गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले प्रदेशको दशौं अधिवेशनअन्तरगत बजेटमा उठेका सवालका जवाफ दिने क्रममा १० लाख घटीको योजना नल्याउन आग्रह गरेपनि त्यसो हुन नसकेको बताएका छन् । मैले माननीयज्यूहरुलाई १० लाख घटीको योजना नल्याउन भनेपनि लागु हुन सकेन’ अर्थमन्त्री बरालले भने ‘सोही कारण टुक्रे योजनामा पैसा छुट्याउन बाध्य भइयो ।’ १० लाखभन्दा कम योजनामा बजेट छुट्याउँदा टुक्रे योजनामा पैसा छरेको आरोपप्रति उनको सफाई छ । सम्बन्धित माननीयज्यूहरुले किन र कसरी टुक्रे योजना ल्याउनुभयो ? भन्दै बरालले यस्ता योजना प्रभावकारी नहुने उल्लेख गरे । ‘मैले साना योजनाहरु वार्षिक विकास पुस्तिकामा नसमेटौं भनेको हो तर सांसदहरु पुरानै ढर्रामा चल्न मन पराउनु भयो’ उनले भनेका छन् । टुक्रे योजनाले समग्र विकासमा योगदान दिने नभई सांसद विशेषलाई फाइदा पुग्ने उनको टिप्पणी छ ।
पोखरा: प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गुरुपूर्णिमा एवम् भानु जयन्तीको अवसरमा प्राज्ञिकले २० बढि गुरु (प्राध्यापक) हरुलाई पुष्पगुच्छा, कलम र डायरी प्रदान गर्दै सम्मान गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पसका प्रमुख डा।सरोज कोइरालाले आफुहरुलाई सहायक स्वीपर भएको बताए । ‘क्याम्पसभित्रको गतिविधि र वातावरणलाई बिग्रनबाट बचाई क्याम्पसका फोहोरहरु र विकृतिलाई हटाउदै विद्यार्थीमैत्री र स्वच्छ परिवेश निर्माण गरि असल शिक्षा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनले भने । क्याम्पसको इतिहासमै पहिलो पटक गुरुपूूर्णिमाको अवसरमा गुरुपुजन एंव सम्मान कार्यक्रम सञ्चालन गरिएको बताउदै प्राज्ञिकको उदाहरणीय काम गरेको प्राज्ञिकका राष्ट्रिय सह–संगठन सचिव रमेश बताए । उनले प्रसंशनीय कार्य गरेको भन्दै खुशी समेत व्यक्त गरेका थिए । यसैगरि कार्यक्रममा पोखरा विश्वविद्यालयका औषधी विज्ञानका उप–प्राध्यापक शिव संकल्प आचार्यले भानुुभक्तले नेपाली साहित्यमा दिएको योगदान र त्यसको मुल्याकंनको बारेमा चर्चा गरे । पृथ्वीनारायण क्याम्पसका प्राध्यापक शोभाकान्त गौतमले रामायणको कथालाई जोड्दै भने, ‘छ करोडको घरमा रामायण, जहाँ गयो त्यही रामायण’ रामायण नेपाली छोरीहरुको व्यथा हो ।’ गुरु र शिष्यबिचको सम्बन्धलाई उल्लेख गर्दै गौतमले भने, ‘गुरु एउटा मार्गदर्शनको सहयात्री मात्र हो । गुरुले २५ प्रतिशत सिकाउँछ भने ७५ प्रतिशत तपाई आफैले सिक्नुपर्दछ । त्यो नै गूरुको लागि गुरु दक्षिणा होे ।’ कार्यक्रममा पिएन क्याम्पसमा अध्ययनरत ७० बढि विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जिवन नेपालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सन्देश लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पारस खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी र स्वतन्त्र उम्मेदवार (जनप्रतिनिधिहरु) ले आ– आफ्नो घोषणा पत्र अगाडी सारे । स्थानीय तहको निर्वाचनलाई दलविहिन बनाउने उद्धेश्यले देशको ठुलो महानगर पोखरा महानगरपालिकामा गनेस पौडेलले पहिलो उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक गरे । सबैभन्दा चाँसोको रुपमा हेरिएको स्थानीय तह काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र पोखरा महानगरपालिकालाई स्थानीय तथा नेता कार्यकर्ताहरुले विशेष चाँसोका रुपमा हेरेका थिए । चुनावी नतिजा ठुला पार्टीले सोचे जस्तो आएन । काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारीहरुले चुनाव जित्नुले दलको भूमिका माथि प्रश्न उठेको छ । चुनावी नतिजा सार्वजनिक भएपछि दलका नेताहरु जुलुुसमा निस्कदा दुई स्वतन्त्र उम्मेदवार स्थानीयको समस्या समाधान गर्न अगाडी बढे । ‘काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा उदायका बालेन्द्र साह ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्न लागे र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पानीको मुहान खोज्न । तर पाँच दलीय गठबन्धनबाट चुनाव जितेका पोखरा महानगरका मेयर धनराज आचार्यको कार्य शैली भने फरक छ । मेयर भएकै कारण पछिल्लो समय एउटै तुलोमा जोखिन थालेका छन् । चुनाव सकिएको दुई महिना बितेसँगै आम नागरिकको पक्षमा कुन मेयरले कति काम गरे । भन्दै गफिन नागरिकहरु थालेका छन् । मतपरिणाम सार्वजनिकपछि धरानका मेयर स्थानीयसँग खानेपानीको मुहान तिर लाग्दा पोखराका मेयर विजय जुलुस र कर्मचारीको जन्मोत्सवको केक काट्न व्यस्त देखिन्थे । तर उनको एजेण्डा भने पोखरालाई नयाँ परिचय दिने घोषणा गर्दै आए थिए । चुनावी मैदानमा आउँदै गर्दा धरानका मेयर हर्क साम्पाङ राईले धराने जनतालाई पानी खुवाउन नसकेसम्म आफुले चुनावमा विजय भएको अर्थ नहुने तर्क गरेका थिए । त्यसैले उनी यति खेर कार्यालय समयपछि लगातारको श्रमदानपछि धरानमा पानी ल्याउन सफल भएका छन् । यतिबेला उनको गिट्टी कुट््दै गरेको र ढुंगा काधमा बोकेको फोटो भाइरल छ । उनको उक्त कार्यलाई अहिले सामाजिक सञ्जालमा समर्थन र विरोधका टिप्पणीको ओइरो छ । कतिले मयेर हुन् त धरानको जस्तो भनेका छन् त कतिले सस्तो लोकप्रियताका लागि सो कार्य गरेको कहल्याएका छन् ।तर उनले भने कार्यलय विदाको दिन निरन्तर श्रमदानमा व्यस्त रहेको स्पष्ट पार्दै आएका छन् । उनले अन्ततः धरान उपमहानगरपालिकाको ११ र २० वडाको सिमाना खानेपानी ल्याइछाडेका छन् । यता पोखरा महानगरपालिकाका मेयर आचार्यले ११ नगरसभामा बजेट पास भएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ र धरानको मेयरसँग आफुलाई तुलना नगर्न आग्रह गरेका थिए । उनले पनि पछिल्लो समय धरानका मेयर राइको देखासिखी गर्न लागेका छन् । कृषकको समस्या बुझ्न भन्दै पाखोबारी सम्मै जान भ्याए । अहिले उनले हातमा खर्बुजा लिएको तस्बिर भाइरल छ । मंगलबार पोखराका संञ्चार माध्यममा ‘पोखरेली मेयर कृषकको पाखोबारीमा’ नामक समाचार प्रकाशित भयाे र स्थानीय मिडियामा राम्रै स्थान जमायाेकाे छ । पोखरा महानगरपालिका २१ मा कृषक सम्मान तथा अनुदान वितरण गर्ने कार्यक्रममा पुगेका मेयर र कर्मचारीहरुले कृषक ज्ञानबहादुर कार्कीले उत्पादन गरेको खर्बुजा लिएर फर्केका थिए । सोही तस्बिरलाई लिएर अहिले नागरिकले धरानका मेयर हर्क साम्पाङ राईले ढुंगा बोकेको तस्बिर र पोखरेली मेयरले खर्बुजा बोकेको तस्वीरलाई तुलना गरिरहेका छन् । यद्यपी दवै मेयरहरु आफ्नो नगरपालिका विकासको लागि भने फरक फरक शैलीबाट लागिरहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बन्दुक भन्दा पत्रकारको कलमको कलम बलियो हुने बताएका छन् । फोनिज कास्कीले आयोजना गरेको कर्म– कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०७९ अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । गुरुङले कहिकतै बन्दुकको निशानामा एकजना मात्र पर्ने बताउदै पत्रकारहरुको कलमले निमले हजारौलाई निशाना लगाउन सक्ने धारणा राखे । उनले मुलुकको विकासमा पत्रकारहरुको महत्वपूर्ण भुमिका रहने बताए । उनले फोनिजमा आवद्ध पत्रकारहरुले आफ्नो कला, संस्कृति तथा ऐतिहासिक महत्व बोकेको सम्पदाको पक्षमा कलम चलाउन आग्रह गरे । प्रदेश प्रमुख गुुरुङले विश्वको राजनैतिक, सामाजिक, आर्थिक जस्ता परिवर्तनमा पत्रकारको कलमको अहम् भुमिका रहेको बताएका थिए । त्यस्तै पोखरा महानगरपािलकाका उपप्रमुख मञ्जुदेवी गुरूङले आदिवासी जनजातिको क्षेत्रमा फोनिज कास्कीले विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गर्दै आफुले पनि सक्दो सहयोग गर्ने धारणा राखिन् । पुरस्कार ग्रहणपश्चात बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका अध्यक्ष रूद्र श्रीसमगरले आदिवासी जनजातिहरूको मौलिक संस्कारको