लमजुङ : नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस हुनुभएको छ । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो । उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहनुभएका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बन्नुभएका गुरुङ प्रदेश सदस्यमा निर्वाचित हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्नुभएको थियो । क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवं प्रदेशसभा सदस्य धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस गरेको छ । यसअघि प्रदेश (क) बाटै दवाडी निर्वाचत हुनुभएको थियो । एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले र जिल्ला पार्टी सचिव सुभास पौडेलको नाम सिफारिस भएको छ । विसं २०७० मा लमजुङ क्षेत्र नं १ बाट नेपाली कांग्रेस लमजुङका नेता डा. टकराज गुरुङलाई हराउँदै घले संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ केन्द्रीय सदस्य टुकाभद्र हमाल, कल्पना थापा, प्रेमबहादुर दुराको नाम सिफारिस भएको छ । प्रदेश (क) र (ख) मा समानुपातिकतर्फ– प्रेमबहादुर घले, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस गरेको छ ।
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा १९ जना सदस्य थप भएका छन् । मञ्चको शनिबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको चौधौं बैठकले यो निर्णय गरेको हो । मञ्चका महासचिव राजाराम पौडेलले दिएको जानकारी अनुसार सदस्य बन्नका लागि ३० जना पत्रकारले आवेदन दिएका थिए । उनीहरुमध्येबाट प्राप्त कागजात सहितको विवरण र सक्रियताको आधारमा १९ जना सदस्य छनोट गरिएको हो । यसरी छानिनेमा अनुप पौडेल, कृष्ण प्रसाद दवाडी, गीता राना, चेत बहादुर थापा प्रविन, धन बहादुर गुरुङ सुमन, परशुराम शर्मा, गोविन्द थापा सिञ्जाली, फडिन्द्र अकिञ्चन, बस बहादुर शेर्पा बसन्त, बाल कुमारी पौडेल तारा, बिजय नेपाली, रिखिराम जिसी, राधिका कँडेल, राम गुरुङ, विमल तिवारी, शुसान्त गाहा मगर अर्जुन, सञ्जय कुमार मल्ल, सञ्जय रानाभाट र सविन रेग्मी रहेको महासचिव पौडेलले जनाए । नयाँ सदस्यताको लागि मञ्चले गत साउन २१ गतेबाट भदौ ४ गतेसम्म आवेदन खुल्ला गरेको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन भएको थियो । पछि २०७५ सालमा गण्डकी प्रदेशका खेलपत्रकारलाई समेट्ने उद्धेश्यले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी दर्ता भएको हो । यसअगाडि मञ्चमा गण्डकी प्रदेशका ५५ जना पत्रकार आवद्ध भएकोमा अब मञ्चमा आवद्ध पत्रकारको संख्या ७४ पुगेको छ । मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आएको छ । गण्डकी प्रदेशको कास्की बाहेकका जिल्लाको लागि अर्को चरणमा सदस्यता प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।
पोखरा ः केही दिन यता पोखराम दैनिक जसो वर्षा भइरहेको छ । चिसोपन महशुस भएपनि उद्योगी व्यवसायीहरुलाई भने पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनले तताइरहेको छ । भदौ २४ र २५ गते सम्पन्न हुने ३४ औँ महाधिवेशनमा नयाँ नेतृत्व लिन पोखराका व्यवसायी पवन प्रजापति र अर्जुन पोखरेलले आ–आफ्नो प्यानल बनाएर चुनावमा होमिएका छन् । पोखरामा १३ वर्षबाट व्यवसाय सुरु गरेका पवन प्रजापतिले पोखरा उद्योग वाणिज्यको नयाँ नेतृत्व लिन