पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधि जित्दा साराले गल्र्स यु–१४ र यु–१२ दुवै इभेण्टमा प्रथम स्थान हाँसिल गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगलतर्फको उपाधि जितेको हुन् । दर्सिलले ब्वाइज डबल्सतर्फ पनि उपाधि जित्न सफल भए । सिर्जन भट्टराईसँगको पार्टनरसिपमा दर्सिल जोडीले फाइनल खेलमा प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–० ,५–७ र १०–४ ले पराजित गर्दै उपाधिमा कब्जा गरेको हो । साराले १४ वर्ष मुनि गल्र्स सिंगलमा आर्य पौडेलसँगको अन्तिम भेटमा ६–१, ६–४ को नतिजा निकालिन । उनले १२ वर्ष मुनिको सिंगल फाइनलमा स्वरा थापालाई ६–२, ६–३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् । १४ वर्ष मुनिको ब्वाइज सिंगलतर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ ले पराजित गर्दै प्रथम हुन सफल भए । १२ वर्षमुनीको ब्वाइइज सिङ्गलमा आरित मल्लले आर्यस राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६,७,–६ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे । १६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गरे । त्यस्तै, १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गरे । १२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गरेका छन् । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे । विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उहाँका नाती भिग्नजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक लोक गुरुङ्ग लगायतले नगदसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरे । आयोजक संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका सचिव भिष्मराज पौडेल र टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले पनि बोलेका थिए ।
लमजुङमा बाटो खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको छ। लमजुङको बेशीसहर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय नजिक जेसिबीले बाटो खन्ने क्रममा शनिबार बिहान शंकास्पद वस्तु भेटिएको हो। शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली सेनाको बम डिस्पोजल युनिटलाई खबर गरेको थियो। युनिटले उक्त शंकास्पद वस्तु निष्क्रिय गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा आज बिहान एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उहाँको कम्मरमाथि ढाडमा गोली लागेको छ भने, उहाँलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लागि पठाइएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल शिक्षक महासंघको आह्वानमा जारी शिक्षक आन्दोलन आज १८औं दिनमा पुगेको छ। विद्यालय शिक्षा विधेयक, २०८१ को यथाशीघ्र पारितीलगायतका मागसहित राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले हालसम्म आन्दोलन नछाड्ने अडान दोहोर्याउँदै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति बालुवाटारमा भएको छलफलमा पनि तत्काल समाधानको बाटो खुलेको छैन। छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए। प्रधानमन्त्री ओलीले यसअघि चैत २५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शिक्षक आन्दोलन सम्बोधनका लागि संवाद र गृहकार्य गर्न निर्देशन दिएका थिए। सरकारले वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट संघीय संसद्को अधिवेशन आह्वान गरी विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। सोही निर्णय अनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद् बैठक बस्ने तयारी समेत गरिएको थियो। यद्यपि, आन्दोलनरत शिक्षकहरूले विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। यसले गर्दा विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा अन्योलमा परेको छ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित भेलामा भलिबल प्रतियोगितातर्फ दोस्रो चरणका ७ खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार आज काल्खु खेल मैदानमा पहिलो खेल बिहान ८ बजे आयोजक ‘बि’ र गहते ‘बि’ टिमबीच हुनेछ । यस्तै दोस्रो खेलमा आयोजक टिम ‘ए’ र लामागाँउ भिड्नेछन् । तेस्रो खेल ओरस्टे र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ बीच हुनेछ । चौथो खेलमा गहते टिम ‘ए’ र कोल्मा भिड्नेछन् । पाँचौ खेलमा छेक्मा र सालडाँडा जामुने भिड्ने क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले बताए । उनका अनुसार छैटौं खेलमा कालीकोट र बाङ्गेस्वाराबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी शनिबारको अन्तिम खेल भुस्नापुर र भोर्लेबीच हुनेछ । बाँकी खाङ्ग्राङ र गैयाबीचको खेल र बराहडाँडा र बाहुबीचको खेल आइतबार हुने थापामगरले बताए । उनका अनुसार भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, उपाध्यक्ष टसबहादुर गुरुङ, महिला उपाध्यक्ष ईन्द्रा गुरुङ, महासचिव नेत्र गुरुङ, सचिव डबिन गुरुङ, महिला सचिव सुनिमा गुरुङ, सहसचिव रामप्रसाद गुरुङ र कोषाध्यक्ष टौंसुवा (सविना)गुरुङ, सहकोषाध्यक्ष दिलु गुरुङ निर्विरोध भएको कानुनी सल्लाहकार जुना गुरुङले जानकारी दिइन् । संघको विदेश विभाग, सांस्कृतिक विभाग, अतिरिक्त क्रियाकलाप,महिला विभाग प्रमुखमा क्रमश: गौरी गुरुङ, युवराज गुरुङ, ओम गुरुङ र रविना गुरुङ छन् । सचिवालय सदस्यमा पूजा गुरुङ, रोशन गुरुङ, उषा गुरुङ र रनु गुरुङ छन् । संघको कार्यसमिति सदस्यमा संगीता गुरुङ, ममता गुरुङ, प्रिया गुरुङ, धनप्रसाद गुरुङ, दीपसागर गुरुङ, अनुपम गुरुङ, सागर गुरुङ, एलिना गुरुङ चुनिएका छन् । नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदानसहित भएको सभामा मेनकाजी गुरुङ स्मृति श्रष्टा पुरस्कार २०८२ बाट अग्रज कलाकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ । कलाकार धनबहादुरलाई नगद ५ हजार ५ सय ५५ सहित भांग्रा, फेता र सम्मानपत्र प्रदान गरियो ।
पोखरा: कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् । देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए । देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् । त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा आइपुगेका उनले देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।
काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो ।
पोखरा: विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् । नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो । भवन निर्माणमा २ करोड लगानी भएको छ ।