काठमाडौँ ः अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी सानो परिमाणमा लागुऔषध भित्रिएका घटना बेलाबेलामा सुनिएको हो । यसपटक भने झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ । उक्त पार्सल अनुसन्धानका लागि प्रहरीले बरामद गरी त्यसमा संलग्न रहेका तीन व्यक्तिलाई पक्राउ गरेको छ । त्यसका मुख्य कारोवारीको हुन् भन्ने विषयमा भने अझै अनुसन्धान कै क्रममा रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । घटना यही सोमबारको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट गाँजा हालेर उपहारका रुपमा पार्सल आयो । कुनै व्यक्तिको नाममा उपहार भनेर उक्त पार्सल आएको थियो । हुलाकमा प्रहरी टोली खटाइँदै आएको छ । उक्त पार्सल मेसिनमा स्क्रिनिङ गर्दा असहज देखियो । “अनुसन्धानका क्रममा भित्र गाँजा भएको खुल्यो, त्यसपछि अनुसन्धानलाई थप बलिायो बनाउँदै मान्छे समाउन लाग्यौँ”, खड्काले भन्नुभयो, “लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप व्यक्ति खोज्न थाल्यौँ ।” हुलमा उक्त पार्सल लिन काभ्रेको माण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई आए । हुलाकबाट पार्सल रिसिभ गर्ने बित्तिकै उनी पक्राउ परे । त्यहाँ थियो दुई किलो गाँजा । सुरुमा उनले केही कुरा खुलाएनन् । विस्तारै सोधपुछका क्रममा राईबाट काठमाडौँ महानगरपालिका–१ नक्सालका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ पनि यसमा संलग्न रहेको कुरा खुलेपछि काठमाडौँको खुस्बुबाट पक्राउ परे । थप अनुसन्धान गर्दै जाँदा मनोजलाई रु ३० हजार दिने शर्तमा राहुल र अङ्कीतले परिचालन गरेको पत्ता लाग्यो । तत्कालै प्रहरीले काठमाडौँको नक्सालबाट क्षेत्रीलाई पनि पक्राउ गर्यो । यो पार्सल उनीहरुमा मात्रै सीमित छैन । उनीहरु पहिलो तहका संलग्न व्यक्ति हुन् । गाँजा मगाउने मुख्य व्यक्ति को हुन् प्रहरीले अझै खुलाएको छैन तर पार्सल तीनै जनाको मिलेमतोमा भित्राइएको पाइएको छ । यसरी बनेको थियो त्रिपक्षीय योजना धेरै पहिलेदेखि नै राहुल र अङ्कित साथी थिए । उक्त पार्सल मगाउने राहुलले अङ्कितको नाममा मगाउन प्रस्ताव गरेर तर राहुलले पक्राउ पर्ने डरले मानेन् । बरु चिनजानको अर्को साथीको नाम लिँदै उनको नाममा मगाउन प्रस्ताव गरे । उनको नाम हो मनोज राई । मनोजको नाममा पार्सल मगाउने अङ्कित र राहुलको सहमतिमा मनोज पनि राजी भए । विगतमा मनोज ठमेलको एक पबमा काम गर्थे । उक्त पबका अङ्कित नियमित ग्राहक थिए । विस्तारै उनीहरुको चिनाजान साथीमा परिणत भयो । बन्दाबन्दीमा समयमा पब बन्द भएपछि राईलाई अङ्कितले नयाँ जागीर लगाइदिएपछि उनीहरुको सम्बन्ध घनिष्ट भयो । त्यसैले उनीहरुले मनोजलाई प्रयोग गरेर उनको नाममा पार्सल मगाउन सफल भएका थिए । लागुऔषधसहित पक्राउ परेका १५ जना सार्वजनिक उनीहरुसहित विभिन्न मितिमा लागुऔषधसहित पक्राउ परेका १५ जनालाई प्रहरीले आज सार्वजनिकसमेत गरेको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँले जनाएको छ । प्रहरीले ललितपुरको भोलाखेलका सञ्जय कपाली, र रामेछापको मन्थलीका २७ वर्षीय कुमार तामाङलाई नियन्त्रित लागुऔषध ब्रुप्रोनोर्फिन ३१ एम्बुपल, डाइजेपाम ३१ एम्पुल र फेनारगन ३० एम्पुलसहित पक्राउ गरेको हो । यस्तै ललितपुरका २९ वर्षीय अनिश महर्जन तथा सप्तरीका धर्मदेव रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । खैरो हेरोइनसहित ललितपुरका प्रताप कार्की, पाँचथरका भुवन विक र देङ्हाङ नेम्वाङ पनि पक्राउ परेका छन् । यस्तै काठमाडौँको माकलबारीका उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पालाई पनि खैरो हेरोइनसहित र उक्त खैरो हेरोइन कारोबारमा संलग्न भोजपुरका फुर्लामी शेर्पा, अप्सरा राजवंशी, नौसाद आलम पक्राउ परेका छन् । उनीहरुबाट रु १० लाख ४० हजार नगदसमेत बरामद गरिएको छ । प्रहरीले १५ जनाबाट खैरो हेरोइन २८७.५ ग्राम, गाँजा दुई किलो, अन्य लागुऔषध २५२ एम्पुल, डिजिटल तराजु, मोबाइललगायत साम्रगीसमेत बरामद गरेको छ ।
