पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

पोखरा:  गण्डकी प्रदेशको भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको परिपत्र अनुसार यातायात व्यवस्था कार्यालय कास्कीले असुल्दै आएको सवारी कर तथा जरिवानाको व्यवस्था संशोधन हुने संकेत देखिएको छ ।   सेवाग्राही र आम नागरिकको चर्काे विरोध र गुनासोपछि यातायात व्यवस्था कार्यालय कास्कीले निर्णय संशोधनका लागि मन्त्रालयलाई पत्राचार गरेको कार्यालय प्रमुख डिल्लीराम रिज्यालले बताए ।  ‘हामीलाई जनगुनासो व्यापक आएपछि संशोधन हुनुपर्छ भनेर मन्त्रालयलाई पत्राचार गरिसकेका छौं, रिज्यालले भने, ‘अहिले मन्त्रालय त्यसकै होमवर्कमा लागिरहेको छ । त्यसलाई छिटै संसोधन गर्ने भनेर बचन पाएका छौं । छिटै संशोधन हुने संकेत देखिन्छ ।’   उनका अनुसार यातायात व्यवस्था कार्यालयले गत १ गतेदेखि गण्डकी प्रदेश सरकारको परिपत्र अनुसार नवीकरण र जरिवानामा पहिले भन्दा ४ गुणा बढि शुल्क असुल्दै आएको छ ।   गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक ऐन २०७८ अनुसार नवीकरणको म्याद सकिएको ९० दिनभित्र विना जरिवाना वार्षिक सवारी कर चुक्ता गर्न सकिने व्यवस्था थियो ।    उक्त आर्थिक ऐनको दफा १८ मा उल्लेख छ, ‘सबै सवारी धनीले प्रत्येक आर्थिक वर्षको चैत मसान्त वा सवारी दर्ता किताब नवीकरण गर्ने म्याद जुन अघि हुन्छ, सो म्याद समाप्त भएको मितिले ९० दिनभित्र बुझाइसक्नुपर्ने छ ।’   ऐनले नवीकरणको म्याद सकिएको समयावधि हेरेर ३२ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ । ९० दिन (तीन महिना) कटेपछि ५ प्रतिशत, साढे १ महिनापछि १० प्रतिशत र तीन महिनाको २० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।    तर अहिले भने ३२ प्रतिशतबाट ह्वात्तै बढाएर २ सय प्रतिशत जरिवाना असुल गरेको छ । चालु आर्थिक वर्षदेखि नवीकरणको म्याद गुज्रिएपछि सेवाग्राहीलाई तीन महिनाको मौका दिइएको छैन । म्याद सकिएको अर्काे दिनदेखि नै वार्षिक तिर्नुपर्ने सवारी करको दोब्बर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।   यसअघि तिर्नुपर्ने वार्षिक सवारी कर बापत तिर्नुपर्ने कुल रकमको ३२ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।    भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी ऐनअनुसार चैत मसान्त वा आर्थिक वर्षको अन्तिमसम्म नवीकरण गरेर सवारी कर नबुझाए २ सय प्रतिशतसम्म जरिवाना लिनु भन्ने बुझिएको र सोहीअनुसार गर्नु भन्दै यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको बताइएको छ  । तर, ऐनमा नवीकरणको म्याद गुज्रिएको भोलिपल्टैबाट २ सय प्रतिशत रुपैयाँ जरिवाना लिनु भन्ने स्पष्ट व्यवस्था छैन ।    हाल उक्त जरिवानको विषयमा चौतर्फी विरोध भएपछि व्यवस्था संशोधन गर्नका लागि भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले पत्राचार गरिसकेको छ ।   नेपाल चेम्बर्स अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले अत्याधिक जरिवानाको व्यवस्था संशोधनको संकेत देखिनु सकरात्मक रहेको बताए ।    सरकारले नागरिकलाई कर र जरिवानको चपेटामा राख्ने कार्य निन्दनीय रहेको बताउदै डेलिगेशनको तयारीमा रहेको जानकारी दिए । ‘संशोधनको संकेत सकरात्मक हो, उनले भने, ‘हामी चेम्बर्सको टिम पनि नगारिकको हितविपरितको त्यो व्यवस्था संशोधनको मागसहित बुधबार यातायात मन्त्रालयमा डेलिगेशन जाँदै छौं ।’  

