पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

  प्रतिनिधिसभाको आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको  छ ।   त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंहले गाउँघरमा पारामेडिकलले पशु चिकित्सकको काम गरिरहेका र उनीहरुको पेसालाई मर्यादित र व्यवस्थित बनाउन यो विधेयक ल्याइएको बताउनुभयो ।    उहाँका अनुसार यसरी सेवा दिने प्राविधिक जनशक्ति सरकारी तवरबाट झण्डै तीन हजार ८०० र निजी क्षेत्रबाट २१ हजार छन् । मन्त्री सिंहले भन्नुभयो, “उनीहरुको सेवालाई मर्यादित र व्यवस्थित गर्न विधेयक ल्याएको हो, सांसदबाट आएका सुझावसमेतलाई राखेर ऐन संशोधन गर्न नसके पनि नियमावलीमा भने व्यवस्थित गरिनेछ ।” 

 बागलुङ नगरपालिकाद्वारा सोमबार आयोजित  ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।     बागलुङ-१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, वित्तिय साक्षरता र माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।  शिविरमा चालु आर्थिक वर्षका १६ योजना सम्झौता भएको वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा महिला अध्यक्ष भएका चार , पुरुष अध्यक्ष भएको नौ र संस्थागत तीन गरी १४ योजना समेत सम्झौता भएका थिए । सम्झौता गरिएका सबै योजनाको बैंक खाता खोलिएको छ ।    शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ५१ लाभान्वित भएका छन् । तीमध्ये ६७ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । तीमध्ये दुई महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको र १६ महिलाले यौनजन्य रोगको उपचार तथा परीक्षण र तीन जनाको परिवार नियोजना गरिएको जनाइएको छ ।     एक सय चार जनाको मधुमेह परीक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप, स्त्री रोग र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे । नयाँ र पुरानो गरी ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । ती मध्ये ‘क’ वर्गका १५, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका पाँच छन् ।   शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । चालीस रोपनी जग्गालाई समेटिएर १५ स्थानको माटोको नमूना परीक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुले केसीका अनुसार भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको छ । शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ४५ लाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।  

  म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पूर्वाधार निर्माण सुरुआत भएको छ । विसं २०६८ मा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गमा पर्यटकलाई आवतजावतका लागि पदमार्ग निर्माणले तीव्रता पाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट आइसफल पदमार्ग निर्माण सुरु गरिएको हो ।    पर्यटन विभागसँग दुई प्याकेजमा रु ७७÷७७ लाखमा ठेक्का सम्झौता गरेको कल्पवृक्ष विल्डर्सले कार्यक्षेत्रमा आएर स्थलगत नाप जाँचसहित पदमार्ग निर्माण सुरु गरेको कम्पनीका सञ्चालक रामेश्वर पुडासैनीले बताउनुभयो । उहाँका अनुसार, यस वर्ष रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौता भएको छ । आगामी असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि पदमार्ग निर्माणको कामअघि बढेको कम्पनीले जनाएको छ । पदमार्गअन्तर्गत रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको ससलधारा क्षेत्रमा ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण सुरु भएको छ । तीन सातादेखि चिमखोलाका २४ ओढारमा बास बसेर पदमार्ग निर्माण गरिरहेका छन् । तीन सातामा ससलधाराको उकालोमा करिब तीन सय मिटर ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको चिमखोलाका अगुवा गम पुनले बताउनुभयो ।    ‘‘दुई मिटर पराकिलो पदमार्ग बनाएका छाँै, यस वर्ष ससलधारादेखि बेसक्याम्प हुँदै कालीबराह र दहबुकीतर्फ पदमार्ग बनाउने योजना रहेको छ, कम्पनीलाई स्थानीयस्तरबाट पदमार्ग बन्नैपर्ने स्थानको बारेमा जानकारी गराइएको छ’’, उहाँले भन्नुभयो । धौलागिरि आइसफल पदमार्गअन्तर्गत कोखेभिर र पापिधर्मी डाँडामा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस वर्ष यी दुवै भीरमा पदमार्ग निर्माण गर्न सकेमा धौलागिरि आधारशिविर पुग्ने पदमार्गमा पर्यटकको आगमन बढ्ने स्थानीयवासीको भनाइ छ । धौलागिरि हिमालको आधारशिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्ग र टोड्के, झिँ पाखापानी, कुइनेमङ्गले हुँदै रिखार भएर आधार शिविर पुग्ने ५१ किलोमिटर लामो धौलागिरि सेञ्चुरी पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।    यस क्षेत्रमा कूल एक सय ७३ किलोमिटर लामो पदमार्गको डिपीआर गरिएको र सोही बमोजिम पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माणमा सङ्घ र प्रदेश सरकारसँग निरन्तर पहल गरिएको उहाँको भनाइ छ । अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिएपनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।    सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा रुइसे डाँडादेखि धौलागिरि आइसफल सम्मको पदमार्गलाई छनौट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।    म्याग्दी सदरमुकाम बेनीदेखि हिमाल पारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यत्ता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम भइरहेपनि सूचनामुलक संकेत बोर्ड राख्ने, खानेपानी, आश्रयस्थल र पर्यटकको सुविधाका लागि होटल तथा लज निर्माण हुन सकेका छैनन् ।   धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायत जङ्गली पशुपक्षी र तीनको बासस्थानलाई प्रत्येक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमङ्गले, दोबालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

