राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

  पोखरा ।  गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गरेका हुन् ।   उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गरे । उनले भने,‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’   मिडियाको क्षेत्रमा टिकिरहन सजिलो नभएपनि निखारिएका व्यक्तिहरु पब्लिक टिभीसँग जोडिएकाले आफ्नो कर्ममा सफल हुने मन्त्री थापाको भनाइ थियो । उनले समाजमा लुकेर रहेका विषयको उजागर गर्न शुुभकामना दिए । ‘यसले पोखरामा एउटा उत्कृष्ट मिडियाको पहिचान बनाउन सकोस्,’ उनले भने, ‘समाजमा देखिएका, नदेखिएका विकृति, विसंगतिलाई उजागर गर्न र जनताहरुको आवाज बोल्न सक्ने बनोस् ।’    टिभीका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा अवस्थामा पछिल्लो  प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको बताए । मिडिया क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका अनुुभवी जनशक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए । ‘यस टेलिभिजन समाचार, मनोरञ्जनको माध्यममात्रै नभई सूचना सम्प्रेषण, जनता र सरकारबीच पुलको काम गर्ने र आवाजविहीनको आवाज बोल्ने वाहकको रुपमा यसलाई विकास गर्नेछौंं,’ उनले भने ।   टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षौ अघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताए । उनले बार्दली मिडियाले ५ वर्ष अघिबाटै टिभीका लागि योजना बनाइरहेको सुनाए । उनले भने, ‘यसलाई हामी आजको आवश्यकता बमोजिम कन्टेन्टबेस बनाएर अघि बढ्छौं ।’ निकट भविश्यमा अनलाइन पोर्टल पनि सुरु गर्ने र टिभीलाई अहिलेका सबै सामाजिक सञ्जाल एक साथ हेर्न मिल्ने बनाइने क्षेत्रीले बताए ।    नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भएपनि पब्लिकले केन्द्रीय स्तरको परिचय दिने र आफैं केन्द्र हुने शुभेच्छा प्रकट गरे । पब्लिक टिभीका समाचार प्रमुख अमृत सुवेदीले मिडियाको संख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।    

  पोखरा  ।  आइतबार साँझदेखि परेको भारी वर्षाका कारण आएको भलले सडक बिग्रिएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयले जनप्रतिनिधिलाई समस्या राखेकोमा केही बेरमै समस्याको सम्बोधन भएको छ।   पोखरा महानगरपालिका वडा नं –१५ राम बजार स्थित पानीको पाइप बिछ्याइएको सडक रातभरको भलले खोलेर सडकमै खाल्डो परेकोमा वडाका जनप्रतिनिधि आफै श्रमदानमा जुटेका हुन्।   खाल्डोका कारण सडक दुर्घटना हुनसक्ने तथा आवागमनमा समस्या हुने देखिएपछि सोमबार बिहानै स्थानीयले जनप्रतिनिधि अध्यक्ष तोरण बहादुर बानियाँ र सदस्य आशिष भण्डारीलाई समस्या सुनाएकोमा समस्या राखेको केही समयमै उनीहरू ग्राभेलसहित आफै खाल्डो पुर्न अघि सरेका हुन्।   वडावासीको समस्यामा जनप्रतिनिधिले तत्काल चासो दिएरआफै अग्रसर भएपछि राम बजारका स्थानीयवासी  नीरज थापाले सामाजिक सञ्जालमा प्रशंसा गर्दै सकारात्मक सोचाइ भएको नेतृत्वको संज्ञा दिएका छन्।    अध्यक्ष बानियाँ र सदस्य आशिष भण्डारी हालैको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू हुन्।

