पोखरा : पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटक बढेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ भ्रमण गरेपछि विन्ध्यवासिनी मन्दिरमा भारतीय पर्यटकको संख्यामा वृद्धि भएको बताएका हुन् । पोखरामा शुक्रबार विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका कार्यवाहक अध्यक्ष सुवेदीले सो दावी गरेका हुन् । ‘सोह्र श्राद्ध सुरु भएपछि नेपाली पर्यटकहरु घटेका छन्, उनले भने, ‘अहिले दैनिक संकलन भएको भेटी (भारतीय पैसा) ले नै विन्ध्यवासिनी धार्मिक क्षेत्रमा भारतीय पर्यटकको संख्या वृद्धि भएको जनाउँछ ।’ यसैगरि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले कोरोना महामारीको समय अगाडी मासिक १ करोड (पैसा) भेटी संकलन हुने गरेको उल्लेख गरेको बताउदै पछिल्लो समय महामारीले प्रभाव पारेको बताए । ‘मन्दिरको मुख्य स्रोत नै भेटी संकलन हो, उनले भने, ‘कोरोना अगाडी दैनिक एकलाख देखि देढ लाख भेटी संकलन हुुन्थ्यो तर अहिले दैनिक ५०/६० हजारमा झरेको छ ।’ भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको अधिकारीले बताए । उनका अनुसार मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन । मन्दिर व्यवस्थापन समितिले कर्मचारी व्यवस्थापनमा मासिक १४ लाख खर्च हुदै आएको छ । असोज १० देखि नवदुर्गा महोत्सव विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म नवदुर्गा महोत्सव आयोजना गर्न लागिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने छ । भने युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नेछन् । सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुनेछ । पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ । महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ । विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खल्ुला गरिने समितिले जनाएको छ । धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको सचिव श्रेष्ठले जानकारी दिएका थिए । स्थायी प्रहरी पोस्टको माग समितिले मन्दिरको सुरक्षाका लागि विन्ध्यवासिनी स्थायी प्रहरी पोस्टको लागि माग गरेको छ । मन्दिरमा अस्थायी प्रहरी पोस्ट सञ्चालन हुँदा उनीहरुलाई कहिले मापसे कहिले कुन क्षेत्रमा खटाउँदा मन्दिरको सुरक्षामा प्रश्न उठेको भन्दै स्थायी प्रहरी पोस्ट स्थापना गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालमा माग गरेको हो । मन्दिरको सुरक्षाका लागि विभिन्न क्षेत्रमा अहिले १६ वटा सिसी टिभी क्यामेरा जडान गरिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले अब मन्दिरमा आउँदा पर्यटकहरुले मिनिरल वाटर पानी बोकेर आउन नपर्ने दावी गरेको छ । समितिले बोतल र जारको पानी प्रयोग नगर्ने गरी पानी शद्धीकरण गरेर धाराको पानी नै पर्यटकले प्रयोग गर्ने योजना केही दिनमा सञ्चालन हुन लागेको धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।
कास्की । कवाडी संकलन केन्द्रलाई शहरी क्षेत्रबाट बाहिर लैजान पाेखरा महानगरले ३५ दिने अल्टिमेटमसहित निर्देशन दिएको छ । पोखरा महानगरपालिकाका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीद्वारा हस्ताक्षरित सूचना प्रकाशन गर्दै पोखरा शहर र मुख्य आवास क्षेत्रको कम्तिमा ५ सय मिटर दुरिभन्दा बाहिर सार्न निर्देशन दिएको हो । पोखरा महानगरपालिकाद्वारा जारी गरिएको सुचनामा भनिएको छ, ‘हाल समुदायमा डेंगु रोगको प्रकोप फैलदै गएको अवस्थामा महानगरपालिकाले रोकथाम तथा नियन्त्रणको लागि विभिन्न अभ्यासहरु गर्दै आएको छ । यसै सन्दर्भमा महानगरपालिकाको मुख्य आवस क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रहरुबाट यो रोग फैलन ठुलो मद्दत पुगिरहेकाले सो केन्द्रहरु कारकका रुपमा रहेको पाइएकाले मुख्य आवस क्षेत्रको कम्तिमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थापना गर्न सम्बन्धित व्यवसाय संचालकहरुलाई हार्दिक अनुरोध छ । सुचनामा स्पष्ट पारिएको छ, 'सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाइएमा दुवैपक्ष (जग्गाधनि र व्यवसायी) लाई कानून अनुसार कारवाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’
