पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  तनहुँको व्यास नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रविष्टिका लागि आदिकवि भानुभक्त क्याम्पससँग सम्झौता गरेको छ ।    नगरपालिकाले १४ वटै वडामा दर्ता भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसीको तथ्याङ्क प्रविष्टिका लागि व्यास–१ भादगाउँस्थित उक्त क्याम्पससँग द्विपक्षीय सम्झौता गरेको हो ।   नगरपालिकासँग जनशक्ति कम भएको र तथ्याङ्क प्रविष्टिका लागि धेरै समय लाग्ने भएकाले प्रविधिमैत्री जनशक्तिको प्रयोग गरी तथ्याङ्क प्रविष्टिका लागि सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।    नगरपालिकाले सबै वडामा निवेदन सङ्कलन गरेकामा व्यास १, २ र ३ निवेदन दर्ताको निस्सा वितरण भइसकेको छ । बाँकी वडाका करिब पाँच हजार पाँच सय तथ्याङ्क प्रविष्ट गर्न बाँकी रहेको छ ।    तथ्याङ्क प्रविष्टि गर्ने सङ्ख्या धेरै भएको र नगरपालिकासँग त्यसका लागि तीन जना मात्रै जनशक्ति भएकाले छिटो गर्नका लागि द्विपक्षीय सम्झौता गरी काम अगाडी बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।    “अहिलेको जनशक्तिले प्रति व्यक्ति दिनमा २०÷२५ वटा मात्रै प्रविष्टि हुने रहेछ, त्यसरी काम गर्दा कम्तीमा एक वर्ष लाग्ने देखियो”, उहाँले भन्नुभयो, “काम समयमा नसक्ने भएकाले छिटो प्रविष्टिको काम सक्न सम्झौता गरेर आदिकविको जनशक्ति प्रयोग गर्न लागिएको हो ।”   आदिकवि भानुभक्त क्याम्पसले विद्यार्थीलाई प्रयोग गरी तथ्याङ्क प्रविष्टिको काम गर्ने भएको छ । एउटा फाइल प्रविष्टि गरेको नगरपालिकाले रु ४० दिने गरी सम्झौता भएको छ । “आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि पनि सहयोग पुग्ने देखियो”, प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो, “एक जना विद्यार्थीले दैनिक ३०/३५ वटा अपलोड गर्न सक्छन् भन्ने छ ।”   एक महिनाभित्र तथ्याङ्क प्रविष्टिको काम सम्पन्न गरी निस्सा वितरणपश्चात् छिटोभन्दा छिटो लालपुर्जा दिने उद्देश्य राखिएको नागिलाले जानकारी दिनुभयो ।    दुई पालिकामा भूमिहीनका लागि पुनः निवेदन दिन खुला   तनहुँका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि पुनः निवेदन खुला गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि ३५ दिने सूचना जारी गरेको हो ।    शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको हो ।   आयोगले सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । शुक्लागण्डकी र आँबुखैरेनीले विभिन्न कारण देखाइ लगत सङ्कलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेको थियो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यसअघि निवेदन दिन छुट भएकालाई लक्षित गरी पुनः निवेदन सङ्कलन गर्न लागिएको जानकारी दिनुभयो ।    दुई पालिकामा भदौ २ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानमा खटिएका लगत सङ्कलकमार्फत पेश गर्न आग्रह गरिएको छ । यसअघि निवेदन परिसकेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले पुनः निवेदन दिनु नपर्ने तर निस्सा लिन सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।   यसअघि जिल्लाका दशवटै पालिकामा लगत सङ्कलन गरिसकिएको थियो । शुक्लागण्डकी र देवघाटका एक÷एक वडामा जग्गा नापीको कामसमेत सुरु भइसकेको छ ।    राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिका–७ र देवघाट गाउँपालिका–५ मा जग्गा नापजाँचको काम जारी छ ।    हालसम्म बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५, भानु नगरपालिका-१, व्यास नगरपालिका १, २, ३ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको छ ।    जिल्लाका दश पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ को निवेदन दर्ता भएको छ । 

