पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा । जनता समाजवादी पार्टीनिकट तमुवान राष्ट्रिय समितिको बैठक पोखरामा सम्पन्न भएको छ ।    तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार ङोए तमु धिँ भवन लेखनाथ पोखरामा सम्पन्न भएको हो ।    सो कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका प्रदेश इन्चार्ज एवम पूर्वमन्त्री शिवलाल थापामगरले पार्टीको ऐतिहासिक छलाङले मधेश प्रदेश प्राप्ती गरेको बताउदै आन्दोलन र सत्तासङ्गै राष्ट्रिय राजनीतिमा उदाएको जनता समाजवादी पार्टीको विकल्प नभएको बताए ।    उनले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमन सम्पूर्ण नेता कार्यकर्तालाई पार्टीको एजेण्डाप्रति केन्द्रीत भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे ।   यसैगरि केन्द्रीय राजनीति समिति सदस्य एवम् मगरात समन्वय इन्चार्ज निर्मल जिसीले आसन्न निर्वाचनबारे जनता समाजवादी पार्टी नेपालको चुनावी अभियानबारे रणनीति सुनाएका थिए । उनले समुन्नत समाजवादसहितको पार्टीको पहिचान प्राप्तिको अवधारणाबारे आफ्नो मतको सुनिश्चितता जनता समाजवादी पार्टी मै किन ? भन्ने विषयमासमेत आफ्नो धारणा राखेका थिए ।   त्यस्तै जनता समाजवादी पार्टी नेपालको भातृसंगठन समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष विशम भुजेलले विद्यार्थी राजनीति र समाजवादी पार्टी नेपालको एजेण्डाबारे आफ्नो धारणा राखे । जसपाका केन्द्रीय सदस्य श्याममाया पुनमगरले राजनीतिमा महिला सहभागिता र समानुपातिक समावेशी प्रणालीबारे आफ्नो धारणा राखे ।   केन्द्रीय सदस्य एव गण्डकी प्रदेश सह–इन्चार्ज धनप्रसाद तामाङले आदिवासी सभ्यता आदिबासी जनजातिको नेपाली राष्ट्रिय राजनीति को ईतिहास बारे समिक्षा गर्न आवश्यक रहेको बताए ।      जसपाका नेता एवम् तमुवान इन्चार्ज रुद्र गुरुङले तमुवान प्राप्ती को पार्टीको अवधारणा , संघ प्रदेश र स्थानिय संरचनामा तमुवानको महत्वबारे आफ्नो मत राखेको थिए ।    तमुवान राष्ट्रिय समितिका अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य उमा गुरुङको स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने तमुवान राष्ट्रिय समितिका मुुख्य सचिव चन्द्र तामाङ मुस्कानले कार्यक्रम सञ्चालन गरेका थिए ।

मनाङ  ः  हिमाली जिल्ला मनाङ कहिले बाढी र पहिरोको चपेटामा पर्छ त कहिले छिमेकी जिल्लाको मारमा पर्दै आएको छ । दसैँ नजिकिँदै गर्दा जिल्ला फर्किने मनाङवासीलाई सकसको यात्रा झेल्नुपर्ने भएको छ ।    गत वर्ष बाढीपहिरोको मारमा परेको मनाङले यस वर्ष छिमेकी जिल्ला लमजुङको सडकको मार खेप्नुपर्ने भएको छ । मनाङ आउने तथा लमजुङको सदरमुकाम बेँसीसहर आउने एक मात्र सडकको दुरावस्थाले सास्ती खेप्नुपर्ने भएको हो ।    बेँसीसहर नगरपालिका-१ उदिपुरमा केही समयअघि मात्रै ठूलो पहिरो खसेपछि वैकल्पिक सडकमार्फत यात्राको प्रबन्ध मिलाइएको छ । तर यस सडकको दुरावस्थाले लमजुङवासी मात्रै नभएर विकट जिल्ला मनाङवासीको मेरुदण्डको सडकले समस्या थप्दै आएको छ । गत वर्ष नै पहिरोले सडक भासिएपछि हालसम्म मर्मत तथा सम्भार एवं निर्माणको काम शून्य रहेको यस सडकमार्फत हुने यात्रामा प्रस्ट देखिन्छ ।    