जर्गेना गर्नुसबैको कर्तव्य रहेको भन्दै आफ्ना कला, संस्कृतिलाई समेत कर्म बनाएर कलम चलाउदा आनन्दको महसुस गर्नेगरेको बताए । यसैगरि पुरस्कारदाता समाजसेवी कर्म गुरुङले आफुले स्थापना गरेको पुरस्कारले आदिवासी जनजातिको पक्षमा खटिने र कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्न पाइरहेको बताउदै पुरस्कृत पत्रकारहरूको थप हौसला बढ्ने विश्वास व्यक्त गरेकी थिइन् । श्रीसमगरलाई कर्म–कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार सोही कार्यक्रममा ‘कर्म –कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार रूद्र श्रीसमगरलाई प्रदान गरिएको छ । तमु धीं नेपालका संस्थापक अध्यक्ष कर्म गुरुङद्वारा वैवाहिक वर्षगांठको अवसरमा स्थापित आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा प्रदान गर्दै आइएको पुरस्कार पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान गरेको भन्दै श्रीसमगरलाई सो अर्पण गरिएको हो । उक्त पुरस्कार गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरूङ, पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवि गुरूङ, पुरस्कार स्थापिका कर्मा गुरुङ, र फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले संयुक्त रुपमा १० हजार रुपैयाँ नगद सहित गुरूङ जातिको पहिचान झल्काउने भांग्रा र सम्मानपत्र प्रदान गरे । सोही अवसरमा २०७९ सालको स्थानीय निर्वाचनमा निर्वाचित फोनिज, कास्की शाखाकी संस्थापक कोषाध्यक्ष समेत रहनुुभएकी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित फोनिज कास्कीका निवर्तमान कोषाध्यक्ष रमेश गुरुङ र मादी गाउँपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित पूर्व कार्यसमिति सदस्य देवीजङ्ग गुरुङलाई भांग्रा, खादा र सम्मानपत्रले सम्मान तथा बधाई ज्ञापन समेत गरिएको थियो । यस पुरस्कारबाट यसअघि, रीता गुरुङ, तिलक पुन, उदयबहादुर अमात्य, राजबहादुर गुरुङ, शान्ति गुरुङ, हुमबहादुर गुरुङ, एमबी आस्था मगर पुरस्कृत भइसकेका छन् । फोनिज, कास्की शाखाका अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन फोनिज कास्कीका सचिव सुशील श्रेष्ठले गरेका थिए ।
पोखरा: यही सेप्टेम्बरदेखि पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा।लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरिएको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ । यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय युएसडि (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ । बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ
तनहुँ : भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायीस्थल घाँसीकुवाको अस्तित्व मासिने खतरामा पुगेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भइरहेकाले व्यास–१२ मा रहेको घाँसीकुवा र घाँसीपार्क मासिने अवस्थामा पुगेको हो । प्राचीनकालदेखि संरक्षण गरिँदै आएको उक्त ऐतिहासिक सम्पदा सडक विस्तारसँगै हटाउनुपर्ने अवस्था आएकाले संरक्षणका लागि समयमै ध्यान दिनुपर्नेमा स्थानीयवासीको माग छ । भानुभक्त मामाघर मानहुँ ९हालको व्यास–५० मा पुगेर पैदलबाटो फर्किने क्रममा घाँसीकुवामा घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर आएको आम्दानीबाट कुवा खनाउने महान् विचारबाट भानु प्रेरित भई यस्तो कविता रचना गर्नुभएको थियो भर्जन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन आज यस्तो । हाल कुवा रहेको पारीपट्टि पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती छ । कुवाको नजिक पन्थ बस्ती रहेकाले पन्थ नै घाँसी भएको अनुमान गर्न सकिने भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताउनुभयो । पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवापट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरीत स्थानमा रहेको बुल्दी खोला किनारको भागलाई उठाएर समथर बनाएर संरक्षण गर्न सकिने विकल्पबारे स्थानीयवासीले सुझाव दिँदै आएका छन् । पृथ्वी राजमार्ग विस्तार गर्ने क्रममा ऐतिहासिक कुवाको अस्तित्व मेटिने हुँदा संरक्षण गर्न आवश्यक पहल गर्नुपर्ने व्यास नगरपालिका–११ पोल्याङ घाँसीकुवा निवासी भोजराज पन्थले बताउनुभयो । “जिजुबाजेदेखि जोगाउँदै आएको सम्पदा हो”, उहाँले भन्नुभयो, “भत्काएर इतिहास मेट्न हुँदैन, संरक्षणमा लाग्नुपर्छ ।” घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरी दिँदा पहिचानमा कठिनाइ भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करिब १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय बासिन्दाले भानुघाँसी उद्यान बनाउन दिने निर्णयसमेत भएको समितिका सदस्य प्रेम पन्थले जानकारी दिनुभयो । घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई व्यास–१२ कायम भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ । कुवा नरहे भानुभक्तको पहिचानमा असर पर्ने र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने घाँसीकुवामा चमेनागृह सञ्चालन गर्दैआउनुभएकी लीलावती पन्थले बताउनुभयो । उक्त कुवा र उद्यान संरक्षणका लागि तीनवटै तहका सरकारले ध्यान दिनुपर्ने उहाँको सुझाव छ । चिनीयाँ कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टो पुर्ने कार्य गरिरहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पूरा हुने गरी योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ । मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालेको छ । सो कम्पनीले सडक फराकिलो गर्न रु ६ अर्ब १४ करोडमा ठेक्का सम्झौता गरेको हो
बागलुङ : गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका-१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भन्नुभयो, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।” परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो । बूढापाकाका अनुसार झण्डै १०० वर्षअघि व्यापारका सिलसिलामा ताराखोला पुग्नुभएकी ‘सेती थकाल्नी’ले उक्त पुल बनाउनुभएको थियो । “थकाली व्यापार गर्न जहाँ पुग्थिन त्यहीँ धर्मकर्मका नाममा पुल, चौतारी, पाटी, पौवा बनाउने गर्थिन, गाईघाटको पुल पनि सेती थकाल्नीले बनाएको भन्ने गाउँका पाकापुरानाबाट सुनिन्छ”, घर्तीले भन्नुभयो । तत्कालीन अर्गल गाविसका अध्यक्षसमेत रहनुभएका घर्तीले उक्त झोलुङ्गे पुलको लठ्ठा मात्र भए पनि जोगाउन सके इतिहास सुरक्षित हुने धारणा राख्नुभयो । “गाउँपालिकाको सङ्ग्रहालय बन्दैछ, त्यो लठ्ठालाई ल्याएर त्यहीँ राख्न सकिन्छ”, उहाँले भन्नुभयो, “हाम्रा पितापुर्खाको सीप र कौशल नयाँ पुस्ताले हेर्ने, बुझ्ने मौका पाउँथे ।” दुर्भाग्य इतिहाससँग जोडिएको उक्त झोलुङ्ले पुलको लठ्ठा अहिले दरमखोलामा अलपत्र छाडिएको छ । बर्खामासको खोलाले बगाएर अन्तै पु¥याए पनि कसैलाई चासो छैन । ‘ट्रस्ट’ पुल निर्माणको जिम्मा पाएको बनौ निर्माण सेवाका प्रतिनिधि टोपबहादुर रोकाले लठ्ठालाई टुक्राएर निकाल्न सकिने बताउनुभयो । “यतिकै झिक्न त गाह्रो छ, मेसिनले टुक्रा बनाएर निकाल्न सकिन्छ”, उहाँले भन्नुभयो । निर्माण कम्पनीले पहिलेकै ठाउँमा ‘ट्रस्ट’ पुल बन्ने भएपछि पुरानो संरचना भत्काइएको जनाएको छ । गाउँपालिकाको रु २० लाख लागतमा गाईघाटमा नयाँ पुल बन्न लागेको हो । यसरी कुनैताका विकट गाउँ–बस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर बनाइएका झोलुङ्गे पुल आधुनिक प्रविधि भित्रिएसँगै मासिन थालेका छन् । झोलुङ्गे पुल बनाउने त्यो बेलाको रैथाने सीप र कौशल पनि अब इतिहास बनिसक्यो । ताराखोला गाउँपालिका–२ अर्गलका ६८ वर्षीय गोविन्द