काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उहाँहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि हुनुहुन्छ ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखोला गाउँपालिका–१ अमरभूमी भुस्कातका कोषाध्यक्ष गौरीमाया गुरुङले यही पुस १० देखि १५ गतेसम्म विविध कार्यक्रमको साथ ल्होसार पर्व मनाउन लागेको बताईन् । ‘हामीले केही वर्षपछि भुस्कातमा ल्होसार पर्व मनाउन लागेको छौं, पुस १५ गते गुरुङ समुदायको मुख्य पर्व पनि हो,गुरुङले भनिन्, ‘यसवर्षदेखि हामीले गुरुङ समुदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित विविध कार्यक्रमका साथ ल्होसार पर्व मनाउँदै छौं ।’ उनका अनुसार ल्होसार पर्वको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिता, सामुहिक लोकनृत्य प्रतियोगिता,झ्याउरे लोक गीत प्रदर्शन प्रतियोगिता, खुल्ला वडास्तरीय धनुषबाण प्रतियोगिता, महिला रस्साकस्सी प्रतियोगिता प्रतियोगिता,पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिता र क्यारम वोर्ड प्रतियोगिता आयोजना गरिएको छ । खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख १० हजार ५ सय र उपविजेताले ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागी हुन एक समूहलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँसहित बोका र उपविजेताले १५ हजार रुपैयाँसहित बोका, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागितालाई एक समूहलाई ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस प्रतियोगितामा ३२ वर्ष उमेर पूरा भएको खेलाडी मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । यस्तै सामुहिक लोक नृत्य र झ्याउरे लोक गीत प्रदर्शनका विजेताले समान २५/२५ हजार र उपविजेताले १५/१५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय धनुषवाण प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिला रस्साकस्सी प्रतियोगिता र पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिताको विजेताले समान १०/१० हजार र उपविजेताले समान ५/५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै क्यारम बोर्ड प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ल्होसार/ल्होछार केःहो ? गुरुङ अर्थात् तमुहरुको नयाँ वर्ष ल्होसार/ल्होछार । गुरुङ भाषामा ल्हो भनेको वर्ग (वर्ष) र सार भन्नाले शुरुवात अर्थात आरम्भ भन्ने जनाउँछ । गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ गतेका दिन ल्होसार÷ल्होछार पर्व मनाउने गर्छन् । चक्रिय रुपमा विभिन्न १२ जना वटा जनावर र चराचुरुङ्गीको प्रतिक स्वरुप रहने गर्दछ । जसलाई गुरुङ भाषामा ल्हो (वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात पुस १४ गतेसम्म सप्री ल्हो (सर्प वर्ग) छ भने, पुस १५ बाट त ल्हो (घोडा वर्ग) प्रारम्भ हुनेछ ।
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आइतबारको तुलनामा आज प्रतितोला १३० रुपियाँले बढेर चाँदी प्रतितोला मूल्य चार हजार २३५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन चाँदी चार हजार १०५ रुपियाँमा कारोबार भएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उहाँले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ भन्नुभयो । उहाँले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गर्नुभयो । “संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”उहाँले भन्नुभयो । बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । महामन्त्री थापालले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताउनुभयो । कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने महामन्त्री थापाले बताउनुभयो । उहाँले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गर्नुभयो । महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि र रीसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उहाँको भनाई थियो ।
