मुस्ताङ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिनुभयो । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उहाँले भन्नुभयो, “यस प्रतियोगिताले यहाँको सम्भावनालाई थप उजागर गरेको छ ।” प्रतियोगितामा कूल ३५ प्रतियोगी सहभागी भएको जानकारी दिँदै गुरुङले ८१ वर्ष उमेरसम्मका व्यक्तिले भाग लिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ श्याम तामाङ र महिलातर्फ सुस्मा सिंह च्याम्पियन बन्नुभएको छ । अघिल्लो वर्ष उक्त स्थानमा गल्फको परीक्षण गरिएको थियो । उक्त स्थानमा गल्फ कोर्ष निर्माणका लागि पूर्वाधार तयार गर्न अघिल्लो वर्ष संसद् विकास कोषअन्तर्गत रु १० लाख विनियोजन गरिएको थियो । गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि रु १० लाख छुट्ट्याएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पोखरा: गत शुुक्रबार साँझदेखि निरन्तर भएको झरीले गण्डकी प्रदेशको राजधानी कास्की आसपास निथ्रुक्क भिजेको छ । तीनदिनदेखि परेको अविरल वर्षाकाकारण पोखरा महानगरमा आंशिक प्रभाव परेपनि कास्कीको अन्नपूर्ण गाउँपालिकामा भने असर गरेको छ । वर्षाकाकारण गाउँपालिकाको १० र ११ जाने सडक पहिरोका कारण अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले बताइन् । ‘वर्षाका कारण १० र ११ जाने सडक अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण अवरुद्ध खुलाउन सकिएको छैन्, उनले भनि, ‘वर्षा रोकिए खुलाउछौँ र यात्रुहरुलाई गन्तव्यसम्म पुग्न सहज बनाउछौँ ।’ अधिकारीका अनुसार निरन्तरको वर्षाले ग्रामीण सडकमासमेत क्षति पुर्याएको छ भने गाउँपालिकाको वडा नम्वर ३ मा एक घर पहिरोको जोखिममा परेको छ । उनले अन्य स्थानमासमेत अविरल वर्षाकाकारण बाटोघाटो अवरुद्ध भएको बताइन् । ‘यसबाहेक कुनैपनि मानवीय क्षति भएको छैन, सुनगाभा न्यूजसँग भनिन्, ‘हामीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिसकेका छौं ।’ हेल्लो मादी... अविरल वर्षा जारी भएपनि मादी गाउँपालिकाको अवस्था भने सामान्य रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुुरुङले बताए । उनका अनुुसार अहिलेसम्म वर्षाका कारण कुनैपनि अप्रिय घटना भएको छैन । ‘वर्षाका कारण दैनिक जिवनमा असर त परेको छ । केही सडकहरुमा प्रभाव परेको छ । तर गाउँपालिकामा कुनै अप्रिय घटना भएको छैन, उनले भने, नराम्रो खबर सुनाउन नपरोस् भन्ने हाम्रो कामनो छ र त्यही अनुसार हामी सजगता अपनाउन भनेका छौ ।’ अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाको पूर्वी भेगका वडाहरु १, ८, ९, र १० को ग्रामीण सडकमा केही असर पुर्याएको छ । हेल्लो रुपा... कास्कीको रुपा गाउँपालिकामा पनि कुनै क्षति नभएको अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले अहिलेसम्म गाउँपालकाको अवस्था सामान्य रहेको बताउदै केही वडाहरुमा पहिरोको जोखिम भएको बताए । ‘अहिलेसम्म त्यस्तो बाढीपहिरोका अवस्था छैन, उनले भने, ‘ तर केही वडाहरुमा पहिरोको जोखिम भएको रिपोर्टिङ आएको छ । हामीले जनप्रतिनिधिहरुमार्फते सुरक्षित तवरले रहन आग्रह गरेका छौ ।’ हेल्लो माछापुच्छ्रे ... यसैगरि माछापुच्छ्रे गाउँपालिकाको पनि अवस्था सामान्य रहेको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । गाउँपालिका केन्द्र नजिक पहिरो खसिरहने समस्या रहेपनि यसपटक भने प्रभाव नपरेको बताइन् । गाउँपालिका तल वर्षायाममा पहिरो खस्ने गथ्र्याे अहिले त्यस्तो असर गरेछैन । गाउँपालिकामा कतै पहिरोका कारण सडक अवरुद्ध भयो भने तत्कार खोल्न गइहाल्छौं ।’ उनले भनिन् । पोखरा महानगरपालिका– नालामा खस्दा तिवारीको मृत्यु कास्कीको चार गाउँपालिकामा कुनै पनि मानवीय क्षति नभएपनि पोखरा महानगरमा भने एक किशोरले वर्षात कै कारण ज्यान गुमाएका छन् । पोखरा महानगरपालिका १९ का ११ बर्षीय रविन तिवारी शुक्रबार राति करिब ८ बजे चिप्लिएर नालामा खसेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीकाले खोजीकार्य तिव्र पारेसँगै तिवारीलाई १ घण्टापछि फेला पारेका थिए । उनलाई उपचारको लागि मणिपाल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी भन्छ: ‘हामी हाई अलर्टमा छौं’ जिल्ला प्रहरी कार्यालय कास्कीले संभावित जोखिम नियन्त्रणका लागि प्रहरी टोली तयारी अवस्थामा रहेको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए । उनले अहिलेसम्म पोखरा महानगरपालिकामा अप्रिय घटना नभएको जानकारी दिदै भने, ‘पोखरामा एउटा मात्रै मानवीय क्षति भयो । त्यो बाहेक अरु मानवीय क्षति भएको छैन । हामी हाई अलर्टमै छौ ।’ गण्डकीसहित चार प्रदेशमा भारी वर्षा: मौसम विभाग जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।
पोखरा । रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलको आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । ‘कुशे औँसी र हरितालिका तीजको अवसरमा पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । क्लबको अध्यक्ष डिम्पल क्षेत्रीले सो शिविरमा ६० बढी अभिभावकले शिविरबाट लाभ लिएको जानकारी दिइन् । उनका अनुसार सो शिविरमा क्लबमा आवद्ध कर्मचारीहरुको अभिभावकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । उनले अभिभावकहरुको रक्तचाप, सुगर तथा छाला सम्बन्धि जाँच गरिएको बताइन् । ‘विशेषत हामिले रोट्रयाक्ट क्लबसँग आबद्ध कर्मचारीहरुको अभिभावकहरुलाई प्राथमिकतामा राखेर निशुल्क स्वास्थ्य परिक्षण गरेका हौं, उनले भनिन्, ‘यसको लागि हामीलालाई प्राविधिक रुपमा डाइग्नोस्टिक रिसर्च सेन्टरले सहयोग गरेको थियो ।’ विगत सन् २००७ सालमा स्थापना भएको सो क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउदै विभिन्न अस्पतालहरुको समन्वयमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिसकेको समेत जानकारी दिएकी थिइन् । ‘स्वास्थ्य सेवाबाट बञ्चित भएका बालबालिका तथा अभिभावकहरुको निशुल्क रुपमा स्वास्थ्य परिक्षण गरि उपचार गरिने पश्चिमाञ्चल डाइग्नोस्टिकका अध्यक्ष पुरुषेत्तम सुवेदीले बताए ।’ उनले भने, ‘आज हामि पोखरा फिस्टेलसँग सम्बन्धित रहेर उहाँहरुको अभिभावकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’ यस पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टर प्रालीले बाझोपना, थाइराइड, हेपाटाइटिस, बाथरोग, मधुमेह, कलेजो, मृगौला, मुटुरोग तथा रगत, दिशा, पिसाब, खकार, विर्यसम्बन्धि जाँच तथा भिडियो एक्सरेको माध्यमद्वारा सेवा प्रदान गर्दै आइरहेको छ ।
