काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ । २५ साउनमा प्रारम्भिक उम्मेदवार नामावली प्रकाशन, साउन २७ देखि भाद्र ११ सम्म लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटि र समावेशीता लगायतका लागि कार्यतालिका निर्धारण गरिएको छ । रास्वपाले रुपन्देही–३ को उम्मेदवारका लागि प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने विधि बनाएको छ । त्यसका लागि भाद्र १२ र १३ का लागि समय छुट्याइएको छ । उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन् । निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ । राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
काठमाडौं: रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु भएको छ भने आमा र छोरी बिरामी परेका छन्। भूमे गाउँपालिका–५ सेराबाङमा जङ्गली च्याउ खाएर बिरामी परेका ३ वर्षीय योजन बिक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको रूकुम पूर्व प्रहरीले जनाएको छ। प्रहरीका अनुसार योजनको सल्यान जिल्ला अस्पतालमा मङ्गलबार दिउँसो र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्गलबार राति पौने १२ बजे उपचारका क्रममा मृत्यु भएको हो । च्याउ खाएर गम्भीर बिरामी भएकी ९ वर्षीया आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बिरामी परेकी उनीहरूकी आमा ३५ वर्षीया राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।
चितवन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमाबाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार र सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन भएको हो । यसबाट बाहिर निस्कँदा पार्टी बन्छ ।” कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सत्ता छोड्नुपर्ने डर, सत्ता लिप्साबाट हामी बाहिर निस्कनुपर्छ ।” सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य मीन विश्वकर्मा र मधु आचार्यले बिपीको मार्गदर्शन अनुशरण गर्दै अघि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा युवा नेता प्रमोद हरि गुरागाई, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक सङ्घ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा अधिवक्ता उद्धव लोहनी, गोविन्द सिग्देल, प्राध्यापक प्रदीप वाग्ले, कृष्णप्रसाद न्यौपाने, रमेश खनाललगायतले पार्टीलाई सुझाव दिनुभएको थियो । जिल्ला सभापति राजेश्वर खनालले पेसाकर्मीहरुबाट आएका सुझाव पार्टीका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
काठमाडौं: नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो । चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको थियो । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा राणाको ध्यानाकर्षण गराउनुभएको थियो । उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिनुभयो । बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उहाँले बताउनुभयो ।
काठमाडौं: मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । यसैगरी, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।
खोटाङ: वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ । काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै आएका थिए । कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए । “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो ! ”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।” म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए । “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।” हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए । “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उनले भने, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।” काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।
रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित मंगलबार राति भेरी नदीमा खसेको टिपर भेरी नदीमा खसेको हो । टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।
पोखरा महानगरपालिका ८ न्यूरोडमा ‘द ब्युटी वर्ल्ड’को शाखा अन्तर्गत डाइमन्ड ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको डाइमन्ड ब्युटी सैलुनको शाखा युवा व्यवसायी राकेश पुरी र ममता कार्की पूरीले (महानगरपालिको कार्यालय पारी) सञ्चालनमा ल्याएका हुन् । उक्त शाखाबाट ब्युटीसियन सन्बन्धी सबै सेवाहरु प्रदान गरिने सञ्चालिका ममता कार्की पुरीले जानकारी दिइन् । महिलाहरुलाई दक्ष गर्ने तथा स्वरोजगारी बनाउने उद्देश्यसहित द ब्युटी वर्ल्डले तालिम प्रदान गर्दै आएको छ । उनले सौन्दर्यसँग सम्बन्धित तालिमहरुपनि प्रदान गर्ने गरी तयारी भइरहेको बताइन् । गत सोमबारदेखि सेवा शुभारम्भसँगै उद्घाटन भएको सो कार्यक्रममा सौन्दर्यकमी उशा गुरुङ, पूर्व सांसद शारदा पौडेल, दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, जगतमोहन गिरी लागायतको उपस्थिती रहेको थियो ।
काठमाडौं: प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ । मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित हुनुहुन्छ । चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सो कार्यक्रममा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।