  पोखरा ।  पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ ।    सोमबार बेलुका अकस्मात् छाती दुख्न थालेपछि उहाँलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।    जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा.बुद्धि बहादुर थापाले जानकारी दिए । छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या भने रहेनछ । थापाले भने, ‘ पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएको कारण हाल सोहीअनुसार उपचार भइरहेको छ ।’   पूर्व मेयर जिसी अस्वस्थ भएको थाहा पाएपछि महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चेस्ट पेन भएपछि पूर्व मेयर मानबहादुर जिसी अस्पतालमा भर्ना हुनुभएको रहेछ, उहाँ बोल्न सक्ने अवस्था मै हुनुहुन्छ आचार्यले भने, ‘ उपचारमा संलग्न डाक्टरहरूले अवस्था सामान्य रहेको र मुटुको समस्या नरहेको बताएको छ ।’   जिसीसँग एक छिन दोहोरो कुराकानी भएपछि स्वास्थ्य लाभको कामना गरेर आफू फर्किएको मेयर आचार्यले बताए ।     डा.थापाका अनुसार  जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।

  पोखरा: आज (मङ्गलबार) राष्ट्रपति विद्या देवि भण्डारीले विन्ध्यवासिनी​ मन्दिर दर्शन गरिन् ।  हिजो दिउसो पोखरा आईपुगका भण्डारीले हिजै केवलकारको यात्रा र मेयर धनराज आचार्य सँग भेट गरिसकेका छन् ।   भण्डारीको ११ बजे विन्ध्यवासिनी विद्यालयको कार्यक्रम र दिउसो नयाँबजारमा गुरुङ समुदायको ट्होटे पर्व कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ ।         

  पोखरा महानगरपालिका-२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।   परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा जात्रा गरिँदै आइएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस वर्ष भने विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित गर्न लागिएको समितिका सचिव एवं जात्रा संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताउनुभयो ।    समितिले भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