  पोखरा ।  युनानको वाणिज्य र कुन्मिङ नगरको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेको छ ।    नेपाल चीन दौत्य सम्बन्ध स्थापनाको ६७ औं वर्षका अवसरमा प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटमा पोखरा र युनानको कुन्मिङ सहर बिच भविष्यमा कसरी हातेमालो गरेर अगाडी बढ्न सकिन्छ भन्नेमा छलफल केन्द्रित थियो ।   लिङचेन हु नेतृत्वको  ५ सदस्यिय प्रतिनिधि मण्डलसँग भगिनी सम्बन्ध कायम भएका विभिन्न सहरको थिम पार्क र त्यो पार्कमा ती सहरहरूको पहिचान झल्किने गरी कर्नर निर्माण गर्ने विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । थिम पार्कको निर्माणले पोखरामा चिनियाँ पर्यटकहरूको आकर्षण बढ्ने विश्वास प्रमुख आचार्यको छ ।  थिम पार्क निर्माणका लागि चिनियाँ टोलीले पोखरामा रहेका पार्कहरुको अध्ययन गरिरहेको छ ।   लिङचेन हु नेतृत्वको चीनको प्रतिनिधि मण्डलले ५० लाख बराबरको स्वास्थ्य लगायतका सामाग्रीहरू पोखरालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । सो क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङसम्म सिधा उडानका लागि पहल गर्ने विषयमा समेत छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । यस विषयमा लिङचेन हु नेतृत्वको चीनको टोलीले सकारात्मक प्रतिक्रिया दिएको छ ।    सो क्रममा युनानको वाणिज्य प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख आचार्यलाई सफल कार्यकालको शुभकामना सहित बधाई समेत ज्ञापन गरेको छ । टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी बहादुर भट्टराई पनि सहभागी हुनुहुन्थ्यो ।   पोखरा महानगरपालिकाले चीनको कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यस बाहेक जापानको कोमागाने, टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

  पोखरा ।  पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बरालले डुबानमा परेको कमलपोखरीका बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् ।  उनले बिस्तारै पानीको सतह कम भएको बताउदै स्थानीयलाई नआत्तिन आग्रह गरेका हुन् ।    करिब सय बढि घर डुबानमा परेपछि स्थानीयको दैनिकीमा प्रभाव परेको बताउँदै निकासको लागि पहल गरिरहेको उनले बताए । ‘हामीले निरन्तर जाली सफा गरिरहेका छौ, उनले सुनगाभा न्यूजसँग भने,  ‘अहिले पानीको सतह केही कम भएको छ । आत्तिनु पर्ने कुनै अवस्था छैन ।’     सो क्षेत्र डुबानमा परेपछि संभावित जोखिम न्यूनिकरण गर्न बराल नेतृत्वको टोलीले स्थलगत अवलोकन गर्दै आएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।    वडाध्यक्ष बरालका अनुसार सो क्षेत्र बर्षेनी डुबानमा पर्दै आएको छ । बर्षेनी डुबानमा परेपनि सो सिमसार क्षेत्रमा नयाँ घर भने धमाधम निर्माण हुदैं आएको छ । सरोकारवाला तथा सरकारी निकायले उक्त क्षेत्रलाई डुबानबाट जोगाउन आवश्यक संरचनाहरु निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ ।

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मेवारी सम्हालेपछि प्रहरी उपरीक्षक अजय केसीले ३ प्रमुख मिसन अघि सारेका छन् ।   सोमबार पदवहाली गरेका केसीले सुनगाभा न्यूजसँग बोल्दै शान्तिसुरक्षा तथा लागुऔषध नियन्त्रण, निर्वाचन र प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए ।   ‘म मुलभुत ३ मिसनका साथ यहाँ आएको छु, उनले भने, ‘शान्ति, सुव्यवस्था र अमनचयन, नेपाल प्रहरीको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । शान्तिपूर्वक बाँच्न पाउँने संवैधानिक अधिकारको नेपाल प्रहरी रक्षा गर्छ । र म त्यसैको पक्षमा उभिएर अझ चुस्तदुरुस्त काम गर्ने संकल्प गरेको छु ।’    मिसनको पहिलो नम्बरमा शान्तिसुरक्षाको व्यवस्थापनलाई राखेका केसीले दोस्रो नम्बरमा लागुऔषधलाई राखेका छन् । ‘पहिलो नम्बरमा नेपाल प्रहरीको काम र कर्तव्यको रुपमा शान्तिसुरक्षा तथा अमनचयन पर्छ । त्यसपछि दोस्रो नम्बरमा अलि विकृतिको रुपमा देखिएको लागुऔषध (ड्रग्स)लाई निर्मुल नै पार्ने एउटा संकल्प लिएको छु भने नम्बर तीनमा चाँही अब निर्वाचन आउँदैछ । त्यसलाई मध्यनजर गरेर मजबुद सुरक्षा मिलाउने छु ।’ उनले भने ।   एसपी केसीले वर्षाको समयमा भैपरी आउने बाढी तथा पहिरोको वितण्डालाई मध्यनजर गरेर कार्ययोजना बनाएको सुनाए । ‘अहिले वर्षाको समय छ । हामी २४ सैं घण्टा अलर्ट छौं र स्थानीय सरकारका प्रमुख, वडाध्यक्षहरु तथा स्थानीयसँग समन्वय गरेर उहाँहरुलाई थप जिम्मेवारी बनाएका छौं, उनले भने, ‘हामीले क्विक रेस्पोन्स त गरेका छौं नै तरपनि भवितब्य परेको खण्डमा छिटै उद्धार गर्न सकिने गरि व्यवस्थापनमा लागेको छु ।’   सोमबार मात्रै कास्की प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक केसी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौंमा थिए ।    एसपी केसी भन्दापहिले कास्की प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक रमेश थापाले कमाण्ड सम्हालेका थिए ।  एसपी थापा हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रशासन शाखा, महाराजगंज काठमाडौं सरुवा भएका छन् ।  

