ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ । सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ। इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् । बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै "अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने" कुरा उल्लेख गरेका छन् । -एजेन्सी
बागलुङ : गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि खुलाउने सुरसार छैन । तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । गाउँमा पुगेका अधिकांश सडक बिना सर्भेक्षण निर्माण गर्दा बर्खाको भलसँगै बगेकाले असोज लागिसक्दा पनि सञ्चालन हुन सक्दैनन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पु¥याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ । गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौँ स्थानमा पहिराले परिएका छन् भने कयौँ स्थानमा खाल्डाखुल्डी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रका नागरिकले निकै समस्या भोग्नुपरेको निसीखोला गाउँपालिका–१ मा मदन घर्तीमगरले बताउनुभयो । उहाँले सडक पहिराले बगाउँदा बजारदेखि सामान ओसारपसारमा निकै समस्या भएको बताउनुभयो । “गाउँमा बाटो छैन भनौ भने छ, तर बर्खामा गाडीनै चल्न सक्दैनन्, हिउँदमा त गाडी निरन्तर चल्छन्, बर्गा लाग्यो भने त सबै ठप्प हुन्छन्, गाउँलेले निकै दुःख पाए, पहिले सडक नआउँदा पनि दुःख पाएकै हो, अहिले सडक भएर पनि हाम्रो दुःख उस्तै छ”, स्थानीयवासी घर्तीमगरले भन्नुभयो, “हिउँदमा मात्रै अल्ली सजिलो हुन्छ, अहिले बाटोको अवस्था हेर्नुहुन्छ भने बिजोग छ, त्यस्तो बाटोमा कसरी गाडी चलुन् रु, दसैँ आउन लाग्यो अझै खुलाउने सुरसार छैन ।” उहाँले बर्खामा सडक सञ्चालन नहुँदा गाउँमा कोही बिरामी परे बोकेरै अस्पताल झर्नुपरेको र सडक निकै जोखिमपूर्ण हुने हुँदा पैदल गर्न पनि निकै समस्या हुने गरेको बताउनुभयो । “सडक भत्किएर गाडी त चल्दैन नै, मान्छे हिँड्न पनि निकै जोखिमपूर्ण भएको छ, पैदलयात्रा गर्दामाथिदेखि पहिरो झरेर पुरिने होकी भन्ने डर उस्तै छ, गाउँमा मान्छे बिरामी पर्छन्, बाटो बन्द हुन्छ, त्यो बिरामीलाई के गर्ने रु, बोकेर भए पनि अस्पताल पु¥याउनु प¥यो, हाम्लाई त सडक भएर पनि दुःख नभएर पनि दुःख,” घर्तीमगरले गुनसो गर्नुभयो । बडिगाड गाउँपालिका–७ का गाडी चालक बोमबहादुर बुढामगरले सडक बिग्रिएका कारण तीन महिनादेखि गाडी ठप्प भएको बताउनुभयो । उहाँले असार अन्तिम सातातिर सामान लिएर गाउँ गएको र सोही बेला ठूलो वर्षा हुँदा पहिरोले सडक बिग्रिएपछि गाडी गाउँमै थन्काएर राख्नुपरेको बताउनुभयो । अब दसैँमा सडक खुलेमात्रै गाडी चलाउन सुरु गर्ने चालक बुढामगरको भनाइ थियो । “बाटो बिग्रिएर खतम भएको छ, पहिराले एक ठाउँ मात्रै पुरिएको भए त स्थानीय जनताले खनेर खुलाउन सकिने थिए, धेरै ठूलो–ठूलो पहिराले ठाउँ–ठाउँमा सडक पुरिएको छ, ठूलो मेसिन नलगाएसम्म सडक खुलाउन नसक्ने अवस्था भएपछि गाडी गाउँमै छ, यति धेरै महिना भयो गाडी नचलाएको, बजार तिरै भएको भए वरपर त चलाउन सकिन्थ्यो, नुन तेल खाने, किस्ता चिर्ने उपाय त हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिराले गाउँमै अड्कियो, अब दसैँ आउँदै छ, गाडी बन्द गरेर बसेको धेरै दिन भयो पैसा पनि छैन केले दसैँ मनाउने रु, पोहोर साल त बजारतिरै थिए, ठिकठिकै कमाइ भएको थियो, अहिले त घाटा मात्रै, किस्ता पनि ऋण खाजेर तिर्नुप¥यो ।” लामो समयदेखि गाउँ–गाउँमा गाडी