पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

कञ्चनपुर  :  पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।    शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा रहेको छ ।   एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । “आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।”         दैनिक दुई सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । “एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।”    कोरोना परीक्षणका लागि आवश्यकपर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उहाँले बताउनुभयो । दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

रुकुम  ः  रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ पोखरामा अरिङ्गालले सताउँदा किसान समस्यामा परेका छन् । दिनहुँ अरिङ्गालले माहुरीको घार घेरो हाल्ने र माहुरी खान थालेपछि किसान समस्यामा परेका हुन् ।    पोखरामा माहुरीपालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउन थालेपछि हिजोआज एक जना माहुरीको हेरालो बस्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो । उहाँका १६० माहुरी घार छन् । उहाँका अनुसार यी सबै घार एकै ठाउँमा छैनन् । चरणका लागि विभिन्न पाँच ठाउँमा राखिएको छ । अहिले परिवारका चार सदस्य एकएक ठाउँमा माहुरी हेरालु बसेको र एक ठाउँमा हेरालु राख्न नसक्दा त्यहाँका माहुरी सबै अरिङ्गालले सखाप पारेको खड्काले बताउनुभयो ।       उहाँले पोखरा घरमा, दान र माहुरी खर्कससँगै सिस्ने–५ को रुवाबाङमा माहुरी हेरालु एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालु नहुँदा पाँच वटा घारको माहुरी सबै अरिङ्गालले सकेको उहाँको भनाइ छ । यस्तै पोखराकै अर्का माहुरीपालक किसान कमलाल खड्काले पनि अरिङ्गालले सताएर हैरान बनाएको बताउनुभयो ।     उहाँले अहिले आफूसँग ११५ वटा माहुरी घार रहेको बताउँदै माहुरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताउनुभयो । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफूले एक्लै माहुरी हेरालो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाउनुभयो ।      पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गालले माहुरी खाएर साह्रै दुःख दिएको बताउनुभयो । हुलकाहुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर माहुरी धपाउने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार विगतका वर्षमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन । यस वर्ष अरिङ्गालका कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा माहुरीको हेरालो बस्ने गरेका छन् । माहुरीको पकेट क्षेत्र र माहुरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा माहुरी छन् ।      यस्तै सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविमा रहेको माहुरीलाई पनि अरिङ्गालले सताएको छ । यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत ५० वटा माहुरीका घार छन् । अरिङ्गालका कारण माहुरी मासिन्छ कि भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारण माहुरीपालक किसान समस्यामा परेको जानकारी प्राप्त भएका छन् ।

काठमाडौं:   नेकपा एमालेका सांसद महेश बस्नेतले वन मन्त्रालय तथा भक्तपुर नगरपालिकाको लापरवाहीले सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्यापेको बताएका छन् ।   अहिले जारी प्रनिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेता बस्नेतले उक्त घटनाको जिम्मेवारी वन मन्त्रालय र भक्तपुर नगरपालिकाले लिनुपर्ने बताएका हुन् ।   ‘भक्तपुरको सल्लाघारीमा सल्लाको रुघ ढलेर मिनीबस र स्कुटरलाई किचेर केही साथीहरु घाइते भएका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु, उनले भने, ‘४० वर्षभन्दा पुराना जीर्ण रुखहरुलाई हटाउन वन मन्त्रालय र भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहान्छु । उहाँहरुको लापरवाहीले यो घटना घटेको छ ।’   सांसद बस्नेतले २५ वर्ष पुराना बसहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउदै भने ‘२५ वर्षभन्दा पुराना बसहरुलाई चलाईरहने जुन सरकारको निर्णय थियो यसलाई अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु । यो घटना वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले भएको हो ।’   यसैगरि अर्का सांसद प्रेम सुवाललेसमेत विशेष समयमै बोल्दै सो घटनाबारे सरकारको ध्यानाकार्षण गराएका थिए ।    भक्तपुर नगरपालिका– १ सल्लाघारीमा सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको थियो । यो समाचार तयार पार्दासम्म ३ जनाको मृत्यु भएको छ  भने १२ जना घाइते भएका छन्  ।

काठमाडौँ   :  भक्तपुरको भक्तपुर नगरपालिका– १ सल्लाघारीमा आइतबार रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ ।   सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।   मृत्यु हुनेमा एक जना नितेज गर्बुजा रहेको र अरु दुई जनाको पहिचान नभएको प्रजिअ शर्माले बताइन् । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन् ।   घाइतेहरुको  भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।