पोखरा ः न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ । महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ । आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । ‘आइतबारदेखि यसको प्रभाव घट्दो क्रममा रहन्छ तर पानी पर्ने क्रम भने रोकिंदैन,’ मौसमविद भट्टराईले भने, ‘हल्कादेखि मध्यम वर्षा हुन्छ, भारी वर्षाको संख्या र स्थान कभरेज कम हुन्छ ।’ काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा हुने तर भारी वर्षाको सम्भावना नरहने उनले बताए । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा उल्लेख छ । पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।
पोखरा : पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिनुभयो । अनपढ उहाँलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाउनुभयो । काठमाडौँमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उहाँको जीवनमा विसं २०६७ मा बज्रपात प¥यो । श्रीमानको मिर्गौला देखिएको खराबीका कारण मृत्यु भयो । त्यसपछि विसं २०६८ मा पोखरा आएर पोखरा–७ को सुकुम्बासी बस्तीमा भुजामती बस्न थाल्नुभयो । आफू बसेको जमिन आफ्नो होइन भन्ने उहाँलाई राम्रोसँग थाहा थियो । “थाहा पाएरै पनि यहाँ आएर बकेको हुँ मेरो जग्गा पनि होइन”, भुजामततीले भन्नुभयो, “चुनावका बेला नेताहरू आएर जग्गा तपाईँकै नाममा बनाइदिन्छौँ त भन्थे ।” आफ्नै नामको जग्गा हुने आशामा उहाँले २०७०, २०७४ र २०७९ को चुनावमा सक्रियता देखाउनुभयो । धेरै चुनावमा आश्वासनमात्र बाँडेपछि भुजामतीले अब यसबारेमा आशा मारिसक्नुभएको थियो । बुधबार राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले संयुक्त कार्यक्रम गरी निस्सा (सेतो पुर्जा) वितरण गर्दा उहाँलाई पनि आमन्त्रण गरिएको थियो । निस्सा ग्रहणका लागि आफ्नो नाम कार्यक्रम सञ्चालकले लिनेबित्तिकै भुजामतीको गहभरि आँशु भयो । टिलपिल–टिलपिल भएका आँशु पुछ्दै स्टेजमा पुगेर लालपुर्जा प्राप्तिका लागि वितरण गरिएको सेतो निस्सा हातमा परेपछि उहाँले भन्नुभयो, “धन्यवाद छ सरकार, यो सेतो कागज पाइयो अब छिट्टै रातो लालपुर्जा पाएँ भने सिरानीमा राखेर सुत्छु ।” भुजामती मात्र होइन, उक्त कार्यक्रममा पोखराका सबै वडाका केही सङ्ख्यामा सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । पोखरा–२५ बाट सुरु गरिएको कार्यक्रम निर्वाचन आचारसंहितालाई ख्याल गर्दै छोट्याएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । बुधबार महानगरका १६ वटा वडाका एक सय ९९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको थियो । वडा नं १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का सुकुम्बासीले प्रतिनिधिमूलकरूपमा निस्सा पाएका थिए । यसअघि महानगरको वडा नं २५, ६, ९, १४, ३२ र ३३ मा निस्सा वितरण गरिएको थियो । उक्त महानगरपालिकामा १९ हजार आठ सय ५६ भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी सूचीकृत भएका थिए । उनीहरूमध्ये सात हजारभन्दा बढीलाई निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण गराइसकिएको थियो भने बाँकी सूचीकरणको