कैलाली: परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन् । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् । टीकापुरकी सविना कार्कीको बच्चा एक वर्षको भयो । सविनाको बच्चा सासु, ससुरा, देवर सबै मिलेर स्याहार गर्नुहुन्छ । बच्चालाई खुवाउने काममा समेत सबैको सहयोग मिलेको छ । “मैले एक्लैले बच्चा स्याहार गर्न सम्भव छैन, बच्चालाई खुवाउने, खेलाउने, सरसफाइका काम परिवारका अन्य सदस्यले गर्नुहुन्छ”, सविना भन्नुहुन्छ, “बच्चाको मात्र होइन, घरको काममा पनि सघाउनुहुन्छ, जसले मलाई बच्चालाई स्तनपान गराउन समय मिल्छ ।” टीकापुरको बन्दीपुरकी खेमा खड्काले घरको काम गर्दा बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ । खेमाको घरमा बच्चालाई स्याहार्ने, खुवाउने र बच्चाको सरसफाइको काम सबै मिलेर गर्नुहुन्छ । “म भान्साको काम गर्छु, सरसफाइ, बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले मेरो बच्चा स्वस्थ छ ।” टीकापुरकै सञ्जना चौधरी र बन्दी चौधरी दुवै जनाको बच्चा अहिले नौ महिनाका छन् । उहाँहरूले बच्चालाई दाल, भात, जाउलोलगायतका खानेकुरा खुवाउनुहुन्छ । उहाँलाई पनि बच्चा स्याहारमा परिवारको साथ मिलेको छ । “बच्चालाई स्वास्थ्यकर्मीले सिकाएअनुसार मेरो दूधसँगै थप खानेकुरा खुवाउने गरेकी छु”, उहाँले भन्नुभयो, “मैले बच्चालाई बढी सयम दिनुपर्छ, बच्चालाई बढी समय दिँदा घरको काम अस्तव्यस्त हुन्छ । घरको काममा अन्य सदस्यले सघाउने गर्नुभएको छ ।” विजयनगरकी सरिता चौधरी र सुस्मिता चौधरीको घरमा समेत बच्चा सबै मिलेर स्याहार्छन् । परिवारका सबै मिलेर स्याहारेका कारण यी महिलाका बच्चा स्वस्थ छन् । “बच्चा स्याहारमात्र होइन, घरको काम, भान्साको काम, खेतबारीको काम सबै मिलेर गर्छौँ सुस्मिताले भन्नुभयो, “सबै मिलेर काम गरेमा बच्चा स्याहारका लागि समय मिल्छ । सबैले बच्चालाई प्राथमिकतामा राखेर काम गर्छौँ, जसले जे देख्यो त्यही काम गर्दा सजिलो भएको छ ।” बच्चा हुर्काउने समयमा महिलालाई बढी कामको बोझ थपिन्छ । यस्तो बेलामा परिवारको साथ महत्वपूर्ण हुन्छ । बच्चाको स्वास्थ्य र आमालाई बच्चाका लागि समय निकाल्न परिवारले सघाएमा बच्चा निरोगी र फुर्तिलो हुने भएकाले परिवार जिम्मेवार बन्नुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ । “छ महिनासम्म बच्चालाई आमाको दूधमात्र चुसाउनुपर्छ । त्यसपछि थप खानेकुरा खुवाउनुपर्छ । समय–समयमा बच्चालाई खानेकुरा खुवाउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले परिवारका सबै जिम्मेवार बन्नुपर्छ”, खरेल भन्नुहुन्छ, “परिवारका सदस्यले आमालाई बच्चा स्याहारका लागि समय मिलाउन अन्य काम आफूले गरिदिनुपर्छ । आमाका लागि पोषणयुक्त र झोलिलो खानेकुराको जोहोसमेत गरिदिनुपर्छ ।” अनमी खरेलका अनुसार दुई वर्षमुनिका बच्चालाई आमालाई तनावमुक्त वातावरणमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । “आमा तनावमा भएमा बच्चाको स्याहारमा असर पर्छ, दूध पनि आउँदैन”, उहाँ भन्नुहुन्छ, “बच्चा सानो हुँदा राम्ररी स्याहारेमा विभिन्न खालका रोग लाग्नबाट बचाउन सकिने र स्वस्थ हुने भएकाले बच्चाको स्याहारका लागि आमाको स्वास्थ्यबारे समेत ध्यान दिनुपर्छ ।” बालबालिका भविष्यका कर्णधार हुन् । चिकित्सकहरू बालबालिकाको दुई वर्षभित्र ८० प्रतिशत मानसिक विकास हुने भएकाले दुई वर्षसम्म राम्रो स्याहार हुनुपर्ने बताउँछन् । हजार दिनका बालबालिका रहेका आमालाई बच्चाको स्याहार, घरको काम धेरै हुन्छ यस्तो बेला बच्चा स्याहारमा परिवारको साथ महत्वपूर्ण हुने चिकित्सकको सुझाव छ ।
