काठमाडौं, बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको टुडालदेवीबाट पक्राउ गरेको हो। जबरा उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ६६ लाख रुपियाँ जरिवाना ठहर भएर फरार रहेको प्रहरीले जनाएको छ। सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्दै पाटन अदालतले उक्त फैसला गरेको थियो। फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा जबरालाई प्रहरीले पेश गरेको जनाएको छ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ जनालाई जुवाखालबाट प्रकाउ गरेको छ । पोखरा महानगरपालिका वडा न. ८ न्यूरोडस्थित नवीन गौचनको घरबाट कास्कीबाट खटिएको प्रहरीको टोलीले नगद २ लाख ५३ हजार ५ रुपै याँसहित ६ जनालाई प्रकाउ गरेको हो । कास्की प्रहरीका अनुसार पकाउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका ३ का ३२ वर्षिय नवीन गौचन, ५४ वर्षिय सोमत तुलाचन, पोखरा अर्चलबोटका ५३ वर्षिय बिराट के।सी, म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ का ४९ वर्षिय कबिन तुलाचन, पोखरा फूलबारी बस्ने ४६ वर्षिय अमित गुरुङ र ४५ वर्षिय नरकाजी गुरुङ रहेका छन् । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारले ताल तथा जलाधार क्षेत्र संरक्षणको लागि कार्यकारी प्रमुखको आवेदन (भ्याकेन्सी) खुला गरेको छ । ताल संरक्षण तथा विकास प्राधिकरण ऐन, २०७५ बमोजिम स्थापित ताल संरक्षण तथा प्राधिकरणको कार्यकारी प्रमूखको छनौटको लागि रोष्टरमा नाम समावेश गराउने सम्बन्धमा आवेदन खुलाएको गण्डकी प्रदेशले सोमबार सुचना प्रकाशित गर्दै उल्लेख गरेको छ । प्रकाशित सुचनामा भनिएको छ, ‘पहिले पनि प्रमूखको छनौटको लागि आवेदन खुुलाइए पनि ऐन बमोजिमको संख्यामा रोष्टरमा नाम समावेश हुन नसकेको कारण पुण आवेदन खुलाइएको हो ।’ इच्छुक योग्य व्यक्तिले उम्मेद्वारमा नाम दिन सम्बन्धित विषयमा स्नात्तोकर गरी दश वर्षको अनुुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ । आवेदन दिने व्यक्ति उमेरले ५५ ननाघेको, नैतिक पतन तथा फौजदारी कसूरमा दोषि नठरिएको र राजनीतिक दलमा समावेश नभएको हनुुपर्नेछ । साथै व्यक्तिगत विवरण, कार्ययोजना, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, अनुुभवको प्रमाणपत्रसहित वन वातावरण तथा भू–संरक्षण मन्त्रालयमा प्राप्त हुुनेगरि सूचना प्रकाशन भएको १५ दिन भित्रमा पेश गरि सक्नुपर्ने जारी सुचनामा उल्लेख गरिएको छ ।
पोखरा: नापी कार्यालयका प्रमुख दिनेश काफ्लेको नेतृत्वमा गठित छानबिन समितिले पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडी भाडामा दिएको ६३ रोपनी सार्वजनिक जग्गाको सम्झौता रद्द गर्नुपर्ने निष्कर्ष निकालेको छ । पोखरामा शुक्रबार पत्रकार सम्मेलन गर्दै निवर्तमान मेयर मान बहादुर जिसीले कानूनी प्रक्रिया नपुर्याई सम्झौता गरेको ठहर गर्दै बदर गर्नुपर्ने जानकारी दिएको हो । गैरकानुनी तरिकाले भाडामा लगाइएका कारण सम्झौता र सम्बन्धित प्रस्तावहरू बदर गर्नुपर्ने उल्लेख गरिएको प्रतिवेदन पोखराका मेयर धनराज आचार्यलाई काफ्लेको नेतृत्वको छानबिन समितिले बुझाएको हो । प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्षलाई सार्वजनिक गर्दै काफ्लेले पूर्ण रुपमा कानून बर्खिलाप सम्झौता गरेको बताए । ‘उपत्यका नगर विकासको स्वामित्वमा रहेको जग्गा तथा संरचना भाडामा लगाउने सम्बन्धमा बोलपत्र सम्बन्धि कागजात तयार गर्ने, सुचना प्रकाशन गर्ने देखि सम्झौता प्रकृयामा विभिन्न त्रुटीहरु रहेको कागजातहरु केरमेट गर्ने सच्याउने थप्ने सम्झौता रितपूर्वक नभएको कागजातहरु संकास्पद देखिएकाले यस सम्बन्धमा थप अनुसन्धान गर्न अनुसन्धान दुरुपयोग आयोगलाई पठाउन उपयुक्त हुने भनी राय पेश गरेका छौं ।’ उनले भने । सो प्रतिवेदनमा आगामी दिनमा उपत्यका नगर विकास समिति मातहतमा रहेका जग्गा तथा संरचनाहरू भाडामा लगाउँदा कार्यविधि तथा मापदण्ड पु¥याएर सम्झौता गर्नुपर्ने समेत सुझाव दिएको छ । यस्तै, मातहत रहेको जग्गाको यकिन विवरण पनि अद्यावधिक गर्न समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । निवर्तमान मेयर मानबहादुर जिसीले प्रक्रिया मिचेर ६३ रोपनी जग्गा आफ्नै ज्वाईसहितको निजी कम्पनीलाई दिएको प्रकरण अध्ययन गर्न एक हप्ताको म्यादसहित काफ्लेको संयोजकत्वमा काफ्लेसहित विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र शुकदेव गौतम सदस्य रहेको समिति गठन गरेको थियो । निर्वतमान मेयर जिसीको बदमासी आफ्नो कार्यकाल सकिन २ दिन बाँकी रहदाँ निवर्तमान मेयर मान बहादुर जिसीले पोखरा पर्यटन बसपार्कको १८ रोपनी जग्गा, गल्फ एकेडेमीको ४० रोपनी जग्गा आफ्नै छोरीज्वाइँ राम भण्डारीका सहोदर भाइ विष्णु भण्डारीको कम्पनीलाई १० देखि २५ वर्षसम्म भाडामा दिएका थिए । जेठ ५ गते कार्यकाल सकिने भएपछि मेयर जिसीले ३ गते आफ्नै निवासमा बोलाएर पृथ्वीचोकमा रहेको ट्रायल सेन्टरको पाँच रोपनी जग्गासहित ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौतामा आफैँले हस्ताक्षर गरेका थिए । पोखरा महानगरको स्वामित्वमा आइनसकेको पर्यटन बसपार्क, यसअगाडी पनि भाडामा दिएर सम्झौता नसकिएको गल्फ एकेडेमीको जग्गा मेयर जिसीले हतारहतार उपत्यका नगरविकास समितिका सदस्यदेखि सदस्यसचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत पनि नभएको मौका पारेर निजी कम्पनीलाई दिएका थिए । गैरकानूनी रुपमा जग्गा भाडामा लिएको कम्पनीलाई पनि तत्काल काम अगाडी नबढाउन पोखरा महागरपालिकाले पत्राचार गरिसकेको महानगरले जनाएको छ । यदि निवर्तमान मेयरले कानून बर्खिलाप जग्गा सम्झौता गरेको खण्डमा वर्तमान मेयर ठेक्का रद्द गर्न पाउने कानूनी प्रावधार रहेको छ ।
पोखरा: पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये केही मुस्ताङ पुग्न बागलुङको बाटो भएर आउँछन् भने केही बागलुङकै पर्यटकीय क्षेत्र घुम्नका लागि पनि आउने गरेका छन् । छोटो समय भएपनि उनीहरुको बिसौनी बन्छ, बागलुङका होटल तथा रेष्टुराँ । यहाँका होटल तथा रेष्टुराँले लामो समयदेखि ग्राहकको सेवा त गरिरहे पनि नयाँ स्वाद र आतिथ्यता दिन नसेकेको महसुस हुँदै आएको थियो । बागलुङमा आउने पर्यटकका लागि नयाँ स्वाद दिन र होटल व्यवसायलाई दिगोरुपमा पर्यटनसँग जोड्न यहाँ क्रियाशील होटल व्यवसायी पछिल्लो समय जुर्मुराएका छन् । होटल एसोसिएसन नेपाल (हान) बागलुङ शाखाले पाहुनाका लागि नयाँ स्वाद पस्किने भन्दै भान्छामा काम गर्नेका लागि सातदिने ‘एड्भान्स कुक तालिम’ दिलाएकोे छ । हान गण्डकी प्रदेशको समन्वय र हान नेपालको आयोजनामा तालिम सञ्चालन गरेर बागलुङ र म्याग्दीका ३० भन्दा धेरै भान्छेलाई तालिम दिइएको हो । एक साता लामो तालिम लिएका भान्छेले अब यहाँका होटलमा पाइने खानाको स्वादमा फरकपन उपभोक्ताले महसुस गर्ने बताए । तालिम समापनका अवसरमा प्रशिक्षार्थी मिरा जिसीले भान्छामा गर्दै आएका क्रियाकलापमा थोरै सुधार गर्दा ग्राहकको चाहनाअनुसारको खाना तयार गर्न सकिने भए पनि ज्ञानको अभावमा आफूहरुले त्यसो नगर्ने गरेको बताउनुभयो । उहाँले तालिमपश्चात् अब सुधार गर्न सकिने जानकारी दिनुभयो । हानका प्रदेश अध्यक्ष हरि शर्मा गैरेले होटल व्यवसायलाई दिगो र जीविकोपार्जनमुखी बनाउन आवश्यक सबै प्राविधिक सहयोग गर्न हान तयार रहेको जानकारी दिनुभयो । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले भान्छालाई उद्योगका रुपमा विकास गरेर त्यहाँबाट तयार गरिने बस्तुलाई बजारीकरण गर्नसके होटल व्यवसाय दिगो हुनेमा जोड दिनुभयो । सेफ्स एसोसिएसन नेपालका प्रमुख प्रशिक्षक श्याम लामा र प्रशिक्षक शितल खनालले भान्छेहरुलाई तालिम दिनुभएको थियो ।
