पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

बागलुुङ  ः  पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।   बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् ।   विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ ।   “न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्”, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँड्न्भएका राजुले भन्नुभयो, “पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।” बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उहाँले बताउनुभयो ।   कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् ।   “गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन”, उहाँले भन्नुभयो, “गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।” रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु  बताउनुहुन्छ । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ ।   टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।    विपतले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उहाँले बताउनुभयो । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उहाँको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।     बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।

पोखरा  :   पोखरा महानगरपालिकाका युवाहरूलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ ।   महानगरपालिकाले चालु आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकको तर्फबाट समेत रु पाँच–पाँच करोडका दरले लगानी गरी रु १५ करोडको कोषमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।   युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोषमार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको बताइन्छ । कोषमार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताउनुभयो । कृषि उद्यमको माध्यमबाट रोजगारीसमेत अभिवृद्धि हुने विश्वास लिइएको छ ।   महानगर प्रमुख आचार्यले भन्नुभयो, “हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यमलक्षित गर्दै स्वरोजगार कोषमार्फत युवाहरूलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ । यसमा हामी तीनवटै पक्षले बराबर रकम जग्मा गर्ने छौँ र बैंकमार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौँ । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिवृद्धि गर्ने पनि हाम्रो चाहना हो ।”   निर्देशक अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताउनभुयो । उहाँले भन्नुभयो, “यो कार्यक्रममार्फत न्यून वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ । कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौँ ।” उहाँका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तीमा एक महिना लाग्ने छ । 

पोखरा:  एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को ताज म्याग्दीकी मिलन थापामगरले जितेकी छिन् । अन्तिम चरणमा रहेका ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सन् २०२२ को मिस मगर नेपालको ताज थापामगरले जितेकी हुन् ।   ताजसँगै उनले, नगद रु ७० हजार, हङ्कङ टुर तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यसैगरि उनले बेस्ट वाक र मोस्ट ट्यालेन्टटेड अवार्ड समेत हात पारिन् ।   यसैगरि फष्ट रनरअफका रुपमा पुर्व इलामकी भावना खपांगीमगरले ताज पहिरिदै नगद रु ३० हजार प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा पाल्पाकी टुगा रानामगर घोषित हुदैं ताजसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।    यसैगरी थर्ड रनरअप बन्न सफल बनेकी मीना गर्बुजा मगरले तजा र अवार्डसहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । भने भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगरले जितिन् ।   कसलाई कुन अवार्ड?  प्रतियोगितामा वेष्ट फिगर शोभा पुनमगर, मोस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मस्ट डिसप्लेन सलिना घर्तीमगर, मोस्ट पपुलर साराङ्ग सोरालीमगर, मस्ट फ्रेण्डसिप सृष्टी फगामीमगर, वेस्ट स्माइल अवार्ड सोनु सोमारे मगर, मस्ट सर्पोटिभ अवार्ड गोमा थापामगर, वेस्ट स्कीन रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मोस्ट इन्टेलिजेन्ट टुगा रानामगर बन्न सफल भएका थिए ।                                                                                                      मुख्य निर्णायकमा चलचित्रकर्मी मेजन पुन मगर, पत्रकार तथा अधिवक्ता मनोज घर्तीमगर, संस्कृतिकर्मी रेशम थापा मगर ‘रचक’, मिस तनहुँ २०११ की रनरअप पवित्रा थापामगर र सस्कृतिकर्मी शिव थापामगर रहेका थिए ।    विजेताहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र मिस मगर नेपाल २०१९ को विजेताहरुले पुरस्कार प्रदान गरेका थिए ।    यसअघि सन् २०१९ मा सम्पन्न चौथो चरणको मिस मगर नेपालको ताज सनम गर्बुजाले जितेकी थिइन् ।