व्यवसायीहरु समक्ष घरदैलोमा व्यस्त भएका छन् । पोखरामा तरकारी व्यवसायबाट अगाडी बढेका प्रजापति अहिले ५८ वर्षका भए । उनले पोखरामा १३ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएकाले संघमा आफु काम गर्न योग्य भएको बताए । प्रजापतिकाे चिनारी पोखरा महेन्द्रपुलस्थित अहिलेको‘ गोरखापत्र बाजे’को पसल भएकै ठाउँमा करिब ४५ वर्ष अगाडि १३ वर्षे ठिटो पवन प्रजापति तरकारी पसलमा व्यापार गर्थे । महेन्द्रपुलमा तरकारी व्यापारसँगै अध्ययनलाई अगाडी बढाएका प्रजापतिले काठमाडौँबाट साझा बसमा तरकारी ल्याएर व्यापार गरेका उनी अहिले भदौ २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि अगाडी सरेका छन् । १३ वर्षदेखि व्यापार व्यवसायको अनुभवसँगै पोखरामा विभिन्न व्यवसाय सुरु गरेका प्रजापति पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रत्यासी हुन् । क्षेत्रीय कृषि कार्यालयमा १२ वर्ष जागिर गरेका प्रजापतिले २०४० सालमा जागिरसँगै व्यवसायसमेत सञ्चालन गरेका थिए । त्यस समय बुवा पञ्चकुमार प्रजापतिले पोखरामा भाँडाको व्यापार गदर्थे । व्यवसायिक माहौलमा हुर्केका प्रजापतिले तरकारी पसल चलाईरहेका प्रजापतिले त्यसपछि रेस्टुरेन्ट व्यापारमा आफ्नो पाइला चालेका थिए । व्यवसायमा अगाडी बढेका उनी जागिर गरिरहँदा त्यो समयमा भारतसम्म पुगेर बालबालिकाले खेलाउने खेलौना पोखरा ल्याएर बिक्री गर्थे । २०४३ सालमा उनले ६० हजार रुपैयाँ भारतीय रकमको खेलौना पोखरा ल्याएर बेचेका थिए । २०४५ सालमा भारतले नाकाबन्दी गर्यो । व्यवसायहरु चौपट भइरहेका थिए । प्रजापतिले भने चुनौतीमै सम्भावना देखे र सिसा, प्लाइ, हार्डवेयर सामग्री र भाँडाकुँडाको व्यापार शुरु गरे । फोटो फ्रेम बनाउने उद्योगसँगै उनले गिफ्ट आइटमको व्यापारलाई पनि त्यसैसँग जोडेका थिए । उनले व्यवसायसँगै काठमाडौँ– पोखरा, बेशिशहर–काठमाण्डौ, गोरखा–काठमाण्डौ पोखरा नगर बस, ट्याक्सी यातायात व्यवसायसमेत सञ्चालन गरे । एकपछि अर्काे व्यवसायमा सफल भएका प्रजापतिले पछिल्लो समय न्यू दिप निशान किचन एण्ड गिफ्ट कर्नर सञ्चालनमा ल्याएका छन् । पोखरामा अटोमोबाइल्स, फार्म ट्रयाक कम्पनीको फोर ह्वील ट्रयाक्टर व्यवसाय गरेको अनुभव छ प्रजापतिसँग । पोखरामा नेपाली चलचित्रको निर्माणमा समेत जोडिएका प्रजापतिले तृष्णा, सडक लगायतका फिल्म निर्माणसँगै वितरण गरिरहेका छन् । उनले करिब ५ वर्षसम्म पुर्णिमा हलको संचालन समेत गरे । व्यवसायको दौरान थप अनुभव र तौरतरिका बुुझ्न उनले ३५ बढी राष्ट्रको भ्रमण गरेका छन् । दर्जनाै सामाजिक संघ-संस्थासँगकाे निकटता प्रजापति पोखरा बडि बिल्डिङ संघको अध्यक्ष, कास्की जिल्ला कबड्डी संघको वरिष्ठ उपाध्यक्ष, कास्की जिल्ला बडि विल्डिङ संघको सल्लाहकार, सेन्ट्रल लायन्सको संस्थापक कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटि (कबड्डी)को सल्लाहकार भएर सामाजिक तथा खेलकुदको क्षेत्रमा आफ्नो भुमिका सफलतापुर्वक सम्पन्न गरेका छन् । प्रजापति व्यवसायमा मात्र नभएर पोखरामा संचार, स्वास्थ्य र वित्तिय क्षेत्रमा पनि सफल व्यत्तित्वमा पर्दछन् । प्रजापति सराङकोट एफएमको म्यानेजिङ डाइरेक्टरको रुपमा २ वर्ष काम गर्दा सोही समयमा सराङकोट सहकारीको स्थापना समेत गरेका थिए । त्यो सँगै गरिमा विकास बैंक र प्राइम सहकारीको स्थापनामा पनि प्रजापतिको योगदान विशेष