पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

पोखरा । मगरात राष्ट्रिय समन्वय समितिको राष्ट्रिय भेला तथा विस्तारित वैठक नवलपुर जिल्लाको कावासोतीमा आगामी ३० गते हुने भएको छ ।   नवलपुरको कावासोतीमा आज ९बिहिबार० बसेको बैठकले उक्त निर्णय गरेको हो  ।   मगरातको पहिचान र अधिकारको विषयमा मुद्दा उठाउदै आएका जनता समाजवादी पार्टी नेपालको भातृसंगठन अन्र्तगतको मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन गर्नु पर्ने भएकोले सो राष्ट्रिय भेला तथा विस्तारित बैठकको आयोजना गरिएको मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज निर्मल जिसीले जानकारी दिए ।    उनका अनुसार राष्ट्रिय भेला सम्पन्न गर्न मगरात राष्ट्रिय समिति गण्डकीका इन्चार्ज तथा केन्द्रिय सदस्य  सुवेदार छबिलाल रानाको संयोजकत्वमा १ सय १ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति पुनर्गठन सम्बन्धि कार्यदल बनाइएको छ ।    जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापाको प्रमुख आतिथ्यतामा तथा समितिका उपाध्यक्ष श्याम माया पुन मगरको अध्यक्षतामा बैठक बसेले सो निर्णय गरेको थियो ।  सो पुनर्गठन सम्बन्धि तयारी बैठकमा पार्टी केन्द्रिय राजनीतिक समिति सदस्य तथा तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्र बहादुर गुरुङ, मगरात राष्ट्रिय समन्वय समितिका इन्चार्ज तथा केन्द्रिय राजनीतिक समितिका सदस्य  निर्मल जिसी, गण्डकी प्रदेश सह–इन्चार्ज  धन प्रसाद तामाङ,लुम्बिनी प्रदेश सह– इन्चार्ज नवीन कुमार सुनुवार, मगरात राष्ट्रिय समन्वय समिति सह–इन्चार्ज खडक बहादुर आले, मगरात गण्डकी इन्चार्ज छबिलाल राना, मगरात लुम्बिनी इन्चार्ज हरिकला थापा, तमुवान राष्ट्रिय समिति अध्यक्षका प्राध्यापक मन बहादुर गुरुङ , मगरात राष्ट्रिय समिति गण्डकीका अध्यक्ष सुस्मिता थापा, संघीय परिषद सदस्य देव परियार, प्रदेश उपाध्यक्ष तथा नवलपुर जिल्ला इन्चार्ज सुवेदार तेज बहादुर थापा, प्रदेश सचिव राम तामाङ , सदस्य देविसरा पुलामी, नवलपुर जिल्ला अध्यक्ष जगत काजी गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।

बागलुङ  : बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ ।    आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो ।    आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो ।    अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो, रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”   विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।     बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ ।   ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।”   ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो । 

पोखरा  :  पोखरा महनगरपालिका- ९  महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काउने सुचनाको पुर्व सन्ध्यामा व्यापारीहरुले रातरात पसल हटाउन थालेका छन् ।   भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई भवन खाली गर्न महानगरपालिकाले  साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरेको थियो ।   सोमबार पोखरा महानगर वडानम्बर -९ का अध्यक्ष दिपेन्द्र मर्सानीले व्यापारीहरुलाई गुलावको फुल दिएर व्यापारीहरुलाई सटर खाली गर्न आग्रह गरेका थिए ।    भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक शौचालय बनाउने महानगरको योजना छ ।

  पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यी दुई अध्यादेश ल्याउन सरकारले अन्तिम तयारी गरेको बताए ।   कर्मचारी समायोजन ऐन लागु भएर त्यही अनुसार समायोजन भएका कर्मचारीको वृत्तिविकास रोकिएको, कर्मचारीको पदपूर्ति गर्न नसकिएकाले प्रदेशले अध्यादेशबाटै भए पनि यी दुई कानुन ल्याउन लागेको मुख्यमन्त्रीले बताए । उनले भने, संघ सरकारले निजामती सेवा ऐन ल्याउला कि भनेर कुर्दा ५ वर्ष बित्न लाग्यो, हामीले तयारी गर्दागर्दै ढिला भयो, अब छिटै अध्यादेश ल्याउँछौं ।   स्थानीय तहमा कार्यरत सबै खालका कर्मचारी र  प्रदेशमा समायोजन भएर आएकाहरुको हितलाई ख्याल गरी सरोकारवालासँग छलफल गरेर अध्यादेशको मस्यौदा तयार भइरहेको मुख्यमन्त्रीले भनाइ राखे । शासन व्यवस्था फेरिए पनि संघले प्रदेश र स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न आनाकानी गरेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । एकात्मक शासन व्यवस्थाबाट संघीयतामा गएको अवस्थामा संविधानले निदृष्ट गरेका अधिकारसमेत दिन हिचकिचाउनुलाई उनले पुरातन राज्यव्यवस्थाको अवशेषको संज्ञा दिए ।   मुख्यमन्त्री पोखरेलले कर्मचारीले सम्पादन गर्ने कार्यले सरकारको व्यवहार झल्काउने भएकाले त्यही अनुसार संवेदनशील भएर काम गर्न आग्रह गरे । मुलुकको आर्थिक अवस्था अनुसार निजामती कर्मचारीको तलब र सुविधा निर्धारण गरिएको भन्दै उनले अन्य देशको तुलनामा यो कम रहे पनि सन्तुष्ट भएर काम गर्नुपर्ने अवस्था रहेको भनाइ राखे ।   कार्यक्रममा आन्त्रिक मामिला मन्त्री डोबाटे विश्वकर्माले संघबाट अधिकार नपाएको खण्डमा प्रदेश र स्थानीय तह संघर्षमै उत्रनुपर्ने उनले भनाइ राखे । नागरिकको चाहाना अनुसार कर्मचारीले कार्यसम्पादन गर्न पनि उनले आग्रह गरे ।   प्रमुख सचिव रवीलाल पन्थले काम गर्ने सिलसिलामा भएका कमीकमजोरी सुधार गरेर सुशासन कायमका लागि निजामती कर्मचारी प्रतबद्ध हुनुपर्ने बताए । सामूहिक स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सके लक्ष्य प्राप्ति हुने उनको भनाइ थियो ।   कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विश्वव्यापीकरणमा प्रतिस्पर्धा गर्न गरी फिल्डमा उत्रन उनले कर्मचारीवर्गमा आग्रह गरे । राज्यशक्तिको स्थायित्वका लागि मुख्य औजार नै निजामती सेवा रहेको भन्दै उनले कर्मचारीले सेवा प्रवाह गर्ने मात्र नभई लोकतन्त्रको जगेर्ना समेत गर्ने भनाइ राखे ।   कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका प्रदेश अध्यक्ष अशोक खनाल, नेपाल निजामती कर्मचारी युनियनका प्रदेश अध्यक्ष दीपक रेग्मी, राष्ट्रिय कर्मचारी संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद पौडेलले प्रदेश सरकारले ल्याउन लागेको अध्यादेश कर्मचारीमैत्री हुनुपर्ने भनाइ राखे ।   दिवसका अवसरमा निजामती कर्मचारी संगठनले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम गरेको थियो । उक्त प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र र पुरस्कार प्रदान गरे । निजामती कर्मचारी युनियनले रक्तदान कार्यक्रम गरेको थियो । उक्त अवसरमा रक्तदान गर्ने ३० जनालाई पनि मुख्यमन्त्री पोखरेलले प्रमाणपत्र हस्तान्तरण गरे ।   उक्त अवसरमा पूर्व कर्मचारी सेवा परिषदले प्रकाशन गरेको गोधुलीको सन्देश पत्रिका मुख्यमन्त्री पोखरेलले विमोचन गरेका छन् । पूर्व कर्मचारीहरुलाई पनि मुख्यमन्त्रीले सम्मान गरेका छन् । निजामती कर्मचारी दिवसकै अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले डिजिटल नागरिक सेवा बडापत्र सार्वजनिक गरेको छ ।    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त सेवा सार्वजनिक गरे । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै सेवाका बारेमा अडियो, भिजुअल सामग्री बनाएर  प्रतिक्षालयमा राखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव रिजालले हालका लागि १ ठाउँमा दृश्य र ३ ठाउँमा अडियोमार्फत् सन्देश सार्वजनिक गरिने जानकारी दिए ।

  पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुन लागेको आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिश भएको छ । त्यस्तै सोही क्षेत्रबाट समानुपातिक उम्मेदवारका लागि १५ जनाको नाम सिफारिश भएको छ ।   कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनीधिसभाका लागि सिफारिश हुनेहरुमा राप्रपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका हेमजंग गुरुंग, कास्की जिल्ला प्रवक्ता अरुण गिरी र जिल्ला सहसचिव सुवर्णराज पन्त रहेका छन् । केन्द्रीय उपाध्यक्ष गुरुंगको नाम यसअघि क्षेत्र नम्बर १ बाट समेत सिफारिश भएको छ । त्यस्तै प्रत्यक्षतर्फ प्रदेश क मा राप्रपाका प्रदेश अध्यक्ष समेत रहेका पञ्चराम गुरुंग, जिल्ला उपाध्यक्ष ईश्वरी चापागाँई र जिल्ला सविच भानु भण्डारी क्षितिजको नाम सिफारिश भएको छ । प्रदेश ख तर्फ भने कास्की जिल्ला प्रवक्ता अरुण गिरी सर्वसम्मत सिफारिशमा परेका छन् ।   त्यस्तै प्रतिनीधिसभा समानुपातिक तर्फ रोमबहादुर भण्डारी, बिष्णुकुमारी गुरुंग, जयलाल पुन, शंकर खराल, हरिप्रसाद बराल र पार्वता पौडेल गरि ६ जनाको नाम सिफारिश भएको छ । प्रदेशतर्फ समानुपातिकमा शिवप्रसाद चालिसे, मदन परियार, चित्रबहादुर भण्डारी, सिता खड्का, मादाप्रसाद जैसी, विष्णु खड्का कार्की, सूर्य पुन, रञ्जना सेन पौडेल र शंकर खरालको नाम सिफारिश भएको राप्रपा कास्की क्षेत्र नम्बर २ का अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।

पोखरा :   पोखरा महानगरपालिका ३ स्थित नदीपुरमा छैटौं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।   पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (बुधबार) देखि क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन खेलबाट आयोजक टोलीले घलेल युवा क्लबलाई पराजित गर्दे सुखद सुरुवात गरेको छ ।  आयोजकले घलेल युवा क्लबलाई २५–१३, १९– २५ र २५–१७ को अंकसहित २–१ को सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार अर्को खेलमा नेपाल प्रहरी प्रशिक्षण केन्द्र पोखराले भुक देउराली क्लब पर्वतलाई १७–२५, २५–२१ र २५–१७ को अंकसहित २–१ सेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्यो ।    नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धनमा सघाउ पुर्याउछः राखेप सदस्य गुरुङ   प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको प्रर्वद्धन गर्ने धारणा राखे । ‘आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ, उनले भने, ‘त्यो प्रतियोगिताको लागि यस खेलले प्रर्वद्धन गर्न सघाउ पुर्याउनेछ ।’   उनले पछिल्लो समय भलिबल खेलको विकास भएको बताउदै स्थानीय स्तरको खेलाडी उत्पादन टेवा पुग्ने बताए । ‘यस्तो खालको प्रतियोगिताहरु भयो भने उदीयमान खेलाडीहरुले आफ्नो खेल कौशल देखाउन मौका पाउँछन् र माथिल्लो स्तरको प्रतियोगिता सम्म खेल्ने हैसियत बनाउँछन् त्यसैले प्रतियोगिताहरु भइरहन आवश्यक छ ।’ उनले भने ।   उनले आवश्यक परेको खण्डमा रंगशालमा निर्मित बहुउद्देश्य कभर्ड हल प्रयोग गर्न सक्नेसमेत बताए । ‘तपाइहरुले अरुबेला पनि केही खेलहरु आयोजना गर्नुहुन्छ भने । रंगशालामा कभर्ड हल बनेको छ, गुरुङले भने, ‘घामपानी केहीको पनि पिरलो हुँदैन । त्यसको प्रयोग गर्न चाहनुभयो भने हामीलाई सम्पर्क गनुस् । सहजै उपलब्ध गराउनेछौं ।’   