उक्त सडक खण्डको दुरावस्था मर्मतसम्भार गर्नुको साटो सडकसँग सम्बन्धित निकाय भने मूकदर्शक भएर बसेको लमजुङका स्थानीयवासी बताउँछन् । सदरमुकाम पुग्न यस सडकमार्फत यात्रा गर्दा ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीयवासीको भनाइ छ । यता डुम्रे-बेँसीसहर–चामे सडक योजना कार्यालयले दुरावस्थामा यात्रा गरिरहेको भए पनि असोजदेखि मात्रै काम हुने जनाउँदै आएको छ ।    दुई जिल्लाको मेरुदण्डको सडक नै समयमा निर्माण हुन नसक्दा सर्वसाधारणलाई सदरमुकाम पुगेर काम गर्नसमेत लामो समय खर्चिनुपरेको स्थानीयवासी बताउँछन् । यस सडकमार्फत नै मनाङमा उत्पादित स्याउलगायत विभिन्न व्यापारिक कार्य गर्नुपर्ने हुन्छ । तर सडकको दुरावस्थाले सकस भएको मनाङका स्याउ कृषक बताउँछन् ।    यति बेला जिल्लामा उत्पादित स्याउ बजारमा पुर्‍याउने तथा पर्यटक आउने अनुकूल समय भएको छ । तर सडकको दुरावस्थाले कोभिड–१९ सङ्क्रमण न्यूनीकरणपछि पर्यटक आउने अवसरलाई सकस बनाएको मनाङवासी बताउँछन् ।    “मनाङको मेरुदण्डका रूपमा रहेको डुम्रे–बेँसीसहर–चामे सडक खण्डको बेँसीसहर आउन अगाडि नै सकस झेल्नुपर्छ । मनाङ आउन हिँडेका पर्यटक सडकको अवस्था देखेर नै फर्किन्छन् कि भन्ने समस्या भएको छ । लमजुङवासीले पहल गर्न सके उनीहरुसँगै मनाङवासीलाई सहज हुने थियो”, मनाङका पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले भन्नुभयो ।    मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । वर्षामा बाढीपहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भए पनि मुख्य सडक पर्ने छिमेकी जिल्लामा समस्या आए मनाङलाई पनि प्रभाव पर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । यो समस्या समाधान भएमा लमजुङसँगै मनाङवासीलाई समेत सहज हुने उहाँको भनाइ छ ।    बर्सेनि यो समस्याले मनाङवासीका साथै पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताउँछन् । छिमेकी जिल्लामा समेत पहिरोले सडक खसेपछि सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ । 

पाेखरा:  दशैंतिहार तथा छठ विशेष बुधबारदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने सुविधा खुल्ला गरिएको छ ।   नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो ।    आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था, सहकारी र नेपाल राष्ट्र बैंकको सबै काउन्टरहरुबाट समेत नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ ।    प्रतिव्यक्ति एकपटकमा १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने सुविधा प्रदान गरिएपनि यस वर्ष एकै व्यक्तिले दोहोर्‍याएर साट्न आएपनि कुनै बन्देज नगरिने राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख रेवतीप्रसाद पौडेलले जानकारी दिए ।    यस वर्ष राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको सुकिला नोटको व्यवस्था गरेको छ ।   गत वर्ष बैंकले ८ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको थियो । गत वर्षहरुमा जस्तै यस वर्षपनि बैंकले रु ५, १०, २०, ५० र १०० रुपैयाँका खुद्रा सुकिला नोट उपलब्ध गराएको छ । 

