पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  पोखरा । पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पंक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो ।   प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिनुभयो । गिद्ध मरेको सिनो खाएर बाँच्ने पक्षी हुन् । यिनीहरूले हानिकारक किटाणु सडेको मासु पचाउनसक्ने भएकाले यिनीहरूलाई प्रकृतिका कुचिकार भन्ने गरिएको छ ।   नेपालमा गरिएको विभिन्न अध्ययनले पछिल्लो दुई दशकमा गिद्धको सङ्ख्या झण्डै ९० प्रतिशतले घटेको छ । गाईबस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक जस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको बताउँदै घिमिरेले पछिल्लो समयमा गाईबस्तु पाल्नेक्रम पनि अत्यधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्नेक्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समेत समस्या थपिएको जानकारी दिनुभयो ।   डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको अध्ययनले देखाएको छ । घिमिरेका अनुसार औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई २०६३ साल जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाई त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।   विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये दक्षिण एशियामा नौ प्रजातिका पाइन्छन् । दक्षिण एशियामा पाइने नौ प्रजाति नेपालमा पनि पाइने र ती सबै पोखरा र आसपासका क्षेत्रमा पाइने घिमिरेले जानकारी दिनुभयो । त्यसैले पनि पोखरा र आसपासको क्षेत्र गिद्धको मुख्य बासस्थानका रुपमा रहेको छ ।   उहाँका अनुसार नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गुर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । त्यस्तै राज गिद्ध पाकिस्तान एवं कीर्किस्तानबाट आउने गरेका छन् । नेपालमा पाइने हिमाली गिद्ध १० हजारको सङ्ख्यामा छन् भने डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ ।    त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच÷पाँच सयको सङ्ख्यामा रहेको जनाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको छ । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धानकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्ध सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् ।   पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको पोखरा पक्षी समाजका सचिव हेमन्त ढकालले जानकारी दिनुभयो । विभिन्न विकास निर्माण, ट्रान्समिसन लाइन आदिका कारण पनि गिद्ध समस्यामा पर्ने गरेको जनाउँदै उहाँले गत वर्ष तनहुँको व्यास नगरपालिका वडा नं ८ मा ल्यान्डफिल साइड नजिकैको ट्रान्समिसन लाइनमा ठोक्किएर करिब ७० वटा हिमाली गिद्ध मरेको पाइएको जानकारी दिनुभयो ।    त्यस्तै गत वर्ष नै घाचोकमा दुई वटा सुन गिद्ध, एक÷एक वटा डङ्गोर गिद्ध र हिमाली गिद्ध मरेको उहाँले जानकारी दिनुभयो । पोखराको चाउथे, मझेरीपाटन, बिरुवा, गैरीखेतलगायतका स्थानमा डेढ दशकअघिसम्म ठूलै सङ्ख्यामा गिद्ध पाइने भए पनि अहिले ती ठाउँमा घट्दै गएको अनुसन्धाता बताउँछन् । चाउथेलगायतका फाँटमा बस्ती विकाससँगै सिमलका ठूलाठूला रूख यतिखेर काटिइसकेको, बढ्दो बस्ती विकास, धुलोधुवाँलगायतका कारण पनि यिनीहरू सङ्कटमा परेको जनाइएको छ ।     गणना विभिन्न सात ठाउँबाट गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । पोखराका घाचोक, पोखराको ल्यान्डफिल साइट, दोभिल्ला, पुम्दीकोट, हेम्जा, सेती नदीको तल्लो भूभभाग ९दुलेगौँडा सम्म० र दमौलीको ल्यान्डफिल साइटमा एकै समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म गणना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।    सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्ध प्रकृतिको कुचिकार भएका कारण यसको संरक्षणमा जागरुकता आवश्यक रहेको उहाँको भनाइ छ । अघिल्लो वर्षको पोखरामा गरिएको गणनामा २२३ सेतो गिद्ध, ९१ डङ्गोर गिद्ध, २८ सुन गिद्ध, १३ सानो खैरे गिद्ध, नौ वटा हिमालयन गिद्ध र एक वटा राज गिद्ध पाइएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । गिद्ध संरक्षणको उद्देश्यका साथ शुद्ध आहाराका लागि पोखराको घाचोकमा केही वर्षयता जटायु रेस्टुरेन्ट सञ्चालनमा आए पनि त्यसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । 

चितवन  :  पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।  आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११ः४५ बजेपछि सञ्चालनमा ल्याइएको हो ।     जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो । पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।  

गलकोट : चालु आर्थिक वर्ष २०७९/८० मा कालोपत्र सुरु गर्ने गरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रक्रियामा गएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गुल्मीको हर्मिचौरबाट बागलुङको मालढुङ्गासम्मको ५५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का आह्वान गरिएको हो ।   कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय, पाल्पाका अनुसार चालु आवमै कालोपत्र गर्ने गरी हर्मीचौरबाट बलेवा विमानस्थल र वलेवा विमानस्थलबाट मालढुङ्गाको दुई खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरिएको छ । कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) कार्यालय पाल्पाका कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार चालु आवमै सडक कालोपत्रका लागि पूर्वाधारको काम थाल्ने जानकारी दिनुभयो । “गत फागुनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेसँगै अहिले करिडोरको हर्मिचौरबाट मालढुङ्गासम्मको  सडकखण्ड कालोपत्रका लागि ठेक्का गरिएको हो ।”    उहाँले भन्नुभयो, “नेपाली सेनाले ट्रयाकसँगै आठ मिटर चौडा पारेर सडक विभागलाई हस्तान्तरण गरेको थियो, कुन स्थानमा अहिले समस्या छ, त्यहाँ सडक चौडा पार्ने, पर्खाल लगाउने र नाली निर्माणसहित सडक कालोपत्रका लागि बजेट विनियोजन भएर ठेक्कामा गएको हो, चालु आवमै छनोट भएको निर्माण कम्पनीले सडकको पूर्वाधार निर्माण थाल्ने छ ।”   गुल्मीको हर्मिचौरबाट बागलुङको पालुङखोला–टाकुरी हुँदै मालढुङ्गासम्मको सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का खोलिएको हो । करिडोरअन्तर्गतको मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किमी सडक १० मिटर चौडा बनाइ सडक विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरेको थियो । सडक विभागलाई हस्तान्तरण गरेको साढे दुई वर्षपछि उक्त सडक कालोपत्रको तयारी गरिँदै छ ।    यस्तै बलेवा विमानस्थलबाट टाकुरी–पालुङखोला–हर्मीचौरसम्मको सडक २०७८ असारमा करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ महिनापछि ठेक्का खोलिएको हो ।  भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्कका रूपमा स्थापित हुने सो करिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।    त्रिदेशीय सडकका रूपमा रहेको कालीगण्डकी करिडोरले छिमेकी भारत र चीनलाई जोडेको छ । मालढुङ्गाबाट गुल्मी रिडीसम्मको खण्डमा सेनाले २०७० सालदेखि काम गरेर सडक हस्तान्तरण गरेको छ । विसं २०७० असारमा शिलान्यास गरेपछि सेनाले ८० किमी ट्रयाक खोलेको थियो । सबै सडकखण्डको ट्रयाक खुलेपछि सेनाकै जिम्मामा सडक चौडा पारिएको छ । अब सडकमा नाली र कालोपत्रको काम बाँकी छ । अत्यधिक पहिरो र कडा चट्टान भएकाले सरकारले सेनालाई काम गर्ने जिम्मा दिएपछि ट्रयाक खुलेको थियो ।  