गण्डकी प्रदेशसभा सदस्य एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियन, नेपालको संस्थापक अध्यक्ष मिना गुरुङ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को संसदीय तथा स्थानीय संयोजन कमिटीको अध्यक्षमा निर्वाचित भएकी छिन् ।    जिफन्टको राजधानीमा आयोजित आठौं महाधिवेशनले गुरुङ्लाई अध्यक्षमा निर्वाचित गरेको हो । जिफन्टका केन्द्रीय र स्थानीयतहका सदस्यबीच सम्बन्ध विस्तार गर्ने र स्थानीय एजेण्डालाई केन्द्रीयतहसम्म पु¥याउने उद्देश्यले कमिटी निर्माण गरिएको बताइएको छ ।    अध्यक्षमा निर्वाचित भएपनि कमिटीको बिस्तार पूर्णता दिने काम बाँकी भएको जनाउँदै गुरुङ्दे यससम्बन्धी जिफन्टको अवधारणा अनुसार कसरी अघि बढ्ने भन्ने विषयमा छिट्टै बैठक बस्ने जानकारी दिइन्    

कास्की:    गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ ।   कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेश र मुख्यगरी पोखरामा आयोजना हुने निश्चित भएपछि तयारीका काम अघि बढाइएको छ ।   करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको छ । विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका जुरेको हो । पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताको मिति घोषणा गरेर जिम्मेवारी बाँडफाँट गरेसँगै स्थानीस्तरमा पनि खेल पूर्वाधार निरीक्षण, खेलाडी प्रशिक्षणलगायतका काम अघि बढेको छ ।   प्रतियोगिता सञ्चालनका लागि राखेपले गठन गरेको खेलस्थल व्यवस्थापन उपसमितिले केही दिनयता कास्कीका विभिन्न खेलमैदान तथा पूर्वाधारको निरीक्षण गरेको छ । सो उपसमितिका संयोजक एवं रोखप सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा सहारा क्लबको फुटबल मैदान, पोखरा–१९ स्थित गोष्टेघाट खेलमैदान, माछापुच्छ्र गाउँपालिकाको महेन्द्र मावि खेलमैदान, हेमजाको गौरीशङ्कर खेलमैदान र नेपाली सेनाका खेलमैदान निरीक्षण गरिएको छ ।   संयोजक गुरुङले प्रतियोगिता पोखरा रङ्गशालामै सञ्चालन हुने भए पनि सहभागी टोलीको प्रशिक्षणलाई ध्यान दिएर अभ्यास मैदानको खोजी गरिएको बताउनुभयो । खेल पूर्वाधारका लागि पोखराका विभिन्न वडामा निर्माण सम्पन्न भएका कभर्डहल र खेलमैदानको भरपुर उपयोग गरिने छ । उहाँले भन्नुभयो, “देशको गौरवको रूपमा रहेको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिलेदेखि नै तयारीका काम अघि बढाएका छौँ । खेलस्थलको अनुगमन सुरु गरेका छौँ, पूर्वाधार कस्तो अवस्थामा छन्, के–के काम गर्नुपर्ने हुन्छ भनेर अनुगमन गर्छौँ । प्रतियोगितामा सहभागी टोलीलाई अभ्यास र तयारीमा राम्रो सुविधा दिने योजना छ ।”   गण्डकी प्रदेश खेलकुद परिषद्ले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी सङ्घ सरकार मातहतको राखेपको भए पनि आफ्नो प्रदेशमा हुने प्रतियोगितालाई सफल बनाउन प्रदेश खेलकुद परिषद्ले पनि काम अघि बढाएको हो । परिषद्को सोमबार सम्पन्न पूर्ण बैठकले नवौँ राष्ट्रिय खेलकुद तथा प्रदेशमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्ने गरी कार्य विभाजन गरेको सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो ।   उहाँका अनुसार खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति, बसोबास व्यवस्थापन, स्वास्थ्य, यातयात व्यवस्थापन, सुरक्ष, प्रचार प्रसार, खेल सामग्री तथा पोशाक व्यवस्थापनलगायतका समिति गठन गरी जिम्मेवारी तोकिएको छ । परिषद्ले खेल सञ्चालन कार्यविधि–२०७९ स्वीकृतिका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।   राष्ट्रिय खेलकुदको तयारी तथा टिम छनोट तथा बन्द प्रशिक्षणका लागि करिब रु सात करोड खर्च लाग्ने अनुमान रहेको सदस्यसचिव गुरुङले बताउनुभयो । राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुने निर्णय यसअघि नै भइसकेको छ । अधिकांश खेल पोखरामा नै सञ्चालन हुनेछ । केही खेलको पूर्वाधार अझै पनि तयार हुनसकेको छैन ।    स्वीमिङ, सुटिङ र हक्की खेलको पूर्वाधार पोखरामा पनि छैनन् । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता आयोजकलाई छ । प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना छ । लामो समयपछि हुन लागेको राष्ट्रिय खेलकुदको अपनत्व सबै प्रदेशवासीलाई दिन सबै जिल्लामा खेल आयोजना गर्न प्रस्ताव गरिएको भए पनि फुटबल, क्रिकेट, भलिबल, ह्यान्डबललगायत मुख्य–मुख्य खेलसहित अधिकांश खेल पोखरामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।   उहाँले भन्नुभयो, “चार दशकपछि हुन लागेको प्रतियोगितामा सबैको अपनत्व होस् भनेर हामीले ३६ वटा खेलको खेलस्थल सिफारिस गरेर पठाएका छौँ । यसबारेमा राखेपले केही दिनमै निर्णय गर्ला । धेरैजसो खेल पोखरामै सञ्चालन हुने निश्चित छ ।” योगीका अनुसार प्रतियोगिता तयारीका लागि निर्माणाधीन खेल पूर्वाधार सम्पन्न गर्ने, भइरहेकाको स्तरोन्नति तथा प्रतियोगिताका लागि क्षमतावान् खेलाडीको खोजी, नयाँ खेलाडी उत्पादन र उनीहरूलाई प्रशिक्षण दिने गरी योजना निर्माण गरिएको छ ।   राष्ट्रिय खेलकूदको मुख्य आयोजनास्थल पोखरा रङ्गशालाभित्र ‘इन्डोर’ र ‘आउटडोर’ खेलका पूर्वाधार तयारी छन् । पोखरामा फुटबलको अन्तर्राष्ट्रिस्तरको रङ्गशाला, सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, टेनिस कोर्ट, क्रिकेट मैदानलगायत अधिकांश खेलका पूर्वाधार तयारी अवस्थामा रहे पनि केहीको मर्मत र स्तरोन्नति गर्नुपर्ने छन् । 