उनले आयोजक संस्थालाई आगामी दिनमासमेत सहयोग गर्ने बताउदै उक्त प्रतियोगिताका लागि ३० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । क्लबका अध्यक्षका कुशल प्रसाद छन्त्यालका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।   यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष छन्त्यालले जानकारी दिए ।     उक्त प्रतियोगितामा पुरुषतर्फ कुल २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो ।    “वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मुखमा रहेका कारण केही समय यो स्थगित हुन सक्ने भए पनि यसको निरन्तरतामा कुनै प्रकारको सङ्कोच नराख्न उहाँले विश्वास समेत दिलाउनुभयो ।    राज्यले तोकेको मापदण्डमा रहेर मिले हाल बसिरहेकै स्थानमा नभए उपयुक्त स्थानको खोजी गरेर भए पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।    राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोखरेलले आफूहरू निस्सा लगत्तै जग्गा धनी पुर्जा वितरणको तयारीमा रहेको बताउनुभयो । कास्कीमा पनि यस अभियानको सुरुवात गरिएको जनाउँदै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नआँक्न सुझाव समेत दिनुभयो । जग्गा प्राप्ति अघिको लालपुर्जाका रूपमा यसलाई बुझ्न उहाँले आग्रह गर्नुभयो ।    पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले मङ्गलवार १०० जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो । आफ्नो वडामा ७०० वटा निवेदन परेको जनाउँदै उहाँले क्रमशः सबैलाई निस्सा वितरण गर्ने बताउनुभयो ।   

  पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेल लगायतले संयुक्त रूपमा उनीहरूलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गर्नुभएको हो ।   सो क्रममा प्रमुख आचार्यले निस्सा आफैमा लालपुर्जा नभए पनि लालपुर्जा पाउने कुराको ग्यारेन्टी भएको बताउनुभयो । “अहिले निस्सा वितरणको काम सुरु भएको छ, यो निस्सा आफैमा लालपुर्जा होइन, तर लालपुर्जा पाउने कुराको ग्यारेन्टी हो, उहाँले भन्नुभयो, जोखिम स्थानहरूमा जमिन वितरण गर्न सक्दैनौँ, मापदण्ड भित्रका क्षेत्रमा पनि वितरण गर्न सक्दैनौँ, तर सुरक्षित स्थानमा उचित व्यवस्थापन अवश्य गर्नेछौँ ।” अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि नरहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।    “नपाउने कोही पनि हुनुहुन्न, अव यो सबै प्रक्रिया पुरा गरिसकेपछि कास्की जिल्लामा भूमिहीन कोही पनि रहन्न, अव पछि आएर कसैले बाँस गाडेर हामी हौँ भन्नुभयो भने हामी उहाँहरूलाई भूमिहीन सुकुम्वासी भन्न तयार छैनौँ ।” प्रमुख आचार्यको भनाई छ । उहाँका अनुसार महानगर भित्र यस प्रकृतिको कुल सङ्ख्या १९ हजार ८ सय ५६ नै अन्तिम हो ।    पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कुनै पनि नागरिक भूमिहीन हुन नपरोस् भन्ने मान्यताका आफूहरूको भए पनि लामो समय यसैमा अल्झनु परेको बताउनुभयो । सुकुम्बासीहरलाई भोट बैकका रूपमा प्रयोग गरिन्छ भन्ने राजनीतिक आरोपमा कुनै सत्यता नभएको गुरुङले स्पष्ट पार्नुभयो । उहाँले आफूहरू विशुद्ध नागरिकहरूलाई भूमिको मालिक बनाउने प्रक्रिया प्रति इमानदार रहेको बताउनुभयो ।    “तपाँईहरुले प्राप्त गरेको यो निस्सा भनेको तपाँईहरु भूमिहीन हो भन्ने कुराको प्रमाण हो, उपप्रमुख गुरुङले भन्नुभयो, यो प्रमाण लिएर अगाडी बढेपछि लालपुर्जा बन्ने कुरा रहन्छ ।” यो समस्यालाई आफूहरूले टुङ्गोमा पुराएर जाने उहाँले विश्वास दिलाउनुभयो । कुनै पनि नागरिक भूमिहीन बनेर बस्नु नपर्ने वातावरण तयार गर्ने उपप्रमुख गुरुङले बताउनुभयो ।    राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले जग्गा प्राप्तिको बलियो प्रमाणका रूपमा वितरण गरिएको निस्सालाई कम नआँक्न आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले लामो समयको कसरत पनि भूमिहीनहरूलाई भूमिको मालिक बनाउने प्रक्रियामा आफूहरू रहेको बताउनुभयो ।   मङ्गलवार वडा नं. ६ का ६४ जना भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । 

