पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

लमजुङ। गए रातिदेखि परेको वर्षाले पहिरो जाँदा डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ उदीपुरको देउरालीडाँडामा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।   सो सडकखण्डको वैकल्पिकरूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुरबजार जोडिने यस भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो । गत वर्ष र केही हप्ताअघि गएको बाढीले डुम्रे बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रुपमा सञ्चालन हुँदै आए पनि याे खण्डसमेत पटक–पटक बाढीपहिराले अवरुद्ध बनाउँदै आएको छ ।   सडक अवरुद्ध भएपछि बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, तनहुँ, गोरखालगायत जाने सो स्थानबाट बेँसीसहर आउने सवारीसाधन सञ्चालन हुन नसकेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।   पहिरोले बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।  गए रातिको वर्षाले बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा पहिरो खस्दाउक्त स्थानमा सवारी सञ्चालन हुनसकेको छैन । उक्त स्थानमा सडक अवरुद्ध भएसँगै बिहानैदेखि वैकल्पिक सडक बेँसीसहर–बाझखेत हुँदै खुदी निस्कने सडकबाट सवारीसाधन सञ्चालन भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।   यस सडक लमजुङ–मनाङ जोड्ने एक मात्र सडक हो । ६५ किलोमिटरको यस सडकमा दैनिकजसो नै सडक अवरुद्ध हुने गर्दा यात्रुहरू मर्कामा परेका छन् ।  

पोखरा:  गण्डकी प्रदेश सभा सदस्य तथा राष्ट्रिय जनमोर्चाका संसदीय दलकी नेतृ पियारी थापाले गलत नियतसहित बजेट विनियोजन नगरेको बताएकी छिन् ।   उनले नेपालका वाद्ययन्त्रहरु संग्रहित संग्राहलयको भवन निर्माणको लागि स्थानीय वडाका जनप्रतिनिधिहरुको आग्रह अनुसार बजेट विनियोजन गरेको आज (सोमबार) विज्ञप्ती जारी गर्दै गलत मनसायले बजेट विनियोजन नगरेको स्पष्ट पारेकी हुन् ।   विज्ञप्तीमा भनिएको छ, ‘गाउँमैत्री अक्षयकोष (जिमाक) २०६८ सालमा दर्ता भएर लगातार१० वर्षसम्म ट्यालेन्ट आफ भिलेज कार्यक्रम सञ्चालन गरेर दुर्गम गाउँमा हुर्केका प्रतिभाहरुको खोजी गर्ने कार्य सम्पन्न गरिसकेको छ । हालसम्म संस्थाले आफ्नो नाममा ६ रोपनी जग्गा व्यवस्थापन गरेर अहिले वृहत सांस्कृतिक संग्राहलय निर्माण कार्यमा लागिपरेको छ ।    हाल यस संस्थामा म कुनै पनि भुमिकामा संलग्न छैन, विज्ञप्तीमा भनिएको छ,  ‘यो संस्थामा अहिलेसम्म धेरै पदाधिकारी र सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । यो आर्थिक वर्षमा विनियोजित ६० लाख रकम संस्था तथा सोही वार्डका जनप्रतिनिधिहरुको माग र आग्रहमा विनियोजन भएको हो ।   सो बजेट चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भएको तेस्रो तलाको हवाई ढलानसहितको संग्राहलय भवनको सम्पन्नताको लागि खर्चिने उद्देश्य हो । हाल दोस्र्रो अध्यक्षको रुपमा हेमराज आश्रम रहेपनि संस्थाको विधान अनुसार साधारण सभापश्चात नेतृत्व परिवर्तन गरेर यो योजना कार्यान्वयनमा लगिने कुराको प्रतिवद्धता गर्दछु । साथै यसमा हाम्रो कुनैपनि प्रकारको गलत नियत नजोडिएको कुरा पनि स्पष्ट गर्न चाहान्छु ।’   राष्ट्रिय जनमोर्चा पार्टीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य थापाले विहे गरेपछि स्थापित कोषका लागि बजेट विनियोजन गरेको आरोप लागेको थियो ।  २०६६ सालमा जनमोर्चाको सांस्कृतिक समूह रक्तिमका प्रशिक्षक हेमराज पुन आश्रमसँग विवाह गरेपश्चात उनीहरूले गाउँमैत्री अक्षयकोष (जिमाक) सुरू गरिएको बताइएको छ ।

