पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

तनहुँ  :   करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।    लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उहाँले बताउनुभयो । “कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो।, “बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पुर्‍याउनुपर्छ । यो कार्य जोखिम छ ।”    सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन् । रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो ।        तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् । एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ । 

काठमाडौँ  :  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताउनुभएको छ ।    साथै उहाँले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं  सम्बद्र्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।   खासगरी नेपालमा भाद्र शुक्ल पक्ष तृतीयाका दिनलाई भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउने भए पनि हालका दिनमा नेपालमा सबै धार्मिक समुदायले यस पर्वलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासकासाथ श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।   प्रधानमन्त्री देउवाले सांस्कृतिक पर्व हरितालिका तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास लिनुभएको छ । साथै उहाँले यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रुपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनीे कामना गर्नुभएको छ । 

काठमाडौँ  :   राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।   हरितालिका (तीज) को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नारी सामथ्र्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै तीज पर्वलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिने बताउनुभएको छ ।    “महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु”, उहाँले सन्देशमा भन्नुभएको छ ।    उहाँले हरितालिका (तीज) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यका लागि कामना गर्नु व्यक्त गर्नुभएको छ । “हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल द्वितीया तिथिदेखि पञ्चमीसम्म विभिन्न व्रत, अनुष्ठान एवं मनोरञ्जनसहित मनाउने यस पर्वको उच्च धार्मिक तथा सांस्कृतिक महत्व रही आएको पाइन्छ”, उहाँको सन्देशमा भनिएको छ, “परापूर्वकालदेखि अवलम्बन गरिएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बका रूपमा पनि तीज पर्वको विशिष्ट स्थान छ  ।”   आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमा उच्च राख्नु अति आवश्यक रहेको सन्देशमा उल्लेख गरिएको छ ।    तीज जस्ता पर्वहरू मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपन बढ्दै जानु चिन्ताको विषय बन्न गएको पक्षलाई हामी सबैले मनन गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु ।”

गण्डकी  :    बन्दी जीवन बिताइरहेकालाई पठन संस्कृति र सकारात्मक सोचतिर प्रेरित गर्न पुस्तक उपहार दिइएको छ । १५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा विद्यामन्दिर पुस्तकालयले आज बागलुङ कारागारमा पुगी पुस्तक प्रदान गरेको हो ।   साहित्य, इतिहास, दर्शनलगायत विधाका २६ थान पुस्तक कारागारलाई हस्तान्तरण गरिएको पुस्तकालयका सचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । रु आठ हजार मूल्य बराबरका ती पुस्तक कारागारमा रहेको पुस्तकालयमा रहने गरी प्रदान गरिएको हो ।   पुस्तक ग्रहण गर्दै कारागार प्रमुख डिलबहादुर केसीले कैदीबन्दीलाई लक्षित गरी जीवनपयोगी र ज्ञानबद्र्धक पुस्तक दिएकोप्रति पुस्तकालयको प्रशंसा गर्नुभयो । “अनेक कारणले कानूनको परिबन्धमा परेर कैदीजीवन बिताइरहेकालाई सत्विचार लिन, ज्ञानको दायरा बढाउन पुस्तकले मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।   कारागारलाई पाठशाला बनाउने हेतुले गत महिना मात्र कारागारभित्रै पुस्तकालय स्थापना गरिएको प्रमुख केसीले उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय बागलुङ समाज र नेपाल लाइब्रेरी फाउण्डेशनको सहयोगमा उक्त पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।   विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले साताव्यापी रुपमा दिवस मनाउने सिलसिलामा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उपहार स्वरुप दिइएका पुस्तक सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।   उक्त पुस्तकालयले विसं २०२० तिर घुम्ती पुस्तकालय सञ्चालन गरी कारागारमा रहेका केदीबन्दीसम्म पुस्तक पु¥याउने गथ्र्यो । त्यसताका गृहणीका लागिसमेत उपयोगी पुस्तक घरघरै पु¥याउने गरिएको पुस्तकालयका पूर्वअध्यक्ष महेशचन्द्र प्रधानले स्मरण गर्नुभयो । अहिले भने घुम्ती पुस्तकालय सञ्चालनमा छैन ।   राणाकाल छँदा विसं २००३ मा स्थापित विद्यामन्दिर पुस्तकालय देशकै अग्रणीमध्येमा पर्छ । प्रतिकूल स्थितिमा खुलेका कारण पनि यसको अलग्गै पहिचान र गरिमा छ । यस क्षेत्रको शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जागरणको केन्द्रको रुपमासमेत विद्यामन्दिर पुस्तकालयलाई लिइन्छ ।    स्थापनाकालमा काठमाडौँ उपत्यका हुँदै भारतको दिल्ली, गोरखपुरसम्मबाट भरिया लगाएर ल्याइएका पुस्तक सङ्ग्रह गरेर सुरु गरिएको पुस्तकालयमा अहिले विभिन्न विधाका गरी करिब १५ हजार पुस्तक छन् । पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) पनि छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।    पुस्तकालयले बर्सेनि पुस्तकालय दिवसलाई विशेष रुपमा मनाउँदै आएको छ । बिहीबादेखि साताव्यापी कार्यक्रमसहित दिवस मनाउन सुरु गरिएको पुस्तकालयले जनाएको छ । शुक्रबार पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।    शनिबार साहित्यिक संस्थासँगको सहकार्यमा मोती जयन्ती, आइतबार माध्यमिक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । आज कारागारलाई पुस्तक हस्तान्तरणसँगै पुस्तकालय परिसर सरसफाइ गरिएको जनाइएको छ । मङ्गलबार पुस्तकालयको सभाकक्षमा चित्रकला प्रदर्शनी हुनेछ ।   बुधबार दिवसको मूल समारोह आयोजना गरिएको छ । यस वर्ष ‘पढौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ” भन्ने आदर्श वाक्यसहित दिवस मनाइँदैछ । भाषा, वाङ्मयप्रेमीले पुस्तकालय दिवसलाई महत्वका साथ लिन्छन् । RSS