पाल्पा:   कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो ।   कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउनुहुन्छ, कलाकार हरि पोखरेल ।   आजभन्दा करिब एक दशक अघिसम्म रामपुर क्षेत्रमा सत्यनारायण पूजा, श्री स्वस्थानी व्रतकथा होस् या सन्तान जन्मेको खुसीयालीमा छैँठी, न्वारन, पास्नीमा रातभर दोहोरी गाउने गरिए पनि अहिले भने यो चलन पूर्णरूपमा हराएर गएको उहाँले बताउनुभयो । “रातको समय दोहोरी गाउँदा बिहान उज्यालो भएको पत्तो हुँदैनथ्यो, खैँजडी, मजुरा, मादलको तालमा दोहोरीमा हाँसो ठट्यौली गर्दै धेरै रात बिते”, उहाँले भन्नुभयो, “हिजो गीत गाउने दौँतरी कोही घर गृहस्थीमा लागे, कोही कलाकारितामै रमेका छन्, पहिलेजसो दोहोरीको गाउँमा अहिले झम्को हुनै छाड्यो ।” उहाँ दोहोरी गाउनमा बढी रुचि राख्नुहुन्छ । विभिन्न जिल्लामा पुगेर दोहोरी गाएर उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएको छ ।   अहिले भने आफूलाई दोहोरी गाउने इच्छा भए पनि वातावरण नहुँदा प्रतिभा नै ओझेलमा परेको गुनासो पोख्नुहुन्छ । “कला संस्कृतिको प्रोत्साहनका लागि निश्चित बजेट व्यवस्थापन गरेर कला देखाउने माध्यम बनाउनुपथ्र्यो तर स्थानीय सरकारबाट यससम्बन्धी केही कदम हुन सकेन, देखावटीका लागि नगर प्रोफाइल तयार पारे पनि त्यसमा विस्तृतमा संस्कृति नसमेटिने हुँदा यहाँका कला संस्कृति ओझेल परेको छ”, कलाकार पोखरेलले भन्नुभयो ।   पहिला गाउँघरमा सन्तान जन्मेको खुसीयालीमा छैटीँ, न्वारन, पास्नी, सत्यनारायण पूजा, स्वस्थानी व्रतकथा, विभिन्न सङ्घसंस्थामा गरेको उन्नति प्रगतिको खुसीयाली, धार्मिक तथा शुभकार्यमा रातभर दोहोरी गाउने प्रचलन थियो । यसरी दोहोरी गाउने प्रचलन हट्दै जाँदा प्रतिभा भएर पनि बाहिर निकाल्ने माध्यम नपाउँदा कलाकारितामा रुचि राख्नेहरू अवसरको पर्खाइमा छन् । अहिले भने बढ्दो आधुनिकताको मोहसँगै परम्परागत कला संस्कृति लोप हुँदै गएको छ ।   कलाकारलाई जमघट हुने माध्यम भनेको दोहोरी साँझ हो । रामपुरमा दोहोरी साँझको विकास नभएकाले कलाकारिता क्षेत्रको विकास हुन नसकेको कलाकार बताउँछन् । यहाँ गायन, बाद्यवादन, हाँस्य कलाकार, अभिनय, नृत्यलगायतका विभिन्न विद्यामा रुचि राख्ने धेरै छन् ।   राजनीतिब नेताको अभिनय गर्न कलाकार प्रदीप कँडेल सिपालु हुनुुहुन्छ । सानैदेखि कलाकारितामा रुचि राख्ने उहाँ आफूले प्रतिभा देखाउन चाहना गरे पनि अवसर नपाएको बताउनुहुन्छ । स्थानीय सरकारले आधारभूत तह (कक्षा १–८ सम्म) अतिरिक्त विषयअन्तर्गत कला संस्कृतिसम्बन्धी एउटा विषय समावेश गरेमा कलाकारिता क्षेत्र अगाडि बढ्ने उहाँले बताउनुभयो । कलाकार कँडेल विभिन्न गीत– सङ्गीतका म्युजिक भिडियो छायाङ्कन तथा निर्देशन गर्ने, सम्पादन गर्ने, टेलिशृङ्खलामा कथा लेख्ने गर्नुहुन्छ ।   करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा पाइला चाल्नुभएका उहाँ अहिले डकुमेन्ट्री, वेवसिरिज बनाउने कार्यमा व्यस्त हुनुहुन्छ ।   यस क्षेत्रमा विभिन्न विधामा प्रतिभाशाली व्यक्ति भए पनि आफ्नो कला, गला प्रस्फुटन गर्ने अवसर नपाएको, स्थानीय तहमा पालिकाले प्रस्फुटन गर्ने माध्यम र यसै भूमिमा जन्मेर ख्यातिप्राप्त गरेका राष्ट्रिय कलाकारले अबका नयाँ पुस्तालाई बाटो देखाइदिनुपर्ने लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ का पूर्व क्षेत्रीय अध्यक्ष प्रेमप्रकाश श्रेष्ठ बताउनुहुन्छ । “कला संस्कृतिको संरक्षणमा स्थानीय सरकारले देखिने गरी काम गर्न सकेन, स्थानीय प्रतिभा सिधै प्रदेश र केन्द्रसँग जोडिन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “व्यक्तिमा लुकेर रहेको प्रतिभा देखाउने अवसर स्थानीय सरकारले खडा गरेमा राष्ट्रियस्तरसम्म पुग्ने प्रतिभावान् कलाकार धेरै निस्कन्छन् ।”   