पोखरा : गुल्मीका बिरामीलाई मगर संसार ग्रुपले आर्थिक सहयोग हस्तातरण गरेको छ । मगर संसार ग्रुपले गुुल्मीका टि.बी. ( क्षयरोग)का बिरामी स्मृति पुलामी मगरलाई ७१ हजार ९ सय ६८ रुपैयाँ आर्थिक सहयोग हस्तातरण गरेको हो । रोजगारीको शिलशिलामा विभिन्न देश तथा स्वदेशमा रहेका नेपालीहरुबाट मगर संसार ग्रुपले सहयोग अभियान संचालन गरेर संकलन भएको रकम बिरामी मगरलाई हस्तातरण गरेको ग्रुपका अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिए । बिरामी मगरको अहिले काठमाडौँमा उपचार भइरहेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका ८ वर्षिय स्मृति पुलामीको उपचारमा आर्थिक अभाव भएपछि ग्रुपले सहयोग अभियान संचालन गरेको थियो । ग्रुपले उपचारमा आर्थिक अभाव भएकाहरुलाई सहयोग अभियानसँगै विभिन्न अनलाइन प्रतियोगिताहरुसमेत संचालन गर्दै आएको छ ।
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले अबको केही दिनभित्र कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। केही प्राविधिक काम बाँकी रहेकाले परीक्षाफल प्रकाशित गर्न केही दिन लाग्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्। १५ भदौसम्म प्रकाशित गर्ने तयारी भए पनि केही दिन तलमाथि हुन सक्ने भन्दै उनले आज नतिजा सार्वजनिक नहुने स्पष्ट पारे। ‘टेक्निकल्ली हामीले १५ गतेभित्र गर्छौँ भनेका हौँ। एक–दुई दिन तलमाथि हुन सक्छ। तर, आज हुँदैन,’ उनले भने । यसअघि बोर्डका एक सदस्यले आज साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताएका थिए। तर, आज हरितालिका तिजका कारण बोर्डका महिला सदस्य बैठकमा उपस्थित हुन नसक्ने भएपछि आज परीक्षाफल प्रकाशित नगरिएको बुझिएको छ।
मनाङ : हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुनसकेको छैन । हालसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडिएको देख्न सकिन्छ । नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन छ । उक्त पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले जनाएको छ । धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत उक्त पुल अलपत्र अवस्थामा रहेको हो । समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनाका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यतामा रहेको स्थानीयवासीले गुनासो गरे । ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गर्दा समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो । “तिल्चेका बासिन्दा सानो सामग्री लिनका लागि पनि धारापानी पुग्नुपर्छ । कहीँकतै सडक बिग्रिए पनि जेसिबी ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ । पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौँ तर पनि अहिलेसम्म बनाउने चासो नै देखाउँदैन ठेकेदारले”, उहाँले भन्नुभयो, “यहाँका बासिन्दाले लमजुङ बेँसीसहरबाट रु १० मा एक किलोग्राम किनेको सामान गाउँमा पुर्याउन फेरि रु १० भाडा तिर्नुपर्ने हुन्छ ।” दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुनसकेका छैनन् । मस्र्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले विसं २०७३ कै असारमा अर्को