पोखरा : नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा कृष्ण बुढा मगर चयन भएका छन् ।    नेपाल मगर विद्यार्थी संघ पृृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनमा कृष्ण बुढा मगर (क)को अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।    समितिको उपाध्यक्षमा आनोक पुलामी मगर, सचिवमा देवी राना मगर, सहसचिवमा कृष्ण बुढा मगर (ख) र कोषाध्यक्षमा राधा थापा मगर चयन भएका छन् ।    समितिको सदस्यहरुमा राज थापा मगर, रितेश थापा मगर, किरण थापा मगर, जयन्ती थापा मगर, दिप्लव थापा मगर, दिपेश घर्ति मगर, ममता फगामी मगर, खमसरा घर्ति मगर, इन्द्र थापा मगर र एलिसा थापा मगर निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।   

  पोखरा ।  हिन्दु नारीहरुको चार्ड हरितालिका तीजको अवसरमा दीप युनाइटेडले खुल्ला रक्तदान आयोजना गर्ने भएको छ ।   ‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नारासहित आगामी भदौ ११ गते (शनिबार) पोखरा १६ स्थित सुन्दरफिडमा १० औं संस्करणको खुल्ला रक्तदान आयोजना गर्ने कार्यक्रम संयोजक तारा बहादुर थापामगरले जानकारी दिए । उनका अनुसार रक्तदान बिहान ७ बजेदेखि सुरु हुनेछ ।    क्लबले खेलकुदको क्षेत्रमा मात्रै नभइ सामाजिक क्रियाकलापमा समेत विगत लामोसमयदेखि सक्रिय रुपमा भुमिका खेल्दै आएको छ।    गत वर्ष आयोजना गरेको रक्तदानमा १ सय बढि युनिट संकलन भएको थियो ।  

  कास्की । नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ हुने भएको छ ।    आज आयोजित पत्रकार सम्मेलनमार्फत इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ १२ देखि १४ गते सम्म महोत्सव हुने जानकारी दिइएको हो ।   सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीका अनुसार महोत्सवको मुख्य आकर्षणको रुपमा लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने क्षेत्रीले जानकारी दिए ।    उनका अनुसार पहिलो पटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् ।   महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।   तीजगीत प्रतियोगितामा प्रथमले ५० हजार १११, दोस्रोले ३० हजार १११, तेस्रोले २० हजार १११ र सान्त्वनाले १० हजार १११ पाउने छन् । अन्तरमावि लोक नृत्यतर्फ प्रथमले ४० हजार १११, दोस्रोले २५ हजार १११, तेस्रोले १५ हजार १११ र सान्त्वना तीन टिम र उत्कृष्ट भेषभुषालाई ५ हजार १११ दिइने २०५४ सालमा स्थापित संस्थाको रजत वर्ष पनि भएकोले कोरोनापछि महोत्सव भव्य बनाउन संस्थाका अध्यक्षताको मुल संयोजकत्वमा २६ वटा उपसमिति गठन गरिएको सचिव थिरबहादुर थापाले बताए ।   भदौ १२ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महोत्सव उद्घाटन गर्नेछन् भने समापनमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड आउने छन् । भदौ १३ मा संस्थाले निर्माण गरेको ब्याडमिन्टन कोर्टसहित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन प्रदेश सदस्य राजीव गुरुङले गर्ने आयोजकले जनाएको छ ।   यसैगरी, शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् ।   भलिबल प्रतियोगिताअन्तर्गत उद्घाटनका खेल अघिल्लो दिन भदौ ११ देखि नै हुने छन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ ।    सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।  

  पोखरा ।   नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशको अध्यक्षमा निर्मल दियाली चयन भएका छन् ।   हिजो (शनिबार) पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय प्रथम सम्मेलनबाट मुक्ति समाज गण्डकीको अध्यक्षमा दियाली चयन भएका हुन् ।    साथै सम्पन्न सम्मेलनबाट  दियालीको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो समितिको प्रथम उपाध्यक्षमा डिना गोतामे,दास्रो उपध्याक्षमा होमबहादुर बिक, सचिवमा वमवहादुर बिक, प्रथम उपस–चिवमा बावुराम बिक, दास्रो उप–सचिवमा रुपा बिक र कोषाध्यक्षमा कमला सुनार रहेका छन् ।    त्यसैगरि सदस्यहरुमा बलबहादुर विक, खुमबहादुर किसान, खिममाया पटेल, विष्णृ बिक, रामकृष्ण रसाइली, बिरु बस्याल, विनोद कुमार बिक, रिता नेपाली, नरबहादुर बिक, अन्जन परियार, सन्त कुमारी नेपाली, भाइकाजी माइवुल, ठाकुर मगराती, आदिप नेपाली, विमला रोका, धनकुमारी सुनार लगायत ७६ जनाको सदस्यता रहेको छ ।    ‘१२१ जना सम्मको कार्यसमिति गठन गरिनुपर्ने भएत पनि यस प्रथम सम्मेलनबाट हामिले ८५ जनाको कार्यसमिति गठन गरका छौं, दियालीले भने ‘थप कार्यसमिति कहाँबाट कसरी राख्ने त्यो हामी भुगोल हेरी निर्धारण गर्ने छौँ ।    दियालीले आफ्नो कार्यकालमा आफ्नो क्षमताले भ्याएसम्म ११ वटै जिल्लाका उत्पीडित जनसमुदायलाई उनीहरुको आधारभुत अधिकारको पक्षमा सधै लडिरहने समेत प्रतिबद्वता जनाएका थिए ।

