नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय समितिमा मनोनित गण्डकीका फोनिजकर्मीहरुलाई शुक्रवार पोखरामा सपथ ग्रहण एवम् बधाई ज्ञापन गरिएको छ। फोनिजको चितवनमा सम्पन्न सातौं अधिवेशनमा केही असहमति जनाएको गण्डकी प्रदेशका केही अग्रजहरुलाई संघीय समितिले मनोनित गराए पश्चात फोनिज गण्डकी प्रदेश समितिद्धारा आयोजित बधाई तथा लेखनवृत्ति पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संघीय समितिका महासचिव मिलन लिम्बुले प्रमाणपत्र वितरणका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो। मनोनितमा संघीय समिति सदस्य एवम प्रदेश इञ्चार्ज एमबी आस्थामगर, संघीय समिति सदस्य एवम आमन्त्रित सचिवालय सदस्य दिल शिरिष, संघीय समिति सदस्य मिला दरै, संघीय समिति सदस्य कमला रानामगर र संघीय संगठन विभाग सदस्य इतराज गुरुङ(आशिफ)लाई महासचिव लिम्बुले सपथ ग्रहण गराउनुभएको हो। यसैगरी संघीय समितिले हुमबहादुर गुरुङलाई संघीय समिति सल्लाहकारमा मनोनयन गरेको छ। सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि महासचिव लिम्बुले महाधिवेशनमा कमिकमजोरी रहेता पनि अब फोनिजकर्मीहरुको बिचको एकता अझै सुदुढ हुने बताउनुभयो। केही समस्या भए पनि फोनिजको आन्तरिक आत्मसमिक्षाले एकतालाई थप सुदृढ गर्दै गण्डकी प्रदेश सशक्त ढंगले अभियानमा जुट्ने विश्वास व्यक्त गर्नुभयो। फोनिज गण्डकीले विगतदेखि उत्कृष्ठ कार्य, अभियानहरु गर्ने क्रममा पत्रकारहरुलाई लेखनतर्फ प्रोत्साहन गर्न लेखनवृत्ति प्रतियोगिता आयोजना गरी उत्कृष्ठलाई पुरस्कृत गर्नु उदाहरणीय कार्य भएको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो। संघीय समितिका सल्लाहकार हुमबहादुर गुरुङले सपथ ग्रहण गर्नुभएका गण्डकीका फोनिजकर्मीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतमा उत्पन्न भएका समस्याबाट पाठ सिक्दै फोनिजको मर्ममाथि कहिकतैबाट प्रहार हुन नहुने र भुगोलको प्रतिनीधित्वलाई सुनिश्चित गर्न विर्सन नहुने बताउनुभयो।उहाँले फोनिजकर्मीहरुलाई कलम चलाउन प्रोत्साहन गर्न लेखनबृत्ति प्रतियोगिता आयोजना गरिएकोमा सहभागी र उत्कृष्ठ लेखनलाई बधाई एवम् धन्यवाद व्यक्त गर्नुभयो। सपथग्रहण पश्चात फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमबी आस्थामगरले गण्डकीका फोनिजकर्मीहरुको एकता,फोनिजको अभियान सफल बनाउन र फोनिजको मर्मलाई गण्डकीका फोनिजकर्मीहरु इमान्दारपुर्वक जुटिरहने बताउनुभयो। कार्यक्रममा फोनिज गण्डकीले संघीय सल्लाहकार, समिति र विभागमा मनोनित हुनुभएको फोनिजकर्मीहरुलाई बधाई एवम सम्मान गरिएको थियो भने कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा नं.९को वडाध्यक्षमा निर्वाचित फोनिज कास्कीका कोषाध्यक्ष रमेश गुरुङलाई बधाई तथा सम्मान र फोनिज स्थापना दिवसमा आयोजित लेखनवृत्तिमा उत्कृष्ठ रीता गुरुङ, गोविन्द थापा मगर, श्याम राना मगर र विकास रोका मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा सम्मानित वडाध्यक्ष रमेश गुरुङ र लेखनवृत्ति पुरस्कृत गोविन्द थापाले फोनिज गण्डकीले आयोजना गरेको लेखनवृत्तिलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगरको अध्यक्षता कोषाध्यक्ष रत्ना गुरुङको स्वागत र सचिव सुसान्त गाहा मगरको संचालनमा सम्पन्न भएको थियो ।