उहाँका अनुसार यहाँ अवसर नपाउँदा राष्ट्रियस्तरसम्म पहिचान बनाउन सक्ने व्यक्ति ओझेलमा परेका छन् । लोकदोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा क्षेत्र नं १ पाल्पाले केही समय पहिले स्थानीयस्तरमा लुकेर रहेका कलाकारलाई जमघट गराउने, विभिन्न कार्यक्रम आयोजना गरी प्रतिभा प्रस्फुटन गराउने कार्यले यहाँका कला र गला भएका व्यक्ति उत्साहित थिए ।   अहिले भने संस्था निस्क्रिय अवस्थामा रहँदा पहिलेजसो कलाकारिता जुर्मुराउने माध्यम छैन । कला संस्कृतिको संरक्षणका लागि रामपुरभित्र रहेका सबै जातजातिको मौलिक संस्कृतिलाई समावेश गरेर नगर प्रोफाइल तयार पारेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।   उहाँ भन्नुहुन्छ, “स्थानीय कला संस्कृतिको संरक्षण गर्दै रामपुर क्षेत्रमा मगर समुदायको बाहुल्यता रहेकाले मगर दिवसका दिन वर्षमा एक दिन स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ, लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको जगेर्ना गर्न वडा तथा नगरको तर्फबाट विभिन्न क्रियाकलाप हुने गरेको छ ।” आर्थिक वर्ष २०७९/८० का लागि रामपुर नगरपालिकाको नीति तथा कार्यक्रममा ‘संस्कृति प्रवद्र्धन’ शीर्षकमा नगरपालिकाभित्रका सबै जातजाति, भाषा, धर्म, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने नीति अवलम्बन गरिने, जाति र स्थान विशेषका धार्मिक तथा संस्कृतिको संरक्षण संवद्र्धन गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने समेटिएको छ ।   साथै कला, सङ्गीत र साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइने, सबै प्रकारका मठमन्दिर, मस्जिद, चर्च तथा गुम्बालगायतका धार्मिक संरचना संरक्षण तथा संवद्र्धनका लागि भौतिक अवस्था पहिचान गरी आवश्यकताका आधारमा भवन निर्माण÷मर्मत शीर्षकमा रकम विनियोजन गरिने यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।   रामपुर क्षेत्रमा जन्मिएका कलाकार राष्ट्रियस्तरसम्म ख्याति कमाउन सफल बनेका धेरै छन् भने केहीले यस क्षेत्रमा बामे सर्दैछन् । नारायण खनाल लेकाली, बद्री पङ्गेनी, खेम राना, कल्पना देवकोटा, लक्ष्मण देवकोटा, माधव भण्डारी, मोहन खड्का, विमल सुनार, प्रेमकुमार गैरे, विमला गैरे, ज्ञानु ठाडा, हुम बिसी, डिबी कालिज, कल्पना रेग्मी, कमल ज्योति, हरि पोखरेल, युवराज रेग्मी, विनोद पोखरेल, आरती विकलगायतका कलाकारले कलाकारितामा आफ्नो पहिचान बनाउनुभएको छ ।   स्थानीय सकारकाले हरेक वडास्तरदेखि नै संस्कृति संरक्षण गर्न जोड दिएर विभिन्न कार्यक्रम गर्नुपर्ने, चलनचल्तीमा आएका सबै संस्कृतिलाई समय मिलाएर बेला–बेलामा प्रस्तुत गरेमा कला देखाउने माध्यम बन्नेछ ।   यहाँ ब्राम्ह्ण, मगर, नेवार, कुमाललगायतका विभिन्न जातजाति, समुदायको आ–आफ्नै खालको कला संस्कृति छ ।   सोरठी, मारुनी, कौरा, झ्याउरे, भजन, चुड्काजस्ता संस्कृति विभिन्न मेला, पर्वमा मात्रै देखाइने गरिन्छ । कला संस्कृतिको विकास नहुँदा गाउँघरमा हुने सभा, महोत्सव, वार्षिकोत्सवलगायतका कार्यक्रममा मात्रै देखाइने गरिन्छ ।   कला संस्कृतिको धनी रामपुर भए पनि यहाँका संस्कृतिलाई उजार गर्दै राष्ट्रियस्तरसम्म पुग्न सक्ने सम्भावना बोकेका कलाकारलाई नगर सरकारबाट प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।रासस