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका २६ स्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर पैसा चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।     गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयूक्त टोलीले नवलपुर देवचुली नगरपालिका ५ घर भइ हाल पोखरा महागनर ३० बस्ने २१ वर्षिय अनिश तामाङलाई लेखनाथबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।   कास्की प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अजय केसीका अनुसार पक्राउ परेका तामाङले गत साउन २ गते एटिमए फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ  लुटेका थिए ।    उनले एनएमबी बैंको एटिएम फोडेर पैसा लुटेपछि तालचोकमा रहेको एनआइसी एशिया बैंकको एटिएममा समेत अटेम्प्ट गरेका थिए ।    उनले पक्राउ परेका तामाङलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताए । एसपी केसीका अनुसार गत कात्तिकदेखि हालसम्म कास्कीमा ८ वटा एटिएम फोड्ने प्रयास भएको छ ।          

  कास्की । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् ।    स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको सञ्चारमा महिला सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी महिला पत्रकारले नेपाली समाजमा अझै पनि पुरातन सोच हावी भएको र सञ्चारगृह पनि महिलामैत्री हुन नसक्दा काम गर्न असहज भएको बताएका हुन् ।    नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य सरिता तिमिल्सिनाले सामाजिक रुपान्तरणका लागि सञ्चार क्षेत्रमा महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिअपरिहार्य रहेको जनाउँदै सञ्चार गृह महिलामैत्री हुन नसक्दा व्यवसायिक रुपमा पत्रकार महिला पलायन हुनेस्थित आएको बताउनुभयो । उहाँले नीतिगत तहबाटै यस क्षेत्रमा महिला सहभागिता बढाउन र महिलाका मुद्दालाई मूल धारमा ल्याएर समस्या समाधानका लागि पहल गर्न पनि आवश्यक रहेको बताउनुभयो ।    कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय पार्षद एवं रेडियो नेपाल प्रादेशिक कार्यलयका कार्यक्रम अधिकृत शान्ति राणाले सञ्चारमा महिलाको अवस्था हिजो र आजका बारेमा चर्चा गर्दै यस क्षेत्रमा सक्रिय महिलाको योगदानलाई प्रेरित गर्दै नयाँलाई आकर्षण गर्न पारिश्रमिक, नियुक्तिपत्र र विभिन्न तालिम उपलब्ध गराउनुपर्ने साथै महिलामैत्री व्यवहारको खाँचो औल्याउनुभयो ।    नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष जमुना वर्षा शर्माले नीति निर्माण तहमा महिला नेतृत्वको अभावले सञ्चारमा महिलाको उपस्थिति गुणात्मक एवं सङ्ख्यात्मक रुपमा सोचे जसरी बढ्न नसकेको बताउनुभयो ।   उहाँले विभिन्न तालिमबाट पत्रकार महिलाको क्षमता र दक्षता अभिवृद्धि तालिम हुनुपर्ने साथै उनीहरुको क्षमताको मूल्याङ्क नहुनुपर्ने जोड दिनुभयो । कार्यक्रममा वडा नं १७ का वडाअध्यक्ष राधिका शाहीले सञ्चार क्षेत्रबाट समाजले धेरै अपेक्षा गरेको जनाउँदै समतामूलक र न्यायिक समाजका लागि पत्रकारको भूमिका सशक्त हुनुपर्ने बताउनुभयो ।    उहाँले सञ्चारमा महिलाको उपस्थितिले लैङ्गिक समानता कायम गर्न मद्दत पुग्ने भन्दै महिलाका मुद्दामा सञ्चार क्षेत्र संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।  नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं अग्रज पत्रकार नारायण कार्कीले पछिल्लो समय महिला पत्रकार निकै सशक्त र गुणात्मक तरिकाले सञ्चार क्षेत्रमा आएको जनाउँदै उनीहरुलाई यस क्षेत्रमा टिकाउन महिलामैत्री सञ्चार नीति जरुरी रहेको बताउनुभयो ।   स्वतन्त्र पत्रकार सङ्घका केन्द्रिय अध्यक्ष कृष्ण बाँस्तोलाले महिलाको स्वतन्त्रतालाई अझै पनि समाजले सकारात्मक रुपमा लिन नसक्दा यस क्षेत्रमा पनि महिलाको उपस्थित बढ्न समस्या रहेको धारणा राख्नुभयो ।    कार्यक्रममा सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश अध्यक्ष कविता श्रेष्ठ, प्रेस युनियन कास्कीका अध्यक्ष रविना आले, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम, सचिव गङ्गासागर उपाध्याय, सदस्य राधा ढकाललगायतले सञ्चार क्षेत्रमा महिलाको सहभागिता अवसर र चुनौतीका विषयमा आफ्नो धारणा राखेका थिए ।    सो अवसरमा पत्रकार सरिता तिमिल्सिना र शान्ति राणा एवं वडा नं १७ का वडाध्यक्ष राधिका शाही योगीलाई सम्मानपत्र र दोसल्लाले सम्मानसमेत गरिएको थियो । सभाको १०औँ वार्षिकसभाको बन्द सत्रले कोषाध्यक्ष र सचिवको प्रतिवेदन पारित गरेको थियो । 