  पोखरा:   गण्डकी प्रदेश सभा सदस्य धनमाया लामाले आफ्नो जेठाजुको स्मृति कोषमा ५० लाख बजेट विनियोजन गरेको पाइएको छ ।    गण्डकी प्रदेश सभा सदस्य लामाले जेठाजु भिमसेन पोखरेलको नामको भिमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख विनियोजन गरेका हुन् । गोरखाको सिरानचोक गाउँपालिका ५ स्थित राष्ट्रियस्तरको ‘ १० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धका विषय समेटेर युद्ध संग्रहालय बनाउने उद्धेश्यले बजेट सिफारिस गरेकी थिइन् ।    यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बुबा गोबद्र्धन शर्माको स्मृतिमा तनहुुँको व्यास नगरपालिकामा स्थापित कोषलाई ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा स्थापित पुननारायण– धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ र सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।    कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ, सोही नगरपालिकाका पूर्वउपप्रमुख सीता काफ्लेका दिवंगत पतिको नाममा स्थापित डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ, सांसद विनोद केसीका सहोदर दाइका नाममा म्याग्दीको बेनी नगरपालिका– ७ मा स्थापित सहिद मदन केसी स्मृति भवन निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ ।    बागलुङकी सांसद पियारी थापाको सिफारिसमा काठेखोला गाउँपालिका–४ स्थित जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ विनियोजन भएको छ ।    स्थापित कोषलाई बजेट खर्च नदिने    गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको सबैतिर विरोध भएपछि आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको छ ।   मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत मुख्यमन्त्री,मन्त्री, सांसदहरुको आफन्तको नाममा स्थापित कोष तथा प्रतिष्ठानका नाममा विनियोजन बजेट खर्चलाई प्राथमिकता नदिने निर्णय भएको उल्लेख गरिएको छ ।    

  पोखरा:   पोखरामा आगामी असौज ६ देखि ९ गते सम्म आयोजना हुने ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’ सफल बनाउन सहभागिहरुले प्रतिवद्धता जनाएका छन् ।   प्रतियोगिताको तयारी स्वरुप पोखरामा आइतबार सम्पन्न बैठकमा सहभागिहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । बैठकमा आफ्ना भनाई राख्दै प्रतियोगिताको आयोजक संस्था मध्येको एक नेपाल तेक्वान्दो संघका उपाध्यक्ष इन्जिनियर सञ्जिव रेग्मीले  तेस्रो सस्करणको माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप पोखरामा हुन गौरवको विषय रहेको बताए । उनले भने–“प्रतियोगिता आयोजना गर्न जति सहज देखिन्छ त्यसलाई सफल बनाउन उत्तिकै चुनौती पनि छ ।” उनले प्रतियोगितालाई सफल बनाउन भूमिका सम्पूर्ण पोखरेलीहरुको एकवद्धता आवश्यक रहेको कुरा औंल्याए ।   सो अवसरमा आफ्ना भनाई राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले यो प्रतियोगिताले विश्वमानै पोखराको शान उच्च हुने गरी साझा कार्यक्रमको रुपमा सफल बनाउन सबैको उत्तिकै दायित्व रहेको उल्लेख गरे । उनले प्रतियोगितामा तिनै तहको शुरक्षा निकायको परिचालन गरी विदेशी खेलाडी र पाहुनाहरुलाई शुरक्षा प्रदान गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।   सो बैठकमा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले प्रतियोगिता सफल बनाउन पोखरेलीहरुले नै स्वामित्व लिनुपर्ने कुरा औंल्याए । पोखरा खेलकुदको शहरको रुपमा स्थापित भए पनि यहाँ अझै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुने गरी पूर्वाद्धारको अभाव खटकिएको बताउँदै उनले अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता बढाउन संघले सक्रियतापूर्वक काम अघि बढाएको उल्लेख गरे ।   बैठकमा तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराई, पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, रेष्टुरेन्ट एण्ड बार एशोसियसनका अध्यक्ष लक्ष्मण बराल, हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा।रामजी शर्मा, नेपाल पर्यटन वोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी, गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडल, कोषाध्यक्ष माइकल कर्माचार्य लगायतले प्रतियोगिता सफल बनाउने बारे आफ्ना भनाई राखेका थिए ।   सो अवसरमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङ ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०२२’को हाल सम्म भएको तयारीका बारेमा जानकारी गराउँदै उक्त प्रतियोगितामा करिव १ हजार ५ सय खेलाडीहरुको सहभागिता रहने अपेक्षा गरिएको बताए ।   

