पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर -१ का २७ वर्षीय पुरुष रहेका छन् ।   उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।   जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।  

बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ ।   कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।   यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी रु दुई हजार उपलब्ध गराउने उहाँले बताउनुभयो । “गाउँपालिकाले कृषकका लागि निकै राम्रो कार्यक्रम ल्याएको छ, उहाँहरूलाई चाहिने आवश्यक सहयोगसँगै जति धेरै क्षेत्रफलमा कृषि गर्नुहुन्छ, उति धेरै भत्तासमेत पाउनु हुनेछ, अहिले प्रतिरोपनी रु दुई हजारका दरले प्रोहोत्सान भत्ता दिने भएको छ”, उहाँले भन्नुभयो ।   बसाइँसराइले पालिकाभित्र रहेका खेतीयोग्य जमिन बाँझिदै गएपछि उत्पादनसमेत निकै कम भएको उहाँको भनाइ छ । उत्पादन बढाउनकै लागि यो कार्यक्रम ल्याएको भन्दै यसले कृषकलाई खेती गर्नतर्फ आकर्षित गर्ने उहाँले बताउनुभयो । उहाँले बाँझो जमिनमा खेती विस्तार गरी कृषिमा पालिकाले आत्मनिर्भर बन्ने लक्ष्य राखेको बताउनुभयो ।   “अहिले गाउँ रित्तो बनिसक्न थाल्यो, गाउँले सबै बसाइँसराइ गरेर बजार झरिरहेका छन्, गाउँमा बस्नेले पनि थोरै बारीमामात्रै खेतीपाती गर्ने गरेका छन्, पहिले–पहिले बालीले हराभरा हुने खेतबारी अहिले पूरै वनमाराले ढाकेको छ, हरेक वर्ष उत्पादन घट्दै गएको छ”, कृषिशाखा प्रमुख भट्टराईले भन्नुभयो, “गाउँपालिकाले अहिले नयाँ कार्यक्रम ल्याएको छ, यो कार्यक्रमले बसाइँसराइ रोकेर बाँझिएका जमिनमा खेती गर्न प्रोहोत्सान गर्ने र उत्पादन बढाउने छ ।”   ताराखोला क्षेत्रमा पहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्नतर्फ पनि गाउँपालिकाले जोड दिएको छ । पालिकाले मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताउनुभयो ।   “हामीले अघिल्ला वर्षहरूदेखि नै कृषकलाई प्रोहोत्सान हुने खालका कामहरू गर्दै आएका थियौँ, यस वर्ष पनि प्रोहोत्सान भत्तासँगै कृषकलाई आधुनिक औजार वितरण गर्ने कार्यक्रम छ, मिनीटेलर, धान, गहुँ, कोदो चुट्ने थ्रेटर मेसिन वितरण हुने छ, यसले कृषकलाई खेतीपाती गर्न सहज हुने छ, उत्पादनमा पनि वृद्धि हुने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन वृद्धि गर्ने नै मुख्य लक्ष्य रोको हुँदा कृषकको आवश्यकतानुसार सहयोग भइरहेको छ, केही कृषकले पालिकाबाट अनुदान पाएपछि कृषिलाई व्यवस्थितरूपमा गर्न थाल्नुभएको छ ।”   उच्च पहाडी क्षेत्रमा पर्ने ताराखोलामा आलु, भाँगो, किबी, कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुने गर्छ । उहाँले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग पालिकाले निरन्तर गर्दै आएको बताउनुभयो । “थोरै सङ्ख्यामा व्यवसायिक खेतीमा लाग्नुभएका कृषक पनि यहाँ हुनुहुन्छ, उहाँहरुले आफूलाई आवश्यक परेको सहयोग पालिकालाई माग्नुहुन्छ, पालिकाले पनि प्राविधिक तथा अन्य सहयोग गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो ।   गाउँपालिकाले जिल्लामै पहिलोपटक जैविक कृषि बगैँचासमेत सञ्चालन गरेको छ । यो बागलुङमा विल्कुलै नयाँ हो । गत वर्षदेखि सुरु भएको जैविक कृषि बगैँचा ३७ रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाइ छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको रु १५ लाखबाट बगैँचा सञ्चालन गरेको उहाँले बताउनुभयो । ३७ रोपनी जग्गामध्ये २० रोपनी क्षेत्रफलमा किबीखेती र अन्य १७ रोपनीमा आलु, भाँगोलगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उहाँको भनाइ छ ।   “ताराखोलामा जैविक कृषि बगैँचा सञ्चालन गरेको एक वर्ष भइसक्यो, गत वर्षदेखि जैविक कृषि बगँैचा सञ्चालन भएको हो, बगैँचामा सबैभन्दा धेरै किबीखेती गरिएको छ, किनकि यहाँ धेरैको किबी उत्पादनतर्फ चासो देखिएको छ”, उहाँले भन्नुभयो, “आलु, भाँगोलगायतका खाद्यबाली र फलफूल पनि यहाँ लगाइएको छ, यहाँ लगाएका खाद्यबाली र फलफूल पनि राम्रो हुँदै गएको छ, यहाँ कृषकहरू आएर अवलोकन गर्न सक्छन् भने उनीहरूले यहाँबाट केही सिकेर आफैँ पनि व्यावसायिकरूपमा खेती सुरु गर्न सक्छन् ।” धेरैको शहर बजार मोहले गाउँ रित्तिए । एक दशकअगाडिसम्म निकै चहलपहल हुने गाउँ सुनसान बन्दै गए । गाउँका खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिए । गाउँमा कसैलाई साह्रो–गाह्रो प¥यो भने उद्धार गर्ने पनि छैनन् । यो समस्या बागलुङको अधिकांश पालिकाको हो । गाउँ छाडेर बजार झर्नु कतिको रहर त कतिको बाध्यता पनि हो । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारलगायतका सुविधा नहुँदा बजार झर्नु स्वाभाविक पनि हो ।   तर, पछिल्लो समय जिल्लाका पालिकाहरूले आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएका छन् । विकास हुन थालेपछि केही त गाउँमै रोकिए तर धेरैले बजारलाई नै रोजे । गाउँमा बस्नेले पनि कृषि भने कम नै गर्न थाले । गाउँमा बस्नेहरूले पनि कृषि गर्न छाड्न थालेपछि बारीसँगै करेसाबारीमा पनि कालोपाती बताएका छन् । त्यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । जिल्लामा उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ धेरैको ध्यान छैन ।

बागलुङ :  खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ मा पर्छ ।    पालिका केन्द्र बोङ्गादोभानभन्दा नजिक रहेको हुँदा खुङ्खानी गाउँ केही सुगम छ तर नर्जाखानी निकै दुर्गममा छ । भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षालगायतका विकासका पूर्वाधार पनि कमै निर्माण भएका छन् । यस गाउँमा अहिलेसम्म माध्यमिक शिक्षाको पढाइ हुन सकेको छैन । नर्जाखानीका सयौँ विद्यार्थी माध्यमिक शिक्षाका लागि खुङ्खानी आउनुपर्ने बाध्यतामा छन् ।   नर्जाखानीसँगै वडा नं ६ को पात्ले र भित्रिवन गाउँका विद्यार्थी पनि दैनिक छ घण्टा यात्रा गरेर माध्यमिक शिक्षा हासिल गरिरहेका छन् । उनीहरुले यो समस्या भोग्न थालेको वर्षौं भयो । नर्जाखानी, पात्ले र भित्रिवन गाउँका सयौँ बालबालिका गाउँमै रहेको विद्यालयबाट आधारभूत तहका पढाइ पूरा गरेपछि माध्यमिक शिक्षाका लागि वडा नं ५ खुङ्खानीमा रहेको शान्ति माविमा पुग्छन् ।   “स्कुल टाढा छ, बिहान चाँडै हिँडिएन भने हाजिर भेट्न पुगिन्न, यहाँबाट स्कुल जानआउनका लागि छ घण्टा लाग्छ, दैनिक हिँडेरै जानुपर्छ गाडी पनि खासै चल्दैन”, कक्षा १० मा अध्ययनरत विकास सिर्पालीले भन्नुभयो । उहाँले दैनिक छ घण्टा हिँड्दा थकाइ लाग्ने हुँदा सोचेअनुसारको पढाइ हुन नसकेको बताउनुभयो । सिर्पालीले विद्यालय नजिकै कोठा लिएर बस्न सक्ने अवस्थासमेत नभएको सुनाउँदै आफूले दुई वर्षदेखि घरबाटै आवतजात गरी पढिरहेको बताउनुभयो ।    “घरभन्दा स्कुल निकै टाढा छ, बिहान सबेरै उठेर हिँड्नुपर्छ, घर फर्किंदा राति हुन्छ, यसले गर्दा मैले सोचे जस्तो पढाइ हुन सकेको छैन, कमजोर भएको महसुस भएको छ”, उहाँले भन्नुभयो, “कोठा लिएर बसौँ भने खर्च धान्न सक्ने अवस्था छैन, अरू साथीहरुसँग पढाइ प्रतिस्पर्धा गर्न पनि गाह्रो भयो, त्यति धेरै समय हिँड्दा थकाइ लाग्छ, थकाइ लागेको बेला पढ्न मन लाग्दैन, बिहान एकछिन घरको काम पनि गर्न परिहाल्यो, त्यसले गर्दा निकै समस्या छ, मलाई मात्रै होइन, यहाँका थुप्रै साथीहरु पनि यस्तै समस्यामा छन् ।”   