पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।   आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतारिरहनुभयो । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उहाँ निराश हुँदै फर्किनुभयो । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आउनुभएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो गर्नुहुन्छ । “कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ, राम्रो पैसा तिर्छु भन्दा पनि विभिन्न बहाना बनाएर कोठाभाडामा दिँदैनन्”, उहाँले भन्नुभयो । “अधिकांश ठाउँमा डेरा खोज्न जाँदा घरधनीले कोठा त छ, तर जात के होला रु भनेर सोध्छन् । यो प्रश्न सुन्ने वित्तिकै कताकता मनमा नमिठो लाग्छ”, उहाँले भन्नुभयो ।   सशस्त्र प्रहरीका जवान मात्र होइन मोदी गाउँपालिका-५ बाजुङ घर भएकी इन्दिरा नेपालीले पनि यस्तै समस्या भोगेको बताउँनुहुन्छ । कोठा चाहिएर खोज्न जाँदा प्रत्येकजसो घरमा सुरुमै थर (जात) सोध्ने गरेको उहाँको गुनासो छ । “जहाँ कोठा खोज्न गए पनि सुरुमै घरबेटीले नानी कुन थरको हो, भनेर सोध्छन्, म सार्की हो भन्ने वित्तिकै कोठा त छैन नानी भन्छन्”, उहाँले भन्नुभयो ।   अध्ययनका लागि कुश्मा आएका फलेवास नगरपालिकाका सुमित परियारले दुई हप्ताको खोजीमा बल्लतल्ल कोठा पाएको बताउँनुभयो । दलित भएकै कारण आफूले सहज रुपमा कोठा नपाएको उहाँको गुनासो छ । धेरै ठाउँमा कोठा खोज्न जाँदा विभिन्न बहाना बनाएर नदिने गरेको उहाँको भनाइ छ । “बजार भन्ने वित्तिकै शिक्षित र सचेत मानिसको बसोबास गर्ने ठाउँलाई बुझिन्छ । तर, यहाँका मानिसको व्यवहार फरक छ”, उहाँले भन्नुभयो ।    हुन त दलित समुदायका लागि यो नौलो समस्या होइन । आर्थिक, सामाजिक र संस्कृतिरूपमा सदियौँदेखि पछाडि पारिएको उक्त समुदाय पहिलेदेखि नै जातीय भेदभाव तथा छुवाछूतको मारमा पर्दै आएको छ ।   दलित अधिकारकर्मी जीतबहादुर नेपालीले दलित समुदायले अझैपनि जातकै कारण कोठा नपाउनु लज्जाको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,“जातीय विभेद तथा छुवाछुतविरुद्ध सबैले आवाज उठाए मात्र यसको अन्त्य हुनेछ ।”    जातीय भेद्भाव गर्न हुँदैन भन्ने कुरा संविधानमानै उल्लेख गरिए पनि जातीय भेद्भाव तथा छुवाछूत सम्बन्धिका घटना उल्लेख्य मात्रामा सार्वजनिक हुनसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जातीय विभेद्का घटनासम्बन्धी एउटा पनि उजुरी नआएको बताउनुभयो । उहाँले भन्नुभयो,“मेरो कार्यकालमा एउटा पनि उजुरी आएको छैन, मोदी बाजुङबाट एउटा मौखिक उजुरी आएको थियो, हामीले दुवै पक्षलाई बोलाएर छलफल गराएपछि सहमति भएको थियो ।,”    बुढाथोकीले जातीय विभेद् र छुवाछुत सम्बन्धिका उजुरी आएमा राज्यले निर्माण गरेको ऐन कानुन अनुसार दायित्व पूरा गर्न प्रहरीले कुनै कञ्जुस्याइँ नगरेको बरु उजुरी नै नआउनु चुनौती रहेको बताउनुभयो । नेपालको संविधानको धार २४ मा छुवाछुत तथा भेद्भावविरुद्धको हकको उल्लेख गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।    संविधान तथा कानुनबमोजिम भेद्भाव तथा छुवाछुतविरुद्धका अधिकार स्थापित गरिएका छन् । साथै भेद्भाव तथा छुवाछुत कार्यलाई कसूरको रुपमा परिभाषित गरी दण्डसजायको व्यवस्था समेत गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेद्भाव तथा छुवाछुतको कसूर गरेमा निजलाई ५० प्रतिशत थप सजाय हुन्छ । जातीय भेद्भाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।