पोखरा:   भानु जयन्तीका अवसरमा  असार २९ गते गण्डकी प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरिएको हो । गत चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।   आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

  पोखरा:   गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो ।    उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए । उनले भने, ‘हामीले महसुस गरेका छौं, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिटै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ ।    कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे । उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेश भित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाहरुबाट नामहरु छनोट गरिएको बताए । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए ।   गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्था मन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ ।    विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पेस गरे । उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’ अनुसन्धान आफैमा कठीन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०/१५ वटा मात्र सफल हुने भएकाले सतप्रतिशत नतिजा आउन नसक्ने भनाइ राखे । ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ उनले भने । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत आविश्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उनले बताए । गण्डकीमा आविश्कार केन्द्रकै खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि उनले खुलाए ।    विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोन,  लगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन् ।    गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्य सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।    कार्यक्रममा छनोट समितिका संयोजाथमा क मन्त्री कुमार खड्कासहित मन्त्रीहरु, प्रदेश सभाका सदस्य, प्रमुख सचिव, सचिवहरुसहित निजी तथा सरकारी क्षेत्रका प्रतिनिधि सहभागी थिए ।  साथमा तस्बिरहरु छन् । 

  पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले चर्चाका लागि दिनभर गिट्टी कुटेर महानगर समृद्ध बन्न नसक्ने बताएका छन् ।     पोखरा महानगरपालिकाको एघारौँ नगरसभाबाट बजेट पारित भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर आचार्यले चर्चाका लागि गरिएको कार्यले सफल महानगर बनाउन नसक्ने टिप्पणी गरेका हुन् ।    समृद्ध महानगर बनाउन आएका जनप्रतिनिधिहरुले खोलामा गएर गिट्टी कुट्नु सस्तो लोकप्रियाता मात्रै भएको मेयर आचार्यले दाबी गरे । ‘काठमाडौँ र धरानका मेयरले गरेको कार्य नराम्रो होइन, उनले भने,  ‘तर एक दिन खोलामा गिट्टी कुटेर बस्दा महानगरको अरु काममा अवरोध पुग्छ । त्यसैले त्यो सस्तो लोकप्रियता मात्रै हो ।’   उनले जनप्रतिनिधि नै गिटी कुटेर हिड्न फुर्सद नहुने भन्दै चर्चाको लागि मात्रै त्यस्तको कार्य गरेको दोहोर्याए ।    जनताले पाँच वर्षका लागि काम गर्न पठाएको मेयर आचार्यले बताउदै भने, ‘चर्चाका लागि गरिएको हो । तर  त्यो काम मयेरले गर्ने होईन । ५ वर्षसम्म योजना र विधि पु¥याएर समृद्ध महानगर बनाउन तिर लाग्नुपर्छ ।’    मेयर आचार्यले फरक प्रसंगमा बोल्दै आफुले महानगरको काममा अवरोध पुग्ने खालको कार्यक्रम, उद्घाटन, सभा सम्मेलनमा नगएको  स्पष्ट पारे ।   त्यसैगरि महानगरले सडकका खाल्डाहरु पुर्ने कामलाई तिव्रता दिएको बताउदै आवश्यक पूर्वाधार खरिद गर्न विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको बताए । उनले महानगरलाई सफा र फोहोरमुक्त बनाउनका लागि आवश्यक परेको खण्डमा बु्रमर खरिद गर्नेगरि योजना तर्जुमा गरेको उल्लेख गरे ।   