क्रममा रहेका छन् । उनीहरुको निवेदन भूमि आयोगमा सुचीकृत गरिएपछि निस्सा वितरण गर्दै जाने महानगर र आयोगको योजना छ । “कोही पनि भूमिहीन बन्नु हुँदैन, हुनु पनि हुँदैन भन्ने मान्यतामा पोखरा महानगरको छ । यसैअनुरुप अहिले निस्सा वितरण सुरु गरेका हौँ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “यो लालपुर्जा त होइन, तर ढिलोचाँडो सबैले लालपुर्जा पाउनुहुन्छ भन्ने सुरुआती चाँही हो ।” सूचीकृत गर्न समय लाग्ने जानकारी दिँदै उहाँले निस्सा प्राप्त गर्नु नै लालपुर्जा हात पर्नका लागि बलियो आधार बनेको बताउनुभयो । “तीनपुस्ते नाम दर्ता गर्नुप¥यो, त्यसका लागि कर्मचारी पनि व्यवस्थापन गर्नुप¥यो । एउटा व्यक्तिको डाटा भर्न कम्तीमा आधा घण्टा लाग्छ तर साथीहरू यसैमा लाग्नुभएको छ”, महानगरप्रमुख आचार्यले भन्नुभयो, “बाँकी डाटा पनि विस्तारै इन्ट्री गर्दै जान्छौँ । यसमा कुनै समस्या हुँदैन । अहिले निस्सा बाँडेकै ठाउँ असुरक्षित, सम्पदा वा मापदण्डभित्र पर्ने भए महानगरले नै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सक्छ ।” सुकुम्वासी बनेका नागरिकलाई जमिनको मालिक बनाउने काम कास्कीमा प्रारम्भ भइसकेको उक्त आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पौडेले बताउनुभयो । कास्कीका ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले रातो लालपुर्जा प्राप्त गरिसकेका छन् । अहिले निस्सा प्राप्त गरेकाहरुले कुनै न कुनै दिन अवश्य लालपुर्जा प्राप्त गर्ने उहाँले विश्वास दिलाउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले प्राप्त निस्साका आधारमा जग्गा प्राप्तीको अधिकार कसैले पनि खोस्न नसक्ने अध्यक्ष पौडेलले बताउनुभयो । यसलाई चुनावी नारामा मात्र सीमित नगरी अब साँच्चै सरकारले हेर्छ भन्ने अनुभूति दिलाउन पनि आगामी कार्यक्रम चुस्त र दुरस्त बनाउनुपर्नेमा उहाँको जोड थियो ।आयोगका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको सङ्ख्या करिब २६ हजार छ ।
पोखरा । पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो । पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बन्जराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।
पोखराः नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी यतिबेला पोखरामा आर्थिक सहयोग जुटाउन व्यस्त छ । पार्टीको जिल्ला कमिटी कास्कीले नवौं महाधिवेशन आयोजनार्थ सहयोगको नाममा पोखराका व्यापारी, व्यवसायीलाई पत्र काटेर चन्दा संकलन सुरु गरेको हो । पार्टीका कास्की सेक्रेटरीको हस्ताक्षर रहेको पत्रमा व्यवसायीसमक्ष अपील गरिएको छ । सुरुमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको पत्र थमाउने र पछि संकलनार्थ टोली परिचालन गरिएको छ । अनुरोधपत्रमा रकम खुलाइएको छैन तर लिने र दिनेबीच बार्गेनिङ् भने गरिएको छ । पत्र थमाएर गएको केही दिनमा ३–४ जनाको समूह रकम माग गर्न आउने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक व्यवसायीले जानकारी दिएका छन् । ‘यति नै भनेर पत्रमा उल्लेख गरिएको छैन’ उनले भने ‘तर उहाँहरुको माग व्यापारको हिसाबले बढी नै छ ।’ ‘तपाइले कति दिनुभयो ?’ भन्ने प्रश्नमा उनले यति नै भनेर नखुलाए पनि कडै बार्गेनिङ् भएको बताए । उनी भन्छन् ‘ठूला साहू महाजनलाई त चन्दा दिनुमा पनि केही स्वार्थ लुकेको हुनसक्ला तर हामी मर्कामा छौं ।’ पोखरामा नाम, दाम कमाएका एक चर्चित व्यापारीले भने विप्लव टोलीलाई चन्दा र कुनैपनि सहयोग नगरेको बताएका छन् । यद्यपि, सहयोग रकमको माग गरिएको चिट्ठी आएको भने उनले स्वीकार गरे । ‘चिट्ठी आएको छ, र कुराकानी पनि भएको छ तर मैले दिइहालेको भने छैन’ उनले भने ‘अरु सबै राजनीतिक दलले चन्दा उठाउँदा उनीहरुलाई पनि धेरथोर सहयोग त गर्नु नै पर्ला ।’ चन्दा उठाएको विषयमा प्रतिक्रिया लिँदा कास्की सेक्रेटरीले चन्दा उठाउने पार्टीको नीति नभएको भन्दै सहयोगकालागि अनुरोध गरेको प्रष्ट्याए । ‘हामीले असोज १ गतेदेखि काठमाण्डौंमा पार्टीको महाधिवेशन गर्दैछौं, त्यसैकालागि धेरथोर सहयोग मागेको सत्य हो’ सेक्रेटरीले भने ‘कसैलाई पनि जबर्जस्ती गरेका छैनौं तर थोरै भएपनि सहयोगको अपेक्षा गरेका छौं । पार्टीलाई प्राप्त हुने कुनैपनि सहयोगको दुरुस्त हिसाब किताब राखेको उनले दाबी गरे । ‘आउनुहोस्, हामी तपाइलाई आर्थिक वा अन्य सहयोगको पुरै विवरण देखाउँछौं’ सेक्रेटरीले भनेका छन् ‘हाम्रो पार्टी पारदर्शितामा विश्वास गर्छ ।’ सोहीक्रममा उनले पैसामात्रै माग्दै नहिँडेको उल्लेख गर्दै जनस्तरबाट नैतिक, भौतिक सहयोग र सल्लाह–सुझावकोसमेत अपेक्षा गरेको जनाए । ‘सबैलाई एउटै घानमा हाल्नु भएन’ भन्दै कास्की सेक्रेटरीले नेकपा माओवादी कम्युनिष्टमात्र नभएर देशभक्त पार्टी पनि भएको उल्लेख गरे ।
पोखरा: पोखरामा नेपाल भारत मैत्री संघको आठौं केन्द्रिय सभा हुने भएको छ । नेपाल भारत मैत्री संघका कार्यवाहक अध्यक्ष शैलेन्द्रमोहन झाले पोखरामा पत्रकार सम्मेलन गरेर संघको भेला पोखरा आयोजना गर्न लागेको बताएका हुन् । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले पोखरामा केन्द्रीय सभाको आयोजना गर्न लागेको हो । उक्त सभामा भारतीय राजदूतको टिम नै पोखरा आउने कार्यक्रम रहेको बताइएको छ । संघले नेपाल र भारत एकअर्काको देशमा रहेका नागरिकको हकहितका लागि काम गर्दै आइरहेको जानकारी संघका कार्यवाहक अध्यक्ष झाले बताए । उनले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारतीय सरकारसंग पटकपटक पहल गर्दै आइरहेको र भविष्यमा पनि उक्त विषयलाइ प्राथमिकताका साथ अघि बढाउने दावी गरे । भारतको ४ वटा प्रदेशले मुक्तिनाथ क्षेत्र भ्रमणका जाने आफ्ना नागरिकलाई प्रति नागरिक २० हजार भारु दिँदै आइरहेको र अब २६ प्रदेशमै उक्त योजना लागू गराउनका लागि आफूहरु लागिपरेको सुनाए । दैनिक जसो नेपालमा १० हजार बढी पर्यटक आउने भारतबाट आउने उनको दावी छ । आठौँ केन्द्रीय मैत्री सभामा कसरी यहाँको पर्यटन विकासमा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने तयारी भइरहेको छ ‘भारतमा रहेका धामहरुको दर्शन गरेर मात्रै पुग्दैन । मुक्तिनाथको दर्शन नगरेसम्म मुक्ति पाइँदैन भन्ने विश्वास छ । त्यसैले पोखरा हुँदै मुक्तिनाथ जानुपर्ने हुन्छ।’ उनले भने । नेपाल भारत मैत्री संघ गण्डकीका अध्यक्ष ऋषिराम सापकोटाले भारतीय राजदूतलाई पोखराको भ्रमण गराउने कार्यक्रम रहेको र सभाका लागि भदौ ३१ गतेसम्म ३ सयभन्दा बढी प्रतिनिधि पोखरा आउने कार्यतालिका रहेको बताए ।
पोखरा : पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्फत पोखरेली उपभोक्ताको घरघरमा शुद्ध खानेपानीको सुविधा पुग्ने भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित सो आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो । मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य छ । पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेशन ट्याङ्की र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको छ । सोको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले जानकारी दिनुभयो । “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ल्याइएको पानी पुरन्चौरमा निर्माण गरिएको ट्रिटमेण्ट प्लान्टमा शुद्धीकरण गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिएको छ । इन्जिनियर दासका अनुसार मुहान