म्याग्दी : म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गर्नुभएको छ । रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाउनुभएको थियो । उहाँले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आउनुभएको थियो । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गर्नुभएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी एकाइका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर सम्मान गर्न थालेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउन र हौसला प्रदान मासिकरूपमा सम्मान गर्न सुरु गरिएको हो । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई विसं २०७९ को साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी सम्मान प्रदान गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो । नाबालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल परिचालन भई घटनास्थलमा नै पीडितलाई उद्धार र पीडकलाई नियन्त्रणमा लिन सफल भई अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको र ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई पक्राउ गरेको हुँदा पौडेललाई ‘वेष्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
तनहुँ : म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई रु १० हजार अनुदान दिने भएको छ । पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई विस्थापित गर्दै लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिनुभयो । यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उहाँले बताउनुभयो छ । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतिलिटर दूधमा रु दश त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा रु १० अनुदान दिने निर्णय गरेको छ । दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ । यसअघि गाउँपालिकाले प्रतिलिटर रु पाँच अनुदान दिँदैआएको थियो । सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ ।
बागलुङ : एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन । विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ । यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन् । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्ट, ढिकी र जाँतोको प्रयोग घट्दै गएको जनाइएको छ । गाउँलेले पिसानी (अन्न पिस्ने काम)का लागि घट्ट भरपर्दो माध्यमका रूपमा प्रयोग गर्दै आइरहेकामा पछिल्लो समय मिल नै यसको उचित विकल्प बनेको छ । खासगरी पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । गाउँघरमा अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा पनि बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्टहरू जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेका ठाउँमा यसको प्रयोग हुने गरेको छ । तर जिल्लाको अधिकांश ठाउँमा मिल नै सञ्चालनमा आएका छन् । यसले मानिसलाई सजिलो बनाइदिएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ३ का स्थानीयहरुले पाँच वर्ष अगाडिसम्म पानी घट्टमै आँटो पिठो पिसेर उपभोग गर्ने गर्थे । अहिले गाउँमा दुई–तीन ठाउँमा मिल सञ्चालनमा आएपछि घट्ट प्रयोगविहीन बनेको छ । प्रयोगविहीन बनेको घट्ट जीर्ण बनेको छ भने त्यसका पाटपुर्जा पनि कामै नलाग्ने गरी बिग्रिएका छन् । मिलको बढ्दो प्रयोग हुन थालेपछि पानीघट्ट प्रयोग हुन छाडेको स्थानीय नरबहादुर घर्तीमगरको भनाइ छ । उहाँले पहिले–पहिले पानीघट्टमा आटोपिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको जनाउँदै अहिले सबै मिलमै कुटानी पिसानीका लागि जाने गरेको बताउनुभयो । उहाँले घट्टको