  पोखरा:  अखिल नेपाल भूमिहिन सुकुम्बासी संघले आज विरोध जनाउँदै पोखरा महानगर घेराउ गरेको छ ।   सुकुम्बासीमाथि पोखरा महानगरले ज्यादती गरेको भन्दै अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले आज (सोमबार) पोखरा महानगरपालिकाको कार्यालय घेराउ गरेको हो ।   नेकपा (बिप्लव समुह) कास्कीका सचिव काजी गुरुङले आन्दोलनमा बोल्दैे मेयरको कार्यशैली न्यायचित  नभएको तर्क राखे । उनले मेयरले पोखरेली नागरिकहरुलाई समान व्यवहार नगरको बताउदै भने, ‘आदरणीय मेयरसाब तपाई मेयरसाब हैन मेयरसाँप हुनु भो । हामी  सुकुम्बासीमाथी दानवीय दृष्टिकोण राख्नुभो । ठुला पदमा बसेर  हामीलाई विभेद गर्नुभो, उनले थपे ‘हामीलाई गरिखान दिइएन ।  हाम्रो जग्गा जमिन खोसियो र हामिले उब्जाएको तरकारीमा बुट प्रहार गरियो । यो हामीलाई सहनीय छैन ।’   गुरुङले भूमिहिन सुकुम्बासीहरुमा मेयरको निरन्तर पक्षघाति दृष्टिकोण रहेको जनाउँदै उनले भने, ‘तपाइले माक्र्सवाद, लेनीनवाद पढ्नु भएकोछ र यदि तपाई समाजवादी मेयर हो भने आदरणीय मेयरसाब तपाई धनी धनराज भएर हैन, सेवक धनराज भएर जनताको समस्यामा गम्भिर हुनुहोस् ।’   आन्दोलनमा नालायक करोडपति मेयर मुर्दावाद, बास, गाँस, कपासको ग्यारेन्टि गर, सुकुम्बासीको अधिकारको रक्षा गर, लगायतका नारासहित  महानगर अगाडी प्रदर्शन गरिएको थियो ।   पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पिप्लेस्थित​ सुकुम्बासी बस्तीमा निर्मित अस्थायी टहराहरु बल प्रयोग गरि हटाएको थियो ।