काठमाडौं: देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित हुँदा मनसुन केही कमजोर भएकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदलीका साथै देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
गोरखा नगरपालिका-८ स्थित नयाँबस्तीका २० वर्षीय अनिल आलेको हत्याका आरोपी सात प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतले आले हत्या आरोपका प्रतिवादीलाई कारागार चलान गर्न आदेश दिएपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो । कारागार चलान हुनेमा हत्याका आरोपी गोरखा -८ का २० वर्षीय शिशिर थापा, पालुङटार नगरपालिका-८ का १९ वर्षीय सचिनबाबु कोइराला, वडा नं २ का १९ वर्षीय सुलभ रानामगर रहेका छन् । त्यस्तै धार्चे गाउँपालिका वडा नं ५ का २३ वर्षीय सुरेश सुनार, बारपाक सुलिकोट गाउँपालिका-४ का २१ वर्षीय विष्णु विक, तनहुँ बन्दीपुर गाउँपालिका–६ का १९ वर्षीय प्रथम गुरुङ र दाङ गढवा गाउँपालिका-८ का ४२ वर्षीय नरेश बुढामगर पनि आलेलाई कारागार चलान गरिएको उहाँले बताउनुभयो । गत असार ३० गते बिहान गोरखा-८ मा पर्ने नयाँबस्ती टोलस्थित सडकखण्डमा नालीमा मृतावस्थामा भेटिएपछि प्रहरीले आलेको हत्या भएको आङ्शका उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानपछि उनीहरुमाथि कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेकामा अदालतले सबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान)को निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धी निलहरि बाँस्तोलाका नेतृत्वमा नयाँ समीकरण बनेको छ । निर्वाचनमा नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायी बाँस्तोलाको नेतृत्वमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायी सहकार्य गर्न तयार भएका हुन् । कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) र एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनबीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको हो । टानको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुवै सङ्गठन सहकार्य गरेर जाने सहमति भएको निटका अध्यक्ष दीपक महतले जानकारी दिनुभयो । यस्तै बाँस्तोला नेतृत्वमा एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठनले पनि सहकार्य गर्ने जनाइएको छ । अध्यक्ष महतले टान नेतृत्व चयनका लागि तीन सङ्गठनबीच सहकार्य गरेर जाने समझदारी बनेको जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनलाई पनि राष्ट्रिय सहमतिका साथ सहकार्य गरेर जान आह्वान गरिएको बताउनुभयो । उहाँले निर्वाचनमा सहकार्य गर्ने निर्णय भए पनि अध्यक्ष बाहेकका अन्य पदाधिकारी र सदस्यमा पद बाँडफाँटको पहल भइरहेको उल्लेख गर्नुभयो । टान निर्वाचनमा अध्यक्षका प्रत्यासी बाँस्तोलाले उम्मेदवारी घोषणा गरेर आफ्ना चुनावी एजेण्डासहित प्रचार–प्रसारलाई तीव्रता दिनुभएको छ । टानको अध्यक्ष पदका लागि बाँस्तोला, राजेन्द्रप्रसाद सापकोटा, कमल सापकोटा र बोधराज भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । यही साउन ३० गते हुने टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार आठ सय व्यवसायी आवद्ध छन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।” आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ । कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ । यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ । आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । घटस्थापनाको भोलिपल्ट असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति हुनेछ । असोज १९ गते विजयादशमी परेको छ । असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । समानुपातिकतर्फको कार्यक्रम स्वीकृत हुँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम स्वीकृत हुने क्रममा छ । समानुपातिक निर्वाचन प्रणालीका लागि आयोग परिसरमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । आयोगका अनुसार साउन ३० गते नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । निर्वाचन प्रयोजनका लागि साउन २२ गतेदेखि ३१ गतेसम्म दल दर्ता हुँदैछ । दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् । आगामी चुनावबाट प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभातर्फ ३३० जनप्रतिनिधि निर्वाचित हुनेछन् । समानुपातिकतर्फ ११० जना प्रतिनिधि सभा सदस्य तथा २२० जना प्रदेश सभा सदस्य निर्वाचित हुनेछन् ।
विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । आज मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । ती पालिकाले सोमबार अलग अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिनुभयो ।
गण्डकी: गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र शर्मा (कँडेल) ले पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुन नदिन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ। सराङ्कोटबाट प्याराग्लाइडिङ उडानकै क्रममा ‘टुरिजमपाना’ मासिक पत्रिकाको आज विमोचन गर्दै उहाँले पर्यटकीय सहर पोखरामा साहसिक पर्यटनमा धेरै आकर्षण रहेको र अधिकतम पर्यटक भित्र्याउन यसको संरक्षण जरुरी रहेको बताउनुभयो । पोखराको पर्यटन विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको उहाँले बताउनुभयो । मन्त्री शर्माले टुरिजमपाना पत्रिकाले नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महिला प्यारा पाइलट तृशा श्रेष्ठले मन्त्री शर्मालाई प्याराग्लाइडिङ गराउनुभएको थियो । पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने कुराले साहसिक खेल क्षेत्रमा निराशा छाएको भन्दै उहाँले विषय विज्ञसँग पर्याप्त छलफलपछि मात्रै यस विषयमा थप भन्न सकिने धारणा राख्नुभयो । पत्रिकाका प्रकाशक विष्णुकान्त घिमिरेका अनुसार नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै लुकेर रहेका गन्तव्य चिनाउने उद्देश्यका साथ टुरिजमपाना मासिक पत्रिका प्रकाशनमा आएको हो । पत्रिकाले पर्यटन क्षेत्रका फरक र नयाँ विषयवस्तुलाई पाठकसमक्ष ल्याउने उद्देश्य राखेको पत्रिकाका सम्पादक गीता चिमोरियाले बताउनुभयो ।
पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च द्वारा सदस्य सचिव घिसिङको सम्मानमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् । उनले भने–“म जुन कार्यक्रममा उपस्थित हुन्छु त्यहाँ सहयोग गर्छौं भन्ने कुरा सुन्छु मलाई सहयोगको खाँचो होइन सहकार्य गर्छौं भन्ने प्रतिवद्धताको खाँचो छ ।” खेलकुद विकासमा पोखरा आफ्नो दोश्रो घर हुने बताउँदै सदस्य सचिव घिसिङले पोखराको सामिप्यता र सहकार्य अत्यन्तै बलियो हुने भनाई अघि सार्दै उनले खेलकुद विकासका लागि आफूले इमान्दार प्रयत्न गर्ने उल्लेख गर्दै भने–“नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको योगदान महत्वपूर्ण छ । हामीले नयाँ युगको खेलकुदलाई उचाँईमा पुर्याउन अनुभुती हुने गरी काम गरौं सहयोग होइन सहकार्य गरौं ।” पर्खाल निर्माण गरेर पोखरा रंगशालाको