तनहुँको शुक्लागण्डकी नगरपालिका ४ गल्छीमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी ३ का करिब १९ वर्षीय रोमन लम्साल रहेका छन् । खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नम्बरको मोटरसाइकल र दुलेगौंडातर्फ जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल गएराती एकापसमा ठक्कर खाएका थिए । सोही क्रममा दुलेगौडातर्फ जादै गरेको मोटरसाइकलका चालक लम्साल गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारकालागि जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वाश केन्द्र लगिएको थियो । लम्साललाई त्यसपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै अर्का मोटरसाइकलमा सवार शुक्लागण्डकी ४ कार सुशान आले र सोही वडाकै निश्चल गुरुङपनि गम्भीर घाइते भएको बताइएको छ ।
पोखरा: युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४६ युनिट संकलन भएको छ । १५ औं वार्षिकोत्सवको अवसर पारि नयाँ वर्षको दिन (बैशाख १ गते) पोखरा वृद्धाश्रममा खाद्यान्न वितरण समेत सम्पन्न गरिसकेको युनाईटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा पोखराको अमरसिंहमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्दै रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधीक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गरेको खण्डमा रक्त अभावमा रहेकाहरुलाई सहयोग पुग्ने बताए । युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडी बढिरहेको युनाईटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । युनाइटेड क्लबले नयाँवर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न वितरण गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको र दोश्रो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको उनको भनाई थियो । युनाइटेडले सामाजिक कामलाई निरन्तरता दिनेसमेत थापाले बताए । युनाइटेड क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
हेटौँडा: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ सुनाचुरीस्थित सडक खण्डमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेलामा भएको खुल्ला नृत्य प्रतियोगितामा कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भएकी छिन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते)देखि सञ्चालन भएको मेलामा आयोजित खुल्ला नृत्य प्रतियोगितामा ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अनुस्का प्रथम भएकी हुन् । यस्तै कोल्माकी साईसा गुरुङ द्वित्तिय, पोखराका दिपेश सुनार तृतिय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे । खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वित्तिय भएकी साईसाले ६ हजार, तृतीय भएका दिपेशले ४ हजार र सान्त्वना स्थान हाँसिल गरेका विक्रमलाई नगद रु २ हजार पुरस्कार प्राप्त गरेको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले जानकारी दिए । उनका अनुसार म्युजिकल चियर प्रतियोगितामा निरा थापामगर प्रथम, कल्पना गुरुङ द्वित्तिय र माया रानामगर तृतिय भइन् । सो प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो । कोरियोग्राफर तथा नृत्य निर्देशक होम गुरुङको नेतृत्व निर्णायकको भूमिकामा थियो । भलिबल तर्फ पहिलो चरणकै खेल जारी मेलामा जारी पुरुष भलिबल प्रतियोगितातर्फ पहिलो चरणकै तीन खेल सम्पन्न भए । बुधबार भएको पहिलो खेलमा भोर्लेले नाम्चेलाई २–० को सोझो सेटमा पराजित गर्याे । पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० ले भोर्लेले जित हात पार्याे । दोस्रो खेलमा थामडाँडाले दुर्गेलाई २–० को सोझो सेटमा हरायो । थामडाँडाले पहिलो सेट २५–१५ र दोस्रो सेट २७–२५ ले जितेको थियो । यसैगरी बुधबार भएको अन्तिम खेलमा कोल्माले माथिल्लो काल्खुलाई २–१ को सेटमा पराजित ग¥यो । कोल्माले पहिलो सेट २०–२५ ले जितेपनि दोस्रो सेट २५–२३ ले गुमाएको थियो । निर्णायक तथा तेस्रो सेटमा फेरि पुनरागमन गर्दै कोल्माले २७–२५ ले जितेको थियो । आज (बिहीबार) पनि पहिलो चरणकै खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । अध्यक्ष रानामगरका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन विक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिदैँ आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दिप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शुन्यमै पेभिलियन फर्र्किए । अकिल खान९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए । त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो । १४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्धतमा सर्वाधिक ८० रनको योगदान दिएपनि टिमलाई सेमीफाइनलमा पु¥याउन भने सकेनन् । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए । त्यसअघि टर हारेर ब्याटि थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २÷२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १÷१ विकेट लिएका थिए । अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो । यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । भोलि पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि बस्दै छ । कार्यवाहक सभापति डीपी अर्यालले बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक आव्हान गरेका हुन् । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । उनका अनुसार बैठकमा पार्टीका आगामी गतिविधि, सदस्यहरूको रिपोर्टिङ हुने जनाइएको छ।
काठमाडौं: नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो । जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछ । जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको हो । नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाए । उनले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाए । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धशतक प्रहार गरे । उनले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए। यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोडे । बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिए । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।
काठमाडौं: नेपालको लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ । इलाममा समुद्री सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्र ‘भिओलेट कुक्कू’ नामको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । चराविद् राजेन्द्र गुरुङसमेतको टोलीले चरा अवलोकनका क्रममा गत चैत २५ गते पहिलोपटक बिहान सुखानी वन क्षेत्रमा उक्त प्रजातिको भाले चरा देखेका थिए । सोही दिन सोही स्थानमा पटकपटक एक रुखबाट अर्को रुखमा उड्दै बस्दै गरेको अवस्थामा एक घण्टाभन्दा बढी समयसम्म उक्त चरालाई अवलोकन गरिएको थियो । चरा अवलोकन गर्ने क्रममा गुरुङका साथमा रहेका मलेसियन नागरिक अलेक्जेन्डर जोन एङ्ग याङले आवाज पहिचान गरी चरालाई पहिल्याएका थिए। टोलीमा रहेका अर्का मलेसियन नागरिक रोगर रोबर्ट राजह र नेपाली चराविद् अनिस तिम्सिनाले पनि सो भाले चरालाई अवलोकन गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टोलीका सदस्यहरूले चराको फोटो र भिडियो खिचेर प्रारम्भिक पहिचान गरेका थिए । चैत २८ गते सो चराको एकीन पुष्ट्याइका लागि चराविद् राजेन्द्र गुरुङले चराको विवरणसहित फोटो नेपाल चरा तथ्याङ्क समितिमा पठाउनुभएको थियो । समितिले प्राप्त विवरणहरूको अध्ययन गर्दै, राष्ट्रिय अन्तरराष्ट्रिय पन्छीविद्हरूसँग पनि रायसुझाव सङ्कलन गरी नयाँ चराको अभिलेख गरेको समितिका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए । उक्त चराको नेपाली नाम बेजनी कोइली राखिएको छ । यो चरा भुटान, फिलिपिन्स, सिङ्गापुर, ब¬ङ्गलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रूपमा पाइन्छ भने यसले भुटान, फिलिपिन्स, सिङ्गापुरमा प्रजनन गर्दछ । विश्वमा यस चराको दुई उपप्रजाति अभिलेख भएका छन् । यो सँगै नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या आठ सय ९९ पुगेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।