ठेक्का लगायो । उक्त पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो । विसं २०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित रु चार करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल हालसम्म पनि बन्न सकेको छैन । समयमा निर्माणको काम सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो तर कामको प्रगति हुन भने सकेन । तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा छवटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो । लमजुङ र म्यार्दी खोलाको निर्माण भएर सवारीसाधन सञ्चालन भएको छ तर अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा नै छन् । विसं २०७४ असार ८ मा रु दुई करोड २६ लाखको लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा गत वर्षको बाढीले बगायो । विसं २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि हालसम्म यसको म्यादसमेत थप भएको छैन । उक्त पुलका लागि रु तीन करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न विसं २०७४ जेठमा सम्झौता भएको थियो । त्यस्तै विसं २०७४ पुस २६ मा सम्झौता भएको मुङ्जी खोलामाथिको पुल निर्माणको म्याद दुई वर्ष थपिएको थियो । रु नौ करोडको लागतमा निर्माण गरिने पुल बल्ल सुरु भएको छ । मनाङको विकास निर्माणको काम गर्न भौगोलिक समस्याका कारण काम गर्न नसकेको कम्पनीले जनाउँदै आएको छ । आफूहरुले काम गर्न छाडेको भन्दा पनि मौसम प्रतिकूलताले गर्दा काम गर्न नसकिएको कम्पनीका प्रतिनिधि सोम गौचनले बताउनुभयो । “कहिले बाढी, कहिले हिउँ त, कहिले कोरोनाको समस्याले पनि निर्माणको काम ढिलो भएको हो । हिउँदमा हिउँले काम गर्न सकिदैन । वर्षामा बाटो राम्रो हुँदैन । अब चालु वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेका छौं,” उहाँले भन्नुभयो । तात्कालीन जिविसबाट ठेक्का लगाएर बजेट समेत निकासा भइसकेका मनाङका आधा दर्जनभन्दा बढी पुल आठ वर्ष हुँदासम्म निर्माण हुन सकेका छैनन् । ठेकेदार कम्पनीले ठेक्का मात्रै ओगटेर काम नगरेपछि सबैजसो निर्माणको काम हुन नसक्दा समस्या भएको स्थानीयवासीको गुनासो थियो । ठेकेदार कम्पनीले समयमा काम गर्न नगरिदिदा मुख्य सडकमा नै कतै काठको पुल बनाएर सवारी साधन सञ्चालन भएका छन् भने कतै खोलाबाट नै तर्न बाध्य भएका छन् । पुरानै ठेक्कामा अल्झाइरहेको क्याराभानलाई नै पछिल्लो समय घोप्टेखोलाको बेलीब्रिज पुल निर्माणको काम दिइएको छ तर तोकिएको समयभन्दा केही ढिला गरी निर्माण सम्पन्न भएको छ । निरन्तरको प्रयास पछि बल्ल निर्माण कम्पनी सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । सम्पर्कमा आएर बाँकी पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको उहाँले बताउनुभयो । “लामो समयदेखि काम नगरी सम्पर्कविहीन रहेको निर्माण कम्पनीको गुनासो आइरहन्थ्यो । हामी फिल्डमा जाँदासमेत काम हुने अवस्था नदेखिएपछि कम्पनीका प्रतिनिधिलाई बोलायौँ”, प्रजिअ आचार्यले भन्नुभयो, “भदौ २५ गतेभित्र सामग्री र कामदार ल्याउने तथा तुरुन्तै काम थाल्ने सहमति भएको छ । अब काम हुने अपेक्षा गरिएको छ । सहमतिअनुसार काम भएन भने कानुनबमोजिम कारबाही अगाडि बढ्नेछौँ ।” ठेकेदार कम्पनीले काम नगरेपछि मनाङवासीले पटक–पटक सम्बन्धित निकायमा उजुरीसमेत दिँदै आए पनि कसैको चासो नपुगेको उनीहरूको गुनासो थियो । ठेक्का लागिसकेको स्थानमा पुल निर्माण नहुँदा गत हिउँदमा स्थानीयवासीले एकजुट भएर काठको पुल निर्माण गरी सहज बनाएका छन् । मनाङको यात्रा काठे पुलकै भरमा यात्रा हुने भएकाले जोखिम बढिरहेको छ । डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा २१ वटा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिए पनि बजेट भने विनियोजन भएको छैन ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरु कर्मचारीलाई पक्राउ गरिएकामा विरोध गरेका छन् । उनीहरूले कर्तव्य पालनाकै क्रममा कर्मचारीलाई प्रशासनले निगरानीमा लिएको भन्दै नेपाल वन प्राविधिक सङ्घ, फेरेष्ट टेक्निसियन इसोसियसन अफ नेपाल तथा जुनियर वन प्राविधिक सङ्घले सो मृत्युपछि जारी अनुसन्धानको विषयलाई लिएर विरोध गरेका हुन् । ती सङ्गठनले विज्ञप्ति प्रकाशन गर्दै कर्तव्य पालनाको सिलसिलामा प्रशासनले निगरानीमा लिएका सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वनरक्षक पिउषराज तिवारी तथा सुरेन्द्र रानालाई कार्यक्षेत्रमा अविलम्ब फिर्ता पठाउन माग गरेका छन् । वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ पर्नुभएका ५८ वर्षीय लामिछानेले आत्महत्या गरेको विभिन्न तथ्य र प्रमाण बाहिर आएका र यसका लागि अनुसन्धानका लागि भन्दै निर्दोष कर्मचारी पक्राउ गर्नु गलत भएको भन्दै पक्राउ परेका कर्मचारीलाई तत्काल रिहा गरी कार्यक्षेत्रमा फिर्ता पठाउन नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष गायत्री कार्कीले माग गर्नुभयो । –––
नेपाल राष्ट्र बैंकले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै २६ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ । सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने उनले बताए । २० भदौपछि मात्रै कहाँ(कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवशयकता अनुसार राष्ट्र बैंकको प्रदेश स्थिति कार्यालयबाट पनि नयाँ नोट साट्न सकिने उनले बताए । प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने उनले बताए । ‘राष्ट्र बैंक्सँग साना दरका १० अर्ब भन्दा बढी नयाँ नोट मौज्दात छ, भने केही छपाई भएर आउने क्रममा छ,’ उनले भने, ‘गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको यो वर्ष केही कम माग हुन्छ भन्ने अनुमान छ, सोही अनुसार हामीले तयारी गरेका छौं ।’
हल्ट प्राइज पोखरा बिस्वविद्यालयको २०२२/२०२३ को क्याम्पस डायरेक्टरको रूपमा सूरज राज केशरी चयन भएका छ्न्। हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ ।यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलता समेत पैदा गर्ने भएको हुँदा यसको महत्व छ र आफ्नो कार्यकालमा यस पर्तियोगितालाइ थप नया आयाम दिने उनले बताए। विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् । गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरीले नेतृत्व गर्दैछन् ।