सिर्पालीले बर्खाको समयमा आफूलाई झन् ठूलो समस्या हुने बताउनुभयो । वर्षाका कारण खोलानाला बढ्ने र बाढी पहिराले बाटो नै बन्द गरिदिँदा विद्यालय पुग्नै समस्या हुने गरेको उहाँको भनाइ छ । बाढी पहिराका कारण कैयौँ दिन विद्यालय जानबाट समेत वञ्चित भएको उहाँको अनुभव छ ।   “अहिले बर्खाको समय छ, यो बेला त मरिन्छ कि बाँचिन्छ थाहै हुँदैन, बाटोघाटो बाढी पहिराले बन्द गरिदिन्छ, खोलानालाहरु बढेर वारपार गर्न नसकिने भएका छन्, पोहोर सालतिर त झन् पहिराले बाटो बन्द हुँदा धेरै दिन स्कुल गइएन”, उहाँले भन्नुभयो, “हिउँदमा पनि जाडोले हातखुट्टा कठ्याङ्ग्रिन्छन्, दुर्गममा भएर होला हाम्लाई निकै समस्या छ ।”   भित्रिवनकी पवित्रा घर्ती मगरले गाउँमा माध्यमिक शिक्षाका लागि विद्यालय नहुँदा अनेकौं समस्याहरु भोग्नुपरेको बताउनुभयो । उहाँ लामो दूरीमा विद्यालय हुँदा प्रभावकारीरूपमा पढाइ हुन नसकेको बताउनुहुन्छ । “यति लामो दूरी हिँडेर पार गरेर स्कुल पुग्नुपर्छ, स्कुल पुग्दा थकाइले पढ्न मनै लाग्दैन, पढाइ प्रभावकारी नै हुन सकेको छैन, फेल भइन्छ कि भन्ने डर लाग्छ ।”   घर्ती मगरले गाउँ नजिकै रहेको विद्यालयमा आठ कक्षासम्म पढ्दा सहज भए पनि अहिले गाह्रो भएको सुनाउनुहुन्छ । “आठ कक्षासम्म त गाउँकै स्कुलमा पढ्न पायौँ, दुःख थिएन, ९ बजे हिँडे पनि स्कुल पुगिन्थ्यो, अहिले ७ बजेभन्दा ढिला हिँडियो भने पहिलो पिरियड भेट्टाउन सकिँदैन, कक्षा ९ र १० पढ्न कि बोङ्गादोभान जानुपर्छ, कि खुङ्खानी नै जानुपर्छ, कि त पढ्नै छोड्नु पर्छ”, घर्तीले भन्नुभयो ।   उहाँ सरकारले आफूहरु जस्ता दुर्गममा रहेका विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था गरिदिए पढ्न सहज हुने बताउनुहुन्छ । “हामीहरु त निकै दुर्गम ठाउँमा छौँ, सरकारले हाम्लाई होस्टेलको व्यवस्था मिलाई दिने भए धेरै सहज हुन्थ्यो, हाम्रो पढाइ पनि राम्रो हुन्थ्यो होला, अरू साथीहरु जस्तै हामी पनि फस्ट, सेकेन्ड हुन्थ्यौँ होला ।”   तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नर्जाखानी क्षेत्रमा माध्यमिक तह सञ्चालनका लागि विद्यार्थी अपुग हुने र त्यसका लागि ठूलो बजेट चाहिने हुँदा अहिलेसम्म माध्यमिक तह सञ्चालन हुन नसकेको बताउनुभयो । अध्यक्ष बुढा मगरले नर्जाखानीमा कक्षा ८ सम्म राम्रोसँग सञ्चालन भइरहेको भन्दै यस क्षेत्र भौगोलिक विकटता र कम जनसङ्ख्याका कारण माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरु खुङ्खानी आउनुपर्ने अवस्था रहेको बताउनुभयो ।   “यहाँका विद्यार्थीलाई निकै समस्या छ, हामीले बुझेका छौँ, माध्यमिक तह सञ्चालन गर्न पनि फेरि उत्तिकै चुनौती पनि छ, हामीले यहाँका विद्यार्थीलाई सहजरूपमा शिक्षा दिन सकिन्छ भन्ने विषयमा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ, सहजरूपमा शिक्षा प्रदान गर्न योजनासमेत बनाइरहेका छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो ।   पात्ले गाउँमा कक्षा ३, भित्रिवनमा कक्षा ५ र नर्जाखानीमा कक्षा ८ सम्म पढाइ हुन्छ । नर्जाखानी गाउँका बालबालिकाले गाउँमै कक्षा १ देखि ८ सम्म अध्ययन सक्छन् भने भित्रिवन र पात्ले गाउँका बालबालिकाहरु नर्जाखानी आउनुपर्छ । पात्ले गाउँमा बालबालिकाले गाउँमा कक्षा ३ र भित्रिवनका बालबालिकाले कक्षा ५ उत्तीर्ण गरे भने त्यसमाथिको तहको अध्ययनका लागि नर्जाखानीमै पुग्छन् । भित्रिवनबाट नर्जाखानी आउन करिब ढेड घण्टा लाग्छ भने पात्ले गाउँबाट एक घण्टा लाग्छ । 

  पोखरा ।  कास्की प्रहरीले पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जनालाई नियन्त्रणमा लिएको छ ।   आज  दिउँसो एटिएममा संकास्पद क्रियाकलाप गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।    ‘आज दिउसो एटिएममा संकास्पद क्रियाकलाप गरेको खबरपछि एकजलाई नियन्त्रणमा लिएका छौं, उनले भने, ‘अहिले छानबिन भइरहेको छ। ’ संकास्पद गतिविधि गरेको अवस्थाबाटै उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको  छ ।