हेटौँडा  :  राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिनुभएको छ । रासस वाग्मती प्रदेश कार्यालय हेटौँडाले रासस सेवासम्बन्धमा आज आयोजना गरेको अन्तरक्रियामा उहाँले अब पत्रकारहरू कर्मकाण्डी पत्रकारिताबाट बाहिर आउनुपर्ने बताउनुभयो ।    “जनताको करबाट सञ्चालित संस्थामा काम गर्ने सञ्चारकर्मीले जनताका लागि सूचना दिनुलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ”, अध्यक्ष झाले भन्नुभयो, “राससमा काम गर्नु जागिर गर्नु नभएर दायित्व निर्वाह गर्नु हो ।” सत्यका आधारमा तथ्यपरक खबर दिनु राससको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो काम तथ्यपरक सत्य समाचार सञ्चारमाध्यमलाई उपलब्ध गराएर जनता सुसूचित गर्नु हो ।” अब कारण र परिणामसहितको सूचना जनतालाई दिनु राससको लक्ष्य हुने अध्यक्ष झाको भनाइ थियो ।   रासस वाग्मती कार्यालय प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राससका सञ्चालन समिति सदस्य शङ्कर खरेल, प्रशासन प्रमुख शीतल महतो, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत, अङ्ग्रेजी सेवाका वरिष्ठ सम्पादक नारायण घिमिरे लगायतले राससले उपलब्ध गराउने सेवा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

हेटौँडा  :  नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । यसै क्रममा तीन राससकर्मीसहित ३१ जना निर्विरोध निर्वाचित भएका हुन् ।      युनियनको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्विरोध हुनेहरुमा रासस दाङकी कार्यालय प्रमुख नरायणी रजौरे, केन्द्रीय कार्यालयका छविलाल कुमाल र पाल्पाकी सुशीला रेग्मी रहनुभएको छ । त्यसैगरी अन्य निर्विरोध हुनेहरुमा समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा, सचिवमा सहदेव चौधरी, केन्द्रीय सदस्यमा अशोक तिवारी र छायाचन्द्र भण्डारी हुनुहुन्छ ।    यसैगरी फुलमाया सुनार (फुलु), निमा वाङगेल लामा, अन्जना चौधरी, लक्ष्मीमान चौधरी, कमलाकुमारी चौधरी, जेविका कार्की, तेजना पण्डित, बालिका शिवाकोटी, रमा लुइँटेल, सुशिला सङ्ग्रौला, माया अधिकारी, सुवासकुमार सुनुवार, रीताकुमारी मगर, कौरव खत्री, अप्सरा पुडासैनी, निलीमा पौडेल, आत्मा गुरागाइँ, कृष्णकुमारी ढकाल, पूजा शर्मा, सृजनाकुमारी गौतम, जमुना न्यूरे, निर्मला भट्ट र नारद कोहार निर्विरोध चयन भइसक्नुभएको छ ।   प्रेस युनियनको केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिसमेत गरी १२० जनाको प्रतिनिधित्व रहनेगरी विधानमा व्यवस्था गरिएकामा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष १२, महासचिव एक, उपमहासचिव छ, सचिव १७, कोषाध्यक्ष एक र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कूल ११५ जना रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय लेखा समिति संयोजक एक र सदस्य चारजना समेत गरी पाँच सदस्य रहने व्यवस्था छ । कूल १२० पदमध्ये ११८ पदका लागि उम्मेदवारी परेको थियो । मनोनयन दर्ता नभएको अल्पसङ्ख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य पद छन् । अल्पसङ्ख्यक महिला केन्द्रीय सदस्यतर्फ एक जनाको कोटामा कुनै पनि मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा दुई जनाको कोटामा एक जनाको मात्रै मनोनयन दर्ता भएको थियो । बाँकी ८७ पदका लागि भने मतदान प्रक्रिया अगाडि बढेको छ ।

गोरखा  ः   गोरखा जिल्लाको एक मात्र सरकारी अस्पताल गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।   “गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्युटबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ”, उहाँले भन्नुभयो, “हव अस्पताल भन्नाले अस्पतालबाट प्रदान गरिने बहु विषेशज्ञ सेवाको सुनिश्चितता र निरन्तरतालाई जनाउँछ ।”    अबदेखि विशेषज्ञ चिकित्सकलगायत अन्य जनशक्ति,  उपकरण र तालिमको व्यवस्था गरी चिकित्सकीय सेवा र सुविधा प्रदान गरिने अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । त्यस्तै अस्पतालमा त्यस्ता जनशक्तिका लागि आवासको सुविधासमेत मिलाइने  उहाँको भनाइ थियो ।   “सम्झौताअनुसार यस अस्पताललाई सेकेन्डरी ‘ए’ स्तरको सेवा प्रदान गर्नु तथा सम्पूर्ण सेवाको निरन्तरता र गुणस्तरीय प्रवाह गर्नु पनि हो”, सूचना अधिकारी ढकालले भन्नुभयो,  “सम्झौता भएसँगै अब यसै  महिनादेखि सबै सेवा प्रारम्भ  हुन्छ ।”    सुविधासम्पन्न भवन निर्माण भएसँगै यस अस्पतालबाट पछिल्लो समय ठूला शल्यक्रिया, प्रयोगशालामा कल्चर सेवाका साथै स्वास्थ्य बीमा, समाजिक सेवा इकाइ तथा फिजियोथेरापी सेवा पनि सञ्चालन हुँदै आएको उहाँले उल्लेख गर्नुुभयो । अब छिट्टैै थाइराइटको हर्मोन जाँच, डायलासिस, एचडियु, आइसियुलगायत सेवा सञ्चालनका लागि अन्तिम तयारीमा रहेको सूचना अधिकारी ढकालले बताउनुभयो ।