छ । त्यस्तै पछिल्लो समय उनी लायन्स क्लब अफ अन्नपूर्ण रेञ्जको अध्यक्षको रुपमा पनि युवाहरुलाई संगठित गरेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् । गण्डकी मेडिकल कलेजको स्थापनाका लागि पनि प्रजापतिको भुमिका सशक्त रहेको थियो । हाल उनी सिटी वान टेलिभिनजका अध्यक्ष समेत हुन् । पोखरा उद्योग वाणिज्य संघको यात्रा पोखरा उद्योग वाणिज्य संघमा २०६१ सालमा साधारण सदस्य लिएका प्रजापति २०६९ सालमा कार्यसमिति सदस्य, २०७१मा पुनः कार्यसमिति सदस्यमा रहेर काम गरेका उनी २०७३ सालमा कोषाध्यक्षमा निर्वाचित भए । २०७५को महाधिवेशनमा वाणिज्यतर्फको उपाध्यक्ष भएका प्रजापति २०७७ मा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी भदौ २४ र २५ गते पोखरामा सम्पन्न हुने ३४ औँ महाधिवेशनमा उनी अध्यक्ष पदमा प्यानल सहित अगाडी बढेका छन् । यस्ताे छ प्रजापति प्यानलको १४ बुँदे घोषणापत्र पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी प्रजापतिको प्यालनले १४ बुदे घोषणापत्रसहित व्यवसायीमाझ गएको छ । घोषणापत्रमा व्यावसायीक वातावरण निर्माण र उद्योगी–व्यवसायीको सम्मान अभिबृद्धि गर्नु पहिलो प्राथकिमतामा उल्लेख गरिएको छ । व्यावसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्ने, रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायको लागि बैंक तथा घरबेटीसंग छलफल गरेर सहजता प्रदान गर्ने, व्यवसायी बन्न चाहनेको लागि आवश्यक तथ्यांक उपलव्ध गराईने र नवप्रवद्र्धन तथा महिला उद्यमशीलता विकासलाई केन्द्रमा राखेर काम गर्ने, बजारीकरण र प्रवद्र्धनमा सघाउने प्यानलको प्रतिबद्धतामा उल्लेख गरिएको छ । सचिवालयको पुनःनिर्माण, अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य, राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अब रमालाईकोरुपमा भन्दा पृथक किसिमले आयोजना गर्न सरसल्लाह र सुझावको आधारमा अघि बढ्ने समुहको दाबी छ । संघलाई साना, मझौला र ठूला व्यवसायीसहित महिला उद्यमीको साझा संस्था बनाईने, उद्योगी व्यवसायीमाथि पर्ने समस्या निराकरणका लागि राज्यबाट पाउनुपर्ने सबै खालका सुविधा दिलाउने र व्यवसाय रक्षाका विशेष ध्यान पुु¥याउने एजेण्डासहित व्यवसायीहरुलाई भोट अपिल गरेका छन् । प्रजापतिकाे समुह वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा सोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला रहेका छन् । सदस्यहरुमा प्रभा सुवेदी , बालकृष्ण कोइराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग रहेका छन् ।
पोखरा । आइतबारदेखि काठमाण्डौमा शुरु हुने दोश्रो याक एण्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच खेलाडीहरुलाई विदाई ग¥यो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिकप गोदारले खेलाडीहरुलाई शुभ–कामना सहित खादा लगाएर विदाई गरेका हुन् । एक साता सम्म चल्ने प्रतियोगितामा ३५,४५,५५ र ६५ वर्ष माथि एकल तथा डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने छ । पोखराका २६ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नविन श्रेष्ठले जनाए । प्रतियोगितामा हरेक इभेण्टमा प्रथम हुने खेलाडीले आयोजक याक एण्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितिय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका चार खेलाडीले द्वितिय स्थान हाँसिल गरेका थिए ।