स्याङ्जा  ः  स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ ।    समूहले गत आर्थिक वर्ष २०७८्र÷७९ मा ‘मनकामना-३’ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्षअघिदेखि सो जातको मकैको बीउ उत्पादन गर्दै आएको समूहकी अध्यक्ष सङ्गीता हमालले बताउनुभयो ।   “विगत एघार वर्षदेखि ‘मनकामना–३’ जातको मकैको बीउ उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा १६ हजार ६४१ केजी मकैको बीउ प्रतिकेजी रु एकसयका दरले बिक्री गरेका हौँ ।” २०७८÷७९ मा साढे १६ टन मकैको बीउ बिक्री गरेको समूहले २०७७७८ मा १० टन बीउ बिक्री गरी रु नौ लाख आम्दानी गरेको थियो ।   “स्याङ्जासहित देशका विभिन्न ठाउँबाट यहाँ उत्पादन गरिएको ‘मनकामना–३’ जातको मकैको बीउको माग अत्याधिक छ, मागअनुसार पु¥याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “यसवर्ष करिब २० टन बीउ उत्पादन हुने अनुमान गरेका थियौँ तर खडेरीकाकारण अपेक्षाअनुसार बीउ उत्पादन हुन सकेन ।”   यहाँ उत्पादन भएको बीउ स्याङ्जाका स्थानीय बजारसहित पोखरा, चितवन, गोरखा, लमजुङलगायत ठाउँमा जाने गरेको समूहकी कोषाध्यक्ष कल्पना पौडेलले बताउनुभयो । यहाँ उत्पादन भएको बीउ मकै स्याङ्जा जिल्लाभित्रका कृषिसँग सम्बन्धित कार्यालय, सङ्घसंस्था, कृषि एग्रोभेट र जिल्लाबाहिरबाट पनि माग हुने गरेकाले खपतको कुनै समस्या नभएको समूहकी कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।   उत्पादन भएको मकैको बीउको नमूना प्रयोगशालामा पठाएर उमारशक्ति, चिस्यान र शुद्धता परीक्षण गरिन्छ । परीक्षणमा योग्य भएपछि घरघरमा रहेको मकैलाई सङ्कलन केन्द्रमा ल्याएर समूहमार्फत एकमुष्ट बीउको प्रयोजनका लागि समूहमार्फत बिक्री गरिँदै आएको छ ।   यहाँ उत्पादन भएको बीउ मकै सुुरुआतको चरणदेखि हालसम्म गुणस्तरीयता परीक्षणका क्रममा र रोपेपछि उत्पादन लिने बेलासम्म कमजोरी नदेखिएको दाबी समूहको छ ।   मकैको बीउ उत्पादन गर्दै आएको उक्त ठाउँमा बाँदरको समस्या भएकाले आलोपालो गरेर बाँदर कुर्नेरधपाउने चारजनालाई समूहले पुरस्कृतसमेत गरेको छ । जैंसीडाँडा किसान समूहले गण्डकी प्रदेशकै सबैभन्दा धेरै उन्नत मकैको बीउ उत्पादन गर्दै आएको दाबी गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीको छ ।   उन्नत जातको मकैको बीउ उत्पादन गर्दै आएको जैंसीडाँडा किसान समूहलाई विगत चार वर्षदेखि गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत नगद अनुदान उपलब्ध गराउँदै आएको छ ।      गाउँपालिकाले पटक–पटक गरी हालसम्म विभिन्न उपकरण खरिद, भण्डारका लागि आवश्यक सामग्री, तालीमका लागि पचास लाख बढी नगद अनुदान दिएको गाउँपालिकाका अध्यक्ष सुवेदीले बताउनुभयो । आरुखर्कमा उन्नत मकैको बीउ उत्पादन राम्रो भएकाले वडा नं ३ को भाटखोलास्थित लोलासरी किसान समूहलाई ‘मनकामना–५’ जातको उन्नत मकैको बीउ उत्पादनको पकेट क्षेत्रका रुपमा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।      भर्खरै सुरुआत भएको उक्त पकेट क्षेत्रका लागि गाउँपालिकाले रु २५ लाख अनुदान उपलब्ध गराएको छ । “व्यावसायिक उत्पादनमा जोड दिँदै गाउँपालिकाले विगत चार वर्षदेखि उत्पादनमा आधारित कृषिजन्य उत्पादनमा १५ प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ”, अध्यक्ष सुबेदीले भन्नुभयो, “गाउँपालिकाले २५ वटा कृषिजन्य उत्पादनको सूची नै बनाएर १५ प्रतिशतका दरले अनुदान उपलब्ध गराईरहेको छ ।”

पोखरा  :  पोखरा महानगरपालिका १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् ।     जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार खाल्टेमसिनामा डेरामा बस्दै आएका  स्याङ्जा विरुवाका  १९ वर्षीय राम बहादुर गुरुङ आइतबार बिहान झुन्डिएको अवस्था मृत भेटिएका हुन् ।     पब्जी खेलेको भन्ने अनुुमानको विषय हो डिएसपी तिवारीले भने अहिले सम्म उजुरी आएको छैन, अहिले थप अनुसन्धान भइरहेको छ । अहिले मृत शरिरलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ । 