चलाउँदै आउनुभएका ढोरपाटनका देवीराम विकले बर्खाको समयमा गाडी चलाउन निकै जोखिम हुने बताउनुभयो । उहाँले गाउँका सडक निकै साँघुरा हुने, माथिदेखि पहिरो खस्ने र तलतिर भासिने हुँदा दुर्घटना हुने सम्भावना बढी हुने बताउनुभयो । विकले अहिले गाउँका सडक पहिरोका कारण क्षतविक्षत भएको भन्दै खुलाउन पनि धेरै दिन लाग्छ भन्नुभयो । “बर्खामा गाउँमा गाडी चलाउन निकै जोखिम छ, माथिबाट पहिरो आएर चाप्छ कि, तलबाट बगाउँछ भन्ने डर हुन्छ, तै पनि मान्छे बोक्नै प¥यो, सामान ओसार्न परिहाल्यो, अझ गाउँका सडक निकै साँघुरा हुन्छ, धेरै पानी प¥यो भने चिप्लिने डर हुन्छ”, चालक विकले भन्नुभयो, “सम्बन्धित निकायले सडक निर्माण गरेर मत्र छोड्छ, तर कहाँ नाली बनाउनुपर्छ, कहाँ पर्खाल उठाउनुपर्छ, ध्यान दिँदैन, बाह्रै महिना गाउँका सडक चलाउनलाई त सबै सडकको नाली निर्माण गर्नुपर्छ, नाली निर्माण भयो भने धेरै सडक बर्खामा पनि चल्छन् ।” उहाँले गाउँपालिका तथा नगरपालिकाले अनावश्यक ठाउँमा पनि बिना नापजाँच सडक निर्माण गर्दा सडक बर्खाको समयमा ठप्प हुने गरेको बताउनुभयो । गाउँका सडकबाट आएको बाढी पहिराले मुख्य सडक पनि अवरुद्ध हुने गरेको छ । बिना नापजाँच निर्माण भएका सडकका कारण धेरै बस्तीसमेत उच्च जोखिममा परेको छ । दुई/चार वटा घर भएको लेकको टुप्पामा पनि सडक खन्ने प्रवृत्ति बढेको छ, त्यसको असर कति धेरै परेको छ भन्नेकुरा सम्बन्धित निकायलाई थाहा छैन, सडक लेकको टुप्पमा त पुगेको छ तर त्यसको तलतिर कति धेरै बस्ती पहिराको उच्च जोखिममा परेका र समथर खेतीयोग्य जमिन पनि सडकदेखि बगेर आएको बाढीले बगर बनाइदिएको छ । यो एक ठाउँको समस्या होइन, धेरै ठाउँमा यस्तो भएको छ र पनि बाटो खन्न छोडेका छैनन् ।
नवलपुर ः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लगाइएको धानमा ह्वाइट फ्लाई (सेतो झिङ्गा)को सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । धान खेतीमा देखिएको सेतो झिङ्गाले पसाउने बेलाको धानको बाला चुसेर खाने गरेको गैँडाकोट नगरपालिका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैँडाकोटको धेरै ठाउँमा ह्वाइट फ्लाई सङ्क्रमण देखिएकामा चिन्ता व्यक्त गर्दै किसानले धानको उत्पादन घट्ने गुनासो गरेका उहाँको भनाइ थियो । “नगरभित्रका धेरै किसानले ह्वाइट फ्लाईबारे गुनासो गर्न थाल्नुभएको छ”, शाखाप्रमुख शर्माले भन्नुभयो, “कृषकको धान खेतमा गएर हेर्दा पनि पसाउने बेलाको धानमा धेरै सङ्क्रमण देखेका छौँ, यसको नियन्त्रणका लागि माथिल्लो निकायलाई जानकारी गराइसकेका छौँ ।” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले ह्वाइट फ्लाई सङ्क्रमण जिल्लाभरि नै देखिएको बताउनुभयो । जिल्लाको जम्मा कति क्षेत्रफलमा यसको सङ्क्रमण देखिएको छ भनेर कार्यालयले तथ्याङ्क लिने काम गरिरहेको उहाँको भनाइ थियो । “धान खेतीमा देखिएको ह्वाइट फ्लाई थप बढ्दै गएर नियन्त्रण गर्न नसकिए धान उत्पादनमा कमी आउन सक्छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “मसिनो खालको सेतो झिङ्गाले धानको पात चुस्ने, पसाउने बेलाको बाला चुस्ने गरेका कारण धानको बोट नै पहेँलो भएर जाने गरेको छ ।” किराको कारणले धान पहेँलोे भएका बेला किसानले धान खेतमा रासायनिक मल हाल्दा समस्या थप बढेको उहाँले बताउनुभयो । “जिल्लामा लगाइएका धान खेतीमध्ये केही ठाउँमा खाद्य तत्वको कमी पनि देखिएको छ तर कृषि प्राविधिकको सल्लाहबिना युरिया मात्रै राख्दा धानलाई हरियो बनाउन सहयोग गर्छ र किरालाई थप