बागलुङ ः बागलुङको तमानखोला गाउँपालिकाले जिल्लामै पहिलोपटक आफ्नै पालिका गान बनाएको छ । बागलुङको सबैभन्दा दुर्गम पालिकामा रहेको तमानखोलाले पालिकाको मौलिक कला, संस्कृति र पर्यटनलाई समेटेर उक्त गान बनाएको हो ।पालिका गानको रचना खोलेस्बाङ आधारभूत विद्यालयका शिक्षिका बिलाकुमारी घर्ती मगरले गर्नुभएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकाले शब्द रचनाका लागि आवेदन खुला गरेकामा सहभागी १२ मध्ये घर्तीको रचना गाउँपालिकाले छनोट गरिएको उहाँको भनाइ थियो । अध्यक्ष बुढामगरले पालिकाको पहिचान, कला संस्कृतिको सम्मान र पर्यटन प्रवद्र्धनका लागि पालिका गान बनाउन थालिएको बताउनुभयो । उहाँले गीतमा तमानखोला गाउँपालिकाभित्र रहेका कला, संस्कृति र पर्यटकीय ठाउँहरू समावेश भएको उक्त गीतमा स्वर र सङ्गीत भर्ने काम भइरहेको जानकारी दिनुभयो । “गाउँपालिकाको पहिचानका लागि हामीले पालिका गान बनाउन बनाउन लागेका हौँ, यो गीतमा हाम्रा कला संस्कृति, पर्यटकीय ठाउँलाई समेटेका छौँ, गीतले पर्यटन प्रवद्र्धन र कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास पनि लिएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “गीतलाई अझै केही परिमार्जन गर्नुपर्ने छ, सङ्गीत भर्नेलगायत काम हुँदै छ ।”गीतको भिडियो पनि निर्माण गर्ने योजना बनाएको उल्लेख गर्दै उहाँले भाषा, कला, संस्कृति र पर्यटनसँग जोडिएको गीत भएकाले सोहीअनुसारको श्रव्यदृश्य बनाइने बताउनुभयो । यस्तो छ पालिका गान “तमानखोला गाउँपालिका हाम्रा पहिचान । सोलेडाँडा, बराहताल, नौ डल्ले हुन् सान ।। तमान, बोङ्गा, स्याउलाखोला कलकल बग्ने पानी । सोरठी, मारुनी र यानीमाया संस्कृतिको खानी ।। ढोमाई थान, भूमे थान, धर्म संस्कृति । परम्परा जोगाउनु छ, हटाइए विकृति ।। एउटा गाउँलाई चोट लाग्दा अर्को गाउँलाई दुख्छ । मिलीजुली बस्न पाए सधैँ हाम्लाई पुग्छ ।। कोही छैनौँ पराई हामी सबै समान । सबको साझा उद्देश्य छ, समुन्नत तमान ।।”
स्याङ्जा । यहाँका महिलाले सामूहिक बाख्रापालनमा अग्रसरता देखाएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ भरुवाका महिलाले बाख्रापालन गर्ने उद्देश्यसहित समूह गठन गरी सोहीमार्फत बाख्रापालन थालेका हुन् । स्थानीय दश महिला आवद्ध भई ‘भरुवा महिला बाख्रापालन समूह’ दर्ता गरी गत असारबाट व्यावसायिक बाख्रापालन थालिएको हो । आर्थिक उपार्जनसित जोडिदै आत्मनिर्भर हुन सकिन्छ भनेर गाउँका महिला भेला भई समूह बनाएर व्यवसाय थालेको समूहकी अध्यक्ष तुलसीकुमारी थापाले बताउनुभयो । “आँफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमान्मा मात्रै आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “गाउँका इच्छुक महिला दिदीबहिनीको समूहमा कुरा राख्यौँ, छलफल ग¥यौँ र सामूहिक बाख्रापालन थाल्ने निष्कर्षमा पुगेका हौँ ।” गाउँ नजिकै वनजङ्गल हुँदा खासै घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रापालनलाई व्यावसायिकरुपमा अगाडि बढाउन महिलाहरु सक्रिय भएर लागेका हुन् । “गाउँ नजिकै वनजङ्गल हुँदा पनि घाँसको समस्या छैन”, उहाँले भन्नुभयो, “सामूहिकरुपमा बाख्रा चराउन, औषधि उपचारसहित उत्पादन भएका खसी बोका बिक्रीकालागि पनि सहज हुने विश्वासमा छौं ।” समूहमार्फत