घर्तीले पुल बनाउने फलाम लिन २०२८ साल तिर बुबाको साथ लागेर बुटवलसम्म पुगेको स्मरण गर्नुभयो । उहाँका अनुसार बुटवल पुग्न १४÷१५ दिनसम्म लाग्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिस लाम लागेर फलाम लिन बुटवल झर्थे । त्यसरी ल्याएको फलाम आरनमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पूरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालीगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । लठ्ठा बनेपछि मात्र पुलको अरु काम सुरु हुन्थ्यो । त्यसताका अहिले जस्तो सिमेन्ट, बालुवा नराखी ढुङ्गाले मात्र पुलको ‘जिप’ बनाउने गरिएको गोविन्दले सुनाउनुभयो । उहाँका अनुसार ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने गरिन्थ्यो । “जिपको पछाडिपट्टि ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढुङ्गा चढाइ लठ्ठा खिच्ने गरिन्थ्यो । लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तारै झिक्दा ठूलो ढुङ्गा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,” उहाँले भन्नुभयो । उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धिको खाँचो पथ्र्यो । ठूलो ढुङ्गा टाढाबाट डोरी लगाएर ल्याउन ४०÷५० मजदुर खटिन्थे । यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यो । ढुङ्गा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो । लठ्ठा तानेपछि पुलको तलपट्टि काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो । झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएसँगै रैथाने सीप र प्रविधि लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ । झोलुङ्गे पुल निर्माणमा व्यवस्थापकीय र सामाजिक परिचालनका काममा सघाउँदै आएको भिमापोखरा युवा क्लब ९बिवाइसी०का कार्यक्रम संयोजक प्रेम केसीले परम्परागत प्रविधिबाट बनेका झोलुङ्गे पुल जीर्ण बनेपछि त्यहीँ ठाउँमा नयाँ पुल निर्माण भइरहेको बताउनुभयो । “पुरानो प्रविधिबाट बनेका अधिकांश पुल जीर्ण छन्, कुनै प्रयोगविहीन त कुनै कामै नलाग्ने अवस्थामा छन्”, उहाँले भन्नुभयो, “सर्वेक्षणका क्रममा केही पुल संरक्षण गर्नुपर्ने भनेर तोकिएको पनि छ ।” स्थानीयले जोगाउन चाहेको र अरु हिसाबले पनि महत्व बोकेका पुललाई संरक्षण गर्नुपर्ने संयोजक केसीको सुझाव छ । पुल निर्माणमा नयाँ प्रविधिले ठाउँ लिए पनि रैथाने सीपमा आधारित परम्परागत शैलीका झोलुङ्गे पुलको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । दुई वर्षअघि गलकोट नगरपालिकाको पुरानो ‘राजाको पुल’लाई परम्परागत प्रविधि र मौलिकता झल्काउने गरी पुनःनिर्माण गरिएको थियो । झोलुङ्गे पुल बनाउने बागलुङको रैथाने प्रविधि पनि संरक्षण होस् भनेर उक्त पुलको माथिपट्टि पुरानै पुलको लठ्ठा प्रयोग गरिएको छ । चौबिसे राज्यअन्तर्गत तत्कालीन गलकोटे राजा भरतबम मल्लका पालामा उक्त पुल बनेको थियो । झोलुङ्गे पुल बनाउने बागलुङको परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरी नयाँ प्रविधि भित्र्याइएको तत्कालीन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो । उहाँका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जालीलगायतका निर्माण सामग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम रहेको इन्जिनियर दाहालको भनाइ छ । आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप (जसलाई बागलुङ प्रविधि पनि भनिन्छ) नै प्रयोगमा आएको पाइन्छ । ‘झोलुङ्गे पुलको जिल्ला’ भनेर चिनिने बागलुङमा ४१० भन्दा बढी झोलुङ्गे पुल छन् ।