खानेकुरा मिल्छ”, उहाँले भन्नुभयो, “धान हरियो हुँदै गएपछि यसले किराको सङ्ख्या अझै बढाउने हुँदा रोगको सङ्क्रमण सजिलै फैलिन सक्छ, त्यसैले कृषि प्राविधिकको सल्लाह लिएर मात्रै धानमा मल हाल्ने तथा उपचार गर्ने गर्नुपर्छ ।” नवलपुरको मध्यबिन्दु, कावासोती, देवचुली, गैँडाकोट नगरपालिकासहित विनयी त्रिवेणी, हुप्सेकोट गाउँपालिकामा बर्खे धान लगाउने गरिएको छ । यस वर्ष जिल्लामा करिब १८ हजार आठ सय १६ हेक्टर जमिनमा बर्खे धान लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पसाउने बेलाको धानमा रोगको सङ्क्रमण देखिएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन घट्न सक्ने अनुमान गरिएको छ ।
गलकोट : पोखरालाई बागलुङको ढोरपाटनसँग जोड्नका लागि पर्यटन अभियान्ता तथा सगरमाथा आरोही कृष्ण केसीले छ दिने साइकल यात्रा थाल्नुभएको छ । पर्यटन प्रवद्र्धन गर्दै पोखराका पर्यटनलाई ढोरपाटन ल्याउनका लागि उहाँले बिहीबार पोखराबाट साइकल यात्रा थाल्नुभएको छ । विभिन्न समयमा पर्यटन प्रर्वद्धनात्मक अभियान चलाउँदै आउनुभएका कृष्ण केसी गृह जिल्ला बागलुङको प्रर्वद्धनका लागि साइकल यात्रा गरेको बताउनुभयो । विश्व पर्यटन दिवसको अवसरमा छ दिने साइकल यात्रा थाल्नुभएको हो । साइकल यात्राको दोस्रो दिन शुक्रबार बागलुङ बजार आउनुभएका केसी म्याग्दी हुँदै ढोरपाटन पुग्ने योजना रहेको बताउनुभयो । धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको प्रचारका लागि आफ्नो साइकल यात्रा साङ्केतिक भएको साइकल यात्री तथा पर्यटन अभियान्ता कृष्ण केसीले बताउनुभयो । केसीलाई शुक्रबार बिहान बागलुङ कालिका मन्दिर परिसरमा बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र कालिका भगवती गुठी व्यवस्थापन समितिले स्वागतसमेत गर्नुभएको छ । बागलुङमा जन्मनुभएको केसीले पर्यटन अभियानलाई निरन्तररुपमा प्रवद्र्धन गर्दै आउनुभएको छ । “धौलागिरी, निलगिरी, ढोरपाटन र कालिगण्डकीको छोटो रुप ‘धौनिढोका’को प्रचारप्रसारका लागि एकल साइकल यात्रा हो यो, यात्राका क्रममा साहसिक पर्यटकीय क्षेत्रको रुपमा चर्चित कुस्मा र बलेवा जोड्ने बञ्जी पुल, अन्य झोलुङ्गे पुलको यात्रा पछि अहिले बागलुङ आएको छु”, केसीले भन्नुभयो, “११ गते विश्व पर्यटन दिवसको दिन ढोरपाटन पुग्ने गरी म्याग्दी बजार, तातोपानी कुण्ड हुँदै बागलुङको तमानखोला गाउँपालिकादेखि ढोरपाटन पुग्ने योजना छ ।” पर्यटन प्रवद्र्धनका लागि एक्लै यात्रा गरेर सांकेतिकरुपमा सन्देश दिन खोजेको बताउँदै निर्वाचनपछि पोखराका पर्यटन व्यवसायीलाई ढोरपाटन उतार्ने योजना रहेको बताउनुभयो । साइकल यात्राका क्रममा पर्वत, बागलुङ र म्याग्दीका पर्यटन व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा पर्यटन प्रवद्र्धन अभियान्तासँग भेटघाट गर्दै हिड्ने कार्यक्रम रहेको छ । जनयुद्धका विषयमा किताबसमेत लेख्दै आउनुभएका केसीले लोलुफेरा प्रवद्र्धनमा ठूलो भूमिका निभाई सक्नुभएको छ । नेपालका ७७ जिल्ला भ्रमण गरिसक्नुभएका केसीले बागलुङको ढोरपाटनमा पर्यटन ल्याउनका लागि विभिन्न योजना ल्याउँदै आउनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा ११ गते ढोरपाटनमा घोडा जात्राको आयोजना गरेको बताउनुभयो ।