अहिले दश घरमा ६ देखि १० वटा बाख्रापालन गरिएको छ । सुरुआती चरणमा थोरै सङ्ख्याबाट व्यवसाय थालेपनि आगामी दिनमा सङ्ख्या बढाउने समूहको योजना रहेको सचिव कृष्णचन थापाले बताउनुभयो । “अब परम्परागत होइन, सामूहिकरुपमा उन्नत जातका बाख्रापालनतर्फ अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको र तुरुन्तै आम्दानी हुने भएकाले पनि समूहको रोजाइमा बाख्रापालन परेको हो ।” समूह सञ्चालनकालागि बेला बेलामा बैठक तथा छलफल हुने गरेको छ । समूहकै कामको खर्चका लागि मासिकरुपमा एकसय सङ्कलन गरेर सामान्य खर्चहरु चलाउने गरिएको सचिव थापाले बताउनुभयो । पहिले घर घरमा एक दुईवटा बाख्रापालन गरेका यहाँका महिलालाई व्यावसायिकतातर्फ लाग्न वालिङ नगरपालिकाले अभिप्रेरित गरेको हो । नगरपालिकाले बाख्रापालनका लागि महिला समूहलाई आवश्यक तालिम, प्राविधिक सल्लाह तथा परामर्श, औषधि, उन्नत जातको घाँसको बीउ उपलब्ध गराएको पशु विकास शाखा अधिकृत देवकुमारी श्रेष्ठले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा खोर मर्मत तथा निर्माणका लागि जनही १०÷१० हजार नगद र उन्नत जातको एउटा बोयर बोका उपलब्ध गराएको उहाँले बताउनुभयो ।
पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयसमक्ष विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीहरुको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्ने मागसहित अनेरास्ववियुले क्याम्पसको ६३ औँ स्थापना दिवसको अवसरमा आएका त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाललाई सो ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुले पिएनमा अध्ययनरत विद्यार्थीहरुको मागहरुलाई समेट्दै त्रिविका शिक्षाध्यक्षसँगको गहन छलफल पश्चात विज्ञप्ति पेस गरेको अनेरास्ववियु पिएनका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । ‘क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुको मागलाई प्राथमिकताकोसाथ ज्ञापनपत्रमा उल्लेख गरेर बुझाएका हौं ।’ उनले भने । भुसाललाई पेश गरिएको सो ज्ञापनपत्रमा शिक्षा संकाय बिहानी र दिवा सिफ्टमा पठनपाठन गराउन, स्ववियु निर्वाचन गराउन, वार्षिक परिक्षाको रिजल्ट समयमै निकाल्न, बिबिएको प्रवेश परिक्षा हटाउन, छात्रवृत्तिको व्यवस्था गराउन, डिजिटल हाजिरीको व्यवस्था गराउन, आन्तरिक परिक्षाको व्यवस्था गराउन, क्याम्पसमै परिक्षा केन्द्र बनाउन, विमा रकम सहजरुपमा प्रयोग गर्न पाउन, क्याम्पस परिवर्तनमा सहजता प्रदान गर्न, क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन र महंगो शुल्क घटाउन जस्ता १४ वटा मागहरु उल्लेख गरिएको छ ।
पोखरा । सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटक बढेसँगै बेगनासका डुङ्गा व्यवसायीमा आशा जगाएको छ । कास्कीको लेखनाथस्थित बेगनास तालका डुङ्गा व्यवसायीमा बर्षा निख्रिनै लागेसँगै आउँदा दिनमा पर्यटक बढ्न सक्ने भन्दै यस्तो आशा जाग्न थालेको हो । कोरोनाकै कारण साढे दुई वर्षदेखि थला परेको डुङ्गा व्यवसाय असोजबाट केही मात्रामा सुधार हुने आशामा व्यवसायी छन् । बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले यतिबेला बर्सातको समय भएकै कारण पर्याप्त मात्रामा पर्यटक नआएपछि अव दशैँ–तिहारमा बाहिरी जिल्लाका पर्यटक बढे भने व्यवसायीलाई राहत मिल्ले बताउनुभयो । विशेष गरी शनिबार