मेयर आचार्यले उपत्यका नगर विकासको पक्षमा जिल्ला अदालत कास्कीले फैसला सुनाएपछि ३५ दिने अल्टिमेटमसहित आफ्नो जग्गा संरक्षण गर्न डोजर चलाएको बताए । ‘जिल्ला अदालतले उपत्यका नगर विकासको पक्षमा फैसला गर्याे । त्यो जग्गाको संरक्षण गर्ने दायित्य हाम्रो हो, मेयर आचार्यले भने, ‘त्यसैले हामीले ३५ दिने सुचना जारी गर्दै संरक्षण गर्नका लागि डोजर लगाएको हो ।’   ल्याण्डफिल्ड साइटलाई पोखरा ३३ को टिमुरफाटामा लाने भनिएपनि स्थानीयको अवरोध पनि महानगरले विकल्प खोजिरहेको आचार्यले बताए । उनले फोहोर व्यवस्थापनका लागि फोहोरको प्रकृति अनुसार व्यवस्थापन गर्ने उल्लेख गरे ।    उनले निर्माणाधिन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि  ल्याण्डफिल्ड साइट सार्नैपर्ने बताउदै फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई केही समय मात्रै म्याद थपेको जानकारी दिए ।   महानगरको एघारौं नगरसभाले सर्वसम्मत पारित गरेको बजेटमा सम्मुन्नत पर्यटकीय पोखरा बनाउने, पर्यटनको पूर्वाधार निर्माण गर्ने, सडक सौन्दर्यकरण, पार्कहरु निर्माण गर्ने, फोहोरमैलाको उचित व्यवस्थापन गर्ने, वातावरण संरक्षण, उद्यमशील तथा रोजगार केन्द्रित कार्यक्रम अघि सार्ने र ग्रामीण एवं शहरको सन्तुलित विकासलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । साथै एक वडा एक सार्वजनिक शौचालय निर्माण गर्ने, सवारी जोखिम न्युनीकरणको लागि न्युरोड र मुख्य सडकमा डिभाइडर राख्ने, सडकहरुमा रोड मार्किङ, ट्राफिक लाइट र सि.सि क्यामेरा जडान, सोलार लाइट र स्मार्ट सडक बत्ती राख्नका लागि पर्याप्त बजेट छुट्याईएको महानगरले जनाएको छ ।   पोखरा महानगरको आर्थिक वर्षका लागि कुल बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रहेको छ । सो मध्ये पूर्वाधार विकास कार्यक्रममा ४ अर्ब ५३ करोड ९२ लाख र महानगरको साधारण र महाशाखातर्फ ३ अर्ब ५१ करोड ५३ लाख ५५ हजार र वडा कार्यालयहरु तर्फ ७२ करोड ६० लाख बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको तुलनामा यो बजेट ४० प्रतिशत बढी हो ।  

  पोखरा:   पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु आठ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ ।   गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालू आवमा महानगरको बजेट रु छ अर्व ४१ करोड १० लाख थियो ।   महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान रु दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्व एक करोड रहेको रहेको छ ।यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।   बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा रु एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको छ ।

  पोखरा  :  परमार्थनगर क्लव पोखरा २७ डाडाकोनाकले निःशुल्क दन्त शिविर सम्पन्न  गरेको छ ।    निःशुल्क दन्त शिविर कार्यक्रममा बोल्दै पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले  भोलिका कर्णदार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरुलाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गरे ।     केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा. मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गरेका थिए । साथै डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निर्णय समेत गरिएको क्लवका उपाध्यक्ष विजय वस्ताकोटीेले बताए । शिविरमा करिव १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएका छन् ।   क्लवका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षता र सचिव आदर्श लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएो थिो ।