विकल्पमा अरु माध्यम नभएको सुनाउँदै अहिले धेरै प्रविधि भित्रिएको बताउनुभयो । “पहिले हामीले कुटानी पिसानी गर्ने ढिकी, जाँतोबाहेक अरु केही थिएन, कि घरमै जाँतोमा आटो पिठो पिस्नु पथ्र्यो, कि घण्टौँ लगाएर टाढाको मिलमा जानु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन”, उहाँले भन्नुभयो, “अहिले त पानीघट्टको प्रयोग कम मात्रा हुन्छ, गाउँमै मिल बने घट्टलेभन्दा मिलले छिटो पिस्छ, त्यसले गर्दा मान्छे जता छिटो हुन्छ उतै जान्छन्, पहिले चलेका घट्ट अहिले पुरानो भएर भत्किन थालिसके, मान्छेले सजिलो र छिटो खोज्दोरहेछ ।” पानीघट्टको प्रयोग घटेपछि सञ्चालकहरू पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट एक–दुई माना उठाउने गर्थे । त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए । अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान थालेपछि घट्ट ठप्प भएको सञ्चालक वीरबहादुर सुनारले बताउनुभयो । गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेको घुइँचो लाग्ने गरेको जनाउँदै पछिल्लो समय घट्ट ठप्पै भएको उहाँको भनाइ छ । “घट्ट भत्कियो, मान्छे आउन छाडे, पहिले मेरो घट्टमा गाउँले सबै आउने गर्थे, मकै, गहुँ, कोदो पिस्न आउनेको लाइन हुन्थ्यो, पालो कुरेर भए पनि पिसेर जान्थे, अहिले खाली भएर पनि कोही आउँदैनन्, मान्छे नै आउन छाडेपछि घट्ट अहिले जीर्ण बनेको छ, मर्मतसम्भार पनि गरेको छैन”, सञ्चालक सुनारले भन्नुभयो, “यहीबाटै परिवार पालेको थिएँ, अहिले सबै मिलमा जान्छन्, कोही आउँदैनन्, त्यसले गर्दा अब अरु नै पेशा गर्नुपर्ने अवस्था आएको छ, डेढ वर्षभन्दा बढी भयो मेरो घट्टमा मान्छे नआएको, त्यसभन्दा पहिले मान्छेहरु फट्टफुट्ट आउने गर्थे ।”
मनाङ : हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ । केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । “ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ”, उहाँले भन्नुभयो । समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । “भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ”, केन्द्र प्रमुख कुसुमले भन्नुभयो । जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ । भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका-८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो । हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३० मरेको उहाँले बताउनुभयो । रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । “चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन”, उहाँले भन्नुभयो, “हिमाली चौरीमा भाद्र-आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।” रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशङ्का गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ । सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ । ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक र्याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ । उहाँका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् ।
काठमाडौँ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो । सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार आठ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ । मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगले गरेको छ ।