पोखरा :   कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका-२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् ।   गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिनुभयो । राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ ।   शेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन रु एक हजार पाँच सय लिने गरिएको जानकारी दिँदै उहाँले शेयर सदस्यबाहेक अन्यत्र राँगो आवश्यक परेमा रागो पुर्‍याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानवापत प्राप्त रु ५० हजार र सहकारीको रु ५०  हजारसहित रु एक लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो ।   गाउँमा नै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिनुभयो । “गाउँमा नै राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ”, उहाँले भन्नुभयो । गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन् ।   बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन सुरु गरेको छ । कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महिनाअघि ४० बाख्रा खरिद गरिसकेको छ । बाख्राका लागि खोरलगायतका पूर्वाधार निर्माणका लागि रु ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिब रु ४० लाख खर्च भइसकेको छ । थप बाख्रा चाँडै खरिद गर्ने गरी तयारी गरिएको बरालले जानकारी दिनुभयो । बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ । बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् ।   सहकारीमार्फत नै तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आइएकामा हाल गाउँमा करिब ३५–४० वटा टनेल निर्माण भइसकेका छन् । पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ ।   कृषिप्रति आकर्षण बढिरहे पनि यस क्षेत्रमा बाँदरको भने समस्या रहेको जनप्रतिनिधि कृष्णकुमारी पौडेल (देवकोटा)ले बताउनुभयो । “बाँदरको व्यवस्थापन यस क्षेत्रका लागि गम्भीर समस्याका रूपमा देखिएको छ”, उहाँले भन्नुभयो, “बाँदरको दीर्घकालीन व्यवस्थापन यस क्षेत्रको गम्भीर चुनौती हो ।”   पोखरा बजारबाट नजिक रहेको पुम्दीमा कृषिका धेरै सम्भावना रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । सहकारीमार्फत सामूहिक कृषिमा जोडिएका यहाँका कृषकलाई कार्यालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोगका लागि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौं  :  प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।    उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूको सुखद् र उज्ज्वल भविष्यको कामना गर्नुभएको छ । राष्ट्रिय बाल दिवस, २०७९ ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।   नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतका कुराको प्रत्याभूति गरेको छ । बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार लागि परेको बताउनुभएको छ । उहाँले उनीहरूलाई उचित शिक्षा दीक्षा दिई असल जिम्मेवार, देशभक्त र उत्पादनशील नागरिकका रूपमा तयार गर्न सबैले जोड दिन आवश्यक रहेकोसमेत उल्लेख गर्नुभएको छ ।   “बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ”, उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।   उहाँले मुलुक सङ्घीय शासन प्रणालीमा रुपान्तरित भएको वर्तमान परिप्रेक्ष्यमा बालबालिकाको समय हकअधिकारको संरक्षण एवं विकासमा सङ्घका अतिरिक्त प्रदेश र स्थानीय सरकारले पनि उत्तिकै जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । बालबालिकाको हकअधिकारको संरक्षण र बालमैत्री समाज निर्माणका लागि तीनै तहका सरकारबीच पारस्परिक सहयोग, समन्वय र सहकार्य अनिवार्य रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।   बालबालिकाको उज्ज्वल भविष्यका लागि घर परिवार, समाज एवं सबै सरोकारवाला जिम्मेवार बन्नु आवश्यक रहेको बताउँदै उहाँले सबैको साझा लक्ष्य र गन्तव्य भनेको बालअधिकार सुनिश्चित भएको बालमैत्री राष्ट्र निर्माण गर्नुभएको बताउनुभएको छ । बालबालिकाको अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गरी बालबालिकाको सर्वोत्तम हित कायम गर्नु सबैको दायित्व भएको बताउँदै प्रधानमन्त्री देउवाले सबैको साझा प्रयास, सहयोग, समन्वय र सहकार्यबाट मात्र बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाज निर्माण गर्न सकिन्छ भन्ने अपेक्षा गर्नुभएको छ ।   उहाँले दिवसका अवसरमा बालबालिकाको हकअधिकार र कल्याणका क्षेत्रमा कार्यरत सरोकारवाला निकायलाई आगामी दिनमा बालबालिकाको हकअधिकारको संरक्षण र विकासमा अझ बढी जिम्मेवार भई कार्य गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । 

पोखरा : नेपाल तामाङ घेदुङ विद्यार्थी कास्कीको जिल्ला अधिवेशनमा तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीले हस्तक्षेप गरेको छ ।    नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले फेसबुकमा र  विद्यार्थी घेदुङ कास्कीका अध्यक्ष रेशम स्याङ्बो तामाङलाई फोनमार्फत अधिवेशन स्थगित गर्न दबाव दिदैं हस्तक्षेप गरिएको बताइएको छ । सो दबाबपछि विज्ञप्ति जारी गर्दै  नेपाल तामाङ विद्यार्थी घेदुङ अधिवेशन स्थगित गरेको छ ।    विज्ञप्तीमा नेपाल तामाङ घेदुङको भातृ संगठन तामाङ विद्यार्थी घेदुङ कास्कीको आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको तामाङ विद्यार्थी घेदुङका अध्यक्ष रेशम स्याङ्बो तामाङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।   नेपाल तामाङ घेदुङ कास्कीको दबाबमा प्रकाशित विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल तामाङ विद्यार्थी घेदुङ कास्की जिल्ला समन्वय समितिको मिति २०७९ श्रावण ८ गते बसेको बैठकले संघको विधान २०५० को परिच्छेद ७ दफा १९ (ग) अनुसार समन्वय समितिको जिल्ला अधिवेशन भाद्र २५ गते शनिबारका लागि निर्णय भएको र मिति २०७८ भदौ १८ गते नेपाल तामाङ घेदुङ पोखरा महानगरपालिका इकाई  समितिको बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष श्री मानबहादुर तामाङसमेतको उपस्थितिमा उल्लेखित मितिमा गर्ने गराउने भनी निर्णय गरेको थियो ।’ सोही बमोजिम कार्यक्रमको तयारी भइसरको भएतापनि समन्वय समितिका अध्यक्षले भदौ २३ गते सामाजिक सञ्जालमार्फत अधिवेशन स्थगित भएको र विद्यार्थीका अध्यक्षलाई फोनमार्फत स्थगित गर्न दबाब दिइएको उल्लेख छ ।   