तनहुँको बन्दीपुर गाउँपालिका-१ बानियाँटारमा बुधबार साँझ चितुवाले आक्रमण गरी तीन वर्षीय बालक शुलभ परियारलाई सख्त घाइते बनाएपछि स्थानीयवासीमा त्रास पैदा भएको छ । चितुवाले उक्त क्षेत्रमा पटकपटक पशु र मानिसमा आक्रमण गरी घाइते बनाउन थालेपछि स्थानीयवासी त्रासित भएका हुन् । चितुवा गाउँका घरघरमा हिँड्न थालेपछि बन्दीपुरवासी डरले साँझ परेपछि घर बाहिर निस्कन सकिरहेका छैनन् । बन्दीपुर क्षेत्रमा चितुवाको आतङ्क बढेकाले सुरक्षित रुपमा बस्न आग्रह गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । बालबालिकालाई घर बाहिर निस्कन नदिन र गाउँमा चितुवा देखिएमा तुरुन्त सम्पर्क गर्न जानकारी गराइएको उहाँले बताउनुभयो । स्थानीय गोजे सामुदायिक वनमा चितुवाका लागि पासो थाप्न यसअघि तीन वटा खोर राखिए पनि आज पुनःएक खोर थप गरिएको उहाँले जानकारी दिनुभयो । चारवटै खोर फलामको रहेकाले चितुवा पासोमा नपरेको भन्दै काठको खोर बनाएर राख्न गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी चितुवा प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी स्थानीयवासीलाई सुरक्षाको अनुभूति गराउने कार्य गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । खोरमा बाख्रा र कुकुरसहित राखेर कसरी चितुवालाई नियन्त्रणमा लिन सकिन्छ भन्ने सोचका साथ काम अघि बढाइएको उहाँले बताउनुभयो । त्रसित स्थानीयवासीमा सुरक्षाको अनुभूति गराउने उद्येश्यले जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा सुरक्षागस्ती खटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्तरुपमा गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । सुरक्षागस्तीसहित उक्त सामुदायिक वन क्षेत्रमा चितुवालाई पासो थाप्नका लागि खोर राखिएकोसमेत उहाँले बताउनुभयो । बुधबार साँझ करिब ५ बजेको समयमा सोही ठाउँ निवासी हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारमाथि चितुवाले आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेको समयमा चितुवाले बालकलाई आक्रमण गरी लगेको स्थानीय वासु पन्थले जानकारी दिनुभयो । चितुवाले घरदेखि करिब ५० मिटर टाढा पुर्याएको अवस्थामा आमा लक्ष्मीले चितुवाको मुखबाट छोरा खोसेर बचाउन सफल हुनुभएको छ । बालकको घाँटी तथा शरीरका अन्य भागमा गहिरो चोट लागेकाले स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । बालकको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको आमा लक्ष्मीले बताउनुभयो । केही महिनाअघि मात्रै बन्दीपुर-१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो भने एक बालिकासहित दुई जना चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा हालसम्म एक दर्जन बढी बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाइसकेका छन् । चितुवाको आक्रमणमा परी घाइते भएका बालकको उपचारका लागि बन्दीपुर गाउँपालिका कार्यालयले रु तीस हजार सहयोग गरेको छ ।
मतदानस्थल नजिकै थियो । त्यसैले बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी गाउँकी जुनादेवी शर्मा पौडेल लामो समयपछि बुधबार वडा कार्यालयमा पुग्नुभयो । उहाँलाई आफ्नो घरदेखि वडा कार्यालय रहेको ठाउँसम्म पुग्न सवा दुई घण्टा समय लाग्यो । सवारीको प्रबन्ध नभएकाले उहाँ पैदल नै हिँडेर त्यहाँ पुग्नुभएको थियो । उहाँसँगै सोही गाउँका अन्य महिला पनि आयोजित एकीकृत शिविरमा वडा कार्यालय पुगेका थिए । वडा कार्यालय पुगेका टाकुरीबासीलाई वडाको मुकामभन्दा नगरपालिकाको मुकाम नजिक पर्छ । बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएकाले उनीहरु पालिका मुकाम ४५ मिनेटमा नै पुग्छन् । तर सबै काम वडा कार्यालयसँग जोडिने भएकाले उकालो नहिँडेर सुख छैन । साविक अमलाचौर गाउँविकास समितिको वडा नं. २, ८ र ९ का