पाल्पा: पाल्पाको माथागढी गाउँपालिका ४ का १४ बर्षिय किशोरले कुशे औंशी (बुवाको मुख हेर्ने) कै दिन आफ्नै बुवाको हत्या गरेका छन् । पाल्पा प्रहरीका अनुसार शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुुँदा किशोरले आफ्नै बुवा ४५ वर्षिय तिलबहादुर डिसालाई दाउराको चिर्पटले प्रहार गरेका थिए । चिर्पट प्रहारबाट डिसाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाल्पा प्रहरीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिइएको बताउदै घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा जीवन गुरुङ दोहोरिएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङलाई दोस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएपछि दोहोरिएका हुन् । गुरुङ नेतृत्व सो समितिको उपाध्यक्षमा वीरेन्द्र केसी निर्वाचित भए । यसैगरी सचिवमा दिलकुमारी मोक्तान, कोषाध्यक्षमा विष्णुबहादुर गुरुङ र सहसचिवमा सन्जु थापा मगर चयन भए । सदस्यहरुमा बबिता कार्की, विष्णु आचार्य, कविर गुरुङ, सुरज शाह ठकुरी, दिनेश केसी र दिप्सन गुरुङ छानिएको नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार सो संघमा २६ वटा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी आवद्ध छन् ।
बागलुङ : बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ । गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउनुहुन्छ । “अहिले गाउँमा मोटर आएपछि निकै धेरै सुविस्ता भएको छ, पहिलाको जस्तो दुःख गर्नु पर्दैन, यो ठाउँका मान्छेलाई सबैभन्दा दुःख नुन, तेल र चामलको हो, यी सबै ल्याउन बजारमा जानुपथ्र्यो, बिहान उठेर बजारमा गयो भने मध्यरातमा फर्कनुपथ्र्यो”, छन्त्यालले भन्नुभयो, “आजभोलि त बजार जान पनि पर्दैन सकैथोक गाउँमै छ, पहिलाको जस्तो दुःख गर्न नपर्दा अझै १० वर्ष बाँचुलाजस्तो लाग्छ ।” दशक अगाडि तमानखोलाका गाउँहरूसम्म पुग्ने फराकिला गोरेटो बाटाहरू थिएनन् । स्थानीय बासिन्दा साँघुरै गोरेटोमा उकाली-ओराली गर्थे । त्यही गोरेटोमै पशु चौपाय ओहोरदोहोर गराउँथे । अहिले ती उकाली–ओलारी गर्ने गोरेटोहरू फेरिएका छन् । गोरेटो बाटो फेरिएसँगै स्थानीयको मन फेरिएको छ, तन फेरिएको छ र जीवनशैली नै फेरिएको छ । कुनै समय मान्छे ओहोरदोहोर गर्न सकस पर्ने गोरेटोमा अहिले सररर मोटर गुड्छन् । यसरी गाउँमा मोटरबाटो आउला भन्ने स्थानीयवासीले कल्पनासमेत गरेका थिएनन् । तर अहिले गाउँमा दैनिक गाडी गुड्दा दङ्ग छन् । सडकले यहाँको रहनसहन र दैनिकी फेरिँदै छ । कतिपय यसलाई देशमा आएको राजनीतिक प्रतिफल मान्छन् त कोही समयले ल्याएको परिवर्तन । “गाउँमा सडक आयो बिरामी भएपछि सहजै अस्पतालसम्म पुग्न सकिन्छ, गाउँलेहरूको धेरैजस्तो समस्या समाधान भएको छ, गाउँमा सडक आउला, यस्तो विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ”, छन्त्याल भन्नुहुन्छ, “हामी त निकै दुर्गममा छौँ, यस्तो ठाउँमा गाडी आउला, सुविस्ता देला भन्ने लागेको थिएन, तर अहिले यसरी घरै अगाडि सधैँ गाडी गुड्दा अचम्म लाग्छ ।” उहाँले बिरामी पर्दा डोकोमा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै सडकले अहिले सामान्य उपचारका लागि टाढा पुग्न नपर्ने बताउनुहुन्छ । “हाम्रो पालामा कोही मान्छे बिरामी पर्यो भने डोकामा बोकेर अस्पताल पुर्याउनुपथ्र्यो, बाटोघाटो गतिलो थिएन, त्यसरी अस्पताल लैजाँदै गर्दा कतिको बाटैमा मृत्यु भयो, कति निको भएर घर फर्के, अहिले कोही बिरामी पर्दासाथ गाडी बोलायो, गाडीमा हालेर उतिखेरै अस्पताल पुर्याउँछन्, सामान्य उपचार त गाउँमै पनि हुन्छ ।” तमानखोला गाउँपालिकामा स्थानीय सरकार आएपछि २७ बस्तीमा सडक पुर्याएको छ । यसले स्थानीयवासीलाई खुसी त दिने नै भयो, दैनिकीसमेत फेरिदिएको छ, जीवनशैली फेरिदिएको छ । अब उनीहरूलाई पहिलोको जस्तो कहालीलाग्दो जीवन बिताउनुपर्ने छैन । सडक पुगेपछि अन्य विकासका पूर्वाधार पनि धममाधम निर्माण भइरहेका छन् । तमानखोला