अन्नपूर्ण । पोखरा घुमेर फर्किने आन्तरिक पर्यटकले कोशेलीका रुपमा टुसा लैजान थालेका छन् । कास्कीका उच्च पहाडि भू–भागमा पाइने टुसा विशेषत असार, साउन र भदौमा पलाउने भएपनि बजारमा साउनको समयमा यसको उल्लेख्यरुपमा व्यापार हुने गरेको छ । विभिन्न औषधीय गुणसमेत पाइने टुसाको तरकारी विशेष रोजाइमा पर्ने गर्दछ । अन्नपूर्ण आधार शिविर र मर्दि आदि क्षेत्रको पदयात्रामा जानेलाई त्यहाँका स्थानीयले टुसाको तरकारी खुवाउने गर्दछन् । जिल्लाका अधिकांश टुसा पाइने स्थानहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत पर्दछन् । एक्यापले टुसा पाइने क्षेत्रको संरक्षणसँगै प्रत्येक याममा सर्वसाधारणलाई टुसा काट्नका साउन महिनाभर खुल्ला गर्ने गर्दछ । असार, साउन र भदौ टुसा पलाउने मुख्य याम भए पनि असार र भदौ नै टुसालाई बढ्न दिने प्रचलन छ । प्रत्येक वर्ष साउन महिनाभर टुसा काट्न खुलाउने र भदौ १ गतेबाट रोक्ने गरिएकोमा यस वर्ष पनि एक्यापले टुसा काट्न रोक लगाएको छ । जिल्लाको विभिन्न क्षेत्रबाट निर्यात हुने टुसा भदौ लागेसँगै रोक लगाइएको एक्याप,ल्वाङका पर्यटन सहायक शिव देवकोटाले जानकारी दिनुभयो । एक्यापले साउन १ गतेदेखि टुसा काट्नका लागि अनुमति दिएको थियो । टुसाका लागि प्रख्यात जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १, २, ८ र ९ बाट दुई/दुई लाखको दरले छ लाख टुसा बिक्री गर्न अनुमति दिएको उहाँले जानकारी दिनुभयो । योसँगै बजारमा टुसाको व्यापारमा कमी आउने उहाँको भनाइ थियो । साउनको अन्त्यसँगै टुसा काट्न बन्द गरिएको स्थानीय टुसा व्यावसायी राजकुमार गुरुङले जानकारी दिनुभयो । बजारमा माग बढेपनि एक्यापको नियममा रहेर बन्द गरेको उहाँको भनाइ थियो । यस वर्ष टुसाको उत्पादन बढेकाले स्थानीयको आयस्रोतमा टेवा पुगेको उहाँले सुनाउनुभयो । टुसा काट्ने र बोक्नेलगायत कार्यमा स्थानीयले नै रोजगारी पाएका छन् । यस वर्षपनि आफूहरुले टुसा सङ्कलनका लागि अनुमति पाएपछि स्थानीय धेरैले रोजगारी पाएको व्यावसायी गुरुङले जानकारी दिनुभयो । यसरी सङ्कलन गरिएको टुसा बजारसम्म आउँदा रु ६० देखि ८० सम्म पर्ने गरेको छ । “कृषकहरुले सङ्कलन गरेको टुसा हामीले बजारमा रु ३५ देखि ५० प्रति मूठा दिन्छौं”, उहाँले भन्नुभयो, “बजारमा पुग्दा रु ८० सम्ममा बेचेको थाहा पाएको छु, जे भएपनि यसले राम्रै बजार पाएको छ ।” आफूहरूले तोकेको समय सीमाभन्दा अघि÷पछि वा अन्य ठाउँबाट टुसा कसैले बिक्री वितरण गरे कारबाही हुने पर्यटन सहायक देवकोटाले जनकारी दिनुभयो । साउनको महिनामा माछा मासु कम खाने प्रचलन रहेको र टुसाको उत्पादन पनि बढी हुने भएकाले यस समयमा आफूहरूले टुसा बिक्रीका लागि समय खुला गरेको उहाँको भनाइ छ । “टुसा उम्रने उपयुक्त समय असार, साउन र भदौलाई मानिन्छ”, उहाँले भन्नुभयो, “असार र भदौको टुसालाई हुर्कन दिएर साउनमा उम्रने टुसालाई हामीले तरकारीका रुपमा प्रयोग गर्न बाटो खोल्ने गरेका छौं ।” एक्यापले अनुमति नदिएको समयमा टुसाको चोरी निकासी गर्नेलाई कारबाही गरिने उहाँले बताउनुभयोे । टुसाको व्यापार व्यावसाय नगर्न सूचना जारी गरिसकेपछि यो समयमा कसैले अवैध बाटोबाट टुसाको व्यापार गरेको थाहा पाएमा नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागमा कारबाहीका लागि पठाइने छ । पर्यावरण जोगाउन पनि निगालोको संरक्षण गर्नु आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङले जानकारी दिनुभयो । कलिलो टुसा जङ्गली जनावर भालुको खाना भएकाले पनि अझै महत्व रहेको छ । यसैगरी निगालोको चोयाँबाट बन्ने डोको, भकारी, डालोलगायत सामाग्री स्थानीयको आयस्रोतको बाटो भएकाले पनि संरक्षणमा टुसा संरक्षणमा जोड दिइएको गुरुङले जानकारी दिनुभयो । पछिल्लो समयमा कलिलो टुसा तरकारीका रुपमा परिचित भएकाले चोरी निकासी बढ्न थालेसँगै यसको व्यवस्थापनका लागि एक्यापले वैधरुपमै रकम बोलकबोलका आधारमा टुसाको व्यापार गर्न दिने गर्छ । हरेक वर्ष कास्कीको माछापुच्छ«े क्षेत्रमा छ लाख टुसा बिक्री हुने गुरुङले जानकारी दिनुभयो । “हामीले वर्षमा एउटा महिना टुसा काट्न स्थानीयका लागि बैधानिकता दिंदै आएका छौं”, उहाँले भन्नुभयो, “साढे एक लाखदेखि साढे दुई लाखसम्म बोलकबोल राख्छौं, त्यसमा जसले सबैभन्दा बढि रकम तिर्छ उसैले एक महिनासम्म टुसा काट्न पाउँछ ।” अनुमति पाएको व्याक्तिले स्थानीय सरकारलाई कर तिरेपछि टुसा सङ्कलनका लागि एक्यापले अनुमति दिन्छ । बोलकबोलबाट आएको रकम २० प्रतिशत वडा कार्यालयलाई दिने गर्छ । ७५ प्रतिशत रकम वडा अन्तर्गतनै बाटो, खानेपानीलगायत विकास निर्माणमा खर्च गर्दै आएको छ । भने बाँकी ५ प्रतिशत रकम संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ । त्यो रकम एक्याप क्षेत्र भित्र जनावरका अन्य कारण हुने घटना दुर्घटनामा राहत दिने गुरुङले जानकारी दिनुभयो । कास्कीको ल्वाङ, घलेल, भुर्जुङखोला, सिक्लेस, ताङतिङ, याङजाकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्लेलगायत क्षेत्रबाट टुसा निकासी हुन्छ । देशका विभिन्न स्थानबाट पोखरा आउने जो कोहीले यहाँको कोशेलीका रुपमा टुसा किनेर जान थालेसँगै यसको माग वर्षेनी बढ्दो क्रममा रहेको व्यवसायीहरू बताउँछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ। सोमबार बैठक गरेर परिषदले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको हो। मन्त्रालयले यही भदौ १२ गते परिषदलाई वार्तामा आउन आग्रह गरेको थियो। भदौ १२ देखि परिषदले देशैभरका सामुदायिक विद्यालयमा तालाबन्दी गर्दै पठनपाठन हुन दिएको थिएन। परिषदले बन्दका कार्यक्रम स्थगित गरेपछि आजदेखि विद्यालयमा पुनस् पढाइ सञ्चालन हुनेछन्। विद्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विद्यालय कर्मचारीले पारिश्रमिक वृद्धिलगायत विभिन्न सेवा सुविधाका माग राखेर भदौ १ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका छन्।
लेखनाथ : रोजगारीकै लागि खाडी मुलुकमा नपुगेका होइनन् उनी । परिवार पाल्नकै लागि दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । उनीसँग बास बाहेक गरी खाने एक टुक्रा पनि जमिन छैन । चार वर्षकै उमेर छँदा उनका बुबाको मृत्यु भयो । परिवार पाल्ने मूल व्यक्तिकै मृत्युले उनको परिवारमा विचलन मात्र आएन दैनिकी समेत कष्टपूर्ण बन्यो । चार वर्षमा टुहुरो बनेका प्रकाशलाई उनकी आमाले गाउँघरमा खेतालो गएर ल्याएको ज्यालाले हुर्काइन् । आमाको दुःख, कष्ट उनले सानै उमेरमा देख्दै र