कास्की: पोखरामा एक प्रहरी जवानको मृत्यु भएको छ । मुत्यु हुनेमा बाग्लुङकाे जैमिनी नगरपालिका ९ की पवित्रा थापा रहेकी छिन् । प्रहरी जवान थापाको उपचारको क्रममा बिहिबार मृत्यु भएपश्चात अन्तिम श्रद्धाञ्जली अर्पण गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्दै जानकारी दिएको हो । गण्डकी प्रदेश प्रहरीका अनुसार मृतक थापा गत सालको असोज १७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभुत तालिम ७–०३ औं समुहमा तालिम गर्दै आएका थिए । उनको नियमित (शारीरिक अभ्यास) तालिमको क्रममा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । उपचाररत रहेकी उनको उपचारकै क्रममा बिहिबार मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले घोषणा गरेको थियो । मृत्युपश्चात उनलाई गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । यसअघि गत हप्ता पनि बुटबलमा तालिमकै क्रममा एक प्रहरी जवानको मृत्यु भएको थियो ।
म्याग्दी ः अरिङ्गालको परिकार चाख्नुभएको छ , यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ । एक प्लेट फ्राइ अरिङ्गालको लार्भालाई रु ५०० तिर्नुपर्छ । जङ्गल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिङ्गालको गोला खोज्न जुट्छन् । मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ । अरिङ्गालको गोला काटेर त्यसबाट लार्भा ९किरा० निकालिन्छ । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिङ्गालको परिकार बनाएर बिक्री गर्दै आउनुभएको छ । सिर्जनालाई ग्राहकले ‘अरिङ्गालवाली’को नामले चिन्ने गरेका छन् । यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउनुहुन्छ । “ग्राहकको रोजाइमा अरिङ्गालको परिकार बढी पर्छ”, उहाँले भन्नुभयो । भट्टचनको अरिङ्गाल व्यापार बेनीमा मात्रै सीमित छैन । काठमाडौँ, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ । “परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु”, उहाँले भन्नुभयो । फ्राइ अरिङ्गाल प्रतिप्लेटको रु ५०० पर्छ । यही परिकारबाट हरके याममा रु चार लाखदेखि रु ६ लाखसम्म कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । अरिङ्गालको लार्भा एक माना रु एक हजार ६०० देखि रु दुई हजारसम्ममा उहाँले खरिद गर्नुहुन्छ । यसरी खरिद गरेको अरिङ्गाल भुटेर भट्टचनले बिक्री गर्नुहुन्छ । “हाल दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो । भिरमह शिकारलाई जस्तै अरिङ्गाल शिकारलाई पनि सरकारले अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने माग बढेको छ । सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेका रुखबाट अरिङ्गालको शिकार गर्न पाइने वा नपाइने भन्नेबारे वन डिभिजन कार्यालयसित कुनै जवाफ भने छैन ।
पोखरा: गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशको दशौं अधिवेशन तथा अठ्ठाइसौं प्रदेश सभाको बैठकबाट आज (बिहीबार) बजेट पास भएको हो । प्रदेशका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९-०८० का लागि असार १ गते ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेका थिए । गण्डकी प्रदेशका सांसदहरुबीच तालमेल नमिल्दा बजेटउपर छलफल लम्बिएको थियो । पूर्व सरकारले राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्री बरालले कटौटी गरेपछि सत्तारुढ दलमा विवाद चुलिएको थियो । सो कार्यक्रमलाई फरक शिर्षकबाट समेट्ने प्रतिवद्धता पछि २२ असारमा विनियोजन विधेयक पेस भएको थियो । ६ दिनको निरन्तर छलफलपछि आज (बिहीबार) बजेट पारित भएको हो ।
पोखरा: पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ । सूचनामा असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने उल्लेख गरिएको छ । जापानी प्राविधिकहरुले केवलकारको परीक्षण पश्चात साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउने कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए । पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन गरिरहेको छ । फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार सञ्चालन गरिएको हो । केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो ।

