पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

पोखरा:  कान्तिपुर टेलिभिजनकर्मी ऋषिकान्त पौडेल नेपाल प्रेस युनियनको उपाध्यक्ष निर्वाचित भएका छन् ।  हेटौंडामा सम्पन्न युनियनको नवौं महाधिवेशनबाट गण्डकी प्रदेशको तर्फबाट पौडेल निर्वाचित भएका हुन् ।   उनले प्रतिद्वन्द्धि तनहुँका ओमकार आचार्यलाई पराजित गरेका हुन् ।   युनियनको विधान अनुसार ७ प्रदेशबाट ७ जना उपाध्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ । उनले गण्डकी प्रदेशको कोटाबाट निर्वाचित भएपनि मत भने देशभरका प्रतिनिधिहरुले हालेका थिए ।    सो निर्वाचनबाट प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित पौडेल कान्तिपुर टेलिभिजनका पोखरा संवाददाता हुन् ।    

पोखरा:  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच आइतबार भेटघाट भएको छ ।   प्रमुख आचार्य र राजदुत श्रीवास्तव बीच पोखरामा भेटघाट भएको हो । भेटघाटका क्रममा पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखरामा पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान लगायतका विविध विषयमा छलफल भएको छ ।     पेखरा महानगरका प्रमुख आचार्यले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेको भन्दै भारतको बनारस लगायत विभिन्न सहरमा नियमित उडान मार्फत पोखरालाई भारतसंग जोड्न चाहेको बताए ।   त्यसका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनको राजदूत श्रीवास्तवलाई आग्रह गरे । साथै प्रमुख आचार्यले पोखरा र यस आसपासको विकास निर्माणमा भारतको तर्फबाट भएको सहयोग प्रति आभार प्रकट गरे । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेकोले त्यसका लागि चाहिने ठूला पूर्वाधारका योजनामा भारतीय सहयोगको अपेक्षा समेत प्रकट गरे ।    भारतीय राजदुत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रसंसा गर्दै नेपाल सरकारसंग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने बताए । भारतले नेपालको राजधानी काठमाडौं पछि पोखरालाई धेरै महत्व दिएको चर्चा गरे ।    काठमाडौं पछि पोखरालाई महत्व दिएर नै यहाँ पेन्सन क्याम्प नै राख्ने देखि विभिन्न परियोजनामा सहकार्य भएको राजदुत श्रीवास्तवले बताए । उनले पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरुले चाहेको र नेपाल सरकारसंग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने आस्वासन समेत दिए ।   

  पाल्पा :  पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ ।   तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना भएको हो ।दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।   मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।