गाउँपालिका–४ लाम्मेलाका हर्कबहादुर छन्त्याल ७६ वर्ष हुनुभयो । उहाँ पनि गाउँमा सडक आएपछि निकै खुसी हुनुहुन्छ । विसं २०१८ देखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घर अगाडि ती सामान पाउँदा दङ्ग हुनुहुन्छ । सडक नहुँदा गाउँलेहरूले कैयन समस्या सामना गर्दै आएको सुनाउँदै छन्त्यालले अब दुःखका दिन गएको बताउनुभयो । गाउँमा घाँस दाउराको भन्दा औषधोपचार र खाना जोहो गर्नु निकै चुनौतीपूर्ण रहेको भन्दै अहिले सबै सुविधा सहजरूपमा लिन सक्ने छन्त्यालको भनाइ छ । आफूले धेरैपटक बुटवलबाट नुन लिएर उपभोग गरेको सुनाउँदै अहिले घर छेउकै दोकानबाट नुनतेल र चाहिए जति सामान ल्याउने गरेको बताउनुहुन्छ । “घरमा नुन सकियो भने गाउँका सबैसँग सल्लाह गरेर खसौली बटौली जान्थ्यौँ, बाटोमै खाना पाकाएर खान्थ्यौँ, बाटोमै सुत्थ्यौँ, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि”, उहाँले भन्नुभयो, “अहिलेका पुस्ताले त्यो दुःख भोग्नु पर्दैन, हाम्रो दुःख सुनाउँदा उनीहरूलाई कथाजस्तो लाग्छ रे, बटौलीबाट नुन बोकेर खाएका हौँ भन्दा पत्याउँदैनन् ।” आफूले मोटर गाडी बुटवल, पाल्पा पुगेर देखेको भन्दै अहिले गाउँका हरेक कुनाकाप्चामा गुड्ने गरेको छन्त्यालले बताउनुभयो । आफूहरूले खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएको भन्दै छन्त्यालले अब बढी उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्याउन सहजसमेत बनेको बताउनुहुन्छ । “मैले बटौली नुन लिन जाँदा १७ वर्षको उमेरमा बटौलीमा मोटर देखेको थिएँ, त्यसपछि पाल्पा, तानसेन, वामीटक्सार, खर्बाङ , बुर्तिबाङ हुँदै अहिले गाउँ–गाउँमा मोटर पुग्यो, घरबाट निस्किँदा बित्तिकै देख्न पाइन्छ”, उहाँले भन्नुभयो, “पहिले उत्पादन भएका आलु, सिमीहरूले गाउँभन्दा बाहिर जाँदैनथे, अहिले बढी उत्पादन भयो भने यही गाडी ल्याएर खोज्दै आउँछन्, यसले गर्दा आम्दानी पनि बढेको छ ।” आलु र सिमी उत्पादनका लागि तमानखोला प्रख्यात मानिन्छ । आधा दशक अगाडिसम्म यहाँ उत्पादित सामग्रीहरू बजार बाहिर जाँदैनथे । सडक थिएन । स्थानीयले बोकेर बजारसम्म पु¥याउन गाह्रो थियो । जब गाउँहरू मोटरबाटोले जोडिए । तब उत्पादित वस्तुले बजार पाउन थाले । कृषकको पनि जीवनशैली सहज बन्दै गयो । मोटरबाटोले गाउँ जोडिएपछि गाउँलेको जनजीवन फेरिएको तमानखोला गाउँपालिका-२ का भीमबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले सडकले गाउँ जोडिनुका साथै तमानखोलामा विकासको ढोका खुलेको बताउनुहुन्छ । सडकका कारण गाउँमा विस्तारै साना उद्योगहरू सञ्चालनमा आउन थालेको र रोजगारीको सिर्जनासमेत हुन थालेको घर्तीको भनाइ छ । “मोटरबाटोले गाउँ मात्रै जोडिएन, यसले त सिंगो तमानाखोलाको विकासको ढोका खोल्यो, अब यहाँ थुप्रै विकास हुने छन्, कतिपय विकासका काम त सुरु भइ सके, ठाउँ–ठाउँमा पुल बने, सडक बने, खानेपानीका धारा बने, कतिपय ठाउँमा बन्दैछन्, विकास भन्ने यही त होनी, हामीले चाहेको खोजेको पनि यही हो”, घर्तीमगरले भन्नुभयो, “अहिले त गाउँगाउँका साना उद्योग पनि सञ्चालन भइरहेका छन्, यहाँ थोरैले भए पनि रोजगार पाएका छन् ।” अब वर्षौँदेखि सडक नहुँदा भोग्दै आएका समस्याहरू विस्तारै समाधान हुने क्रममा छन् । तमानखोलामा स्थानीय सरकार आउनुपूर्व दुईवटा बस्तीमात्रै मोटरबाटोले जोडिएका थिए । अहिलेसम्म आउँदा छवटै वडाका सबै बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभान र वडा नं ३ को तमान गाउँ स्थानीय सरकार