संरक्षण गर्ने अभियानमा मञ्चले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले सहयोगीहरुलाई सम्मानका लागि निशुल्क कार्डको व्यवस्थापन गर्न सहयोग गर्ने बताए । उनले खेलकुद विकासका लागि गरिएको योगदानको देशभर सन्देश पुर्याउने समेत बताए । अग्रज खेलाडीहरुको विचमा आफूलाई पाउँदा निकै खुसी लागेको बताउँदै सदस्य सचिव घिसिङले पोखरेलीहरुलाई नवौं राष्ट्रिय खेलकुदमा आफ्नो अपनत्व संगै स्वामित्व प्राप्त हुने गरी वातावरण बनाउने प्रतिवद्धता जनाउँदै उनले नवौंका लागि आवश्यक बजेटको समेत व्यवस्था भई सकेको उल्लेख गरे । उनले पोखरा लगायत अन्य ठाउँमा हुने म्याराथनका रुटहरुको प्रमाणिकरण गर्न राखेपले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कोभिड १९ पछि समेत खेलकुद अझै गतिशिल हुन नसकेको धारणा अघि सार्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदले नेपाली खेलकुद विकासका लागि ‘आइस व्रेक’ गर्ने बताए । उनले नवौं सकिए लगतै नेपाली खेलाडीहरुलाई एक वर्ष भरी नै अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण संगै ऋंखलावद्ध अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुको आयोजना गर्ने तयारी परिषदले सुरुवात गर्ने उल्लेख गर्दै १४ औं साग, १९ औं एसियाली खेलकुद र पेरिस ओलम्पिकको तयारीमा जुट्ने बताए । “हामी अहिलेको तयारीबाट एसियाली र ओलम्पिकबाट धेरै आशावादी त छैनौ तर कम्तिमा पनि एक स्वर्ण पदक जित्नु पर्छ भन्ने सोंचका साथ खेलाडीलाई निरन्तर प्रशिक्षणमा जुटेका छौं ।” नेपाली खेलाडी ओलम्पिकमा सहभागिताका लागि मात्रै नभएर छनोट चरण पार गर्दै त्यहाँ सम्म पुग्ने र पदक समेत जित्ने गरी तयारी गरिरहेको उनले बताए । नेपाली खेलकुद विकासका लागि राष्ट्रिय खेलकुद निति आवश्यक रहेको कुरामा जोड दिंदै सदस्य सचिव घिसिङले भने–“हरेक पटक फेरिने सरकार र सदस्य सचिवले आफू बमोजिम ‘कस्मेटिक’ खेलकुद निति अवलम्वन गर्दा खेलकुद विकासबाट पटक–पटक चुकेको छ । यो परम्परालाई तोडिन आवश्यक छ । हामी हतार नगरी व्यापक छलफल चलाएर सबै नेपालीको साझा खेलकुद निति निर्माण गर्ने तयारी गर्नेछौं ।” सदस्य सचिव घिसिङले जुनियर, यूथ र विश्वविद्यालयस्तरमा खेलकुदको विकासका लागि राखेपले तयारी थाल्ने समेत बताए । “अहिले केही विद्यालय र विश्वविद्यालयस्तरमा प्रतियोगिताहरु सञ्चालन भए पनि ति आयोजनाका लागि मात्रै भएका छन्, अव त्यसो हुने छैन । खेलाडी उत्पादनको मुख्य थलो बन्ने गरी विद्यालय र विश्वविद्यालयहरुमा प्रतियोगिताहरु आयोजना हुनेछन्” उनले भने–“अव नेपाली खेलकुदले यूथ स्पोर्टस खेलको विकासका लागि अघि बढ्ने छ ।” उनले नेपाली खेलकुद विकासका लागि निजी क्षेत्रको साझेदारीमा समेत जोड दिए । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, सल्लाहकार जगन बहादुर गुरुङलगायतले नेपाली खेलकुद विकासमा अग्रज खेलाडीहरुको भूमिका र पोखरा म्याराथनका बारे सदस्य सचिव घिसिङलाई जानकारी गराएका थिए ।
पोखरा : बैंकिङ कसुर मुद्धामा प्रकाउ परेका दीक्षा पुनले आफ्नै परिवारलाई नक्कली जग्गाधनी (लालपुर्जा) दिएर ५० लाख बढी रकम लिएको बुझिएको छ । उनले २०७६ फागुन ५ गते बागलुङको ताराखोला गाउँपालिका १ का बहादुर पुनसँग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए । विवाह गरेपनि उनीहरुले वडामा २०७६ फागुन २७ गते मात्रै कानुनी रुपमा विवाह दर्ता गरेको स्रोत बताउँछ । स्रोतका अनुसार उनका पति बलबहादुर भारतीय सेनामा कार्यरत छन् । विवाहपछि दिक्षाले सुरुसुरुमा परिवारलाई राम्रै व्यवहार गर्दै