काठमाडौँ  :  प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको उक्त विधेयक पारित गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाणले सदनमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।      त्यसपछि विधेयकका बारेमा सदनमा छलफल भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको दोस्रो बैठकमा ध्वनिमतका आधारमा विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । सभाको पहिलो बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि १५ मिनेट स्थगित भई सञ्चालन भएको दोस्रो बैठकले विधेयक पारित गरेको हो ।      यसअघि विधेयकमाथिको छलफलमा सांसदहरुले भाग लिनुभएको थियो । उहाँहरुले उठाएका प्रश्नको गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुभएको थियो । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको उक्त विधेयक सरकारले विसं २०७६ मङ्सिर २९ मा दर्ता गराएको थियो ।      यसअघि पहिलो बैठकमा संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो ।

पाेखरा:   भनिन्छ ‘भोकालाई खाना र बेरोजगारलाई जागिर’ को आश नदेखाउनु । तर बेरोजगारलाई यस्तै आशा देखाएर गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित पहिलो वृत्ति परामर्श तथा रोजगार मेला’ सकिएको छ । पोखराको प्रदर्शनीकेन्द्रमा गत ६ गतेदेखि सञ्चालनमा रहेको पहिलो संस्करणको मेला आज –आइतबार) सकिएको हो ।    सो मेलामा ३५ बढि स्टलहरु राखिएका थिए भने हजारौंको उपस्थिति रहेको थियो ।  सो मेलामा रोजगारदाताका स्टल, सुचना केन्द्रहरु र विभिन्न परामर्शदाताहरुको स्टलहरु रहेका थिए  ।      सो मेलामा सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको  ‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइए) नामक एप्लिकेसनमा जागिर खोज्नेहरु र कर्मचारी खोज्नेहरुका लािग फर्म भर्ने व्यवस्था मिलाइएको थियो ।    सो एपमा ४ वटा विद्याका व्यक्तिहरुले आफ्नो बायोडाटा भर्नसक्ने व्यवस्था रहेको थियो । सो एपमा सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै अनलाइन फर्मको व्यवस्था गरिएको थियो ।   पोखरा महागरपालिका १२ कि सौन्दर्यकर्मी शान्ती गुरुङले पनि पार्लरका लागि आवेदन दिएको बताइन् । आफु पार्लर पेशामा दक्ष भएको बताउदै रोजगारीको खोजीमा रहेको सुनाइन् ।      यसैगरि लमजुङ राइनास बहुप्राविधिक शिक्षालयमा वनविज्ञान दोस्रो वर्षमा अध्ययनरत चाँदनी मियाँले फरकफरक प्राविधिक विषयको बारेमा जान्ने मौका पाएको बताइन् ।    पोखरा टेक्निकल कलेज हिमालयन आँखा अस्पतालमा नेत्रविज्ञान विषयमा अध्ययरत विद्यार्थी प्रिती बरालले दक्षताको कदर गर्नुपर्ने बताइन् । ‘यदि सरकारले नेपालमै अवसरको सिर्जना र दक्षताको कदर गर्ने हो भने धेरै नेपालीहरु विदेशीने थिएनन् ।’ उनले भनिन् ।   प्राविधिक विषय अध्ययनपश्चात अवसरको बारेमा समेत बुझ्ने मौका पाएको भन्दै खुशी व्यक्त गरेकी थिइन् ।   छैनन् बुवा–आमा, छैन जागिर लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुना मदन, नेपाली साहित्यमा तहल्का मच्चाएको एउटा खण्डकाव्य । जहाँ मुनालाई छोडेर मदन ल्हाँसा गएको कथामा विवेचना गरिएको छ ।   अहिले पनि पैसा र पारिवारिक सुखका लागि कैयौं मदनहरु विदेशीन्छन् । नेपाल सरकारको तथ्याङ्कले वाषर््िाक ६० लाख युवा मुग्लान पस्ने गरेको देखाउँछ । विदेशीने युवाहरुको सँख्या भन्दा कम छैन, स्वदेशमै रोजगारीको खोजीमा कुद्नेहरु सँख्या पनि ।   सरकारसँग बेरोजगारी युवाको ऐकिन तथ्याङ्क हुनुपर्छ । तर कति दक्ष जनशक्ति र बेरोजगार छन् भन्ने तथ्याङ्क गण्डकी प्रदेश सरकारसँग भने छैन ।    