र बिदाका दिनमा बेगनास ताल वरपर आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान बेगनास आउने गर्छन । माछाका परिकारका लागि बेगनास ताल वर्षौंदेखि प्रसिद्ध मानिँदै आएको छ । अर्का व्यवसायी शोभाखर कँडेलका अनुसार कोरोना अघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने गरेकोमा अहिले ती दिन सम्झना मात्र रहेको बताउनुहुन्छ । कोरोनाका कारण यहाँ कार्यरत २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश र कतिपयले अन्य व्यवसाय रोजेको डुङ्गा व्यवसायी समितिले जनाएको छ । यति बेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलो पालो चलाउने गरिन्छ । पोखराकै दोस्रो ठूलो ताल तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनासमा दुई सय ४९ डुङ्गा सञ्चालनमा रहेको समितिले जनाएको छ । बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको फेवामा भन्दा बेगनासमा नै डुङ्गा चढ्न अन्तरिक एवं बाह्य पर्यटक मन पराउछन् । “स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर डुङ्गा सञ्चालन गर्ने गरेका छौँ”, डुङ्गा व्यवसायी राम कोइराला भन्नुहुन्छ । बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु छ सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ । बेगनास तालमा विसं २०३७ देखि व्यावसायिकरुपमा डुङ्गा सञ्चालन हुँदै आएको हो । पैतीस वर्षदेखि डुङ्गा व्यवसाय सञ्चालन गर्दै आउनुभएका शोभाखर कँडेल भन्नुहुन्छ, “विसं २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसायका रुपमा मात्र थिएन । कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा यो ताल प्रयोग गर्दै आएका थिए ।
कास्की्। लामो समयदेखि विवादित रहेको राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखाङ्कन (एलाइनमेन्ट) टुङ्गो लागेपछि ठेक्का आह्वान गरिएको छ । पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखाङ्कनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँ उक्लिएको छ । यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिने छन् । अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ । मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखाङ्कन क्षेत्रमा पछिल्लो समय बजार विस्तार भएको र राजमार्ग सोही बाटो हुँदै लैजादा ठूलो सङ्ख्यामा घरहरु विस्थापित हुने भएपछि बजार क्षेत्रमा लामो समय राजमार्ग विस्तारको योजना अघि बढ्न सकेको थिएन । कास्की खण्डकै पश्चिम क्षेत्रमा काम सम्पन्न भएको र पूर्वी खण्डको निर्माण भइरहँदा यस क्षेत्रमा विवादकै कारणले ठेक्का आह्वान हुन सकेको थिएन । सरकारले आगामी विसं २०८१ सम्ममा मध्यपहाडीको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम अघि बढाएको थियो । पछिल्लो समय पोखरा खण्डमा यसअघिको राजमार्गको रेखाङ्कन परिर्वतन गरिएको छ । पोखरा खण्डको ४० किमीमा नयाँ रेखाङ्कन गरेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु चार अर्ब लागत अनुमानसहित बोलपत्र आह्वान गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । मध्यपहाडीको नयाँ रेखाङ्कनअनुसार याम्दीपुलदेखि, लामाचौर, अमला विसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट, आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैँसेसम्म जोड्ने