तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो । सेनेटरी प्याड नहुँदा महिला कैदीबन्दीलाई समस्या हुँदै आएको गुनासो आएपछि सञ्जालले प्याड सहयोग गरेको हो । सञ्जालकी अध्यक्ष कल्पना पोख्रेल, उपाध्यक्ष वसुन्धरा घर्ती, सचिव अञ्जना तिमिल्सिनाले महिला कैदीबन्दीका चौकीदार मनुमाया सुनारलाई सेनेटरी प्याड हस्तान्तरण गर्नुभएको छ । सञ्जालले एक सय ५० थान प्याड उपलब्ध गराएको छ । सेनेटरी प्याडका अभावमा समस्या हुँदै आएको थाहा पाएपछि सञ्जालका सदस्यबाट रकम सङ्कलन गरी प्याड सहयोग गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “विभिन्न अपराधमा सजाय भोगेका र पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीले मानवअधिकारको आधारभूत आवश्यकता पाउनुपर्छ, सेनेटरी प्याड नभएको विभिन्न माध्यमबाट जानकारीमा आएपछि सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो । सञ्जालले महिला मानवअधिकार संरक्षणका लागि काम गर्दै आएको छ । त्यस्तै महिलाका अधिकार सुनिश्चित गराउनका लागि सरकारी निकायलाई ध्यानाकर्षण गराउँदै आएको सचिव तिमिल्सिनाले जानकारी दिनुभयो । कारागारमा हाल १२ जना महिला कैदीबन्दी रहेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । गत फागुनदेखि तनहुँमा महिला बन्दीगृह निर्माण गरी महिला कैदीबन्दी राख्न थालिएको छ । “भर्खरै मात्र महिला कैदीबन्दी गृह सञ्चालनमा आएकाले हाम्रो पनि यसतर्फ ध्यान जान सकिरहेको थिएन”, उहाँले भन्नुभयो, “सेनेटरी प्याडका विषयमा विभिन्न माध्यमबाट प्रचार–प्रसारमा आएपछि अन्य सङ्घसंस्थाले पनि यसमा चासो देखाउनुभएको छ ।” महिला बन्दीगृहको क्षमता २० रहेको थियो । तनहुँमा महिला बन्दीगृह निर्माण भएपछि कास्की पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता अन्त्य भएको छ । कारागारको पुराना कार्यालय भवन र सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालन गरिएको हो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाइएको हो ।
कास्की: दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वका अवसरमा शनिबार पोखरामा गाईजात्रा निकालिएको छ । यो वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन शुक्रबार परेपनि जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने प्रचलन अनुरुप यहाँका नेवार समुदायले आज शनिबार गाईजात्रा मनाएका हुन् । हेरौं, ११ तस्बिरमा दिवंगत आफन्तको सम्झनामा निकालिएको गाईजात्रा:-
कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय एक जना घर फर्किएका छन् । मन्त्रालयका अनुसार आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८६ को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, दार्चुला र हुम्ला रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेसनमा पाँच हजार दुई सय २८, संस्थागत आइसोलेसनमा दुई सय छ, सघन उपचार कक्ष ९आइसियु०मा ६१ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि हरेलो मेला लाग्ने भएको छ । पहिलो पटक बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवको मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो । हरेलो मेला व्यवस्थापनका लागि स्थानीयको भेलाले राजु हमालको अध्यक्षतामा हरेलो मेला व्यवस्थापन समिति गठन गरेको छ । बलेवा क्षेत्रमा पर्ने छ वडाका सर्वसाधारणको भेलामा उपस्थिति थियो । आउँदो भदौ ६ र ७ गते मेला गर्ने तय भएको समितिका अध्यक्ष हमालले बताउनुभयो । “पहिलो पटक हामीले मेला आयोजना गर्दैछौँ । यसअघि भदौ पहिलो साता भैरवस्थानमा परम्परागत पूजाआजा मात्रै हुने गरेको थियो”, उहाँले भन्नुभयो । मेलामा भजन प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, तीज गीत प्रतियोगिता र विभिन्न झाँकी तथा कलाकारको प्रस्तुति रहने अध्यक्ष हमालले बताउनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । “यो ऐतिहासिक मेला हो, हरेलो मेलाले भैरवस्थानको प्रचारप्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ”, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भन्नुभयो, “मेलालाई निरन्तरता दिनुपर्छ ।” मेला व्यवस्थापनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको छ । भैरवस्थान मन्दिर हरेक मङ्गलबार र शनिबारमात्रै खुल्छ । बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मङ्गलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैँयुपाटाका भवानीप्रसाद रिजालले बताउनुभयो । यो पर्वकाअवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दसैँको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष कोपिलामणि शर्माले बताउनुभयो । बलेवा कालभैरव साविकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ । कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरकी नानु बुढाथोकीले बताउनुभयो । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताउनुभयो । कालभैरवमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ, गुल्मी, प्यूठान, अर्घाखाँची, काठमाडौँ, चितवनलगायत जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि निर्वाचनको अघिल्लो दिन १८ वर्ष उमेर पुगेर मतदाता सूचीमा नाम भएका मतदातालाई मतदानमा सहभागी हुन पाउने व्यवस्था गरेको थियो । त्यसअघिका निर्वाचनमा निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष पूरा भएका नागरिकलाई मात्र मतदानको व्यवस्था गरिँदै आइएको थियो । आसन्न निर्वाचनमा करिब एक लाख त्यस्ता मतदाताले मतदान गर्न पाउने आयोगको अनुमान छ । निर्वाचनको मिति घोषणा भएको दिनदेखि मतदानको दिनसम्म १८ वर्ष पूरा हुने व्यक्तिले मतदान गर्न नपाउने व्यवस्था थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । गत वैशाख २९ गतेसम्म ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र एकसय ८३ अन्य गरी एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता १८ वर्ष पूरा भएका आयोगले जनाएको छ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएपछि आयोगले गत असार १ देखि मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । सरकारले यही साउन १९ गते आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा भएसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगन गरेको थियो । आगामी भदौ १२ देखि १९ गतेसम्म निर्वाचन कार्यालयमा पुगी मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारको सदस्यको मृत्यु भएमा हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुईभन्दा बढी मतदानस्थल भएकामा पायक पर्ने मतदानस्थलमा नाम सार्न सकिनेछ । नामावली अद्यावधिक गर्न इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिने आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
तनहुँको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् । सिसौको रुखमा रहेको अरिङ्गालको गोला बिहीबार राति पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनको गण्डकी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि कास्कीको पोखरा पठाइएको थियो ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमितरुपमा सम्पादन हुने जनाइएको छ ।
काठमाडौं: गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै रु १६ अर्ब रासायनिक मलमा अनुदान छुट्याएको बताउनुभएको छ । शुद्धोधन गाउँपालिका-५ मा निर्मित शुद्धोधन उद्यानको आज उद्घाटन गर्दै उहाँले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पार्नुभयो । “रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौ”, उहाँले भन्नुभयो । अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ । पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन । मलसम्बन्धी कारखाना खोलौँ भने समय लाग्छ । कारखाना सहज छैन । ठूलो ऊर्जाको आवश्यकता पर्छ”, गृहमन्त्री खाणले भन्नुभयो । अर्को प्रसङ्गमा गृहमन्त्री खाणले नेपाली नागरिक अनागरिक बन्नुपर्ने परिस्थिति सिर्जना नहोस् भन्नका लागि सरकारले नागरिकता विधेयक ल्याएको स्पष्ट पार्नुभयो । नेपाली नागरिक भएर पनि नागरिकको अधिकारबाट बञ्चित भएकाले यसलाई स्वीकृत गर्न बिलम्व गर्न नहुने उहाँको भनाइ छ । शुद्धोधनसहित रुपन्देहीको विकास सबैको चाहना भएको उल्लेख गर्दै उहाँले शुद्धोधनको विकासको प्रतिफल रुपन्देहीले प्राप्त गर्नेगरी काम अघि बढाउनुपर्ने धारणा राख्नुभयो । सामाजिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्यको दायित्व भएकाले विकास निर्माण अघि बढाउँदा विभिन्न जाति, धर्म र सम्प्रदायका नागरिकको संस्कारअनुसार फरकफरक रहेकाले सोहीअनुसारको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । “उद्यान विकासको अपूर्व आधारशिला हो । विकास भनेर बाटो मात्रै बनाएर हुँदैन, बाटोघाटो, नदीनाला, सिँचाइसँगै पार्कको पनि जरुरी छ”, उहाँले भन्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले शुद्धोधनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभाका सदस्य तुल्सी चौधरी र पुष्पा थरुनीले उद्यान निर्माणमा अवरोध सिर्जना भए पनि सम्पन्न भएपछि पालिकाको पहिचान बनेको बताउनुभयो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल, उपाध्यक्ष शान्तीदेवी ज्ञवाली लगायतले उक्त उद्यानको विकास र सौन्र्दयीकरणका लागि प्रदेश र सङ्घीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । गाउँपलिकाका प्रवक्ता केशवप्रसाद अधिकारीका अनुसार मानपकडीमा निर्माण गरिएको शुद्धोधन उद्यानमा जिराफ, सिंह, बाघ, चितुवा, गैडा, कङ्गारु, उट, डाइनोसरलगायत जनावर र चराका आकृतिका मूर्ति राखिएका छन् । किनारमा पाम ट्री, गौतमबुद्धको मूर्ति र वाटर फाउण्टेनले उद्यानलाई थप आकर्षक बनाएको छ । उद्यानको छेवैमा रहेको सुखली घोलामा बाँध बनाई पानी जम्मा गरिएको छ । उद्यान अवलोकनका लागि आउने आगन्तुकलाई त्यहाँ डुङ्गा शयर गराउने गाउँपालिकाको योजना रहेको छ । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराइले रु तीन करोडको गुरुयोजना बनाएर उद्यान निर्माण गरिएको जानकारी दिनुभयो ।
पर्वतको फलेवास नगरपालिका-९ भंगरामा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर मृत्यु भएको हो। उनी बिदामा घर आएका थिए। साथीहरूसँग पर्वतको भँगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो। त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ। दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। परिवार सम्पर्कमा आएपछि शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए।