यद्यपी तथ्याङ्क संकलनमा थप टेवा पुग्ने उद्देश्यसहित गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पोखरामा तीनदिने ‘वृत्ति परामर्श तथा रोजगार मेला’ सम्पन्न गर्याे । उक्त मेलामा कैयौं मदनहरु सहभागी थिए । तिनै मदनहरु मध्येका एक हुन् मदन नेपाली  । उमेरले भर्खरै एक बीस पार गरे ।    उमेरले कलिलै भएपनि जिम्मेवारीले थिचेको छ । पोखरा महानगरपालिका २३ का मदन उच्चशिक्षा सकेर जागिरको खोजीमा छन् । प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको  रोजगार मेलामा आइपुगेका हुन् । ‘मलाई पलम्बिङ आउँछ । मैले सीप विकास तालिम केन्द्रमा सिकेको हुँ, सुनगाभा न्यूजसँग बोल्दै भने, ‘तालिमपछि अहिले मामासँग काम गर्दै आएको छुँ ।’   उनी घरको जेठोबाठो हुन् । जिम्मेवारी उनको काँधमा छ । त्यसैले उनी राम्रो रोजगारीको खोजीमा छन् । ‘आमाको बित्नुभाको एक वर्ष भयो । बुवा बेपत्ता हुनुहुन्छ । अहिले घरमा भाई, हजुरबुबा र हजुरआमा हुनुहुन्छ, उनले थपे, ‘भाईलाई पढाउने, परिवार हेर्ने मेरै काँधमा आएको छ । त्यसैले राम्रो मौका पाउँछु कि भनेर यहाँ आएको हुँ ।’   उनले उक्त मेलामा रोजगारको लागि आवेदन दिने बताए । ‘यो मेलामा सीप र क्षमता भएकाहरुलाई जागिर मिल्छ भन्ने सुनेको थिए । म पलम्बिङमा दक्ष छु । त्यसैले त्यही क्षेत्रमा फर्म भर्छु । मौका पाए भने राम्रो गर्छु ।’ उनले भने ।’    

काठमाडौँ  ः   नेपाल घरेलु तथा साना उद्योग महासङ्घले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने गरी सार्वजनिक भएको चालु आवको मौद्रिक नीति स्वागतयोग्य रहेको बताएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन र विकासका लागि बहस पैरवी गर्दै आएको महासङ्घले माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता समेटिएको भन्दै नीतिको स्वागत गरेको हो ।         कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना उद्यम र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिई सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई निरन्तरता दिनु मौद्रिक नीतिका सकारात्मक पक्ष भएको महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहको भनाइ छ ।     लघु, घरेलु तथा साना र मध्यम उद्यमका लागि कर्जा पहुँच बढाई कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड दिनु, बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको सावा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिनु मौद्रिक नीतिको राम्रो पक्ष भएको अध्यक्ष सिंहको भनाइ छ ।     बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चापदार्थमा आधाीरत उत्पादनमूलक उद्योगका लागि रु दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिनुजस्ता व्यवस्थाले स्वदेशी उद्योगको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने देखिएको महासङ्घको ठहर छ ।         मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धिमार्फत आयात प्रतिस्थापन गर्दै निर्यात अभिवृद्धि गरी आर्थिक वृद्धिलाई सहयोग पु¥याउने कार्यदिशा मौद्रिक नीतिले विगतको मौद्रिक नीतिले अवलम्बन गरेका सकारात्मक व्यवस्थालाई निरन्तरता दिनु स्वागतयोग्य भएको महासङ्घले जनाएको छ । 