निकटमा ग्रिट च्याम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्कीमा जडान गरिने पानीलाई नदीजन्य वस्तु ९बालुवा, ढुङ्गा, लेदो, काठका टुक्रा, झारपात० लगायतका फोहर हटाएर शुद्धीकरण गरिएको पानी पुरुन्चौरमा निर्माण गरिएको फिल्टरमा लगिने छ । मुहानको पानी सिधै धारामा आउँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने र नदीजन्य वस्तु पाइपमा भरिनुका साथै फ्रेवलमा बुझिन जाँदा सडक खन्ने र खानेपानी संस्थानको गाडीमार्फत पाइप सफा गर्ने झन्झटबाट उपभोक्ताले मुक्ति पाउने छन् । उक्त स्थानमा थप पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । पानीको मुहान मर्दीबाँधदेखि विन्दवासिनी सङ्कलन ट्याङ्कीसम्म साढे एघार किमीको दूरीमा छ । जुन मदी मुहानबाट २० इञ्चीको पाइप ल्याइएको छ भने अर्को १६ इञ्चीको पाइप साढे पाँच किलोमिटरको दूरीमा अमला बिसौनीको ट्याङ्कीमा सङ्कलन गरिएको छ । शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा नं ५ पस्र्याङ र वडा नं १५ कोलपाटनमा २०/२० लाख लिटर क्षमताका तीन वटा रिजर्भवायर ट्याङ््की निर्माण गरिएको छ । फूलबारी र पस्र्याङको रिजर्भवायर ट्याङ्की निर्माण सम्पन्न भइसकेका छन् भने प्राविधिक कारणले कोलपाटनको ट्याङ्की रोकिएको इन्जिनियर दासको भनाइ छ । हालसम्म आयोजनाको ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । वर्षाका कारण केही समय निर्माण कार्य रोकिए पनि हाल निर्माणले गति लिएको छ । सन् २०२२ डिसेम्बरसम्ममा आयोजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको सम्झौताअनुसार बजार क्षेत्रको सय किलोमिटर पाइप लाइन विस्तार कार्यमध्ये ८५ किमीभन्दा बढी विस्तार भइरहेको छ भने बाँकी १५ किमी सडक कार्यालय र महानगरअन्तर्गतको सडक खन्ने अनुमतिको पर्खाइमा रहेको उहाँको भनाइ छ । प्राविधिक समस्याले रोकिएका बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “शुद्ध पानी उपभोक्ताका घरघरमा पुग्नेछ, पाइप विस्तारका लागि सडक खन्ने समस्या देखिएका स्थानमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अनुमति प्राप्त भएसँगै आयोजना सम्पन हुनेछ ।” मर्दीखोला मुहानबाट २० र १६ इञ्चका छुट्टाछुट्टै दुईवटा पाइपमार्फत पोखरा बजारमा पानी ल्याएर वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुनेछ । आयोजनाबाट पोखराका चार लाखभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास लिइएको छ । पोखरामा दैनिक सात करोड लिटर पानीको माग छ । हाल पाँच करोड लिटर मात्र आपूर्ति भइरहेको नेपाल खानेपानी संस्थान पोखरा शाखाका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानले विभिन्न आठ स्थानमा बोरिङमार्फत उत्पादन गरिएको पानी वितरणबाट पोखरेली उपभोक्तालाई थप सुविधा पुगेको छ । पोखरामा हालसम्म ४७ हजार संस्थानका ग्राहक छन् । उहाँले भन्नुभयो, “वार्षिक दुई हजारभन्दा बढी नयाँ धारा जडानको माग छ । खानेपानी आयोजनामा सङ्घ र प्रदेश सरकारको समन्वय हुने हो भने कम खर्चबाट अधिकतम उपभोक्तालाई पानीको सुविधा पु¥याउन सहयोग पुग्छ ।” आलोपालो वितरण प्रणाली र उचित मर्मतसम्भार हुनसक्दा ३० प्रतिशत चुहावट हुने गरेको संस्थानको तथ्याङ्क छ । पोखराको जनसङ्ख्या वृद्धिदर अत्यधिक छ । यहाँ आवश्यक खानेपानीका लागि वैकल्पिक स्रोतको उपयोग गर्न जरुरी हुने देखिएको छ ।
म्याग्दी : बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ । सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभिर, बैसरी र नैनीबगरमा निरन्तर पहिलो खसेकाले मर्मतमा समस्या भएको बताउनुभयो । बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको छ ।