गाउँहरुका लागि वडा कार्यालय अपायकमा पर्छ । अपायकमा वडा कार्यालय हुँदा आफूहरुले सास्ती खेप्नुपरेको पौडेलले बताउनुभयो । टाकुरी, सरंगेलगायतका गाउँका लागि वडा कार्यालयले सेवा केन्द्र सञ्चालन गरेरै भए पनि नजिकैबाट सेवा दिनुपर्ने उनीहरुको माग छ । “अहिलेको जमानामा पनि सजिलो सडक छैन, पैदल हिँडेर यतिका लामो सयमा वडा कार्यालय पुगिन्छ”, पौडेल भन्नुहुन्छ, “हामीलाई बरु वडा नं १४ नजिक पर्छ, जैमिनी नगरपालिकाका वडा कार्यालयभन्दा हाम्रो वडा कार्यालय पुग्न समय धेरै लाग्छ ।” बागलुङ नगरपालिकाले आयोजना गरेको एकीकृत सेवा प्रवाह शिविरमा गाउँको योजना सम्झौताका लागि उनीहरु त्यहाँ पुगेका थिए । शिविरमा पुगेर योजना सम्झौता गर्दाभन्दा नगरपालिकाको कार्यालयमै पुगेर योजना सम्झौता गर्न सहज रहेको उनीहरुले बताए । “हामीलाई सेवा लिन सदरमुकाम पुग्न बरु सडक र सवारी दुवै हिसाबले सहज छ”, सरंगेकी सरस्वती पौडेलले भन्नुभयो “वडा कार्यालय नआई सिधै नगरपालिका गएर मात्रै काम बन्दैन । हरेक काममा वडाको सिफारिस चाहिन्छ ।” राज्यको पुनःसंरचना गर्ने बेला भूगोलको अवस्था हेरेर पुनःसंरचना हुन नसकेका कारण टाकुरी र सरंगेलगायतका गाउँका सर्वसाधारणले दुःख पाउनुपरेको स्थानीयवासी यदुनाथ पौडेलले बताउनुभयो । त्यहाँका सर्वसाधारणले वडा कार्यालय पुग्नका लागि सिधा सडक सञ्जाल सहज नभएकाले वडा नं १३ को पैञ्युपाटा वा जैमिनी नगरपालिकाको कुश्मीशेरा हुँदै घुम्नुपर्ने बाध्यता छ । घुमेरै वडा कार्यालय पुग्न रिजर्भ नगरेसम्म सवारी नपाइने पौडेल बताउनुहुन्छ । ससाना सिफारिसका काम, योजनाका काम र वडास्तरमा हुने विभिन्न शिविर तथा कार्यक्रममा सहभागी हुनसमेत नसकेको महिलाको गुनासो थियो । “आज नगरले शिविर चलाएको छ, कसैको स्वास्थ्य परीक्षण भएको छ, कसैले योजना सम्झौता गरेका छन् तर हाम्रो गाउँबाट हामीबाहेक कोही आएनन्”, जुनादेवी भन्नुहुन्छ, “एकल सरो महिला यहाँ आए घर डुब्छ, घरैबसे यहाँ छुट्छ ।” वडा कार्यालयले भने तत्कालै सेवा केन्द्र सञ्चालनको विषयमा कुनै योजना नरहेको जनाएको छ । ‘उहाँहरुलाई अपायक भएको कुरा जायज हो, समस्या धेरै छन्’ वडा अध्यक्ष कोपिलामणि शर्माले भन्नुभयो, “म जनताको गुनासो कार्यपालिकामा राख्छु, अन्य वडामा पनि यस्ता समस्या छन्, सम्बोधन भयो भने निकै सजिलो हुन्छ ।” आधारभूत तहको सेवाका लागि घण्टौँ लगाएर वडा कार्यालय पुग्नुपर्दा ज्येष्ठ नागरिक र अपाङ्गता भएका बढी प्रभावित हुने गरेका छन् । राज्य पुनःसंरचनापछि अपायक क्षेत्र जोडेर सहज बनाउने नीति भएपछि व्यवहारमा भने कार्यान्वयन भएको छैन । त्यसैले केही वडा टुक्र्याए पनि कतिपय स्थानमा अझै समस्या छ ।RSS
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देव गुरुङले सम्पूर्ण पार्टी पङ्क्तिलाई साथमा लिएर निर्वाचनमा होमिन निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु र प्रदेश समितिका पदाधिकारीहरुको पोखरामा बसेको संयुक्त बैठकमा उहाँले माओवादीले गरेका राम्रा कामको जनतामा प्रचार नभएको र विरोधीहरुले भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,“परिर्वतनकारी शक्ति भएको र प्रतिगमनका विरुद्ध मुख्य गरी लडेको शक्ति र यसको नेतृत्वका विरुद्ध जनतामा भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ, त्यसलाई चिर्ने कोसिस गर्नुहोला । सरकारमा रहँदा माओवादीले गरेका काम जनताको घरदैलोमा पुगेर बुझाउनुहोला ।” आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै उहाँले गठबन्धनका पक्षमा माहोल बनाउन र चुनावी अभियानमा सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । पार्टीका सचिव एवं शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले वामपन्थी पार्टीहरुमा माओवादी केन्द्र पहिलो बन्ने सम्भावना रहेको बताउनुभयो । माओवादीबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले देश र जनताका पक्षमा धेरैनै सकारात्मक काम गरेको उहाँले जिकिर गर्नुभयो ।