नेपालगञ्ज  ः  करिब साढे दुई दशकदेखि कार्यसमितिविहीन भएको नेपालगञ्जस्थित यस क्षेत्रकै पुरानो महेन्द्र पुस्तकालय पुनर्जीवित हुन थालेको छ । करिब २५ वर्षपछि गत चैत २९ गते गठन गरिएको पुस्तकालयको तदर्थ समितिले काम थालनी गरेपछि महेन्द्र पुस्तकालयमा अहिले चहलपहल सुरु भएको छ ।      लामो समय कार्यसमितिविहीन भएपछि पुस्तकालयको हरहिसाब दुरुस्त राख्न, पुस्तकालयको सदस्यता सङ्ख्या बढाउन, पुस्तकालयको बाँकी बक्यौता असुल गर्ने, विधान संशोधन गर्नका लागि तदर्थ समिति गठन गरिएको पुस्तकालय व्यवस्थापन तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताउनुभयो ।     उहाँका अनुसार, समितिले असार मसान्तभित्र नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवारी पाए पनि विविध कारणले तोकिएका समयमा आफ्नो काम गर्न नसकेपछि असार ३२ गते तदर्थ समितिलाई थप दुई महिनाको समय दिइएको छ ।     यही भदौ महिनाभित्र पुस्तकालयको निर्वाचन गराउन तदर्थ समिति सक्षम रहेको तदर्थ समितिका अध्यक्ष यादवले बताउनुभयो । पुस्तकालयको ७५ वर्ष पुगेका अवसरमा भदौ ३ गते हीरक उत्सव मनाउने र त्यसलगत्तै निर्वाचन गर्ने तयारीका साथ काम भइरहेको उहाँको भनाइ छ ।      हीरक उत्सवलाई व्यवस्थितरूपमा भव्य बनाउन विभिन्न उपसमिति बनाएर काम अघि बढाइएको छ । हीरक उत्सवका लागि आर्थिक समिति, सभा सञ्चालन समिति, प्रचारप्रसार समिति निर्माण गरिएको छ । पुस्तकालयले हीरक उत्सवका अवसरमा महेन्द्र पुस्तकालयलाई योगदान दिएका, साहित्यकार, समाजसेवी लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको तदर्थ समितिका सचिव सुदीप भट्टराईले जानकारी दिनुभयो ।      उहाँका अनुसार, उत्सवका अवसरमा नेपालगञ्जमा विद्यालयस्तरीय निबन्ध प्रतियोगिता पनि सञ्चालन गरिने भएको छ । नेपालगञ्जभित्र रहेका विद्यालयमा महेन्द्र पुस्तकालयको प्रचारप्रसार गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता आयोजना गरिने लागिएको हो । त्यसैगरी उत्सवका अवसरमा नेपालभरिका कविलाई आमन्त्रण गरी बहुभाषी कवि गोष्ठी आयोजना गरिने भएको छ ।

विराटनगर  :    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।   समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अवैधानिकरूपमा विदेशमा काम गर्न गएका र त्यही मुत्यु भएका नेपाली श्रमिकको शव नेपाल ल्याउन विभिन्न कानुनी झन्झट रहेको बताउनुभयो । उहाँले आफूले ती झन्झटको समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो ।     विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि मन्त्रालय लागिपरेको बताउनुभयो । धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र भएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले नयाँ गृहकार्य अघि बढाइरहेको उहाँको भनाइ थियो ।