पाेखरा:  २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ ।    नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह आयोजनामा आज (अगस्ट ९) अर्थात २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ ।    विहान ११ः३० बजे आदिवासी जनजाति समुदायले आफ्नो जातजातिको झाँकी तथा र्‍यालीसहित पोखराको चिप्लेढुङ्गा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर कोणसभामा परिणत भएको थियो ।  आज देशभर २८ औँ अन्तराष्ट्रिय जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाइदैं छ ।    गण्डकी प्रदेशका आदिवासी समुदायहरुले आफ्नो जिल्ला देखि विभिन्न झाकी तथा र्‍याली प्रस्तुत गरेका थिए । भने नेवार समुदायले पहिलो पटक भक्तपुर देखि घिन्ताङ घिसी घिसी नाँच प्रस्तुत गरिएको थियो । दिवसमा साकेला, सोरठी, ​घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति प्रस्तुत गरिएको थियो ।    सन् १९८२ डिसेम्वरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीजरल्याण्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।    दुई वर्षसम्म कोरोना भाइरसका कारण औपचारिक रुपमा मनाउन नपाइएको अन्तराष्ट्रिय जनजाति दिवस २ वर्ष पछि पुन: मनाइएको आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले जनाएको छ ।    तस्बिरहरू:-                                            

  पोखरा ।  गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।   पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए ।   सो अवसरमा उपभोक्ता समितिका अर्का अध्यक्ष तथा अग्रज खेलाडी स्व.योगेन्द्र बहादुर बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।     सो अवसरमा मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहार समेत वितरण गरेका थिए ।  नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको र नवौंमा छनोट हुने खेलाडीहरुलाई हाइ अल्टिच्यूड तालिमको लागि व्यवस्था गर्ने उनले जनाए ।   कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले मोदी गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्मालाई नगद ५ लाख पुरस्कार सहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट यूवा मैत्री स्थानिय तह प्रोत्सहान कार्यक्रम २०७८ बाट ८५ वटा गाउँ पालिका मध्ये मोदी गाउँ पालिका उत्कृष्ट हुन सफल भए पछि सम्मान गरिएको हो ।   सम्पन्न कार्यक्रममा मोदी गाउँ पालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीहरुलाई पौष्टिक आहार वितरण गरेका थिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्त समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रमहरु सूचारु गर्न सहज हुने बताए ।   

