२८ औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले भव्यताका साथ मनाउने भएको छ । संघले श्रावण २४ गते आ-आफ्नो जातिय मौलिक झाँकी सहित विशाल र्याली गर्ने समेत आयोजना गरेको छ । संघले पोखरामा पत्रकार सम्मेलन गरेर कोभिडका कारणले रोकिएको विगतको कार्यक्रमलाई निरन्तर दिँदै कार्यक्रम गर्न लागिएको जनाएको हो । कारोना महामारीका कारणले संघले दुई वर्षदेखि कार्यक्रम गरेको थिएन् l पहिचान, पहुँच, प्रतिनिधीत्वर समावेशीकरणको लागि आदिबासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देश व्यापी रूपमा कार्यक्रम गर्न लागेको कास्की जिल्ला अध्यक्ष मानेन्द्र कुमार मलिले बताए । चिप्लेढुंगाबाट सुरूभएको र्याली नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिबासी दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।
अरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उहाँका सन्तानको बिचल्ली भएको हो । परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उहाँले ज्याला मजदुरी गरी परिवारको गुजारा चलाउँदै आउनुभएको थियो । आय आर्जनका लागि गोला पोल्न जाँदा परियारलाई अरिङ्गालले टोकेको थियो । स्थानीय गोकुल श्रेष्ठका अनुसार अहिले उनको दुई छोरी र चार छोराको बिचल्ली भएको छ । “घरमा एक छाक पकाएर खाने अन्न छैन”, श्रेष्ठले भन्नुभयो । उनीहरु सबै १२ वर्षमुनिका बालबालिका रहेका छन् । परियारका दुई श्रीमती फूलमाया र नैनकलीको पनि कमाउने कोही नहुँदा बिचल्ली छ । स्थानीय पाङ युवा क्लबले परियार परिवारको सहयोगका लागि अभियान नै सञ्चालन गरेको अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । बालबालिकाले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा समेत नियमित पढ्न पाइरहेका छैनन् ।
पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो । ‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदान प्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा-१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा-१८, लगनशील बाख्रापालन कृषक समूह पोखरा-३२ र बेगनास बाख्रापालन समूह पोखरा-३१ छन् । अनुदानबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी कृषक लाभान्वित भएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । कार्यक्रममा मौजा हिल लाइभस्टक फार्म पोखरा–२० का कृषक दुर्गा बहादुर गुरुङलाई पोखराका विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रका रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेवापत ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मानबाट पुरस्कृत गरिएको थियो । यसैगरी पोखरा महानगरपालिकाभित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्ममा एक सय बढीको सङ्ख्यामा बाख्रा पालिएका छन् । कार्यक्रममा महानगर प्रमुख आचार्यले आगामी पाँच वर्षभित्रमा महानगरपालिकालाई तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताउनुभयो । कृषकलाई निर्वाह मुखीभन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उहाँले महानगर कृषकको साथमा रहेको विश्वास दिलाउनुभयो । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि शीतभण्डार सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
चितवनको भरतपुर-२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ । केराबारी मौरीपुल क्षेत्रमा पटक पटक पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाएका छन् । गत सोमबार यही स्थानमा पहिरो जाँदा यात्रुहरु झण्डै २४ घण्टासम्म जाममा परेका थिए । बुधबार पनि पहिरो गएर बाटो अवरुद्ध भएको थियो ।
कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिरोले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो । मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताउनुभयो । काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए । वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ । वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी-जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुने गरेको छ । बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ । म्याग्दी–काभ्रेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिरोले यात्रु जोखिममा पर्ने गरेका छन् । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम अत्यधिक छ ।
मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/०७९ मा महिलाको नाममा जग्गा पास गर्दा रु दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुई सय ४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधान अनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण र सहरी क्षेत्रका गरी दुई सय २३ दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास भएको छ । दलित तथा ज्येष्ठ नागरिकका नाममा लिखत पास गर्दा रु ११ लाख २१ हजार दुई सय ११ राजस्व छुट गरिएको उहाँले बताउनुभयो । त्यसैगरी मालपोत कार्यालय तनहुँले आर्थिक वर्ष २०७८/७९ मा कूल रु ४३ करोड २७ लाख ६८ हजार सात सय ४४ राजस्व सङ्कलन गरेको छ । कार्यालयले दिएको जानकारीअनुसार राजिनामा तर्फ रु २४ करोड ६५ लाख ४१ हजार नौ सय ५८, धितोतर्फ रु चार करोड ६१ लाख २५ हजार पाँच सय ३५, पुँजीगत लाभकर तर्फ रु १४ करोड एक लाख एक हजार दुई हजार ५१ राजस्व सङ्कलन गरेको सो कार्यालयले जनाएको छ । मालपोत कार्यालयबाट सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय पालिकामा पठाइने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले जानकारी दिनुभयो ।
२८ औं विश्व आदिवासी दिवस (९ अगष्ट) साउन २४ गते तमु धिं नेपालले यस वर्ष एसईई तमु विद्यार्थीहरुलाई बधाई एवम शैक्षिक अनुशिक्षण कार्यक्रम गरी मनाउने भएको छ। आदिवासी दिवसलाई सिर्जनात्मक ढंगले मनाउनुपर्छ भन्ने मान्यताका अनुसार तमु विद्यार्थीहरुलाई उच्च शिक्षातर्फ प्रोत्साहन र अभिभावकहरुलाई समेत शिक्षाको महत्वका बारेमा प्रशिक्षित गर्नु पर्ने आवाश्यक भएकाले तमु धिं नेपालले बधाई एवम् शैक्षिक मार्गनिर्देशन हुने गरी कार्यक्रम गर्ने भएको हो। अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई कार्य गर्न सन् १९९३ अगष्ट ९ देखि बाध्य बनाएको महत्वको दिवसमा चेतना अभिवृद्धि गर्ने शिक्षा सम्बन्धी कार्यक्रम गर्ने तमु धिं नेपालले जनाएको छ। “तमुहरुको शैक्षिक अवस्था र अबको शिक्षा” विषयक अनुशिक्षण कार्यक्रममा विद्यार्थीसँगै अभिभावकलाई समेत कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको बताइएको छ। शिक्षा नै विकास र अधिकारको मुल जड भएकाले आदिवासी जनजातिका लागि अत्यन्तै महत्व राख्ने विश्व आदिवासी दिवस नाचगान र र्यालीमा सिमिति नराखी ज्ञान, सिप आर्जन गर्ने पर्वको रुपमा अघि बढाउनुपर्ने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बतउनुभयो। तमुहरुलाई शैक्षिक जागरण एवम् प्रोत्साहनमुलक कार्यक्रममा युवा, विद्यार्थी र अभिभावकहरुलाई सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ।
सप्तरी: लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारीदिनुभयो । उहाँका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए । यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको बताउनुहुन्छ, व्यास नगरपालिका-४ का आशकुमार श्रेष्ठ । वि.सं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्नेमा उहाँ पहिलो नै व्यक्ति हुनुहुन्छ । अन्य महिनामा बीस/पच्चीस जना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुर्ई/तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उहाँको भनाइ छ । पहिला पहिला बिहानदेखि रातिसम्म ८/९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा अहिले मुस्किलले दुई जना छन् । सञ्चालन श्रेष्ठ भन्नुहुन्छ, “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।”पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ । पछिल्लो समयमा गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन् ।