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई मारवाडी भोजनालयकातर्फबाट सञ्चालक प्रेमचन्द उपाध्यायले १५ लाख रुपैयाँ सहयोग गरेका छन् ।    क्याम्पसले हाल शान्तिवनमा भवन निर्माण गरिरहेको छ । सोही भवन निर्माणमा थप टेवा पुगोस् भन्ने हेतुले बुवा सूर्यदेव उपाध्यायको स्मृतिमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।    हस्तान्तरित रकम ग्रहण गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पसको भवन निर्माण प्राप्त सहयोग अमूल्य रहेको बताए । लालचनले भने ‘उपाध्यायज्यूले प्रदान गरेको रकम आगामी दिनमा हाम्रा विद्यार्थीकालागि मारवाडी भोजनालयको मिठाईजस्तै स्वादिलो र पोषिलो हुनेछ ।’   उक्त अवसरमा सहयोगी उपाध्यायले सहयोग रकमबाट क्याम्पसले गूणस्तरीय र सबैकालागि शिक्षा प्रदान गर्न सकोस् भन्दै आफ्ना धारणा राखे । ‘शिक्षाभन्दा उत्तम र उपयोगी अन्य कुनै विधा छैन’ उपाध्यायले भने ‘पढे आफुमात्र हैन, देश बन्छ भन्ने बुवाको सोंच पुरा गर्न आफुले सानो सहयोग गरेको हुँ ।’    त्यस्तै, क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्थापनाकालदेखि आफ्नै भवनमा पठनपाठन गर्ने सपना विपनातर्फ परिणत हुँदै गरेको धारणा राखिन् । प्रमुख पराजुलीले भनिन्, ‘आगामी शैक्षिकसत्रदेखि क्याम्पसको आफ्नै भवनबाट कक्षा सञ्चालन हुनेछ, हामी यसैको पूर्णतामा जुटेका छौं ।’   क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ ।    ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् ।   

काठमाण्डौं: मोडिफाई गरी चर्काे आवाज निकाल्ने ३७ वटा रोयल इन्फिल्डको बुलेटचालकलाई काठमाण्डौंमा कारवाही गरिएको छ ।    उपत्यका ट्राफिक प्रहरीले आफुखुशी मोडिफाई गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई चालकलाई कारवाही गरेको जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकलले ध्वनी प्रदुषण बढाउनुकासाथै अन्य प्रदुषणसमेत बढाएको ट्राफिक प्रहरीले जनाएको हो ।    नियन्त्रणपछि उक्त मोटरसाइकलबाट साइलेन्सर पाइप झिकिएको छ भने चालकलाई जरिवाना गरिएको छ ।    साथै, आइन्दा मोडिफाइ नगर्न चेतावनीसमेत दिइएको छ । 

काठमाडौं:  लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।   आइतबार न्यायाधीश कृष्णजंग शाहको इजलासमा भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत असार ११ गते काठमाडौंको नेपालटारस्थित डेरामा गायिका दिलमाया सुनार मृत अवस्थामा भेटिएकी थिइन् ।   त्यसपछि प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेको थियो । 