रुपन्देही  ः   बुटवल उपमहानगरपालिका- ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उहाँ रातभर निदाउन सक्नुहुन्न । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जानुुहुन्छ ।    गतवर्ष चार कोठा पहिरोले पुरिएकोे उहाँको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उहाँहरुले एउटै कोठामा खाने र बस्ने गर्दै आउनुभएको छ । “आकाश गर्जिन थाल्यो भने मन नै सिरिङ्ग हुन्छ,  दिउँसोमा त बरु देखिन्छ तर राति पहिरो आयो भने गुहारसम्म पनि नपाइ मरिन्छ की भन्ने लाग्छ”, विटालु दुःखेसो पोख्नुहुन्छ । तेह्र जनाको उहाँको परिवारमा छोराबुहारी अलग्गै बस्छन् । घरअगाडि सानो ट्याङ्कीको पसल गरेर गुजारा गर्दै आउनुभएका विटालु पहिरोका कारण व्यापार पनि नभएको गुनासो गर्नुहुन्छ ।      यो क्षेत्रमा ४१ वर्षदेखि बसोबास गर्दै आएका उहाँका  परिवारले गतवर्ष पहिरो घरभित्रै पस्दा पनि अहिलेसम्म कुनै राहत तथा सहयोग भने पाएका छैनन् । स्थानीय तहको  निर्वाचनमा हामीले पहिरोबाट बचाउँछौँ भनी राजनीतिक दलका प्रतिनिधि घरदैलोमा भोट माग्न पुगे तर कुनै सहयोग वा पहिरो नियन्त्रणका लागि पहल नगरेको विटालुकी श्रीमती उजेली गुनासो गर्नुहुन्छ । “पानी पर्ने वित्तिकै माटोको लेदोसहितको खोलो बग्न थाल्छ, हामी घर बाहिर रुझेर बस्छौँ । यसरी कति दिन चल्छ । त्यसैले सरकारले हामीलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउनुपर्छ”, उजेली भन्नुहुन्छ । बुटवल- ३ कै सतीकुमारी श्रेष्ठ पनि आकाश गजिर्ने बित्तिकै घर छाडेर हिँड्नुहुन्छ । चुरेको पहिरोका कारण घर जोखिममा रहेकाले पहिरोले पुरिने डरले उहाँ राति घरमा सुत्न सक्नुहुन्न । गत वर्षको पहिराले घरको भूइँतला पुरेपछि लामो समय सरसफाइमै  श्रेष्ठले  बिताउनु परेकोे थियो ।      “गतवर्षको पहिरो बल्लबल्ल सफा गरेँ अहिले पनि पानी पर्ने वित्तिकै घरभित्र लेदोसहितको माटो पस्छ, राति थाहै नपाइँ मरिन्छ की भन्ने डरले अरुको घरमा गएर बस्छु” उहाँ गुनासो गर्नुहन्छ । श्रीमान् र छोराको निधनपछि घरमा एक्लै बस्दै आउनुभएकी श्रेष्ठको सहारा कोही छैन । सरकारले पनि अहिलेसम्म कुनै सहयोग नगरेको उहाँको भनाइ छ ।  “पहिरोका कारण पोहोरदेखि घरमै बस्न नसक्ने अवस्था भइसक्यो तर कसैले केही गर्दैन, कसैले हेर्दैन”, उहाँ आफ्नो बेदाना सुनाउनुहुन्छ ।   अहिले पनि पानी पर्ने वित्तिकै उपमहानगरको-वडा नं ३ र ४ मा पर्ने चुरे क्षेत्रमा लेदो सहितको माटो र पानी बग्न थाल्दा यहाँका बासिन्दा घर छोडेर हिँडन बाध्य हुन्छन् । बुटवल उपमहानगरपालिकाको तिनाउ नदी दायाँबायाँका बासिन्दा पनि  चुरे क्षेत्रबाट पहिरो जान थालेपछि अतालिन्छन् ।    गत वर्षदेखि पानी पर्ने वित्तिकै घर छोडेर हिँड्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । खासगरी  बुटवलको लक्ष्मीनगर र ज्योतिनगर क्षेत्रका बासिन्दा चुरेको पहिरोबाट पीडित छन् । अहिले वर्षा सुरु भएसँगै ती क्षेत्रका बासिन्दा रातिम् घर छाड्न बाध्य छन् । वडा नं ३ का केशवराज पन्थीका अनुसार चुरे पहिरोको जोखिमका कारण यो क्षेत्रका बासिन्दाले अन्यत्रै कोठा भाडामा लिएका छन् । पानी पर्ने वित्तिकै यो क्षेत्र छोडेर भाडाको कोठामा बस्न जाने गरेको उहाँको भनाइ छ ।     असारको पहिलो हप्ता परेको वर्षापछि आएको चुरोको पहिरो केही स्थानीयवासीको घरमा पस्यो । पहिरोबाट बगेर र आएको लेदोसहितको पानी घरघरमा पसेपछि उनीहरुले घर छोडेर हिँडेका थिए । गतवर्ष पहिरोका कारण करिब दुई दर्जन दर्जन स्थानीयवासीका घरमा क्षति पुगेपछि विज्ञको टोलीले चुरे पहिरोको अध्ययन ग¥यो ।