  चितवन :  नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो ।   जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । पहिरो पन्छाउनका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन् । सोही स्थानमा बिहीबार बिहान खसेको पहिरो दिउँसो पन्छाएर सडक सञ्चालमा ल्याइएको थियो ।

पोखरा :  पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ ।    देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले आजदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो ।    महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ति तथा संस्थालाई साउन मसान्तभित्रमा महानगरमा निवेदन दिन आह्वान गरेअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यक्ति तथा व्यावसायिक संस्थासँग सम्झौता गरिएको हो ।    विभिन्न व्यक्ति, कम्पनी, वित्तीय संस्थाबाट सो सङ्ख्यामा अनुमति प्राप्तपछि सञ्चालनमा ल्याइएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस् भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राखिएको छ ।   महानगर कार्यपालिका बैठकले महानगरका ३३ वटै वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय बनाउने निर्णय गरिसकेकाले आगामी एक वर्षभित्रमा निर्माण गरिने र सो समयसम्मका लागि निजी शौचालय प्रयोग गर्ने गरी सम्झौता भएको आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहरभित्र सार्वजनिक शौचालय नहुँदा कति सास्ती बेहोर्नुपर्दछ भनेर सबैले अनुभूति गरेकै विषय हो । सार्वजनिक नीति साझेदारीअनुसार मिलेर काम गर्दा नतिजा दिन सकिन्छ भन्ने भएको छ । शौचालय बाहिर देखिने गरी लोगो राखिएकाले कसले साझेदारी गरेको भन्ने स्पष्ट हुन्छ ।”   महानगरले सार्वजनिकरूपमा निःशुल्क उपयोग गर्न दिएबापत त्यस्ता व्यक्ति वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरिने जनाएको छ । शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ति वा संस्थासँग आगामी एक वर्षका लागि सम्झौता गरिएको शौचालयमा आवश्यक पर्ने सफाइ एवं स्यानिटरी सामग्री महानगरले आवश्यकताअनुसार उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले बताउनुभयो ।   उहाँका अनुसार प्रयोगमा ल्याइएका स्थानमा विशेष पहिचानयुक्त लोगोे वा सङ्केत राखिएकाले सर्वसाधारणलाई अलमल हुने छैन । महानगरले सम्झौता गरेकामा व्यक्तिगत घर, बैंक तथा वित्तीय संस्था, व्यापारिक कम्प्लेक्स, पेट्रोल पम्प, होटल तथा रेष्टुराँ आदि रहेका छन् ।  –––

काठमाडौँ :  नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।   मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन ९आन्तरिक० को रु १९०, हवाई इन्धन ९बाह्य०को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।   अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र  हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।   मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ । एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।   आइओसीलाई २१ अर्ब तिर्न बाँकी   पेट्रोलियम पदार्थ खरिद बापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै छ । लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको नोक्सानीका कारण दैनिक बिक्रीबाट सङ्कलन हुने रकम आइओसीलाई भुक्तानी गर्दा पनि बुधबारसम्म करिब रु २१ अर्ब तिर्न बाँकी रहेको निगमले जनाएको छ ।   