आइन् । तर भित्री रुपमा भने ठगी गर्न बिस्तारै चाल चाल्दै आएको पक्राउ परिसकेपछि पुष्टी भएको छ । उनले त्यो समयमा आफु कार्यरत अस्पतालमा प्रमोसन भएको भन्दै परिवारलाई पोखरा बोलएर भोजसमेत खुवाएकी थिइन् । त्यतिन्जेल परिवारको दिक्षा नजरमा पोखरा ४ गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा कार्यरत एक सर्जरी डाक्टर थिइन् । तर त्यो अहिले आएर एकाएक गलत सावित भएको छ । भोज खुवाएर परिवारको विश्वास जितेकी उनले पोखरामा जग्गा किनेको भन्दै नक्कली लालपुर्जा परिवारलाई थमाइदिइ्न । र मोटो रकमको बार्गेनिङ गर्न थालिन् । सानो रकमबाट सुरु गरेकी उनले ५० देखि ६० लाख रकम मागिन् र विश्वाशकै भरमा उनलाई माग गरिएको रकम परिवारले व्यवस्था गरिदिएको बलबहादुरका आमाले एक टेलिभिजन अन्र्तर्वातामा बताएकी छिन् । सो रकम लिएपछि दिक्षा बिस्तारै परिवारको सम्पर्कबाट बाहिरिदै गइन् । त्यसपछि परिवारले दिक्षालाई संकाको घेरामा राख्दै खोजी गर्न थाल्यो । तर पत्ता लगाउन सकेनन् । त्यो समयमा उनको पति बलबहादुर भारतमा थिए । आफ्नै परिवारलाई ठगी गर्दै हिडेकी दिक्षाको मन ५० लाखमा मात्रै शान्त बनेन । त्यसपछि दिक्षाले अन्य व्यक्तिहरुलाई नजरमा पार्दै ठगी धन्दाको जालो फैलाइन् । र कुल बहादुुर विकलार्य ३ लाखको चेक थमाइन् र विकको नाममा ३ लाख रुपैयाँसहित काटिएको पोखरा फाइनान्स लिमिटेडकोे चेक बाउन्स भएपछि विकले कास्की प्रहरीलाई निवेदन दिएका थिए । निवेदन पश्चात फरार रहेकी दिक्षालाई कास्कीको अन्न्पूर्ण गाउँपालिका ८ विरेठाँटीको निगालोको झाडीमा लुक्दै गरेको अवस्थामा पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । पक्राउ परेपछि दिक्षाको सबै कर्तुत बाहिरिएको हो । डिएसपी तिवारीका अनुसार ठगीमा परेका अन्य पीडित समेत कास्की प्रहरीको सम्पर्कमा आएको बताए । ‘अन्य ठगिएका व्यक्तिहरु पनि सम्पर्कमा आउनुभएको छ । अहिलेसम्म जाहेरी दिनुभएको छैन । सायद छिटै दिनुहोला ।’ उनले पक्राउ परेका दिक्षा पुनको नागरिकता दुइवटा हुन सक्ने भन्दै थप अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए । ‘नागरिकता अनुसार २०५२ सालमा जन्मिएको पुष्टि हुन्छ, उनले भने, ‘हामीले दुइवटा नागरिकता छ कि भनेर अनुसन्धान गरिरहेका छौं । तर पुष्टि भैसकेको स्थिति छैन ।’ को बैँक खातामा पर्याप्त मौज्जाद रकम नरहेको जान्दाजान्दै उक्त चेक बाउन्स भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । लुकिरहेकी थिइन् दिक्षा जिल्ला प्रहरी कार्यालय कास्कीले बैँकिङ कसुर मुद्धामा फरार रहेकी दिक्षा पुनलाई प्रकाउ गरेको छ । बागलुुङको ताराखोला गाउँपालिका १ घर भइ हाल पोखरा महानगरपालिका २ मिरुवा बस्दै आएकी फरार अभियुक्त २७ वर्षिय दीक्षा पुनलाई अन्नपूर्ण गाउँपालिका ८ विरेठाटी (उनको माइत) बाट प्रकाउ गरेको हो । प्रहरीका अनुसार दिक्षाले पोखरा फाइनानसको ३ लाखको चेक कुल बहादुर विकलाई दिएका थिए । त्यसपछि बाउन्स भएपछि विकले जाहेरी दिएका थिए । जाहेरीको आधारमा प्रहरीले बैकिङ कसुर मुद्धा दर्ता पश्चात पक्राउ गर्न अनुमति लिएको थियो । जाहेरीपश्चात फरार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका ८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । पुनले विभिन्न व्यक्तिहरूलाई बेलायत पठाई दिन्छु भन्दै रकम ठगी गरेको गुनासो सामाजिक सञ्जालमा मार्फत आएको भन्दै कोही पीडित व्यक्तिहरु भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन समेत आग्रह गरेको छ । पुनलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