भोग्दै आए । आमाको दुःख बाँड्नु पर्छ भन्ने सोच उनीमा आयो । पोखरा–२६ लेखनाथ स्थित सिलिङ्गे निवासी ४२ वर्षीय प्रकाश विश्वकर्मा बिहान बेलुका हातमुख जोर्न १२ वर्षकै उमेरमा गाउँलेको हलो मात्रै जोतेनन् उनले पोखरा नदिपुरको एक भाँडा पसलेकहाँ तामाका भाँडा बनाउने कामसमेत गरे । तामाका भाँडा बनाउँदाको पैसाले नपुगेर विदेशमा बढी कमाइन्छ कि भनेर उनी तामाका भाँडा बनाउँदा बनाउँदै विदेश हानिए । दुई कक्षासम्म अध्ययन गरेका प्रकाशले पछिल्ला दश वर्ष त खाडी मुलुकमै पसिना बगाए । विदेशमा पाउने मासिक ३० हजार रुपैयाँले परिवार पालिने काम मात्र भएपछि उनले सोचविचार गरे ‘सीप भएको मानिस किन बिदेशमा बसिराख्नु यति पैसा त नेपालमै कमाइन्छ’ । परिवारसँग पनि सँगै बस्न पाइने भन्दै नेपाल फर्के उनी । पत्नी, एक छोरा र एक छोरी भएका प्रकाशले एक वर्षयता घर नजिकै लेखनाथको कालिका चोकमा आरन व्यवसाय सुरु गरेका छन् । मासिक रु छ हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर उनले आरन व्यवसाय सुरु गरेका छन् । “जिजु बाजेको पालादेखि सञ्चालन हुँदै आएको आरन व्यवसाय युवाले अँगाल्न छाडिसकेकाले मैले यही पेशामा भविष्य देखेर रोजेँ”, प्रकाशले राससलाई भने, “हाम्रा बाउ बाजेले पनि यही पेशा गरे अहिलेका युवा सबैले छाडे ।” उनी यही पेशाबाट विदेशमा कमाइने पैसा घरै बसेर आर्जन गर्न सकिन्छ र भविष्य पनि छ भन्दै दत्तचित्त भएर आरन व्यवसायमा लागेका छन् । उनको आरन व्यवसाय एक वर्षदेखि राम्रो चलेको छ । उनको काममा उनकी पत्नीले पनि सघाउँछिन् । छोरा कक्षा ११ र छोरी कक्षा सातमा पढ्दै छन् । “मैले कालिका चोकमा आरन व्यवसाय सुरु गरेको छु, वरपर आरन व्यवसाय नभएकै कारण दिनहुँ आरनमा ग्राहकको भीड लाग्छ”, प्रकाशले भने । पोखराको लेखनाथ स्थित वडा नं २६, २७, २९, १४, १५ का मानिसहरु हँसिया, दाउ, बन्चरो, छिनो, फाली, गैँची, कुटो, कोदालो, तामा तथा सिलोट भाँडा तथा फलामका हतियारमा धार लगाउन आउने गर्छन् । प्रकाशले भने विदेशमा प्राप्त हुने पारिश्रमिक यहाँ सजिलै उठेको छ । “मासिक ३०–४० हजार कमाइ हुन्छ, त्यसले जिनतेन परिवार पाल्ने काम भएको छ, यो पेशा कठिन छ, कामकै सिलसिलामा कहिले आगोले शरीरका अङ्गहरु पोलिन्छन् कहिले हात खुट्टा काटिन्छ, तर पनि सुरक्षित भएर फलामको काम गरेको छु”, प्रकाशले भने । विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाएमा देशको विकास हुने धारणा उनको छ । “आरन व्यवसाय सुरु गर्दा डेढ लाख रुपैयाँ खर्च भएको छ, व्यवसाय गर्दा सरकारी अनुदान पाइन्छ भनिन्छ तर मैले कतैबाट अनुदान सहयोग प्राप्त गर्न सकिन । आरन व्यवसायलाई आधुनिक बनाउनका लागि केही पैसा आवश्यक पर्छ त्यो पैसा नभएर व्यवसाय विस्तार गर्न पाएको छैन”, प्रकाशले भने, “गाउँमा विभिन्न पार्टीका नेता छन् तर सरकारी अनुदान प्राप्त गर्ने बाटो सिकाउँदैनन् ।” प्रकाशलाई व्यवसाय विस्तारका लागि पैसा चाहिएको छ, तर उनले कहीँ कतैबाट पैसा पाएका छैनन् । उले भने, “नेताहरु चुनावका बेला भोट माग्न घर खोजी–खोजी आउँछन् तर अनुदान र सहयोग गर्ने बेलामा वास्तै गर्दैनन् । हामी जस्ता दुखी गरिबलाई हेर्ने कुनै सरकार भएन”, प्रकाशको गुनासो छ ।