आइओसीको बक्यौता रकम भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतिपूर्ण रहेको प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ । सञ्चित बचत सकिएपछि पेट्रोलियम पदार्थ खरिद गर्ने पैसा नहुँदा सरकारले गत असार अन्तिममा निगमलाई रु सात अर्ब ऋण उपलब्ध गराएको थियो । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन निगमले राष्ट्रिय वाणिज्य बैंकबाट समेत रु तीन अर्ब ऋण लिएको थियो ।

पोखरा :  पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका पवन प्रजापतिले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि आफूले नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् । लामो ईतिहास र गरिमा बोकेको उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको पीरमर्काको साझेदारी गर्न आफूले उम्मेदवारी दिएको उनले तर्क गरे ।   भदौ २४ र २५ गते हुन लागेको संघको महाधिवेशनको सन्दर्भमा आफ्नो प्यानलसहित घरदैलो गरिरहेका प्रजापतिले संघप्रति व्यवसायीको अपनत्व बढाउने काम आफ्नो नेतृत्वको समूहले गर्ने बताए । लामो समयको लकडाउनका कारण व्यवसायीहरु मर्कामा रहेको यथार्थ आफूले बुझेको र व्यवसायीहरुलाई साँच्चै विभिन्न खाले समस्याबाट बाहिर ल्याउन संस्थागत रुपमा गर्नुपर्ने कार्ययोजना आफूसंग रहेको उनले बताए । ुयो समयमा बैंकको ब्याज, घरभाडामा आएको वृद्धि, महंगी र राज्यस्तरबाट विभिन्न वहानामा हुने प्रहारले व्यवसायीहरु खुब समस्यामा छन् । उनले भने,यी सबै समस्याहरुको एकमुस्ट समाधान गर्नका लागि पोखरा उद्योग वाणिज्य संघको नृेतृत्वमा आएपछि मैले संस्थागत रुपमा काम गर्नेछु ।   अध्यक्षका प्रत्यासी प्रजापतिले आफू नेतृत्वमा आएसंगै पोखरा उद्योग वाणिज्य संघको आर्थिक स्रोत बढाउन पनि भुमिका खेल्ने बताएका छन् । उनले आर्थिक स्रोत बढाउनका लागि उद्योग वाणिज्य संघको सचिवालयलाई आधुनिक मलको रुपमा विकसित गर्ने, सदस्यता संख्या वृद्धि गर्ने र विभिन्न भगिनी सम्बन्ध भएका संस्थाहरुमार्फत साझेदारीमा सामाजिक क्रियाकलाप गर्ने आफ्ना योजना सुनाए । चिप्लेढुंगास्थित पोखरा ट्रेड मल र न्यूरोड आसपासका व्यवसायीहरुमाझ घरदैलोको क्रममा उनले आफ्ना कार्ययोजनाहरु सुनाएका हुन् ।   लामो समयदेखि विभिन्न तहमा रहेर पोखरा उद्योग वाणिज्य संघमा रहेर काम गरिरहँदा आफू व्यवसायीहरुको पीरमर्कासँग नजिकबाट साक्षात्कार गर्न पाएकोले पनि नेतृत्वमा रहेर उनीहरुको समस्यामा समाधान गर्नतर्फ आफ्नो ध्यान बढि जाने प्रजापतिले बताए । उनले नेतृत्वका लागि आफ्नो प्रतिस्पर्धा कसैसँग नभई आफैँसँग भएको बताए । नेतृत्वमा रहेर व्यवसायीको पक्षमा काम गर्नुसँगै लामो समयको ईतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघको गरिमा र प्रभावलाई अझै बढाउनेतर्फ मैले ध्यान केन्द्रित गर्नेछु । उनले भने (ुत्यसैले सम्पूर्ण व्यवसायीहरुलाई म सहित मेरो प्यानलमा रहेका साथीहरुलाई निर्वाचित गराउनका लागि अपील पनि गर्दछु ।   अध्यक्ष प्रत्यासी प्रजापतिको समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।   