आउनुपूर्वनै मोटरबाटोले जोडिएका थिए । म्याग्दीसँग सीमा जोडिएको तमानखोला धार्मिक पर्यटकीय हिसाबले पनि अत्यन्तै सम्भावना बोकेको छ । चर्चित सोलेडाँडा, बराहताललगायतका पर्यटकीय गन्तव्यसम्म गाउँपालिकाले सडक पु¥याएको छ । सडकका कारण पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटक बढ्न थालेका छन् । पालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि तमान, लाम्मेला, नर्जाखानी, खुङ्खानी, भयरभोङ्गा, स्याउलालगायतका ठाउँमा वर्षात्को समयमा सिधा यातायात सञ्चालन हुनसकेको छैन । यी ठाउँहरूमा सिधा यातायात सञ्चालनका लागि बोङ्गादोभानमा मोटरेवल पुल निर्माण हुँदै छ । यहाँ पुल निर्माणपछि पालिकाको केन्द्रदेखि सबै वडा र बस्तीमा सिधा यातायात हुनेछ । गत वर्षसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्रसम्म पनि वर्षात्को समयमा सिधा यातायात हुँदैनथ्यो । ढोरपाटन नगरपालिका–३ हुँद्राफेँदी र तमानखोला गाउँपालिका वडा नं १ बालिभाङमा दुईवटा मोटरेवल पुल निर्माण भएपछि अहिले बाह्रै महिना सिधा यातायात सञ्चालन हुन्छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जिल्लामा सबैभन्दा दुर्गमको पालिका तमानखोला भएको हुँदा विकास निर्माणमा निकै चुनौती भएको बताउनभयो । चुनौतीका बाबजुद सबै बस्तीमा सडक पुर्याउन सफल भएको बताउनुभयो । भौगोलिक विकटता र छरिएर रहेको बस्तीका कारण सडक सञ्जालले जोड्न केही ढिला भए पनि पाँच वर्षमा सबै बस्तीमा मोटरबाटो पुगेको उहाँ बताउनुहुन्छ । “तमानखोला गाउँपालिका दुर्गम पालिका हो, यहाँको भौगोलिक बनावट, छरिएको बस्तीका कारण हामीलाई विकास निर्माण गर्न निकै चुनौती थियो, त्यसका बाबजुत पनि पालिकाको २७ वटै बस्तीमा अहिले गाडी गुड्न सक्छन्”, अध्यक्ष बुढामगरले भन्नुभयो, “पाँच वर्षको कार्यकालमा सडक सञ्जालले सबै बस्ती जोड्यौँ, अब ती सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी विकास गर्नुपर्ने छ, हामी त्यसअनुसार लागिपरिरहेका छौँ ।” अध्यक्ष बुढामगरले सडक नै विकास निर्माणको मुख्य आधार भएको र सडक निर्माणपछि मात्रै अन्य विकास गर्न सकिने बताउनुभयो । गाउँपालिकाले पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेको हुँदा अन्य विकास निर्माणका कामहरू गर्न सजिलो भएको अध्यक्ष बुढामगरको भनाइ छ । सडकले पर्यटन, उद्योग, कृषि र पशुपालनमा समेत ठूलो सहयोग पुर्याएको उहाँले बताउनुभयो । “पाँच वर्ष अगाडि पालिकाका धेरै गाउँहरू सडकविहीन थिए, अहिले जहाँ पुग्छौँ, त्यहाँ गाडीमै पुग्न सक्छौँ, कहीँकतै साना बस्ती भएको ठाउँमा सडक नपुगेको होला तर सबै ठाउँमा सडक पुगेको छ, हामी निर्वाचित भएर आएको पहिलो वर्षदेखि नै सडकलाई प्राथमिकता दिएर काम गरेका थियौँ, अहिले दोस्रो कार्यकाल पनि सुरु भएको छ, अब सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गछौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “सडक निर्माणपछि अन्य विकासका काम पनि गर्न सहज भएको छ ।” सडकले कृषकलाई समेत ठूलो राहत पुर्याएको अध्यक्ष बुढामगरको भनाइ छ । उहाँले सडकले नजोडिँदा यस क्षेत्रका कृषकले उत्पादन गरेका वस्तु खेर गएको र अहिले राम्रो बजारसमेत पाउने गरेको बताउनुहुन्छ । “सडकले कृषकलाई धेरै सहयोग पुगेको छ, हाम्रो पालिका पशुपालन र आलुखेतीमा अब्बल छ, पहिलेदेखि नै यहाँका कृषक खेतीपाती र पशुपालनमा लागेको हुँदा बजार अभाव थियो, बोेकेर लैजाने अवस्था थिएन, अहिले व्यापारी खरिद