चितवन ः भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो । सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ । योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ । लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताउनुभयो । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उहाँको भनाइ छ । उहाँले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताउनुभयो । महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उहाँले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उहाँको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उहाँले जानकारी दिनुभयो । सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताउनुभयो । यसबाट दुई संस्थाबीचको सहकार्य थप मजबुत हुने उहाँको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमानै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गर्नुभयो । महासङ्घका अध्यक्ष अधिकारीले संस्थागतरुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गर्नुभयो । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेशम वीरही, डिल्लिराम पोख्रेल, मोहोन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताउनुभयो । यो कार्यको थालनी महत्वपूर्ण भएको उहाँको भनाइ थियो । भत्ता वितरण कार्यविधिअनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउनयोग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।
पोखरा : पोखरामा सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीको कार्यालय उद्घाटन गरिएको छ । पोखरा ११ स्थित रानीपौवामा गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिजालले कार्यालयको उद्घाटन गरे । सो अवसरमा बोल्दै रिजालले यातायात महासंघको उद्देश्य अनुरुप नै काम गर्नेमा विश्वास व्यक्त गरे । उनले फरक प्रसंगमा बोल्दै यातायात व्यवस्थामा सेवाग्राहीलाई व्यवस्थित तरिकाले सेवा सुविधा प्रदान गर्नका लागि लागिपरेको उल्लेख गरे । ‘हाम्रो कार्यालयमा हुने गरेको बेथितीको विरुद्धमा मैले काम गरिरहेको छु, उनले भने, ‘अब डिजिटलाइजलाई ध्यानमा राखेर मैले विभागमा प्रस्तावहरु लगिसेको छु । जसरी हुन्छ भीडभाडलाई कम गर्ने र नागरिकमैत्री सेवा प्रदान गर्नको लागि म लागिपरहेको छु ।’ उनले मुलुक संघीय संरचनामा गइसकेको बताउदै प्रदेशमा अधिकार नदिएको बताए । ‘हाम्रो सर्भर समेत हाम्रो हातमा छैन, उनले भने, ‘एउटा नयाँ कर्मचारी सरुवा भएर आयो भने उसको एकाउण्ट बनाउने केन्द्रलाई नै गुहार्न पर्छ । त्यसैले हाम्रो अधिकार केन्द्रमै डम्पिङ भएको छ ।’ उनले विचौलीया प्रथालाई अन्त्य गर्ने उद्देश्य सहित प्रविधिको प्रयोग गर्न तर्फ पहल गरिरहेको समेत बताएका थिए । यसैगरी सार्वजनिक यातायात केन्द्रीय महासंघको गण्डकी प्रदेश कमिटीका अध्यक्ष बसन्त प्रधानले उक्त कार्यालयबाट सवारीमा लगानी गर्ने र यात्रुहरुको समस्या समाधानको पक्षमा लाग्ने बताए । उनले सार्वजनिक यातायातले भोग्ने गरेको समस्या र यात्रुलाई गरिने ठगीको विषयमा गम्भीर भएर काम गर्ने समेत प्रतिवद्धता जनाएका थिए । प्रदेश कमिटिीले प्रदेशभित्र सञ्चालन हुने यातायात सेवाको संरक्षण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा गुणस्तरीय सेवा प्रदान गर्ने, नेपाल सरकार तथा कम्पनी ऐन, पर्यटन ऐन, साविक करार ऐन, यातायात व्यवस्था ऐन र अन्य प्रचलित ऐन कानूनको अधिनमा रहि दर्ता भए गरेका यातायातसँग सम्बन्धित सम्पूर्ण कम्पनी, प्रालिलाई सदस्यता प्रदान गर्ने, पेशागत संरक्षण गर्ने, यातायात क्षेत्रसँग समबन्धित निकायहरुसँग आवश्यक समन्वय गर्ने, आलोपालो पद्धती अनुसार रुटको व्यवस्था गर्ने, यातायातसँग सम्बन्धित आवश्यक नीति नियम आचारसंहिता ऐन, कानून निर्माण, तर्जुमा गर्नका लागि सम्बन्धित निकाय तथा प्रदेश सरकारलाई राय सुझाव तथा परामर्श दिने लगायतको उद्देश्य अघि सारेको छ । अध्यक्ष प्रधानका अनुसार हाल उक्त कमिटीमा २४ वटा यातायात प्रालिहरु सदस्यका रुपमा आवद्ध भइसकेका छन् ।