बागलुङको सुदूर गाउँ निसी । आफ्नै भाषा, मौलिक कला, संस्कृति र परम्परा भएको ठाउँ । डेढ दशक अगाडिसम्म निकै दुर्गम मानिने निसी मध्यपहाडी लोकमार्गले जोडिएपछि सुगम बनेको छ । निसी क्षेत्र सुगम बन्दै गएपछि यहाँका भाषा, कला र संस्कृति भने ओझेलमा पर्न थालेका छन् । लोकमार्गले जोडिएपछि बाह्य संस्कार संस्कृतिको सिको हुन थालेपछि यहाँका संस्कार संस्कृति ओझेलिन थालेका हुन् । कला, संस्कृतिसँगै यहाँका मगर समुदायको आफ्नै ‘मगर खाम भाषा’ पनि लोप हुने खतरा बढेको छ । युवा पुस्ता पढ्न तथा रोगारका सिलसिलामा गाउँ जोडेर बजार छिर्न थालेपछि यो भाषा लोप हुने अवस्थामा पुगेको हो । लोकमार्गले निसी क्षेत्र जोडिनु पूर्व यहाँका स्थानीयले आफ्ना बालबालिकालाई गाउँमै पढाउने गर्थे । गाउँमा खाम भाषानै बोल्ने हुँदा संरक्षित थियो । अहिले सामान्य आर्थिक अवस्था भएकाबाहेक धेरैले आफ्ना बालबालिकालाई पढाउनका लागि बजार पठाएका छन् । उनीहरु बजारमा हुँदा यो भाषा निकै कम बोल्ने गर्छन् । गाउँमा पढ्ने बालिबालिकाले अहिले पहिलेको जस्तो खाम भाषा बोल्न छोडेका छन् । विद्यालयमा आफ्नै भाषाको पाठ्यपुस्तक छैन । त्यसैले गर्दा पनि भाषा संरक्षणमा ठूलो चुनौती बढेको छ । मौलिक भाषा र संस्कृतिले चिनिने निसी अहिले अस्तित्व कसरी जोगाउने भन्ने अवस्थामा पुगेको छ । बुढापाकाले यसको संरक्षणमा चासो देखाए पनि युवा युस्तामा भने त्यो इच्छा त्यति देखिदैन । निसीखोलामा बोलिने खाम भाषा अठार मगरात अन्र्तगतको हो । यो भाषा निसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ बस्ने स्थानीयहरुले बोल्ने गर्छन् । नेपाली खस भाषाको बढ्दो प्रयोगका कारण आफ्नो भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिका वडा नम्बर ६ का ७६ वर्षीय तुलबहादुर बुढामगरले बताउनुभयो । बुढामगरले यसको संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । “भाषा, संस्कार र संस्कृति भनेको हाम्रो पहिचान हो, पहिचाननै गुम्यो भने हाम्रो अस्तित्व के, अहिलेका युवा पुस्तालाई भाषा हराउन थालेको प्रति केही चासोनै छैन”, बुढा मगरले भन्नुभयो, “अब भाषा संरक्षणमा लागिएन भने अबको पाँच÷सात वर्षमा खाम भाषा कोही बोल्दैन, त्यसले गर्दा स्थानीय सरकारले पनि ध्यान देहोस्, हामी स्थानीय के गर्न पर्छ गर्छौँ ।” निसीबाट रोजगार र अध्ययनको लागि जिल्ला बाहिर जानेको सङ्ख्या ठूलो छ भने विदेश पलायन हुनेको सङ्ख्या पनि उत्तिकै छ । अहिले गाउँमा वृद्धवृद्धा र ससाना बालिबालिका मात्रै छन् । केही वर्ष अगाडिसम्म यहाँका अधिकांश स्थानीयको मुख्य कृषि र पशुपालन थियो । गाउँमै पशुपालन र कृषि कार्य गर्दा आफ्नै भाषा प्रयोग हुन्थ्यो । अहिले विदेश जाने र सहर पस्ने गर्दा भाषाको कम प्रयोग हुनेको गरेको निसीखोला गाउँपालिका वडा नम्बर ५ का नन्दबहादुर घर्तीमगरले बताउनुभयो । “पहिले–पहिले गाउँमै भेडापालन गर्थे, आलु, भाँगो र सिमी उत्पादनमा लाग्ने गर्थे, अहिले धेरै जसोले भेडापालन र आलु खेती गर्न छोडे, युवाहरु विदेशिए, केटाकेटी पढ्न बजार झरे, अहिले गाउँमा त उही बुढापाका मात्रै छन्, उनीहरुले खाम भाषा नै बोल्छन्, उनीहरुले