  कैलाली:   परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन् । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् ।    टीकापुरकी सविना कार्कीको बच्चा एक वर्षको भयो । सविनाको बच्चा सासु, ससुरा, देवर सबै मिलेर स्याहार गर्नुहुन्छ । बच्चालाई खुवाउने काममा समेत सबैको सहयोग मिलेको छ । “मैले एक्लैले बच्चा स्याहार गर्न सम्भव छैन, बच्चालाई खुवाउने, खेलाउने, सरसफाइका काम परिवारका अन्य सदस्यले गर्नुहुन्छ”, सविना भन्नुहुन्छ, “बच्चाको मात्र होइन, घरको काममा पनि सघाउनुहुन्छ, जसले मलाई बच्चालाई स्तनपान गराउन समय मिल्छ ।”   टीकापुरको बन्दीपुरकी खेमा खड्काले घरको काम गर्दा बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ । खेमाको घरमा बच्चालाई स्याहार्ने, खुवाउने र बच्चाको सरसफाइको काम सबै मिलेर गर्नुहुन्छ । “म भान्साको काम गर्छु, सरसफाइ, बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले मेरो बच्चा स्वस्थ छ ।”   टीकापुरकै सञ्जना चौधरी र बन्दी चौधरी दुवै जनाको बच्चा अहिले नौ महिनाका छन् । उहाँहरूले बच्चालाई दाल, भात, जाउलोलगायतका खानेकुरा खुवाउनुहुन्छ । उहाँलाई पनि बच्चा स्याहारमा परिवारको साथ मिलेको छ । “बच्चालाई स्वास्थ्यकर्मीले सिकाएअनुसार मेरो दूधसँगै थप खानेकुरा खुवाउने गरेकी छु”, उहाँले भन्नुभयो, “मैले बच्चालाई बढी सयम दिनुपर्छ, बच्चालाई बढी समय दिँदा घरको काम अस्तव्यस्त हुन्छ । घरको काममा अन्य सदस्यले सघाउने गर्नुभएको छ ।”   विजयनगरकी सरिता चौधरी र सुस्मिता चौधरीको घरमा समेत बच्चा सबै मिलेर स्याहार्छन् । परिवारका सबै मिलेर स्याहारेका कारण यी महिलाका बच्चा स्वस्थ छन् । “बच्चा स्याहारमात्र होइन, घरको काम, भान्साको काम, खेतबारीको काम सबै मिलेर गर्छौँ सुस्मिताले भन्नुभयो, “सबै मिलेर काम गरेमा बच्चा स्याहारका लागि समय मिल्छ । सबैले बच्चालाई प्राथमिकतामा राखेर काम गर्छौँ, जसले जे देख्यो त्यही काम गर्दा सजिलो भएको छ ।”   बच्चा हुर्काउने समयमा महिलालाई बढी कामको बोझ थपिन्छ । यस्तो बेलामा परिवारको साथ महत्वपूर्ण हुन्छ । बच्चाको स्वास्थ्य र आमालाई बच्चाका लागि समय निकाल्न परिवारले सघाएमा बच्चा निरोगी र फुर्तिलो हुने भएकाले परिवार जिम्मेवार बन्नुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ । “छ महिनासम्म बच्चालाई आमाको दूधमात्र चुसाउनुपर्छ । त्यसपछि थप खानेकुरा खुवाउनुपर्छ । समय–समयमा बच्चालाई खानेकुरा खुवाउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले परिवारका सबै जिम्मेवार बन्नुपर्छ”, खरेल भन्नुहुन्छ, “परिवारका सदस्यले आमालाई बच्चा स्याहारका लागि समय मिलाउन अन्य काम आफूले गरिदिनुपर्छ । आमाका लागि पोषणयुक्त र झोलिलो खानेकुराको जोहोसमेत गरिदिनुपर्छ ।”   अनमी खरेलका अनुसार दुई वर्षमुनिका बच्चालाई आमालाई तनावमुक्त वातावरणमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । “आमा तनावमा भएमा बच्चाको स्याहारमा असर पर्छ, दूध पनि आउँदैन”, उहाँ भन्नुहुन्छ, “बच्चा सानो हुँदा राम्ररी स्याहारेमा विभिन्न खालका रोग लाग्नबाट बचाउन सकिने र स्वस्थ हुने भएकाले बच्चाको स्याहारका लागि आमाको स्वास्थ्यबारे समेत ध्यान दिनुपर्छ ।”   बालबालिका भविष्यका कर्णधार हुन् । चिकित्सकहरू बालबालिकाको दुई वर्षभित्र ८० प्रतिशत मानसिक विकास हुने भएकाले दुई वर्षसम्म राम्रो स्याहार हुनुपर्ने बताउँछन् । हजार दिनका बालबालिका रहेका आमालाई बच्चाको स्याहार, घरको काम धेरै हुन्छ यस्तो बेला बच्चा स्याहारमा परिवारको साथ महत्वपूर्ण हुने चिकित्सकको सुझाव छ ।

  काठमाडौं:   देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।   बुधबार देशभर आंशिकदेखि सामान्य बदलीका साथै देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

  गोरखा नगरपालिका-८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो ।   कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा -८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका-८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् । त्यस्तै धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका-४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका-८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उहाँले बताउनुभयो ।   गत असार ३० गते बिहान गोरखा-८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

  पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ ।   निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बाँस्तोलाको नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएका हुन् । कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो ।   टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो । यस्तै बाँस्तोला नेतृत्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ ।   अध्यक्ष महतले टान नेतृत्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर जान आह्वान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गर्नुभयो ।   टान निर्वाचनमा अध्यक्षका प्रत्यासी बाँस्तोलाले उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेण्डासहित प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय व्यवसायी आवद्ध छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ ।    निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ ।    प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।” आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ ।     आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ ।    घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज १९ गते विजयादशमी परेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।    असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।    आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।    समानुपातिकतर्फको कार्यक्रम स्वीकृत हुँदै   समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।    निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् । 

  विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास   नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।    ती पालिकाले सोमबार अलग अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।