उक्त टोलीले अध्ययनमा पानीको अव्यवस्थित सतही बहाब नै बुटवल पहिरोको मुख्य कारण हो भन्ने ठहर ग¥यो  ।  यहाँको पहिरोलाई रोकथाम गर्ने पहिलो उपाय सतही र भूमिगत पानीको सही व्यवस्थापन भएको निष्कर्ष निकालेर उक्त टोलीले राष्ट्रपति चुरे तराई-मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयलाई प्रतिवेदन बुझायो  । पहिरो नियन्त्रणका लागि श्रवनडाँडा (पहिरो गएको डाँडो) को मध्यभागमा रहेका मूलबाट बगेको पानीलाई पाइपमार्फत एकैठाउँ जम्मा गरेर पुराना वा नयाँ नालीमा मिसाउनु उपयुक्त हुने राय विज्ञले दिए पनि  विगत एक वर्षमा भएका अनुगमन, वृक्षरोपण र सामान्य पर्खाल लगाउने कामले मात्र पहिरो नियन्त्रण हुने स्थिति बनेन  ।     गत भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिरोका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो । विज्ञ टोलीले दिएको सुझावका आधारमा ती दुबै स्थानमा वृक्षरोपण गर्ने, तारजाली लगाउने र पर्खाल लगाउने काम गरिएको राष्ट्रपति चुरे तराई–मधेश संरक्षण कार्यक्रम कार्यान्वय इकाइ कार्यालयका सूचना अधिकारी निर्मल थापा बताउनुहुन्छ । “हामीले गत आर्थिक वर्षमा रु दुई करोड ३५ लाख खर्चेर  काम गरेका छौँ तर प्राकृतिक प्रकोपसँग कस्को कसैको केही लागेन ” ।     गतवर्ष उपमहानगरको वडा नं ३ मा पर्ने ज्योतिनगर क्षेत्रमा मात्रै करिब ७० हेक्टर क्षेत्रमा पहिरो गएको थियो । “जुनसुकै समयमा खस्ने गरी ढुङ्गा माटो झुण्डिएर बसेकाले उक्त क्षेत्र निकै जोखिममा रहनाका साथै  गत वर्षको पहिराले बस्ती वरपर  ढुङ्गा माटोसहितको पहिरोको अवशेष  लथालिङ्ग अवस्थामा छ, अहिले त झन पहिराले  बाँच्न दिँदैन की जस्तो लाग्छ”, स्थानीय तुलसा सुवेदी भन्नुहुन्छ ।      पहिरो नियन्त्रणका लागि गतवर्ष स्थानीय तहले केही पहल गरे पनि सङ्घीय र प्रदेश सरकारको खासै चासो नरहेको स्थानीयवासीको गुनासो छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे पहिरो पीडित क्षेत्र अनुगमनका लागि गए पनि ठोस् कदम चाल्न नसकेको तुलसा बताउनुहुन्छ । “अनुगमनले मात्रै केही हुँदैन, पहिरो नियन्त्रणका लागि ठोस् योजना ल्याउनुपर्छ”सुवेदी भन्नुहुन्छ । वर्षभर नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएकाले यो वर्ष पनि सोही समस्या झेल्नुपर्ने अवस्था आएको चुरे-तिनाउ संरक्षण समितिका संयोजक कमल गौतम बताउनुहुन्छ ।     अझैपनि चुरेको पहिरो नियन्त्रणका लागि पहल नगर्ने होे बुटवलमा ठूलो क्षति हुने खतरा रहेको उहाँको भनाइ छ ।संयोजक गौतमका अनुसार यसअघि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा रु दुई करोड ३० लाख र  बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख शिवराज सुवेदीको पहलमा रु एक करोड १५ लाख स्थानीय युवा परिचालन गरी पहिरो नियन्त्रणका लागि खर्चिए पनि पहिराको खतरा टरेको छैन ।      अघिल्लो महिना मात्रै स्थानीय युवाको सक्रियतामा चुरे क्षेत्रबाट ज्योतिनगरतर्फ सोझिएको पानीको मूल स्काभेटर लगाएर चिडियाखोलातर्फ सोझ्याउने काम भएको थियो । “वडा नं ३ को सीरान  बाँसघारीमा १९ फिट जमिन भासिएकाले  स्थानीय युवाले क्षति हुन नदिन स्काभेटरले माटो फालेर बगेको पानीलाई चिडियाखोलातर्फ सोझ्याइदिए । यसका लागि उपमहानगरले डिजेल सहयोग गरेको थियो”,  उहाँ उल्लेख गर्नुहुन्छ ।     