काठमाडौं।   आइतबार दिउँसो देखि निरन्तर परेको वर्षाले छ स्थान खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङकनुसार  पोखरा, वर्दाघाट, दमक, लामपाटन, शक्तिखोर र सुनसरीको तरहरा क्षेत्रमा पानीको सतह बढेसँगे खतराको तह पार गरेको छ ।   यो समाचार तयार पार्ने समयसम्म पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३३१ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ । २४ घण्टामा कास्कीमा २७२ मिलिमिटर र चितवनको शक्तिखोरमा १९५ मिलिमिटर पानी परेको छ ।  विभागले २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।   विभागले सोमबार विहानै देखि देशैभर वर्षा हुने जनाएको छ । भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले उक्त क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बाढी हुन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

पोखरा: पोखरामा पहिलोपटक पोखरा युनाइटेड एकेडेमीले नयाँ विषयकारुपमा ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ ।   एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यवसायिक विषयलाई प्राथमिकता दिए अनुसार एकेडेमीले  ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ्ग’लाई ऐच्छिक विषयमा समावेश गरेको जानकारी दिए ।     विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टपछि एकेडेमीले पाठ्यक्रममा नयाँ विषय थपेको हो । निर्देशक सापकोटाका अनुसार यस विषय अध्ययन गर्न ४० देखि ५० हजार रुपैयाँ शूल्क लाग्नेछ ।   नयाँ विषयबारे जानकारी दिन आयोजित कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यवसायिक शिक्षा अन्तर्गत रोजगारको प्रशस्त संभावना बोकेको सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ समयको माग भएको उल्लेख गरिन् । २०७१ साल देखि ऐच्छिक विषयको रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको श्रेष्ठको धारणा छ ।    ३ दशक बढी सौन्दर्य क्षेत्रमै कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिना गुरुङले ढिलै भएपनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेहरुका लागि अवसरका ढोका खुलेको बताएकी छिन् । सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनु पर्छ भनेर निकै पहिले देखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको गुरुङले बताइन् ।    एकेडेमिका प्राचार्य  बैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्न सक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सिपमुलक विषयलाई थप गरेको जानकारी दिए । शिक्षासँग सिप, आत्मनिर्भरताका यी विषयहरुको अध्ययन पश्चात् स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न तथा विदेशमा पनि सजिलै रोजगार प्राप्त गर्न सकिने उनले जनाए ।    एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताएका छन् ।    एकेडेमीका अनुसार नेपाल सरकारको बोर्डबाट एसइइ उत्तीर्ण विद्यार्थिले उक्त कोर्ष अध्ययन गर्न सक्नेछन् ।  

भारी वर्षाका कारण पोखरा महानगर-१३ कमलपोखरीमा १०० घर डुबानमा परेका छन् ।   आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर-१३, कमलपोखरी क्षेत्रमा १०० घरहरु डुबानमा परेको छ ।  वडा अध्यक्ष बरालले भने आइतबार साँझदेखि निरन्तर वर्षापछि डुबानमा परेको स्थानमा रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिडिरहेको छु ।    ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँ खोलाबाट आएको पानीले डुबान पारेको हो ।’   पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको छ । पोखरा-१३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ  ।   गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो,  एक जना घाइते भएका छन ।    कास्कीको  माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले  उपचारको क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएको र उनकी १० वर्षीया छोरी सिम्रन सुनारको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  । घाइते सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।   पहिरोको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक डिएसपी सुन्दर तिवारीको कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका इन्सपेक्टर उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।