  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।       मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिनुभयो ।      बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ ।    यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ ।       यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्व:घोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् ।      यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् । 

पोखरामा  सम्पन्न भएको फुटसलको  उपाधि एक्यान सेन्ट्रलले हात पारेको छ । फाइनल म्याचमा पिकेएफटिआरलाई पछि पार्दै एक्यान सेन्ट्रलले उपाधि हात पारेको हो । एक्यान सेन्ट्रलले पिकेएफटिआरलाई दुई गोल गर्दै जित हात पारेको हो ।   ९ टिम सहभागी खेलमा दुई समुहमा विभाजन गरी खेल खेलाइएको थियो । सहभागी टिममध्ये एक्यान कास्की, एक्यान चितवन, एक्यान सेन्ट्रल र पिकेएफटिआर सेमिफाइनलमा भिडेका थिए ।    एक्यान कास्की र चितवनलाई पछि पार्दै फाइनलमा पुगेको पिकेएफटिआर फाइनलमा भने एक्यान सेन्ट्रलसँग हार ब्यहोर्नु पर्यो । सेन्ट्रल र पिकेएफ दुवै काठमाडौंबाट आएको टिम हो । शुक्रबार गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलको उद्घाटन गरेका थिए भने पुरस्कार वितरण तथा कार्यक्रमको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम थियो । तर, कार्य व्यस्तताका कारण मेयर आचार्य उपस्थित हुन नसकेपछि एक्यान पदाधिकारीहरुले नै विजयी टिमलाई पुरस्कार वितरण गरेका थिए ।   खेलमा विजयी टिमलाई नगद १ लाख रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने फस्र्ट रनर अपलाई ६० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । खेलमा सबैभन्दा धेरै गोल एक्यान चितवनका सन्दीप कुमार फुँयाललाई हाइयेस्ट स्कोर उपाधि दिइएको थियो । फुँयालले ६ गोल गरेर खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । यस्तै, बेस्ट गोलकिपर एक्यान सेन्ट्रलका शैलेस कट्टेलले हात पारेका छन् । पूरा खेलमा कट्टेलले १ गोल पनि गर्न दिएनन् । खेलको बेस्ट प्लेयर उपाधि एक्यान सेन्ट्रलका सुशान नगरकोटीले हात पारेका छन् । नगरकोटीले पूरा खेलमा ४ गोल गरेका थिए ।   खेल समुहका ९ मध्ये पिकेएफटिआरका म्यानेजर तिर्थराज अर्यालले बेस्ट म्यानेजरको उपाधि हात पारे । बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट गोलकिपर, टप स्कोरर र बेस्ट म्यानेजर पाँचै जनालाई नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । फुट्सल टुर्नामेन्टको आयोजना चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीले गरेको थियो । यसअघि चितवनमा पनि फुट्सल टुर्नामेन्ट आयोजना गरिएको थियो । कार्यक्रममा एक्यान पदाधिकारीहरुले सातै प्रदेशमा फुट्सल टुर्नामेन्ट गर्दै जानुपर्ने बताएका थिए ।