तनहुुँ  ः  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त कांग्रेसले नछाडेको बताउनुभएको छ ।    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङस्थित बुद्धसिं पार्कमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ विपीको पथमा हिँडिरहेको बताउनुभयो । विपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि विपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ थियो ।    वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभयो । गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राख्नुभयो ।    वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताउनुभयो । पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भन्नुभयो, “पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे, यसले गाउँको सुन्दरता थपेको थियो, आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।”   वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताउनुभयो । “मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन्, यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु,” पौडेलले भन्नुभयो । 

पोखरा:  पोखराको लेकसाइडस्थित सहारा होटलमा एक युवतीमाथि सामूहिक  बलात्कार गरेकाे आरोपमा नेपाली कांग्रेसका नेता मधुसुदन पाण्डेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार जबरजस्ती करणी उद्योग गरेका नुुवाकोटको बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई गत २५ गते पक्राउ गरिएको हो । ‘जाहेरीमा सामूहिक बलात्कार भनिएको छ । घटना २२ गतेको हो । युवतीले काठमाडौं गएर जाहेरी दएकी थिइन्, डिएसपी तिवारीले भने, ‘घटना पोखराकै भएको कारणले यहाँ काजगपत्र आएको छ । पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैराछ भने अन्य फरार अभियुक्तहरुलाई पनि खोज्ने काम तिव्र पारेका छौं ।’   सामाजिक सञ्जालमार्फत चिनजान भएकी ति युवतीलाई चितवनमा बोलाएर चालकसहित ५ जनाले पोखरा ल्याएको डिएसपी तिवारीले बताए । ‘पीडकहरु चितवनमा थिए । ति युवतीलाई पनि त्यही बोलाएर पोखरा ल्याएको देखिन्छ, उनले भने, ‘पोखरा आएर सहारा होटलमा दुईवटा कोठा लिएर बसेको देखिन्छ । सोही रातमा सामूहिक बलात्कार भएपछि अर्काे दिन काठमाडौं फर्केपछि मालीगाउँमा जाहेरी दिनुभएछ । उताबाट कागजात आएपछि अहिले केस हामीले हेर्दैछौं ।’   पक्राउ परेका पाण्डेलाई जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको उनले बताए ।    पक्राउ परेका पाण्डे नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली कांग्रेका प्रवक्ता समेत भएको बताइएको छ ।   

  पोखरा:   पोखरा महानगरपालिकाले कोभिड–१९ विरुद्व ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।    पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यलय स्वास्थ्य महाशाख विभागले एक सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।   प्रकाशित सूचनामा भनिएको छ,‘कोभिड–१९ विरुद्वको खोप ‘एस्ट्रेजेनिका’ दोस्रो मात्रा लगाएको ३ महिना पुरा भएका र ‘जेनसेन’ खोपको १ मात्रा लगाएको ३ महिना पुरा भएका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रबाट ‘भेरोसेल’ खोपको अतिरिक्त मात्रा‘बुस्टर डोज’ खोप अनिवार्यरुपमा लगाउनु पर्ने छ ।’   सूचनामा उल्लेख गरिएको छ , ‘खोपको अतिरिक्त मात्रा लिन आउँदा अनिवार्यरुपमा पहिलो खोप कार्ड लिएर आउनु पर्ने छ  । भने सो अभियान श्रावन ६ गते पोखराका १४ विभिन्न स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ ।’