गर्न गाउँमै आउँछन्”, उहाँले भन्नुभयो, “अझ पर्यटन क्षेत्रको प्रचार–प्रसारमा समेत सहयोग पुगेको छ, सडक नहुँदा सोलेडाँडा, बराह ताललगायतका गन्तव्यमा आन्तरिक पर्यटक आउँदैनथे, अहिले सडकले गर्दा हिउँद–बर्खा जहिले पनि मान्छे आइरहन्छन् ।” गाउँपालिकाले सडकसँगै स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि जोड दिएको छ । नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि एक घण्टाको दूरीमा सामुदायिक स्वास्थ्य एकाइ, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य उपचार केन्द्र बनाएको छ । शिक्षातर्फ पनि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनका लागि प्यानल सहित उम्मेद्वारी घोषणा गरेका अर्जुन पोखरेल नेतृत्वको समूहले चाउथेबाट घरदैलो अभियान सुरु गरेका छन् । उम्मेद्वारहरु सहितको टोलीले खसीबजार र आसपासका क्षेत्रमा व्यवसायीसँग भेटेर भोट अपिल गरेका थिए । उनीहरुले व्यवसायीका समस्या बुझ्दै आफ्नो समूहले चुनाव जिते सबै समस्या समाधान गर्न लागि पर्ने बताए । ‘व्यवसायीका हक हित र अधिकारकै लागि यो समूह बनेको हो । समूहले चुनाव जितेपछि उद्योगी व्यवसायीका यावत् समस्या समाधान गर्ने छौं,’ अध्यक्षका प्रत्यासी अर्जुन पोखरेलले भने, ‘उद्योग वाणिज्य संघको विरासत कायम गर्दै थप परिस्कृत गर्नका लागि हाम्रो समूह आएको छ ।’ उनले आफ्नो समूहमा लामो समय विभिन्न संघ संस्था र उद्योग वाणिज्य संघमा समेत काम गरिसकेका उम्मेद्वार भएकाले उद्योगीका समस्यासँग नजिक रहेको बताए । ‘समस्या धेरै छन् । सरकारसँग पहल गर्नुपर्नेदेखि हामी भित्रै सम्बोधन गर्नुपर्ने विषय पनि छन्,’ उनी भन्छन्, ‘संघलाई सम्मानित बनाउने र व्यवसायीलाई समुन्नत बनाउन दिनरात खट्ने छौं ।’ पदाधिकारी र सदस्य सहितको उपस्थितिमा भएको घरदैलोका क्रममा उद्योगी व्यवसायीहरुले पोखरेलको समूह सक्रिय युवाहरु सम्मिलित भएकोले भरोसा बढेको प्रतिक्रिया दिए । ‘पहिले पनि सक्रिय युवाहरुलाई हामीले सहयोग गरेका हौं । अहिले पनि युवाहरुको समूहलाई भोट दिन्छौं,’ खसीबजारमा ब्यवसाय गर्दै आएका विष्णुहरी न्यौपानेले भने, ‘अबको पालो युवाको हो । परिवर्तन युवाले नै गर्न सक्छन् । हामी युवाको साथमा छौं ।’ मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले आफ्ना समस्या सुनाएका थिए । बैंकले ब्याज बढाएको देखि सरकारले बढी कर लिएकोसम्म उनीहरुको गुनासो छ । उम्मेद्वारहरुले कर कम गर्नका लागि अहिले देखि नै पहल भैरहेको र बैंकको ब्याज बढाएको बारेमा समेत ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले वर्षेनी बढ्ने ब्याजलाई निरुत्साहित गर्न सरोकारवालासँग पहल भैरहेको बताए । पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ । अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ । उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिसकेका छन् । शनिबार चाउथे सहित काहुँखोला, मियाँपाटन, गौंडाको मुख क्षेत्रमा घरदैलो गरिएको महासचिव उम्मेद्वार केशवबहादुर खत्रीले जानकारी दिए ।
पाेखरा: देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना५ख ५९५५ नंको ट्रक आज विहान पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोली सहित स्थानीयवासीले तत्काल आगो नियन्त्रणमा लिएका थिए । प्रनाउ रिमाललले भन्नुभयो,“प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।” दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