पोखरा:   ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनका लागि गोष्टेघाट पुगेको छ ।   खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखरा १९ स्थित गोष्टेघाट खेलमैदानको स्थलगत अवलोकन गरेको हो ।   पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारी, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरे । सो अवसरमा बोल्दै खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले उक्त मैदान हक्की र महिला फुटबलको लागि उपयुक्त हुने प्रतिक्रिया दिए ।    संयोजक गुरुङले आगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘यही १५ गते बोर्डको मिटिङ छ । त्यसमा धेरै कुराहरु प्रष्ट हुन्छ । अहिले हामीले प्रारम्भिक रुपमा खेलमैदानहरु हेरिरहेका छौं । त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । यो मैदानमा हक्की वा महिना फुटबलको सम्भावना छ ।’ गुरुङले भने ।   उनले ३७ खेल मध्ये २ खेल काठमाडौं हुने बताउदै ३५ खेल गण्डकी प्रदेशमै आयोजना गरिने जानकारी दिए । उनका अनुसार पूर्वाधारका कारणले सुटिङ र स्विमिङ काठमाडौंमा सञ्चालन गरिनेछ ।    गुरुङले सम्भवभएसम्म गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रतियोगिता आयोजना गरिने बताए । ‘पूर्वाधारहरु के कस्तो छ । त्यो हेरेर हामीले खेल खेलाउने हो । भन्न त सम्भव भएसम्म सबै जिल्लामा खेलाउने भनेका छौं तर यातायात र अन्य कारणले गर्दा केही चुनौती छ, उनले भने, ‘त्यसैले प्राय खेलहरु पोखरा र आसपासमै हुन्छ । हामीले यो भन्दा पहिले सहारा एकेडेमी र हेम्जाको गौरीशंकर खेलमैदान हेरिसकेका छौं । कहाँ के उचित हुन्छ । त्यही गर्ने हो ।’   फुटबल प्रतियोगिता गराउने स्थानीयको चाहना   गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले सो मैदान फुटबल प्रतियोगिताको लागि उपयुक्त हुने बताए ।   उनले सरकारी तथा नीजिस्तरबाट करिब ६ करोड लागतमा सो मैदान निर्माण गरिएको बताउदै ७ हजार दर्शक क्षमतासहितको भिआइपी प्यारापिट रहेको बताए । ‘हाम्रो यो ग्राउण्डमा फुटबल प्रतियोगिता गर्न एकदमै उचित छ, उनले भने, ‘त्यसको लागि हामी तपाइहरुसँग समन्वय गर्न तयार छौं ।’ यसैगरि एन्फा कास्कीका सचिवसमेत रहेका गोष्टेघाट खेल मैदान व्यवस्थापन समितिका सचिव बुद्धि खत्रीले उक्त मैदान निर्माणको काम अन्तिम चरणमा रहेको बताए ।    उनका अुनसार भिआइपी प्यारापिट तथा चेन्जिङ भवनको संरचना खडा गरिएको छ । ‘संरचनाहरु सबै बनिसकेको छ । मैदान पनि अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै बनाएका छौ र यसमा ७ हजार दर्शकको क्ष्मता रहेको छ, उनले भने, ‘अब फिनिसिङको काम मात्रै बाँकी छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल यहाँ खेलाउने हो भने हामी समन्वय गर्न तयार नै छौं ।’   उनले फुटबल खेल आयोजना गर्ने उद्देश्यसहित निर्माण गरिएको मैदानमा फुटबल नै आयोजना गर्ने स्थानीको इच्छा रहेको बताए । ‘यो मैदान फुटबल खेलाउनकै लागि भनेर बनाइएको हो, उनले भने, ‘त्यसैले स्थानीयको पनि यहाँ नवौं राष्ट्रिय प्रतियोगिताको फुटबल नै होस् भन्ने चाहना छ ।’   खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे्र गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।   यद्यपी सम्भाव्यता अध्ययन गरेपनि कुन मैदानमा कुन खेल आयोजना गर्ने भन्ने आधिकारिक निर्णय भने आगामी १५ गते हुने बैठकपश्चात हुने बताइएको छ ।   आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७ खेल मध्ये २ काठमाडौं र बाँकी ३५ खेल पोखरामा सञ्चालन गर्ने लक्ष्यसहित विभिन्न उपसमिति तयारीमा लागिरहेको छ ।

काठमाडौं:  नेपाल र माल्दिभ्सबीचको खेल आज हुदै छ । नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको हो ।   नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।   प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुने बताइएको छ ।   टोलीमा को को छन् ? गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।