गरी डिपिआर बनाइएको छ । योजना कार्यालयका अनुसार याम्दीदेखि कालिखोलासम्मको सडक चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा दुई लेनको सडक बन्नेछ । योजना प्रमुख भण्डारीले भन्नुभयो, “भैँसेदेखि याम्दीसम्म विगत वर्षहरुमा डिपिआर र सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकेको अवस्था थियो । पछिल्लो समय हामीले तीव्रताका साथ काम अघि बढाएर नयाँ रेखाङ्कनसहित डिपिआर तयार गरेर ठेक्का आह्वान गरेका छौँ, अब पोखरा खण्ड निर्माणको प्रक्रियामा अघि बढ्यो ।” पोखरामा पुरानो डिपिआरअनुसार याम्दीपुलदेखि लामाचौर, भलाम, मणिपाल पछाडि, फूलबारी, काहुँखोला बजार हुँदै भैँसेसम्म जोड्ने योजना थियो । सो रेखाङ्कनमा अत्यधिक घर बनेको र धेरै जग्गा खण्डीकरण भएर घडेरीमा बिक्री भएकाले राजमार्गको मापदण्डले ठूलो बस्ती स्थानान्तरण गर्नुपर्ने र सो सम्भव नदेखिपछि डिपिआरनै परिर्वतन गरिएको मध्यपहाडी योजनाले जनाएको छ । बजार क्षेत्रबाट राजमार्ग लैजान नहुने र यसको डिपिआर परिर्वतनका लागि प्रदेश सरकार, महानगर तथा मादी गाउँपालिकाबाट समेत आग्रह भएको बताइन्छ । “राजमार्गको मापदण्डअनुसार सडकको दुवैतर्फ २५÷२५ मिटर छाड्नु असम्भव देखिएको र बस्ती स्थानान्तरण गर्न नसकिने भनेर प्रदेश सरकार, महानगर, वडा तथा गाउँपालिकाबाट आग्रह भयो”, योजना प्रमुख भण्डारीले भन्नुभयो, “जग्गाको मुआब्जा दिने व्यवस्था समेत नभएकाले नयाँ रेखाङ्कनका लागि योजना कार्यालयबाट फाइल उठाएर सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर निर्णय गरेका हौँ ।” मादी गाउँपालिकाले आफ्नो पालिकाको धेरै वडालाई समेट्ने गरी राजमार्गको नयाँ रेखाङ्कन गर्न माग गरेको थियो । कार्यपालिका बैठकबाटै भैँसेदेखि मादीको ज्याम्दु र पानीघाट जोड्ने गरी राजमार्ग लैजानुपर्ने माग गरिएको थियो । पछिल्लो एलाइनमेन्ट अनुसार मादीका अधिकांश वडा पक्की राजमार्गमा जोडिने भएका छन् । मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पहाडी क्षेत्र हुँदै मध्यपहाडी राजमार्ग विस्तारको योजनाले मादीको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । पालिकाका धेरै वडा मध्यपहाडीले छुने भएकाले मादीको पूर्वाधार विकाससँगै, पर्यटन, कृषि र जनजीविकालाई सहज बनाउने उहाँले बताउनुभयो । गुरुङले भन्नुभयो, “मादीलाई धेरै समेट्ने गरी राजमार्ग लैजानुपर्छ भनेर हामीले माग गरेका थियौँ, अहिले सोहीअनुसार भएको छ । स्थानीयवासीले पनि जमिन दिन तयार हुनुभएको छ, विवाद छैन, यसले खुसियाली थपेको छ ।” मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी क्षेत्र पर्दछ । कास्की खण्ड लमजुङ÷कास्की सीमा रुदीखोलादेखि कास्की/पर्वत सीमा साँधखोलासम्म रहेको छ । रुदीखोलादेखि भैँसेसम्मको १६ किमीमा गत वर्ष ठेक्का लगाएर हाल काम चालु रहेको बताइन्छ । सो खण्डमा हाल सडक चौडा बनाउने, नाला निर्माण, टेवा पर्खाल लगाउने र गार्भेलको काम भइरहेको योजनाले जनाएको छ । याम्दीदेखि नयाँपुलसम्मको ३५ किमीसम्मको सबै काम सम्पन्न भएको छ । रु तीन अर्ब लागतमा यस खण्डको काम सम्पन्न भएको हो । पछिल्लो समय निर्माण गरिएको यस सडकको सौन्दर्यले देश विदेशमा भाइरलसमेत बनेको छ । हेमजा क्षेत्रको सिधा र फराकिलो सडक, आकर्षक जेब्रा क्रसिङ, सडक डिआइडर र सडकबत्तीले राजमार्गको सौन्दर्य बढाएको हो ।