  काठमाडौँ :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ ।    आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।   निर्वाचनमा आगामी असाज २ गते सामानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ ।

तनहुँ : तनहुँको व्यास नगरपालिका–११ स्थित पातीघारीमा चितुवाको आक्रमणबाट आज आमाछोरा घाइते भएका छन् । घाइते हुनेमा ४९ वर्षीया दिलमाया गुरुङ र नौ वर्षीय शङ्कर गुरुङ रहेको प्रहरीले जनाएको छ ।    घरमै सुतिरहेको बेला आज चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । निर्माणाधीन झ्याल ढोका नभएको घरमा सुतेका बेला चितुवा छिरेको थियो । सुरुमा छोरालाई आक्रमण गरेको र चितुवालाई लखेट्ने क्रममा आमा पनि घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । चितुवाको आक्रमणबाट बालकको टाउकोमा र आमाको हातमा चोट लागेको थियो । घाइते दुवै दमौली अस्पतालमा उपचार पश्चात् घर फर्किएको अस्पतालले जनाएको छ ।   जिल्लामा केही समययता चितुवाको आक्रमण बढ्दो छ । बस्ती छेउमै आएर चितुवाले बालबालिकालाई आक्रमण गर्नेगरेको छ । जिल्लाको भानु, बन्दिपुर, आँबुखैरेनीमा बढी चितुवाको आतङ्क छ । गत बुधबार मात्रै बन्दिपुर गाउँपालिका–१ मा चितुवाको आक्रमणबाट तीन वर्षीय बालक घाइते भएका थिए । उनको चितवनमा उपचार भइरहेको छ । ती बालकको सफल शल्यक्रिया गरिएको छ ।    मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।   चितुवाको प्राकृतिक खाना भनेको जीवजन्तु नै भए पनि त्यस्ता जीवजन्तु मानिसले खाइदिने गरेका कारण चितुवाको सिकार मानिस हुन थालेको अध्ययनबाट देखिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन र एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्न वन कार्यालयले अनुरोध गरेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