म्याग्दी  :  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिका-२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ ।    गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो । कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत र उपभोक्ताको २५ प्रतिशत लागत साझेदारीमा एक सय घरमा सौर्य उर्जा जडान गरिएको जानकारी दिनुभयो ।    सौर्य उर्जा खरिद र जडानका लागि एन्क्वा फ्रेस नेपाल एण्ड सोलार प्रालिसँग आर्थिक वर्ष २०७८/७९ मा रु ११ लाख १९ हजार ३५ मा सम्झौता भएको थियो । हालसम्म केन्द्रीय प्रशारण लाइन र लघुजलविद्युत् परियोजनाको सुविधा नपुगेका बस्तीमा उज्यालो बनाउने प्रदेश सरकारको नीतिअनुसार जेममा सौर्य उर्जामार्फत विद्युत् सुविधा उपलब्ध गराइएको कार्यालय प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो ।   सोलार जडान भएपछि रातको समयमा घरायसी काम गर्न, बालबालिकालाई पढ्न, मोबाइल चार्ज गर्न, रेडियो बजाउन सहज भएको स्थानीयवासीले बताएका छन् । यसअघि उज्यालोका लागि टुकीमा निर्भर हुनुपरेको थियो ।    लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने धवलागिरी गाउँपालिकाका १२० घरधुरीलाई प्रदेश सरकारमार्फत ५० वाट क्षमताको सोलार सेट वितरण गरिएको थियो । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले गत वर्ष नै काठेपोल विस्थापित गर्न मालिका गाउँपालिकालाई १९३ र धवलागिरीलाई ९० थान उपलब्ध गराएको थियो । 

काठमाडौँ  :  फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।    अपाङ्गता सुनिश्चित रोजगार अभियान अन्र्तगत ‘अपाङ्गता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको होे । द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपाङ्गता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको सो सम्मेलनमा रोजगारदाता र रोजगारको खोजीमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।    सम्मेलनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फरक क्षमता भएका व्यक्तिलाई समान रोजगारीको अवसर दिनु सबैको नैतिक जिम्मेवारी भएकाले सम्पूर्ण रोजगारदातालाई त्यस्ता व्यक्तिलाई रोजगारीको अवसरमा प्राथमिकता दिन आग्रह गर्नुभयो । उहाँले महासङ्घको आगामी चैतमा हुने साधारणसभा अगावै कम्तिमा सय जना फरक क्षमता भएका व्यक्तिलाई रोजगारी प्रदान गरिने बताउनुभयो ।    द लेप्रोसी मिशन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कणेंलले १६६ वर्षअघि स्थापना भएको दि लेप्रोसी मिसन नेपालसहित विश्वका ३२ देशमा कुष्टरोगबाट अपाङ्गता भएका व्यक्तिको पुर्नस्थापना र जीवनस्तर सुधार ल्याउने काममा क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न पहिलोपटक आयोजना गरिएको यस किसिमको सम्मेलन महत्वपूर्ण अवसर हुने बताउनुभयो ।   सम्मेलनमा सहभागी रोजगारदाता कम्पनीका प्रतिनिधिले निजी क्षेत्र उद्योग व्यवसायबाट नाफा आर्जन गर्दैनन्, सामाजिक उत्तरदायित्वबाट पनि उत्तिकै प्रेरित छन् भन्ने पुष्टि गर्न रोजगारी सिर्जना गर्दा फरक क्षमताका व्यक्तिलाई पनि अवसर दिने प्रतिवद्धता जनाएका थिए । अपाङ्गता भएका व्यक्तिहरुसँग असाधारण सीप र क्षमता रहने हुँदा कम्पनीलाई फाइदा हुने र व्यवसायलाई समावेशी बनाउन सकिने हुँदा आगामी दिनमा कामदारका रुपमा नियुक्त गर्दा उनीहरुलाई प्राथमिकता दिइने कम्पनीका प्रतिनिधिको सामूहिक भनाइ थियो ।    सम्मेलनमा कार्यस्थलमा अपाङ्गता समावेशी तथा यस क्षेत्रमा हासिल गरिएका सफलता, चुनौती र अनुकरणीय उपायका अनुभव आदानप्रदान गरिनाका साथै अपाङ्गता समावेशी कार्यस्थल हुने गरी कम्पनीहरुको मानव संशाधन विभागको भूमिका र फाउण्ड परियोजनाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । फाउण्ड परियोजनाले मोरङ, काठमाडौँ, ललितपुर, रुपन्देही र कपिलवस्तुमा ११ परियोजनामार्फत रोजगारमूलक सीप र आत्मविश्वास जागृत गरी समावेशी रोजगारीको अभियानमा काम गर्दै आएको छ । 

बागलुुङ  ः  पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।   बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् ।   विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ ।   “न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्”, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँड्न्भएका राजुले भन्नुभयो, “पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।” बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उहाँले बताउनुभयो ।   कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् ।   “गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन”, उहाँले भन्नुभयो, “गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।” रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु  बताउनुहुन्छ । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ ।   टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।    विपतले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उहाँले बताउनुभयो । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उहाँको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।     बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।