पोखरा  ः  पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको एक व्यावसायीले बताएका छन् ।    चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का रहेको सुनाए । टोपी बाजीको कपडाका सञ्चालक तिमिल्सिनाले युवा नेतृत्व आजको आवश्यकता रहेको बताए । नयाँ जोस र जाँगरका साथ चुनावमा होमिएको टिमलाई व्यावसायीहरुले जिताउनेमा उनी विश्वस्त छन् ।   ‘एउटा युवामा हुनुपर्ने जोस जाँगर उहाँले देखाउनुभएको छ त्यसैले उहाँलाई पोखराका व्यासायीहरुले विजयी गरानुहुन्छ,’ उनले भने, ‘प्रक्रियाले मात्र २५ गतेसम्म कुर्ने हो तर उहाँलाई हामीले बिजयी भएको ठानीसकेका छौ ।’ उनले आफ्नै पसलबाट टोपी झिकेर पदाधिकारीहरुलाई लगाइदिएर शुभकामना पनि दिन भ्याए ।    साँघुमुखभन्दा पहिलो टोली विशालबजार पुगेको थियो । विशाल बजारमा झनै अर्जुन प्यानलको माहोल उत्कृष्ट थियो । आफूहरुको समस्या अर्जुन पोखरेल प्यानललाई जिताएमा समाधान गर्न सक्ने भन्दै उनीहरुले अभियान मै साथ दिएका थिए । सिंगापुर इन्टरप्राइजेजका सञ्चालक थम्मनसिंह गुरुङले अर्जुन प्यानलले बनाएको घोषणा पत्रमा भएका प्रतिवद्धताहरु निकै महत्वपूर्ण र समय सान्दर्भिक भएकाले साथ दिने बताए ।    ट्वीन्स कलेक्सनका सञ्चालक मनोहरी पौडेलले सक्षम र जुझारु नेतृत्वलाई सबैले साथ दिनुपर्ने बताए । काम गर्न सक्ने खुबी भएका व्याक्तिहरुको टिमको विकल्प नभएको उनको भनाई थियो । आफू मात्र नभएर विशाल बजारभित्रका अधिकांस व्यावसायी अर्जुन पोखरेल प्यानलको पक्षमा रहेको उनले सुनाए ।    घरदैलो अभियानमा हिँडेको टिम विशालबजार, पालिखेचोक, साँघुमुख, महेन्द्रपुल, नयाँबजार लगायत स्थानमा पुगेर व्यावसायीहरुको समस्या सुन्दै मत मागेका थिए ।    उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् । 

पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गर्नुभएको हो ।    निस्सा वितरण गर्दै प्रमुख आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै भएको बताउनुभयो । “यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा नै हो, उहाँले भन्नुभयो, यो कागज नपाउनेले लालपुर्जा पाउदैन्, लालपुर्जा पाउनका लागि यो कागज नभई हुँदैन ।” उहाँले यसलाई लालपुर्जा जत्ति कै महत्त्व र सुरक्षाका साथ राख्न आग्रह गर्नुभयो ।    आफूहरू लालपुर्जा वितरणको प्रक्रियामा रहेको र छिट्टै वितरणको काम थालिने उहाँले बताउनुभयो । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमा, यदि त्यो स्थान उपयुक्त नभए अर्को उपयुक्त स्थानको खोजी गरी बसोबासको व्यवस्था गरिने उहाँले बताउनुभयो । “अव तपाँईहरु महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन, उहाँले भन्नुभयो, हामीले तपाँईहरुलाई खुसी नै बनाएर उचित व्यवस्था गछौँ ।” तर, सरकारले तोकेको समय सीमा भित्र सूचीकृत हुन नआएका र पछि दाबी विरोधको प्रक्रियामा झुटो ठहरिएका निवेदन उपर आवश्यक कारबाही हुने उहाँले बताउनुभयो ।   राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले कतिपयले यो निस्सा केही होइन भनेर भ्रम छर्न खोजेको भन्दै यसको महत्त्व माथि खेलबाड नगर्न सचेत गराउनुभयो । भोलि जग्गा प्राप्तिसम्मको अन्तिम प्रक्रियामा समेत यो निस्साको महत्त्वपूर्ण भूमिका रहने भएकाले यसलाई गर्वका साथ सुरक्षित राख्न उहाँले आग्रह गर्नुभयो । “यहाँ कसैलाई लाग्न सक्छ, यो निस्सा भनेको केही होइन, उहाँले भन्नुभयो, निस्सा भनेको महत्त्वपूर्ण छ, यो निस्सा भनेको तपाँईहरुले लगत फर्म भरेको प्रमाण हो । त्यति मात्र होइन यही निस्साको आधारमा तपाईँको जग्गाको नाप जाँच हुन्छ ।” जग्गाधनी पुर्जा प्राप्त गर्ने बेला पनि यही निस्सा आवश्यक पर्ने उहाँले बताउनुभयो ।    पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले वडामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । वडावासीहरूको पीडामा आफूहरू साथमा रहेको उहाँले विश्वास दिलाउनुभयो । वडा नं. ९ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सङ्ख्या ९११ रहेको छ । यसअघि महानगरको वडा नं. २५ र ३२ मा पनि निस्सा वितरण गरिसकिएको छ ।