पोखरा:   नेपाली काँग्रेस कास्कीका युवा नेता नवीन सिग्देलले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।   कास्की क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यका लागि उनले नेपाली काँग्रेस प्रदेश कार्यसमिति समक्ष सोमबार उम्मेद्वारी दर्ता गरि घोषणा गरेका हुन् ।   ‘जनताले चिनेको र भुगोलले बुझेको व्यक्ति म नै हुँ, उनले भने, ‘पार्टीमा निरन्तरता, प्रतिवद्वता, क्रियाशीलता र लोकप्रियताको मुल्यांकन गरी पार्टीले न्याय गर्ने विश्वास छ ।’  उनले इमान्दार, निष्ठावान, त्यागी नेता तथा कार्यकर्ताको मनोबल उठाउन र राजनीति व्यापार नभई समाजसेवा भएको स्थापित गर्न पनि आफूले उम्मेद्वारी प्रस्तुत गरेको स्पष्ट पारे ।    सिग्देलको राजनैतिक यात्रा   पोखरा १३ निवासी सिग्देल २०५५ सालदेखि निरन्तर रुपमा राजनीतिमा सक्रिय रहेका उनी हाल नेपाली काँग्रेस कास्कीको सहसचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।   २०५५ सालमा नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको प्रचारप्रसार उपसमितिको सदस्य हुँदै आफुलाई निरन्तर  रुपमा क्रियाशील राख्दै आएका छन् ।   २०५७ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सदस्य र २०६१ मा स्ववियु सभापतिको उम्मेद्वार बने ।   नेपाल विद्यार्थी संघको जिल्ला सदस्य हुँदै सभापति बने । २०६७ सालमा नेपाल विद्यार्थीको राजनीतिबाट विश्राम लिएर काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।   १२ औं महाधिवेशनमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीको क्षेत्रीय सदस्य, १३ औं महाधिवेशनमा नेपाली काँग्रेस कास्कीको जिल्ला सदस्य निर्वाचित भए ।   उनले कास्की काँग्रेसले दिएको जिम्मेवारी अनुसार, करिब तीन वर्ष पार्टीको प्रवक्ताका रुपमा पनि काम गरिसकेका छन् ।   १४ औं महाधिवेशनले जिल्लाको सहसचिव पदमा निर्वाचित भएका हुन् ।   

पाल्पा:   हिन्दुनारीहरुको चार्ड हरितालिका तीजको अवसरमा बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सक्रिय रहदै आएको माउण्ट एभरेष्ट युवा क्लबले वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   शहिद केवल गाहामगर ‘कुँवेर’ स्मृति खेलमैदानमा आगामी १५ गते ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित ‘बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगिता’ आयोजना गरिने कार्यक्रम संयोजक धिरज गाहामगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको विजेता टिमले नगद रु १५ हजारसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेता टोलीले नगद रु १० हजारसहित पदक तथा प्रमाणपत्र हात पार्नेछ ।    त्यसैगरि सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गाहामगरले बताए ।  उनले उक्त क्लब खेलकुदसँगै सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको बताए । ‘हामीले हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्छौ, उनले भने, ‘धेरै ठुलो उपाधिराशीको प्रतियोगिता नभएपनि गाउँपालिका भित्रका खेलाडीहरुबीचको सम्बन्ध सुमधुर बनाउने हाम्रो लक्ष्य हो ।’   उनले उक्त प्रतियोगिता स्थानीय स्तरका खेलाडीहरुका लागि खेलकौशल प्रर्दशन गर्ने उपयुक्त आधार हुने बताए । ‘हाम्रो प्रतियोगितामा स्तरीय खेलाडीहरुले सहभागिता जनाउन पाउँदैनन्, संयोजक गाहामगरले भने, ‘विशेषगरी स्थानीय स्तरको खेलाडी भाइहरुलाई  आफ्नो खेल प्रर्दशन गर्ने एउटा वातावरण दिएका हौं । पछि गएर गाउँपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुन पनि सक्छ । त्यसैले यस प्रतियोगिता पुरस्कार राशीमा कमदेखिएपनि खेलाडी उत्पादनको हिसाबले महत्वपूर्ण ठानेका छौं ।’   क्लबका अध्यक्ष दान बहादुर रानामगरका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क १ हजार ५ सय निर्धारण गरिएको छ ।   सो क्लबले हरेक वर्ष विजयादशमीको अवसरमा पूर्णिमाको दिन आदिवासी जनजाति समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमकोसमेत आयोजना गर्दै आएको छ ।     

  पोखरा । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ ।   कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् ।   पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् ।   त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रमिला अधिकारी र अन्शु थापा रहेका छन् । महिलातर्फ वैकल्पिक खेलाडीमा रमिला नेपाली, विपना नेपाली, अनिशा हर्मेल र सलिना गुरुङ रहेका छन् ।   छनोट हुन सफल खेलाडीहरुले भदौ १६ गतेबाट पोखरा रंगशालामा सञ्चालन हुने प्रदेशस्तरिय छनोट प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुदकी कोषाध्यक्ष कन्चन थापाले जनाएकी छन् । कास्कीमा छनोट प्रक्रिया यहि १४ गते सम्पन्न हुनेछ । यति बेला विभिन्न खेलकुदको छनोट प्रक्रिया जारी रहेको जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले बताए  ।