  पोखरा ।  धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ ।    सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा । रासायनिक मलकै अभावमा यस वर्ष धान उत्पादनमा १५–२० प्रतिशत कमी आउने किसान बताउँछन् ।   कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बाँस्तोलाले कास्की, मुस्ताङ र मनाङका लागि धान तथा तरकारीमा प्रयोग गर्न भदौमा मात्र चार सय ६५ टन आवश्यक पर्नेमा केन्द्रवाट एक सय ६० टन मात्र छुट्याइएकाले किसानले पर्याप्त मात्रामा मल पाउन नसकेको बताउनुभयो । कास्कीका ६५ कृषि सहकारीलाई समान रुपमा रासायनिक मल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सरकारी अनुदानमा र सरकारी निगरानीमै कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत रासायनिक मल खरिद गरी किसानलाई सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा पाएका छन् । अनुदानको युरिया मलमा सरकारको ८६ दशमलव सात र किसानको १७ दशमलव तीन प्रतिशत मूल्य पर्छ । किसानको राहतका लागि सरकारले अनुदान रकम छुट्याएको भए पनि यस वर्ष ४५ प्रतिशत अनुदान रकम घटाइ दिएको छ ।   विदेशबाट रासायनिक मल खरिद गरी सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा लिएका ती कम्पनीले समयमै ल्याउन नसक्दा किसानले अभाव मात्र खेपेनन्, धान उत्पादनमा नोक्सान व्यहोर्नुपर्ने भएको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले रासायनिक मल युरिया, डीएपी र पोटास खरिदका लागि रु २८ अर्ब अनुदान रकम छुट्याएकामा यस वर्ष रु १५ अर्ब मात्र छुट्याइएको सम्बन्धित कम्पनीका अधिकारी बताउँछन् ।   कास्कीमा साउनका लागि मात्र तीन सय टन युरिया मल आवश्यक पर्छ । हाल १६० टन मात्र छुट्याएर पठाएको छ । यसले किसानलाई पुग्दैन । कास्की, मुस्ताङ र मनाङका लागि छुट्याएको एक सय ६० टन युरिया मल यहाँका किसानलाई प्रर्याप्त छैन । “मल छिट्टै ल्याउने तयारीमा छौँ”,  प्रमुख बाँस्तोलाले भन्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख वासुदेव उपाध्यायले अन्तर्राष्ट्रिय बजारमै रासायनिक मलको अभाव हुँदा समयमै ल्याउन नसकेको स्वीकार गर्नुभयो । कोरोनाकै कारण विदेशका केही रासायनिक मल उद्योग बन्द भएको र उनीहरुले आफैँलाई मात्र मल उत्पादन गरेका कारण खरिद गरेर ल्याउन कठिन भएको उहाँको भनाइ छ ।   खरिद गरेर ल्याएको रासायनिक मल बिक्रीका लागि कृषि सहकारीमा पठाउने गरिएको उपाध्याय बताउनुहुन्छ । सम्बन्धित किकायबाट अनुगमन नभएकै कारण ती कृषि सहकारीले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको पाइएको छ । रासायनिक मलमा केही सहकारीले बढी मूल्य लिएको भन्दै किसानले पोखरा महानगरीय कृषि महाशाखामा उजुरी दिएका छन् । महाशाखाका अनुसार कास्कीमा मात्र २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ ।   पोखरा–१३ का विष्णु अधिकारीले रासायनिक मल अभावकै कारण किसान यतिबेला छटपटाइरहेको बताउनुभयो । किसानले समयमा मल नपाउँदा उत्पादन नै घट्ने अवस्था भएको उहाँ बताउनुहुन्छ । तरकारीमा छर्नका लागि मल नहुँदा उत्पादन घटेको छ । धान रोप्दा हिलोमा छर्ने डीएपी अभाव नभए पनि युरिया अभाव हुँदा किसान मर्कामा परेका हुन् ।