काठमाडौँ : जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिनुभयो । एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल ९शाही०ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो । “बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी प¥यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो”, श्रेस्तेदार रेग्मीले भन्नुभयो, “प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो ।” अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उहाँले बताउनुभयो । यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो । यसपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको छ । डा. साह जलेश्वर नगरपालिका-५ महोत्तरी जिल्ला निवासी हुनुहुन्छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठमाथि ठमेलको छायाँ सेन्टरमा दुव्र्यवहार गरेको आरोपमा सुरक्षा गार्ड शेरजंग गुरुङ हाल महानगरीय प्रहरी प्रभाग दरबारमार्गको थुनामा रहेका छन् । गुरुङ्लाई पुर्पक्षकालागि ५ दिन हिरासतमा राख्ने प्रहरीले जनाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गुरुङलाई प्रहरी कार्यालयमा भेटेका छन् । भेटमा गुरुङले लाइनमा बस्न आग्रह गरेपनि दुव्र्यवहार नगरेको लामिछानेलाई बताएका छन् । भेटपछि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो।’ भनेको उल्लेख गरेका छन् । यहि भनाइलाई लिएर लामिछानेले ‘यदि उनको भनाई सत्य हो भने थुनामा राख्ने होइन, सम्मान रिहा गरियोस्’ भनेका छन् । त्यस्तै, मन्त्रीलाई कानून नमानेको अभियोगमा अनुसन्धान गर्न लामिछानेले आग्रह गरेका छन् ।
बागलुङ ः दैनिक हजारौँ मानिसको आवतजावत हुने ठाउँ हुन् बागलुङ, बुर्तिबाङ र गलकोट बजार । बजार साना छन् तर व्यापार व्यवसाय र मानिसको चाप ठूलो छ यहाँ । भर्खरभर्खर विकास गति दिँदै गएका यी बजारमा धेरै पूर्वाधार निर्माण हुन बाँकी नै छ । भौगोलिक हिसाबले पछाडि परेका यी ठाउँ राष्ट्रिय राजमार्गका कारण छोटो समयमै अनपेक्षितरुपमा विकास भएका हुन् । तीनवटै बजारमा तीव्रगतिमा बस्ती विस्तार भइरहेको छ । दिनदिनै अव्यवस्थितरुपमा भएको बस्ती विस्तारले बजार व्यवस्थापनमा चुनौतीसमेत थपिँदै गएको छ । बढी चुनौती त पार्किङमा छ । मध्यपहाडी लोकमार्गले जोडिएपछि सहरका रुपमा विकास भएका हटिया र बुर्तिबाङमा ठूलाठूला घर भवन निर्माण भइरहेका छन् । यसले गर्दा खुला ठाउँ कत्ति पनि छैन । दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने तथा रोकिने बुर्तिबाङ र गलकोटमा व्यवस्थित बसपार्क छैन । बुर्तिबाङ बजारमा बसपार्क भए पनि गलकोटमा भने छैन । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा बसपार्क भए पनि निकै साँघुरो छ । साँघुरो बसपार्कमा २० वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । त्यसले गर्दा चालकले जथाभावीरुपमा गाडी रोक्दा बजार नै अस्तव्यस्त बनेका छन् । त्यसमाथि पनि व्यवसायीहरुले सडक पेटीमै सामानहरु राख्दा पदैल यात्रुलाई झनै समस्या थपिएको छ । “बजार साँघुरो छ, गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिड्ने रु, बसपार्क पनि यति सानो छ, व्यापारीले पनि सडकमै ल्याएर सामान राखेका छन्,” स्थानीयवासी जगत घर्तीले भन्नुभयो, “एकातिर गाडीले बाटो छेकेको छ, अर्कोतिर व्यापारीका सामानले, पैदल यात्रु कहाँबाट हिँड्ने रु” । उहाँले १२ वर्ष अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “आजभन्दा १२ वर्ष अगाडि बुर्तिबाङ बजार सुनसान थियो, घर थोरै थिए, अहिले जताततै भरिए, खाली ठाउँ कतै पनि छैन”, उहाँले भन्नुभयो, “विकास हुनु राम्रो हो त यसरी अस्तव्यस्तरुपमा भएको विकासले नागरिकले दुःख पाउँछन् ।” ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले अहिले सञ्चालनमा आएको बसपार्क निकै साँघुरो हुँदा बजार व्यवस्थापनमा समस्या भएको बताउनुभयो । नयाँ सहरी विकास आयोजनासँग सहकार्य गरेर वडा नम्बर १ को खप्तरीबाङमा खरिद भएको जग्गामा व्यवस्थित बसपार्क निर्माणका गरिने उहाँले बताउनुभयो । “बसपार्क निर्माणका लागि दुई वर्ष अगाडि नै खप्तरीबाङमा जग्गा खरिद भइसकेको छ, अहिले सञ्चालनमा रहेको बसपार्क निकै साँघुरो छ, यहाँ धेरै गाडी राख्न मिल्दैन, यसले गर्दा बजार व्यवस्थापनमा निकै चुनौती छ, यसको व्यवस्थापनमा नगरपालिका गम्भीर भएर लागेको छ”, उपप्रमुख कायतले भन्नुभयो, “नयाँ सहरी विकास आयोजनाले पनि बसपार्कका लागि जग्गा खोजिरहेको छ, अब आयोजनासँग समन्वय गरेर बसपार्क निर्माण गर्ने र अहिले भएको बसपार्कलाई कार्यक्रम स्थल बनाउने र अन्य गतिविधिका लागि प्रयोग गर्ने गरी योजना बनाएका छौँ ।” उपप्रमुख कायतले लोकमार्ग कालोपत्र भएपछि यातायातको चाप निकै बढेको हुँदा बजार व्यवस्थापनमा समस्या परेको बताउनुभयो । बुर्तिबाङ बजार नेपालको एक मात्रै शिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार भएको हुँदा ढोरपाटन जाने पर्यटकका कारणले पनि यहाँ गाडी व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । अस्तव्यस्त सवारी साधनको पार्किङले बजारलाई नै कुरुप बनाएको भन्दै केही समयमा यो समस्याको समाधान गर्ने बताउनुहुन्छ । “बुर्तिबाङ पर्यटकीय क्षेत्र ढोरपाटनको ढोका हो, यहाँबाट सयौँ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्छन्, उनीहरुले चढेर आएका गाडी यहाँ पार्किङ हुन्छ, त्यो बाहेक यहाँ सवारीको चाप बढ्नुका कारण लोकमार्ग राम्रो बन्नु हो, पहिले सडक राम्रो थिएन, टाढाटाढाबाट मान्छे आउँदैनथे”, उहाँले भन्नुभयो, “अहिले सेवासुविधाको हिसाबले बुर्तिबाङ विकास भयो, सडक राम्रो भयो, जताततै घरहरु भरिए, खाली ठाउँ भएन, त्यसले गर्दा समस्या आएको हो, यो समस्याको समाधानका लागि हामी प्रयास गरिरहेका छौँ ।” बुर्तिबाङ बजार निसीखोला, भुजीखोला र तमाखोलाको सङ्गमस्थल हो । जिल्लाकै दोस्रो ठूला व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ तीनवटै क्षेत्रका बासिन्दा किनमेलका लागि बुर्तिबाङ झर्ने गर्छन् । अझ अहिले त मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाको किनमेल गर्ने ठाउँ बुर्तिबाङ बजार बनेको छ । बुर्तिबाङ बजारदेखि हरेक दिन दर्जनौँ गाडी देशका विभिन्न सहरमा पुग्ने गर्छन् । मध्यबागलुङमा पर्ने गलकोटको हटिया बजार पनि एक दशक अगाडिसम्म सुनसान थियो । मध्यपहाडी लोकमार्गले जोडिएपछि बजारमा परिणत भएको छ । दरमखोलाको तिरमा रहेको गलकोट बजार निकै साँघुरो छ । यहाँ पनि गाडी र मान्छेको चाप उस्तै हुँदा बजार व्यवस्थापनमा निकै चुनौती छ । गलकोटमा लोकमार्गमा सञ्चालन हुने तथा बजारदेखि ठूला सहर र ग्रामीण क्षेत्रमा चल्ने गाडीले बजार अस्तव्यस्त बनाएको छ । सवारीसाधनको चाप बढेपछि गलकोट क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि व्यवस्थित बसपार्कको आवश्यक परेको स्थानीय बासिन्दा थम्मन थापाले बताउनुभयो । गलकोटमा एक दशकअघिसम्म खेत र सामान्य बजार रहेको भन्दै लोकमार्ग आएपछि घरहरुले भरिएको उहाँले बताउनुभयो । बढ्दो जनघनत्व तथा लोकमार्गमा हुँदै रुकुम, रोल्पादेखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाडौँ चल्ने ठूला तथा साना सवारीसाधनको आवतजावतले बसपार्कको अभाव खड्किएको थापा बताउनुहुन्छ । “तीव्र बजारीकरणका कारण गलकोटमा बसपार्कको अतिआवश्यक छ, सानो ठाउँ छ, धेरै मान्छे र सवारी साधान छन्, बजारको जता हे¥यो त्यतै गाडीले भरिएका छन्, मान्छेलाई हिँड्न पनि समस्या छ”, उहाँले भन्नुभयो, “खुला ठाउँ भएको भए गाडी व्यवस्थापन गर्न पनि सजिलो, किनमेल गर्न बजार आउने मान्छेलाई फुटपाथमा हिँड्न पनि सजिलो हुन्थ्यो, अहिले त मान्छे उहीँ, गाडी उहीँ, यसले गर्दा दुर्घटनाको जोखिम त निकै बढायो ।” उहाँले कुनै समय ठूलो कार्यक्रम गर्दा मान्छेहरु राख्न नसक्ने होटल अभाव हुने गलकोटमा अहिले सुविधा सम्पन्न होटल रेष्टुरेन्ट बनिरहेको भन्दै बाहिरी मान्छेसमेत यहाँ घुम्न आउने गरेको बताउनुभयो । यहाँ जनसङ्ख्या बढ्नु र बाहिरी मान्छेको आगमनमा समेत वृद्धि हुँदा बजार व्यवस्थापनमा थप चुनौती थपिएको थापाले बताउनुभयो । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोटमा बजार विस्तार भएको हुँदा बसपार्कको अतिआवश्यक परेको बताउनुभयो । बसपार्क व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयास गरिरहेको उहाँको भनाइ छ । जग्गा नपाउँदासम्म वैकल्पिक ट्राफिक व्यवस्थान गरिएको प्रमुख गैरे बताउनुहुन्छ । “जनघनत्व बढी भयो, सवारीसाधन पनि बढे, त्यस कारण यहाँ बसपार्क अनिवार्य भयो, बसपार्क निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने प्रयास भइरहेको छ, तर अहिलेसम्म जग्गा प्राप्त भएको छैन, बजार निकै साँघुरो छ, बजारभन्दा टाढा बसपार्क भएर पनि खासै समस्या समाधान हुँदैन, बजार वरपर त्यस्तो जग्गा पाउन निकै मुस्किल छ”, नगर प्रमुख गैरेले भन्नुभयो, “हामीले निकै प्रयास गरेका छौँ, जग्गा व्यवस्थापन हुँदासाथ प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर बसपार्क निर्माण गछौँ ।” अहिले बजार क्षेत्रको सडकलाई एकतर्फीरुपमा सञ्चालन गरेर समस्या समाधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । गैरेले ट्राफिक प्रहरीसँग समन्वय गरेर बजार क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणका लागि चोकचोकमा होर्डिङ बोर्ड राख्ने तथा साना सवारी साधनलाई खुला सडकका छेउमा व्यवस्थापन गर्दै आएको बताउनुभयो । यता जिल्ला सदरमुकाम बागलुङ बजारमा भने बसपार्क नभएका होइनन् । यहाँ दुई वटा बसपार्क छन् । वडा नं ३ मा चिप्लेटी बसपार्क र वडा नम्बर ४ उपल्लाचौरमा नयाँ आधुनिक बसपार्क निर्माण भएको छ । चिप्लेटी बसपार्क साँघुरो भएको हुँदा उपल्लाचौरमा नौ करोड लागतमा बसपार्क निर्माण गरिएको हो । निर्माण भएको एक वर्ष बितिसक्दा पनि यो बसपार्क सञ्चालनमा आउन सकेको छैन । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क सञ्चालनमा आउन सकेको छैन । करिब २० वर्षअघि बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए । एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भए पनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ । विसं २०७५ मा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम तीनपटक म्याद थपेर काम सकिएको हो । बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ र ग्यारेज निर्माणको भएका छन् । नगर विकास कोषले रु नौ करोड चार लाख ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बस राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दुरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो । निर्माण भएको बसपार्क रित्तो छ तर बजारमा भने सवारीको चापले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको छ । बजारको मुख्य सडक जीपपार्कदेखि ट्राफिक चोकसम्म दैनिक साना ठूला सवारीसाधनको चाप हुने गरेको छ । सवारी साधनलाई एकतर्फी भए पनि निरन्तर सञ्चालनका लागि जिल्ला ट्राफिक कार्यालय बागलुङले प्रयास गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो । उहाँले बजार साँघुरो र त्यसमाथि ग्रामीण क्षेत्रबाट आउने गाडी र बजारदेखि लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो । उहाँले पार्किङका लागि बागलुङ नगरपालिकासँग छलफल गरिरहेको बताउनुभयो । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले उपल्लाचौरमा बनेको नयाँ बसपार्क सञ्चालनका लागि कार्यदल बनाएको भन्दै यहाँ भएका समस्या समाधान गरी छिटै सञ्चालनमा ल्याउने बताउनुभयो । उहाँले निर्माण भएको बसपार्क रित्तो हुने तर बजारमा सवारी साधनको भीड हुने गरेको बताउँदै केही समयमै यसलाई सञ्चालनमा ल्याउने दाबी गर्नुभयो । “बसपार्क सञ्चालनमा केही समस्या रहेछन्, त्यसको समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले कार्यदल गठन गरेको छ”, नगर प्रमुख श्रेष्ठले भन्नुभयो । कार्यदलले यहाँ भएको समस्या समाधान गर्दा बित्तिकै बसपार्क सञ्चालनमा ल्याउने तयारी भएको छ ।

