पोखरा । आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा गीतकार चन्द्रवती वाग्लेको ‘शून्य छ जन्मेको घर बरिलै’ शीर्षकको गीत बजारमा आएको छ । उहाँले गीतमा नेपाली मौलिकताको तीजको झल्को दिएको छ नै समाजको वास्तविकतालाई पनि चित्रण गर्न खोजिएको छ । कृषिप्रधान मुलुकमा बाँझिदै गएका घरबारी चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै उहाँले तीनताका बाबुबाजेका पालाको घरपरिवार र समाज अहिले पाउन छोडिएको उल्लेख गर्नुभएको छ । दुःख गरेर जोगाएको सम्पत्तिको पछिल्लो पुस्ताले संरक्षण गर्न नखोजेको र सुख सुविधाका नाममा परिवार नै बोकेर सहर पस्ने गरेको प्रसङ्ग गीतमा उल्लेख गरिएको छ । पहिलोपटक २०७४ सालमा आइन छोरी भनेर गीत लिएर बजारमा आउनुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा भाग एक, गरिन गुनासो, जागीरे नारी भाग एक, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइसहित शून्य छ जन्मेको घर बरिलै शीर्षकका गीत बजारमा आएका हुन् । वाग्लेको हरिश्चन्द्र शोक काव्य २०७५ मा प्रकाशित भएको थियो । सरकारी सेवामा पोखरा महानगरपालिकामा सातौँ तहको अधिकृतका रुपमा कार्यरत वाग्ले कस्केली अधिकृत समाजका सदस्यलगायत विभिन्न सामाजिक सङ्घ संस्थामा पनि आबद्ध हुनुहुन्छ । वाग्लेको यो गीतसहित ११ एकल र दुई वटा संयुक्त गरी १३ गीत रेकर्ड भई बजारमा आएका हुन् । उहाँले दर्जनौँ फुटकर गीत तथा कविता रचना गर्नुभएको छ । गीतका माध्यमबाट समाजका सत्यतथ्य बाहिर ल्याउँदै सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बर्सेनि तीजका एल्बम बजारमा ल्याएकी वाग्लेको यस गीतको भिडियो निर्देशन, छायाङ्कन, सम्पादन शिवराज भुर्तेलले गर्नुभएको छ । भिडियोमा कलाकार तीर्थराज वाग्ले, विष्णुमाया भुर्तेल, सपना तिवारी र सुनिता नेपालीले अभिनय गर्नुभएको छ । गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो युट्युब च्यानलले बजारमा ल्याएको छ ।
श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ। ुसांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछु , राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ुहिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ। त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेका छन्। सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ, सन्देशमा भनिएको छ। उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्। गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भइ मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रुपले स्मरण गरिन्छ, सन्देशमा भनिएको छ। समस्त हिन्दूधर्मावलम्वीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उनले उल्लेख गरेका छन्। यस्तै प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले पनि पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्। उनीहरूले छुट्टा छुट्टै सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-५ घर भई शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन् । करेन्ट लागेर तीनै जना घाइते भएका थिए । चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध चयन भएका छन् । आज पोखरामा सम्पन्न भएको २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेशनले रेवानको नेतृत्वमा भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । सो समितिको प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा बसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषाध्यक्षमा रोशन जंग कार्की, सचिवमा भीस्मराज पौडेल, सह-कोषाध्यक्षमा बैभव पौडेललाई चयन भएका छन् । यसैगरि समितिको सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन भएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।
पोखरा: कास्कीको माछापुुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयको होस्टेलको यौन प्रकरणमा संलग्न किशोरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की प्रहरीको एक अधिकृतका अनुसार नियन्त्रणमा रहेका किशोरलाई जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरिएको छ । किशोरीको अभिभावकको जाहेरीको आधारमा किशोरलाई नियन्त्रणमा लिइएको हो ? भन्ने प्रश्नमा ति प्रहरी अधिकृतले भने, ‘जजकमा मुद्धा दर्ता भाछ । अहिले म्याद थप भएको छ । सबै कुरा भन्न मिल्दैन ।’ गर्भवती बनेकी किशोरीलाई भने मनोपरामर्शका लागि शक्ति समुहमा राखिएको स्रोतले बताएको छ । सहमति विना खुल्यो ताला विद्यालयको होस्टेलमै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध राखेको घटना बाहिर आएपछि अभिभावकले लगाएको ताला सहमति विना नै खोलिएको छ । अहिले विद्यालयमा परिक्षा सञ्चालन भइरहेको बताउदै ताला खोलिएको माछापुच्छ्रे गाउँपालिका ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘बिहिबारदेखि विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ, उनले भने ‘यो विषयलाई परीक्षा सम्पन्न भएपछि पुन: छलफल गर्ने भनेपछि अहिले विद्यालयमा लगाइएको ताला खोलिएको हो । तर त्यो घटनाबारे टुंगो भने लागेको छैन ।’ एसइई दिनको लागि होस्टेलमै रहेका किशोर र किशोरीबीच अनैतिक शारीरिक सम्बन्धबाट किशोरी गर्भवती भएको खुलेपछि अभिभावकले तालाबन्दी गरेका थिए । स्रोतका अनुसार विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको कमजोरीका कारण घटना भएको भन्दै अभिभावकहरुले व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल र प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामाको मागेका थिए । अहिले परिक्षाका कारण विद्यालय सञ्चालन भएपछि परीक्षा सकिएलगत्तै वार्ता बस्नेछ । घटना लुकाउन प्रयास किशोरी गर्भवती भएको घटना बाहिरिन नदिन विद्यालयका प्रधानााध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधिहरुले गुपचुप गराउन लागेको स्रोतले बतायो । तर उक्त मिलेमतोमा आफ्नो सहभागिता नरहेको वडा ६ का वडाध्यक्ष टेकनाथ गौतमले बताए । ‘मैल घटना मिलाउन कुुनै पनि पक्षलाई दबाब दिएको छैन । यो विषयमा मेरो केही पनि कुराकानी भएको छैन, उनले सुनगाभा न्यूजसँग भने, ‘हाम्रो वडा सदस्यको भाईको छोरी भएकाले उहाँहरु पारिवारिक छलफलमा बस्नुभयो होला यसलाई कुनै वडाको समन्वयमा दबाब दिन बसेको भन्न मिल्दैन ।’ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको कमजोरीका कारण होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध भएकोे भन्दै चौतर्फी आलोचना भइरहेको छ । अस्पताल पुगेपछि गर्भवती पुष्टि स्रोतका अनुसार घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् । एसइई तयारीको लागि धिताल स्थित भूमेश्वर माविले सञ्चालन गरेको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए । घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको माध्यमबाट क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् । पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि यो घटना बाहिर आएको हो ।’