मात्रै बोलेर पक्कै भाषाको संरक्षण हुन्न होला, पुस्ता हस्तान्तरण हुनैपर्छ”, घर्तीमगरले भन्नुभयो, “स्थानीय सरकारले सहर पढ्न जाने बालबालिकालाई गाउँमै गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने, रोजगारका लागि जाने युवालाई यहीँ नै काम गर्ने वातावरण सिर्जना गर्ने हो भने भाषा संरक्षणमा समस्या हुने थिएन ।” सरकारी कार्यालयमा हुने कामकाज र विद्यालयमा हुने पठनपाठनदेखि सबै नेपाली भाषामा हुँदा खाम भाषा लोप हुने अवस्थामा पुगेको निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले बताउनुभयो । उहाँले राज्यको प्रष्ट नीति नहुँदा सयौँ वर्षदेखि बोलिँदै आएको खाम भाषा संकटान्मुख बन्दै गएका बताउनुभयो । स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकारसँगै आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयवस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरे पनि निसीखोला गाउँपालिकाले अहिलेसम्म पाठ्यक्रम निर्माण गर्न सकेको छैन । स्थानीय पाठ्यक्रममा यो भाषा समेट्न सके यो संरक्षणमा टेवा पुग्ने देखिन्छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराम पुनले अन्य भाषामा पाठ्यक्रम तयारीको अन्तिम चरणमा पुगेको र मगर खाम भाषासहितको पाठ्यक्रमका विषयमा छलफल चलिरहेको बताउनुभयो । पुनले आगमी शैक्षिक सत्रदेखि दुवै भाषाका पाठ्यक्रमहरु लागु हुने गरि काम गर्ने बताउनुहुन्छ । “पालिकाले पाठ्यक्रम निर्माणको अन्तिम चरणमा पुगेको छ, खाम भाषाको भने अहिले बल्ल छलफल चलेको छ, अहिले निर्माण चरणमा रहेको पाठ्यक्रममा पालिका भित्र भएका कला, संस्कृति, पर्यटन, कृषि तथा पशुपालन लगायतका विषयलाई समेटेका छौँ”, शिक्षा शाखा प्रमुख पुनले भन्नुभयो “आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी दुवै भाषाका पाठ्यक्रम तयार हुने छ ।” उहाँले मगर खाम भाषा पालिकाको सात वडा मध्ये वडा नम्बर ५ र ६ मात्रै बोलिने हुँदा पाठ्यक्रम निर्माणमा केही समस्या भएको बताउनुभयो । “पालिकाको वडा नम्बर ५ र ६ मा मात्रै खाम भाषा बोल्नुहुन्छ, अन्य वडामा बोलिदैन, हामीले दुई प्रकारका पाठ्यक्रम बनाउनुपर्ने अवस्था छ, अहिले तयार हुने अवस्थाका पाठ्यक्रमलाई खाम भाषामा ‘ट्रान्सलेट’ गरेर गराउने कि छुट्टै बनाउने भन्ने विषयमा छलफल भएको छ ।” RSS
पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन्। पोखरा पर्यटन परिषदको नयाँ नेतृत्व् चयन गर्ने गरी बिहीबार सम्पन्न १२ औँ अधिवेशनमा रामचन्द्र शर्मालाई पराजित गर्दै अध्यक्षका उम्मेदवार पोमनारायण श्रेष्ठ निर्वाचित भएका हुुन् । बिहीबार भएके मतदानमा श्रेष्ठले २८ मत प्राप्त गर्दा शर्माले १४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने शमौ महासचिव थिए । अधिवेशनमा पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाका ४२ जना प्रतिनिधि सहभागी थिए । ६ सदस्य रहने परिषदमा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध निर्वाचित भएका थिए ।
प्रेस चौतारी नेपालले आज राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनलाई विभिन्न विषयमा सङ्गठनको तर्फबाट ध्यानाकर्षण गराएको छ । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोलीले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग प्रमुख प्रतिपक्षी दललगायतका समाचारलाई प्राथमिकता दिन आग्रह गर्दै समितिभित्रका स्थायी तथा ज्यालादारी कर्मचारीको नियुक्ति र सरुवा गर्दा आपसी सहकार्य, संवाद र सहअस्तित्वका आधारमा गर्न ध्यानाकर्षण गराएको छ । सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले व्यवस्थापनका क्रममा केही सरुवा भए पनि कुनै पूर्वाग्रह नराखिएको र रासस विनियमावली एवं आर्थिक स्रोतले भ्याएसम्म काममा सक्रिय कुनै पनि अस्थायी पत्रकार र कर्मचारीलाई सेवाबाट नहटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष झाले राससले समाचार प्रवाहमा प्रतिपक्ष दलका समाचारलाई पनि महत्व दिँदै आएको भन्दै समाचार सामग्रीमा कुनै सुधारका विषय भएमा तथ्य र विश्लेषणका आधारमा लेखाजोखा गरिदिन आग्रह गर्नुभयो । सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधानसम्पादक एकराज पाठक, प्रशासन प्रमुख शीतल महतो, चौतारीका प्रतिष्ठान इञ्चार्ज मोहन बाँस्तोलालगायतको उपस्थिति थियो ।
पश्चिम म्याग्दीको दुर्गम गाउँ शिवाङमा गण्डकी प्रदेश सरकारको रु दुई करोडभन्दा बढी लगानीमा सुविधा सम्पन्न छात्रवास निर्माण गरिएको छ । छात्रवास निर्माणपछि विद्यार्थीलाई सहज भएको छ । धौलागिरि गाउँपालिका–७ शिवाङस्थित हेम माध्यमिक विद्यालयमा छात्रावास निर्माण गरिएको हो । दसैँपछि नयाँ भवनमा विद्यार्थी राख्ने तयारी रहेको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिनुभयो । चौबीस कोठे तीन तले सो भवन ८० विद्यार्थी राख्न सकिने क्षमताको छ । “विद्यार्थीको हेरचाह र खानपानको व्यवस्था मिलाउन तीन कर्मचारीको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । चार वर्ष अघि प्रदेश सरकारको नमूना आवासीय विद्यालय कार्यक्रमअन्तर्गत छनोट भएपछि छात्रावास निर्माण थालिएको हो । भवन निर्माणपछि विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा दिएको छ । विद्यालयमा नै आवासीय सुविधा पाउने भएपछि भिर, पहरो, जङ्गल र खोलाको बाटो छिचोल्दै दैनिक तीन–चार घण्टा हिँडेर विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई अब सहज भएको छ । “अभिभावकसमेत खुसी भएका छन्”, प्रधानाध्यापक केसीले भन्नुभयो । छात्रवासको सुविधा भएपछि बीचमा नै पढाइ छोड्ने क्रम घट्ने केसी बताउनुहुन्छ । गरिबी र पारिवारिक वातावरण नभएर पढाइ छोड्न बाध्य विद्यार्थी लाभान्वित हुने छन् । यसअघि जीर्ण छात्रावासमा निकै असुविधा थियो । आवासीय सुविधा प्रदान गर्न गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि विद्यालयमा नमूना आवासीय विद्यालय कार्यक्रम लागू गरेको थियो । विद्यालय नजिकको झिनडाडाँमा भवन निर्माण गरिएको हो । गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीका अनुसार छात्रवास व्यवस्थापनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको छ ।
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरुमा चुनावी माहोल बढेको छ । भदौ २४ र २५ गते पोखरामा हुुने ३४ औँ महाधिवेशनका लागि अर्जुुन पोखरेलले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल घोषणा गरेका हुुन् । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदवारी दिने अध्यक्ष पदका प्रत्यासी अर्जुन पोखरेलले बताए । यसैगरि सदस्यहरुमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी उम्मेदवारी घोषणा गरेका हुन् । पोखरेल प्यानलले पत्रकार सम्मेलन मार्फत आठ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेको छ । संघलाई पोखरेलीको साझा घरको रुपमा विकास गर्नेदेखि संघलाई आर्थिक रुपमा सवल बनाउने प्रतिबद्धता गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि यस अघि नै अहिलेका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