पोखरा ।  गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता मिल्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भवनको मन्त्री थापासँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।    ‘पोखरा ८ नयाँबजार दमकल मार्गमा निर्माण भएको बहुउद्देश्यीय सामाजिक भवनले स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने जनताहरुलाई लाभ मिल्नेछ’, उहाँले भन्नुभयो, ‘सामाजिक,धार्मिक लगायतका कार्यक्रमहरुका लागि भवनका माध्यम सहजता मिल्नेछ ।’ मन्त्री थापाले भवन परिसरमा निर्माण भएको शिव र सरस्वतीको मन्दिरले उक्त ठाउँको महत्वलाई दर्शाउने अभिव्यक्ति दिनुभयो । समाजमा रहेका विकृति विसंगति न्यूनिकरण गर्दै समुन्नत, परिस्कृत र सुसभ्य सहितको आधुनिक समाज निर्माणमा सबैको पहलकदमी हुनुपर्ने आवश्यकतलाई उहाँले औंल्याउनुभएको छ । कला, संस्कृति, भाषा, धर्म तथा परम्पराको संरक्षण सम्बद्र्धमा सरस्वती मन्दिर बहुउद्देश्यीय सामाजिक भवन निर्माण समिति लाग्ने विश्वास मन्त्री थापाको छ ।    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर र दमकलमार्ग बासीमा हिजो देखिएका तित्ततालाई मेट्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँबजारमा स्थापना गरिएको बहुउद्देश्यीय सामाजिक भवन सामाजिक तथा धार्मिक प्रयोजनका लागि उपयोगमा आउने विश्वाल लिनुभएको छ । मेयर आचार्यले भवन विभिन्न सामाजिक परम्परा तथा सांस्कृतिक विविधताले भरिपूर्ण समाजका गतिविधिहरु तालिम तथा सेमिनार, भेला तथा शिविर सञ्चालनका लागि उपयोगी बन्ने धारणा प्रस्तुत गर्नुभयो । टोल, समाज र वडाको विकासमा महानगर सँधै साथमा रहेको भनाई उहाँको थियो ।    पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले आफ्नो वडामा स्थानीयको पहलमा सामाजिक भवन निर्माण हुनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीयका सोच र विचार सँगै वडा साथमा रहेको भनाई राख्नुभयो । अध्यक्ष बरालले आफु सँधै वडा विकासको पथमा लम्कीरहेको र स्थानीयका समस्यालाई समाधान गर्न पहलकदमी गरिरहेको बताउनुभयो ।    सरस्वती मन्दिर निर्माण उपसमितिकी अध्यक्ष राधा थापाले एतिहासिक मान्यता बोकेको दमकल मार्गको अस्तित्व जोगाउन मन्दिरको स्थापना गरिएको बताउनुभयो । उहाँले मन्दिर लगायत सामाजिक भवन निर्माणमा सहयोग गर्ने संघ,प्रदेश र स्थानीय सरकारलाई आभार व्यक्ति गर्नुभएको छ । साथै व्यत्तिगत रुपमा आर्थिक सहयोग गरी भवन तथा मन्दिर निर्माण कार्यलाई सफलता प्रदान गर्नेहरुलाई समेत उहाँले धन्यवाद दिनुभएको छ ।    कार्यक्रममा नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माण मूल समितिका कोषाध्यक्ष पूर्ण बहादुर राना मगरले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सामाजिक भवन निर्माणमा २ करोड ६ लाख ३७ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको छ । २ करोड १९ लाख ४३ लाख २ सय ८२ आम्दानी हुँदा बैंक मौज्दात १३ लाख ६१ हजार १ सय ४१ रहेको जानकारी उहाँले गराउनुभयो । महासचिव धिरज थापाले समितिले गरेका कार्यहरुको बारेमा बताउनुभएको थियो । राम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रह्माकुमार इश्वर विद्यालयकी शोभा दिदी लगायतले बोल्नुभएको थियो ।   

  पोखरा:  पोखरा महानगरपालिका २९ भण्डारढिकमा सक्रिय रहदैं आएको आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ निर्वाचित भएका छन् ।    क्लबको २५ औं वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो ।   सो समितिको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सह–सचिवमा लक्की पून र कोषाध्यक्षमा उद्व गिरी चयन भए ।   यसैगरि सदस्यहरुमा सन्तोष गुरुङ, विज्ञान भण्डारी, विवेक गुरुङ, सुवास तामाङ, कुशल गुरुङ चयन भएको छन् ।  

  पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले मिटरब्याज पीडितहरूलाई उजुरी दर्ता गर्न सुचित गरेको छ ।   कार्यालयले सूचना जारी गर्दै मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध भदौ ५ गतेभित्र तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न पीडितहरूलाई जानकारी दिएको हो  ।   ‘कास्की जिल्लामा मिटरब्याजीहरुबाट पीडित व्यक्तिहरुले मिति २०७९ भदौ ५ गतेभित्र त्यस्ता मिटरब्याजीहले गरेको अपराध र शोषणको तथ्य एवं प्रमाण सहित जिल्ला प्रशासन कार्यालय कास्कीका वा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’ सुचनामा भनिएको छ ।