पोखरा । पोखराबाट सञ्चालनमा रहेको सिटीवान टेलिभिजनले तीजलाई मध्यनजर गर्दै तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ १० गते “तीजको बेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीजगीत प्रतियोगिता–२०७९” आयोजना गर्ने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् । उनले साँस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागेको बताइन् । ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनुपर्छ, उनले भनिन् ‘हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पहिलो पटक मेला सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार करिब ५० समुहको सहभागिता रहने सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागुपदार्थ दुब्र्यसनी जस्ता सामाजिक विषयलाई सहभागिहरुले गीत प्रस्तुत गर्नेछन् । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सो प्रतियोगिताको विजेता समुहले नगद रु ५० हजार, उपविजेता समुहले ३० हजार, सान्त्वना स्थान हाँसिल गर्ने समुहले क्रमश २० हजार र १० हजार प्राप्त गर्नेछन् । यसैगरि उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा र उत्कृष्ट शब्द चयन गर्ने समुहलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सोही कार्यक्रमकै अवसरमा दिर्घायू अस्पतालको सहकार्यमा ‘वृहत हेल्थ क्याम्प’ संचालन गरिने समेत बताइएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन्। मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्। उनले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन्। नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन्। यस्तै उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्। ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्। साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ। राई स्वतन्त्र उम्मेदवारी दिई धरानको मेयर निर्वाचित भएका थिए।
स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन दीपेन्द्र सुनार र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले सहजीकरण गरेका थिए । मनोचिकित्सक डा. तिमिल्सिनाले आत्महानी र आत्महत्याका बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या सम्बन्धित धारण र वास्तविकताको बारेमा स्पष्ट पारेका थिए । अर्का मनोविद पाण्डेले मानसिक स्वास्थय र आत्महत्को बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या न्यूनिकरण गर्न सकिने भएकाले त्यसको प्रभावकारी पहल हुनु जरुरी रहेको बताए । उनले गेट किपर तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा गएर काम गर्न सहज हुने बताए । कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे । यसैबीच, बुधबार नै सुरक्षाकर्मीहरुलाई आत्महत्या रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईँ, आयोगका वरिष्ठ अधिकृत खिमलाल सुवेदी, डा. रविराज तिमिल्सिना र रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए ।
सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए । रामपुर नगरपालिका-७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गर्नुभयो । बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रो पटक दोब्बर खरिद गर्नुभयो । अहिले उहाँले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउनुुहुन्छ । “गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्”, उहाँले भन्नुभयो । रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहार आपूर्तिका लागि सहज भएको र यसप्रति सथानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ । अर्यालले यसअघि प्रतिकिलो रु १५ का दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गर्नुहुन्थ्यो । अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उहाँको भनाइ छ । यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन् । उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन् । विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुसी हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारमा हुनुहुन्छ । उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँले यहाँको उद्योगमा बिहानदेखि साँझसम्म काम गर्नुहुन्छ । पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्नुहुन्छ । उहाँ उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्नुहुन्छ । “ उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ”, उहाँले भन्नुभयो । फूलमाया कुमाल पनि घरायसी काम सकाएर श्रीमान्सँगै यस उद्योगमा खटिनुहुन्छ । उहाँले साइलेज उत्पादन नभएका समय भने भवन निर्माण सम्बन्धि काम गर्नुहुन्छ । समयको सदुपयोगका साथै आयआर्जन गर्न सकिएको कुमाल बताउनुहुन्छ । उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन् । स्थानीयलाई रोजगार दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेल बताउनुहुन्छ । “पशुआहारका लागि साइलेज अति राम्रो छ, बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो । उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ । सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगञ्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ । मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ । चार वर्ष अघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो । उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ । साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ । यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुहुन्छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशुआहारका लागि राम्रो मानिने साइलेज रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नश्ल सुधार हुने बताइन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सहज भएको छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी, नेपिएर नामक घाँसबाट पनि बनाउने गरिन्छ । साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा ठूला पशुफार्मले अनिवार्यजसो नै प्रयोग गरिरहेको सञ्चालकको भनाइ छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैँसीहरुलाई समेत खुवाउने गरिन्छ ।