  पोखरा ।  संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं –१५ ले अन्तर विद्यालय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ।    ’शान्ति र स्थायित्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं –१५ को वडा कार्यालय परिसरमा आज आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका झन्डै २५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।    प्रतियोगितामा छात्रा तर्फ श्री सिद्ध मा.वि.की श्रेया मगर प्रथम, सिद्ध मा.वि.कै सोनीका परियार द्धितिय, भ्यू प्वाइन्ट स्कुलकी सजिना सुनार तृतीय, सिद्ध मा.वि.की रचना चौधरी चौथो बन्न पुगिन् भने, केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गरिन्।    यस्तै, छात्र तर्फ हिमालय लाईफ नेपालका राज परियार प्रथम, श्री सिद्ध मा.वि.का विवश रेग्मी द्धितिय, हिमालय लाइफकै विजय वि.क तृतीय, शुभ तारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध मा.वि.का विवेक गुरुङले सान्त्वना प्राप्त गरे।    विजयी प्रतियोगीले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ३–३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले ७ औँ संविधान दिवसको शुभकामना दिँदै धेरै पहिलेदेखि धेरै संविधान बने पनि ती संविधान जनताको पक्षमा नरहेको र विभेदकारी रहेको कारण जनताको सङ्घर्ष र बलिदानी पश्चात् नेपालको संविधान २०७२ ल्याउन सफल भएको बताइन्। उनले २०७२ सालको संविधानको जगमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहेको उनले बताइन्। गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आज ३ किलो मिटर दौडमा सहभागी भएका खेलाडी भोली १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेतर्फ जोड दिइन्।    कार्यक्रमलाई शुभकामना दिँदै वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए। उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडा नं –१५ मा रहेका विद्यालय र विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ सडक दौड प्रतियोगिताको आयोजना गरिएको बताए।    यस्तै, कार्यक्रमका संयोजक तथा पोखरा –१५ का सदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बिच आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्न चाहेको प्रतिक्रिया दिए। उनले संविधान देशको कानुन रहेको भन्दै यसको परिपालना गर्नु सबैको कर्तव्य रहेको भन्दै आजको संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितालाई सफल पार्न खटिने सम्पूर्णलाई धन्यवाद दिए।     कार्यक्रममा वडा नं –१५ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य वलराम पौडेल, सशस्त्र मुख्यालय लामापाटनका प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, पोखरा–१४ का वडा अध्यक्ष वोधराज कार्की, पोखरा –१७ कि वडा अध्यक्ष राधिका योगी शाही, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, रेडक्रस पोखरा –१५ का सभापति, एथलेटिक्स संघका प्रतिनिधि, स्काउटका प्रतिनिधि लगायत टोल विकास तथा आमा समुहको सहभागिता रहेको थियो।

