाई मात्रै सामान ढुवानी गर्न दिइएको छ ।
पोखरा : नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस समितिको अध्यक्षमा रसेल राना मगर चयन भएका छन् । शुक्रबार भएको क्याम्पस अधिवेशनले रसेल रानामगरको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिव इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुनमगरले जानकारी दिए । त्यस्तै समितिको सदस्यहरुमा बिमल थापा मगर, हिमाल राना मगर, पदम थापा मगर, सृजना राना मगर, सुजन घर्ति मगर,अन्जित आले मगर, चमन आले मगर, सरोज राना मगर, रोशन पुनमगर र रिवाज थापा मगर चयन भएका छन् । नेपाल मगर विद्यार्थी संघ कास्कीले भदौ २५ गते जिल्ला अधिवेशन गर्ने भएकाले क्याम्पस अधिवेशनलाई तिव्रता दिइरहेको छ ।
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ( प्रचण्ड) ले आगामी मंसिर ४ गते हुने चिर्वाचनमा चितवनबाट उठ्ने बताएका छन् । शुुक्रबार प्रेस सेन्टर नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले देशैभर आफ्नो लहर भएको बताउदै अन्त्यतः चितवनबाटै उठ्ने स्पष्ट पारेका हुन् । ‘गोरखाका कांग्रेसी नेताले यहाँ आइदिनुस तपाइ जानैपर्दैन हामी जिताइदिन्छौं भन्नुभाछ तर म चितवनबाटै लड्छु, उनले भने, ‘मेरो दिमागमा दायाँबायाँ अरु केही छैन । चितवनको जनताको चेतना र भावनाप्रति मलाई विश्वास छ ।’ उनले गठबन्धन भएको कारण चितवन छोड्दा नकरात्मक सन्देश प्रवाह हुने धारणा राखे । ‘अहिले गठबन्धन पनि छ । यसमा विमती पनि छैन, उनले भने, ‘त्यसो भएको हुँदा अहिले चितवन छोड्दा त्यती राम्रो सन्देश जादैन । यसले राष्ट्रिय सहमति र एकताको सन्देश दिदैंन । कहीं न कहीं नकरात्मक सन्देश जान्छ ।’ उनले आफुले चितवनबाटै जित्नेमा ढुक्क रहेको बताए । ‘चितवनबाट जित्छु भन्नेमा म चाँही झण्डै पूर्ण कन्फिडेन्ट छु । विश्वासमा छु । म कहिले सिराहा कहिले रोल्पा त कहिले काठमाडौंबाट लडे त्यसको अर्थ केहो भने प्रचण्ड एउटा मात्रै ठाउँको होइन देशैभरीका जनताको हो भन्ने सिद्ध गर्नु थियो, उनले भने ‘त्यो सिद्ध भयो । अहिले चितवन छोड्दा त्यो सिद्ध हुदैन । डराएर हिडेको भनेजस्तो हुन्छ । म त्यसो गर्न चाहन्न । किनभने मैले जित्छुु ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो निर्वाचनपछि नागरिकलाई सचेत बनाउन आन्दोलन गर्ने बताए । ‘यो निर्वाचन प्रणाली गरिब दिन दुुःखीको लागि महङ्गो साबित भयो, उनले भने ‘संविधान संशोधन गरेर नागरिक सचेत बनाउँदै निर्वाचन प्रणाली बदल्न पनि माओवादी मात्र नभएर सम्पुुर्ण राजनितिक दलहरु एक हुने आशा लिएर अगाडी बढ्ने छुु ।’ अध्यक्ष प्रचण्डले अहिले नै प्रधानमन्त्रीको दौडमा नभएको बताए । ‘पाँच दलीय गठबन्धनबाट म नै प्रधानमन्त्री बन्छुु भनेर अहिले दौड छैन, उनले भने, ‘निर्वाचनको परिमाण कस्तो हुुन्छ त्यसै अनुसार नै सोच बनाउने छुु ।’ उनले फरक प्रसंगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यायदेशमार्फत ल्याएको नागरिकता विद्येयकको विरोध आफुुहरुले नगरेको बताए । ‘हामीले नागरिकता विद्येयकको विरोध गरेको होइन । उहाँले अध्यादेशबाट ल्याएको विद्येयकलाई सदनबाट पास गरेर ल्याउन अदालतले फिर्ता गरेको हो । प्रचण्डले भने । उनले गठबन्धनमा निर्वाचनका लागि सिट बाँडफाटबारे छिटै टुङ्गो लगाउनेसमेत बताएका थिए ।
काठमाडौँ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको हो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न वि.सं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रुपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजीबजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पु¥याएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम बिपी जयन्ती मनाउन लागेको जनाइएको छ ।
काठमाण्डौं: नेपाल क्रिकेट संघले राष्ट्रिय टोलीका कप्तानसमेत रहेका सन्दीय लामिछानेलाई निलम्बित गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै नेपाल क्रिकेट संघले काठमाण्डौं जिल्ला अदालतले पक्राउ पुर्जी जारीगरेको भन्दै निलम्बित गरेको हो । क्रिकेटर लामिछाने विरुद्ध जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको थियो ।
पोखरा: पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबल प्रतियोगिता बिहिबार ६ खेल सम्पन्न भएका छन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बिहिबार) भएको पहिलो खेलमा ठाटीको अनुपस्थितिमा ससत्र प्रहरी बल मालेपाटनले वाकओभरमार्फत विजयी बनेको क्लबका अध्यक्ष कुशल प्रसाद छन्त्यालले जानकारी दिए । उनका अनुसार दोस्रो खेलमा गलकोट बाग्लुङले गुरुकुल नयाँबजारलाई २५–१५ र २५–१६ को अंकसहित सोझा सेटमा पराजित गर्याे । तेस्रो खेलमा अन्नपूर्ण गाउँपालिकाले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१७ र २५–२० को अंकसहित सोझा सेटमा हरायो । चौथो खेलमा माछापुच्छ्रे गाउँपालिका भलिबल संघले धवलागिरीलाई २५–२२ र २५–२१ को अंकसहित सोझा सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो । पाँचौ खेलमा मामा भान्जा टिमले हेडजा भलिबल क्लब तनहुँलाई २५–१८ र २५–१५ को अंकसहित सोझा सेटमा हरायो । त्यसैगरि अन्तिम खेलमा छन्त्याल युवा संघ कास्कीले भूपु गाइजलाई २५–२३, २४– २६ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गरेको थियो । महिला तर्फ लामाचौर पुन समाज र प्रदेश प्रहरी तालिम केन्द्र पोखराबीच आज हुने भनिएको खेल अविरल वर्षाका कारण स्थगित भएको थियो । उक्त खेल शुक्रबार बिहानै ८ बजे सञ्चालन गरिने अध्यक्ष छन्त्यालले बताए । कार्यक्रम संयोजक मजोज खड्काका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार शुक्रबार पनि प्रवेश शुल्क १ सय नै निर्धारण गरिएको छ । यसभन्दा अघिल्लो संस्करणको प्रतियोगिताबाट संकलित प्रवेश शुल्क मध्येबाट १ लाख मृगौला पीडितलाई सहयोग गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ २२ टिमको सहभागिता रहेको छ भने महिला तर्फ १० टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