प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार भाद्र २५ गतेको अधिवेशनको तयारी हुँदा हुंदै पनि नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष मानबहादुर तामाङले भाद्र २३ गते दिउँसो २ः१२ को समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत कार्यक्रमको तयारी नपुगेको हुँदा अर्काे सूचना नआएसम्मको लागि अधिवेशन स्थगित भएको भन्दै हस्तक्षेप गरेका थिए । तर उनी यसअघि बसेको बैठकमा भने उपस्थित भएको बताइएको छ ।    विद्यार्थी घेदुङ कास्कीका अनुसार जिल्ला समन्वय समितिका अध्यक्षले विद्यार्थी घेदुङलाई कुनै जानकारी नदिई अधिवेशन रोक्न हस्तक्षेप गरेको जनाएको छ । यतिमात्र नभएर जिल्ला समन्वय समितिका अध्यक्ष तामाङले विद्यार्थी घेदुङका अध्यक्षलाई अधिवेशन रोक्न फोन मार्फत दबावसमेत दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।   तयारी नपुगेकाले अधिवेशन रोकिएका हो : जिल्ला अध्यक्ष मानबहादुर   तामाङ घेदुङ कास्कीका अध्यक्ष मानबहादुर तामाङले आन्तरिक तयारी र जिल्लासँग कुनै छलफल नगरी अधिवेशनको मिति तोकिएकाले स्थगित भएको बताए ।    ‘तामाङ घेदुङ विद्यार्थी संघ भनेको हाम्रो भातृसंगठन हो तर हामीसँग कुनै छलफल नगरी आन्तरिक तयारी बिना नै जिल्ला अधिवेशनको मिति तोकिएकाले अधिवेशन  रोकिएको हो ।’ उनले सुनगाभा न्यूजसँग भने ।   तामाङ घेदुङ विद्याथी कास्कीका इन्जार्ज सुन्दर तामाङले संगठन बलियो र चलायनमा बनाउन अधिवेशन रोकिएको जानकारी दिए । ‘जिल्लाको भुगोल र संरचना हेर्दा अधिवेशनको तयारी अपुग नै हो, उनले भने ‘संगठनलाई चलायनमान र बलियो बनाउन अधिवेशन रोकिएको हो ।’    भदौ २५ गते तोकिएको जिल्ला अधिवेशन कहिले गर्ने भनेर मिति अझै तोकिएको छैन । 

नवलपुर  :  नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ ।    मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाई अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणा गर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।    नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गर्नुभएको छ । अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताउनुभयो ।    विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ । 

काठमाडौं :  निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ ।    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई समय तोकेको छ । दलले असोज २ र ३ गते आयोगमा बन्द सूचीमा रहेका उम्मेदवारको नाम पेश गर्नुपर्ने छ ।   सम्बन्धित पार्टीले सूचीमा रहेका उम्मेदवारको नाम सञ्चाउन चाहेमा असोज ४ देखि ९ गतेसम्म गर्नुपर्ने र त्यसका आधारमा आयोगले १० देखि १६ गतेसम्म संशोधनको समय सिमा राखेको छ । त्यस्तै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १७ गतेको तालिका तय गरिएको छ ।   रिक्त स्थानमा परिवर्तन गर्नुपर्ने नाम दलले २० देखि २२ गतेसम्म आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै २३ देखि २९ गतेसम्म दावी बिरोधका लागि समय राखिएको छ । यही असोज ३० देखि कात्तिक ५ गतेसम्म आयोगले जाँचबुझ गरी ८ गते सूचीबाट नाम हटाउने छ । आयोगले कात्तिक ९ गते अन्तिम नाम प्रकाशन गर्ने कार्यतालिका छ ।