गलकोट  :  विद्यालय भवन मर्मत अभावमा गाह्रो बाङ्गिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ ।    यो अवस्था शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्रको गृहजिल्ला  बागलुङ सदरमुकामस्थित बागलुङ नगरपालिका–७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक रेशम परियार बताउनुहुन्छ ।   “दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । भवन अभावमा पठनपाठनमा निकै समस्या भयो । जीर्ण दुई कोठे भवन र तीन कोठे पक्की भवन छ । बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यहीँ पाँच वटा कोठाबाट चलाइएको छ”, परियारले भन्नुभयो, “पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौँ, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन ।”    बागलुङ नगरपालिका–७ का वडाध्यक्ष मघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताउनुभयो । गैरले भन्नुभयो, “विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँत दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा असहज भएको छ ।” यस वर्ष राष्ट्रपति शैक्षिक सुधारअन्र्तगत कार्यक्रममा भवन समावेश नभए पनि अर्को पटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । RSS

पोखरा : जिल्ला कारागार कास्कीले सजाय भोगिरहेको २१ कैदीहरुलाई संविधान दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।    संविधान दिवसको अवसरमा कास्की कारागारबाट सजाय मिनाहामा हुनेमा  २ महिला र १९ पुरुष गरी २१ कैदी रिहा भएको कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । उनका अनुसारमा कैद मिनाहा हुनेमा बहुबिबाहमा २/२ जना महिला पुरुष, कर्तव्य ज्यानमा ८, सवारी ज्यानमा २, ज्यान मार्ने उद्योगमा ३, चोरीमा ३ र मुद्रामा १ जना रहेका छन् । कास्की कारागारमा हाल ३८ महिला, ८०१ पुरुष र २ नाबालक गरी ८ सय ४१ जनाले कैद भुक्तान गरिरहेका छन् ।   संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार  कास्कीबाट २१ जनाको सजाय मिनाहा गरेकी हुन् ।

पोखरा  :   जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पृथ्वीराजमार्गमा भेटिएको नगद रकम प्रमाण सहित दावी गर्न अनुरोध गरेको छ ।    भदौ २८ गते पृथ्वीराजमार्गको विजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको भन्दै ट्राफिक कार्यालय कास्कीले प्रमाण सहित कार्यालयमा आउन आग्रह गरेको हो ।    कार्यालय प्रमुख प्रकाश दाहका अनुसार पृथ्वीराजमार्गको विजयपुर खण्डमा मोटरसाइकलमा सवार एक युवकले सडकमा झरेको नगद टिप्दै गरेको ट्राफिक प्रहरीले देखेपछि सोधपुछ गर्ने क्रममा सम्बन्धित व्यक्तिको नभएको खुलेको हो ।    भदौ २८ गते पोखरादेखि कोत्रे सडकमा भेटिएको रकम कसैले पनि हराएको भन्दै कुनै उजुरी नदिएकाले सोमबार ट्राफिक कार्यालय कास्कीले सुचना प्रकाशित गर्दै प्रमाणसहित आउन अनुरोध गरेको हो ।   

काठमाडौं   :  गतवर्ष नेपालबाट रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट रु ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो ।   कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताउनुभयो । कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उहाँको भनाइ थियो ।   खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महङ्गो भएको भन्दै त्यसलाई चाँडो घटाउन उहाँले माग गर्नुभयो ।   सङ्घका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गर्नुभयो । अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेको उहाँको भनाइ थियो । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गर्नुभयो ।   नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अष्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवं हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन् ।   विसं २०६५ मा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाडौँभित्रका १८२ र देशभरका ६०० भन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन् ।