तनहुँ : म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता हुनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पायौँ भन्नुभयो । गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिलाई घरघरमा पुगेर कोभिडविरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देवासी खुसी भएका हुन् । सारुले जस्तै २८ वर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ वर्षीय नारायणबहादुर हुन्चिङलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् । स्पाइनल इन्जुरीका कारण पूर्णरुपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहनुभएका २९ वर्षीय नारायणबहादुर हुन्चिङले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुसी हुँदै सामान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयोे । अपाङ्गता भएका व्यक्ति वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर–घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । एकीकृत घुम्ती सेवामार्फत घर–घर र टोल–टोलमा पुगेर सेवा दिँदा म्याग्देवासीमा खुसी छाएको उहाँले बताउनुभयो । चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरुद्ध वयस्क फाइजर खोप दुई सय ६७ ले लगाएकामा १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा र दुई सय ३२ ले तेस्रो ९बुस्टर० मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताउनुभयो । वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको छ । उक्त शिविर यही असोज २ देखि ३१ गतेसम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ ।
लमजुङ : सरकारले एक पालिका एक सडक पुर्याउने अभियानअन्तर्गत अघि बढाएको यहाँको एक पालिकाको केन्द्रसम्म जोड्ने सडक निर्माण अवधि सकिए पनि काम भने अधुरै छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न उदीपुर–रिठ्ठेबगर–नौथर सेरा सडक कालोपत्रे गर्न तोकिएको अवधि सकिए पनि काम सम्पन्न हुन नसकेको हो । दुई वष (गत असार २ गते)सम्ममा निर्माण सम्पन्न गर्ने भनी सम्झौता भएको थियो । काठमाडौँस्थित कन्ट्र्याक निर्माण प्राइभेट लिमिटेडले निर्माण गर्दै आएको यस सडक विसं २०७७ असार ३ गते सम्झौता भएर विसं २०७९ असार २ गते कालोपत्रे गरिसक्नुपर्ने सम्झौता थियो तर निर्धारित समयमा काम हुन नसकेपछि आगामी पुस १५ गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५ मा लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्रे हुन लागेको हो । बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका रोड इन्जिनियर राजेश अधिकारीका अनुसार हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति भएको छ भने वित्तीय प्रगति ३६ दशमलव ५१ प्रतिशत छ । हालसम्म रु नौ करोड ६० लाख २० हजार १० उक्त कार्यालयले ठेकेदार कम्पनीलाई दिइसकेको उहाँको भनाइ थियो । हालसम्म नाली र एउटा आरसीसी कल्र्भटका साथै सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने यतिबेला ग्याबेल, ग्याबिन वाल, मेसिन वाल, स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ थियो । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान गर्ने भएको छ । उक्त सडक कोभिडका कारण र निर्माण कार्य सुरु गर्न ढिलाइ भएको जनाउँदै निर्माण कम्पनीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरे पनि पुनः म्याद थप गरिएको समयमा भने सम्पन्न गर्नसक्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडकको विभिन्न स्थानमा ६० कामदार सम्लग्न छन् । उक्त सडक निर्माण भएसँगै दोर्दी पालिका र सडक आसपासका बासिन्दालाई सदरमुकाम बेँसीसहरसम्म आउनका लागि समय समयको बचत हुनाका साथै सहज यात्रा गर्न पाउने छन् भने किसानले उब्जाएका खेतीपातीसमेत सदरमुकामसम्म ल्याउन सहज हुने भएको छ । गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले यस सडक चाँडै सम्पन्न गराउन सम्बन्धित निकायमा कुरा उठाउँदै आएको बताउनुभयो । सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडककोे यात्रामा कठिनाइ हुँदा जनताले सास्ती भोग्दै आउनुपरेकाले आफूले सक्दो पहल गर्दै आएको उहाँको भनाइ थियो ।