विज्ञका प्रतिवेदनअनुसार ज्योतिनगरको पहिरो पीडित क्षेत्र पहिल्यै पहिचान भएको जोखिम क्षेत्र हो । विसं तीर तत्कालीन राजा वीरेन्द्रले चुरे पहाड संरक्षणका लागि कार्यक्रम ल्याउन निर्देशन भएपछि भूताहा, चिसापानी, माकर तथा चिडियाखोला गाउँ पूरै बस्ती स्थानान्तरण गरिएको थियो । यो स्थानान्तरण गर्दा तामनगर र बर्दघाट क्षेत्रमा स्थानीयवासीलाई जग्गा  उपलब्ध गराइएको थियो ।     सरकारले नयाँ ठाउँमा जग्गा उपलब्ध गराउँदा पुरानो ठाउँको जग्गा सरकारीकरण गरिएन र जोखिम क्षेत्रको जग्गा पनि स्थानीयवासीको नाममा नै रह्यो । बुटवलको सहरीकरण तथा आकर्षण बढेसँगै यो ठाउँको पहिरोलाई स्थानीयवासीले पनि बिर्सिए । जोखिम हुँदाहुँदै पनि यहाँको जग्गा पनि किनबेच भयो र  बिस्तारै बस्ती पनि बस्यो  ।  विभिन्न जिल्लाबाट बसाइसराइ गरी आएकाका घर पहिरोमा पुरिए । विसं २०५५को पहिरोमा २१ घर पुरिएका थिए भने ५७ घरमा असर परेको थियो यो क्रम गत वर्ष पनि दोहोरियो । गतवर्ष करिब डेढदर्जन घर पुरिए । ज्योतिनगरका धेरै घरमा ढुङ्गा माटोसहितको लेदो पस्यो ।   यो क्षेत्रमा २०५५ को पहिरोपछि जाइका समूहले सो सर्भेक्षण गरेको थियो । भू–उपग्रहमार्फत चुरे क्षेत्रको तस्वीर खिचेर अध्ययन गरेपछि जाइकाले यो क्षेत्र जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै ठूला रुखले जोखिम निम्त्याउने हुँदा  कटान गर्न सुझाव दिइएको थियो तर त्यो काम अझै भएको छैन । चुरेको पहिरो नियन्त्रणका लागि प्रदेशको वन, वातावरण तथा भू-संरक्षण मन्त्रालयले बृक्षरोपण बाहेक कुनै काम गरेको छैन ।      गत असारको १४ गते बाँस र अम्रिसो रोप्ने काम गरिए पनि पूरा नभएकाले थप बिरुवा रोप्न समय लाग्ने मन्त्रालयका सूचना अधिकारी नारायणदेव भट्टराई बताउनुहुन्छ । पहिरो नियन्त्रणका लागि बाँसको बिरुवा काटेर राइजोन रोप्ने र ब्याम्बो वाल्टरिङ अर्थात बाँसको कप्टेराको जाली बनाएर लगाउने तयारी गरिएको उहाँको भनाइ छ ।     “यो वर्ष यहाँको चुरो पहिरो नियन्त्रणका लागि रु २५ लाख  विनियोजन भएको छ । प्राविधिकको सल्लाह अनुसार काम गर्छौँ”, सूचना अधिकारी भट्टराई भन्नुहुन्छ, “वन मन्त्रालय भएकाले हाम्रो मुख्य काम वृक्षरोपण गर्ने हो । अहिले बाँस र अम्रिसो रोपेका छौँ ।” ज्योतिनगर क्षेत्रमा पानी पर्ने वित्तिकै पहिरो जान सुरु हुने भएकाले तत्काल पहिरो नियन्त्रण तथा व्यवस्थापनकै लागि वन मन्त्रालय, राष्ट्रपति चुरे संरक्षण कार्यालय र बुटवल उपमहानगरबिचको समन्वयमा काम गर्नुपर्ने हो तर त्यसो हुन नसकेको उहाँ बताउनुहुन्छ  ।      “आवश्यकता अनुसार तार जाली भरेर खोलाको पानी बस्तीमा आउन नदिने गरी स्थानीयवासीको सहयोगमा काम गरेका छौँ । थप कामका लागि बैठक बसेर निर्णय गर्छौँ”, बुटवल उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक मित्रमणि खनाल भन्नुहुन्छ । पहिरो नियन्त्रणका लागि यो वर्ष गृह मन्त्रालयले रु ४५ लाख विनियोजन गरेकाले प्राविधिकको सुझावका आधारमा पहिरो नियन्त्रणका लागि दीर्घकालीन रुपमा काम अघि बढाउने उहाँ बताउनुहुन्छ । “धेरै पानी नपरेकाले पहिरो रोकिन्छ की भन्ने लाग्छ”, संयोजक खनाल भन्नुहुन्छ ।