पोखरा : जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका १३ वटा मासु पसललाई कारवाही गरेको छ । उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले १३ वटा पसललाई जनही ५ हजारका दरले ६५ हजार जरिवाना गरेको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, उपभोक्ता मञ्च गण्डकी र पत्रकारको टोलीले असोज ४ गते पोखराका ३२ वटा फ्रेस हाउस अनुगमन गर्दा १३ वटा पसललाई जनही ५ हजारका दरले कारवाही गरेको हो । कोइरालाका अनुसार अनुगमनका क्रममा पोखराका केही पसलहरुले खसीको टाउको झुण्ड्याएर बाख्रीको मासु बिक्री गरेको पाइएको थियो । अनुगमनको क्रममा केही पसलमा राखिएका मासुको गुणस्तर पनि कमजोर रहेको पाइएकाले २ दिनभित्र पसल सुधार गर्न समय दिएको थियो । यसरी नियमावली र मापदण्ड पालना नगर्ने मासु पसलका सञ्चालकहरुलाई स्पष्टिकरणसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा जरिवाना गरिएको मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । ‘अनुगमनकाक्रममा कतिपय पसल दर्तै नभएको पाइयो, कतिले नियमावली पालना गरेका रहेनछनु’ अध्यक्ष कोइरालाले भने ‘पसल दर्ता गर्न ३ दिनको समय दिएको छ, त्यो समयभित्र दर्ता प्रक्रियाको क्रममा नगए थप कारवाही हुनेछ ।’ प्रशासनले उपभोक्ता संरक्षण ऐन अन्र्तगत रहेर कारवाही गरेको उल्लेख गरेको छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नं. २७ निवासी स्वर्गिय बलराम लामिछानेका परिवारलाई एलआईसी नेपाल लिमिटेडले मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेको छ । स्वर्गिय लामिछानेकी पत्नी गोमा कुमारी लामिछानेलाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले विमा वापत दुई लाख ७२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरेका हुन । मृत्यूदावी चेक हस्तान्तरण गर्दै, वडाध्यक्ष थापाले लामिछानेले परिवारले असल अभिभावक गुमाएकोमा दुःख व्यक्त गर्दै, मृत्यू दावी वापतको रकमले परिवारलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको बताए । अध्यक्ष थापाले न्यून र मध्यम बर्गिय परिवारमा विमाको पहुच पुग्नु पर्ने उल्लेख गर्दै, विमा सचेतना कार्यक्रम संचालन गर्न जोड दिए । एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले स्वर्गिय लामिछानेको परिवारमा अभिभावक नहुँदाको पिडामा आर्थिक सुरक्षणका रुपमा विमाको रकमले सानो भएपनि योगदान दिएको बताए । उनले विमाको विषयमा गलत वुझाई हुँदा अझै पनि ठुलो संख्या विमाको पहुँच भन्दा बाहिर रहेको बताए । लामिछानेको पोखरा महानगरपालिकामा नायव सुब्बाका रुपमा कार्यरत रहँदा गत माघमा निधन भएको थियो । साविक लेखनाथ नगरपालिकाले लामिछानेको दुई लाख रुपैया विमाङ्कको दश बर्षे सावधिक जीवन बिमा गरिदिएको थियो । लामिछानेलेको सात किस्ता रकम तिरेपछि निधन भएको थियो ।
गोरखा : गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय जौवारीको टोलीले तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको लामिछानेले बताउनुभयो । अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन् ।