काठमाडौं: प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सोमबार दिउँसो १ बजे गृह मन्त्रालयमा हुने छलफलमा निर्वाचन तयारीको विषयमा निर्वाचन आयोगको प्रस्तुतिकरणसमेत रहेनछ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँगै निर्वाचन आयोगका पदाधिकारी सहभागी हुनेछन् । निर्वाचनको विषयमा प्रमुख दलले आशंका व्यक्त गरेपछि सरकारले छलफलका लागि बोलाएको हो । छलफलमा आयोगका पदाधिकारीले निर्वाचनको तयारीको विषयमा जानकारी गराउने छन् । सरकारले फागुन २१ गतेका लागि तोकेको चुनावका विषयमा नेकपा एमालेले प्रश्न गर्दै आएको छ । पछिल्ला दिनमा जेनजीको केही समूहलेसमेत निर्वाचन हुन नदिने भन्दै आन्दोलनको घोषणा गरेपछि सरकारले प्रमुख दलसँग छलफल गर्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन कार्यतालिकाको विषयमा गम्भीर छलफल हुनेछ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे । कलाका आयामबारे विमर्श गरे । कुश्मा कला परियोजनाले राखेको ‘एक दिवसीय कला कार्यशाला’ मा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका कलाकार सहभागी बनेका हुन् । तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले सोही स्थानमा कला कार्यशाला चलाएको हो । कार्यशालामा पर्वत, कुश्माका विभिन्न विद्यालयका झण्डै २०० विद्यार्थी सहभागी थिए । विद्यार्थीले चित्र कोरे । पाकापुराना कलाकारले क्यानभासमा कोरेका आकृति अवलोकन गरे । परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले चित्रकला विधाको जगेर्नाका लागि कार्यशाला आयोजना गरिएको बताउनुभयो । “कलाकारको सम्मानसहित नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गर्न कार्यशाला राखिएको हो”, उहाँले भन्नुभयो । धवलागिरि क्षेत्र आफैँमा कलाको उर्बर क्षेत्र भएकाले यस क्षेत्रको कला गतिविधिलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने अध्यक्ष गिरीले बताउनुभयो । कार्यशालामा कोरिएका चित्रलाई शताब्दी घरमा सङ्ग्रह गरिने उहाँको भनाइ छ । परियोजनाले शताब्दी घरलाई सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन र सम्पदा संरक्षणका क्षेत्रमा परियोजना क्रियाशील छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले कार्यशालाले कलाको वातावरण सिर्जना गर्न मद्दत पु¥याएको बताउनुभयो । “कलाकारहरुबीच सिक्ने, सिकाउने अवसर बन्यो, कलाप्रतिको सम्मानका लागि यस किसिमका गतिविधि हुनु आवश्यक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय प्रतिष्ठानले जिल्लास्तरमा ललितकलासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।” कुश्माको कार्यशालामा प्रतिष्ठानले सहकार्य गरेको सदस्य सचिव थुम्केलीले बताउनुभयो । उहाँले धवलागिरि क्षेत्रलाई समेटेर आगामी दिनमा ललिताकलासम्बन्धी कार्यशाला र प्रदर्शनीको आयोजना गर्ने योजना रहेको सुनाउनुभयो । प्रतिष्ठानका प्राज्ञ सदस्य राधी कँडेलले राजधानी र ठूला सहरमा मात्र हुँदै आएका कला प्रवर्द्धनका कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको बताउनुभयो । “कला कार्यशाला धेरैजसो पोखरामा हुने गरेको थियो, यसपालि पर्वतमा आयोजना गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यस क्षेत्रका कलाकार, चित्रकलाप्रति रुची भएका विद्यार्थीहरुको उत्साहजन सहभागिता रह्यो, यसले कलाप्रतिको सम्मान झल्काएको छ ।” व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने प्राज्ञ सदस्य कँडेलले बताउनुभयो । नवलपुरको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीम शर्माले कार्यशालाले प्रतिभा पहिचान गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले आगामी माघ १५ गतेदेखि गैँडाकोटमा हुने गण्डकी प्रदेशस्तरीय कला प्रदर्शनीमा धवलागिरि क्षेत्रका कलाकारहरुको सहभागिता रहने बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा हुने उक्त प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ । बागलुङका कलाकार मछिन्द्र शाक्यले कार्यशाला पुरानो र नयाँ पुस्ताका कलाकारलाई जोड्ने सेतु बनेको धारणा राख्नुभयो । “धवलागिरि क्षेत्रका कलाकार एकैठाउँमा जमघट हुने अवसर मिल्यो, स्थलगत रुपमा क्यानभासमा आकृति कोर्दाको अनुभूति बेग्लै भयो”, उहाँले भन्नुभयो । शाक्यसहितका केही कलाकारले शताब्दी घर र त्यहाँ सङ्ग्रहित परम्परागत सामग्रीलाई क्यानभासमा उतारेका थिए । कतिपयले प्रकृति, संस्कृति पर्यावरण, जनजीवन आदि झल्काउने चित्र कोरे ।
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उमेदवारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ । दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । राष्ट्रिय जनगणना, २०७८ को विवरणका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा आवश्यक संशोधन गरिएको थियो । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत हुने गरी उमेदवारको नाम समावेश गर्नुपर्नेछ । बन्दसूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । कूल ५० प्रतिशत सिट संख्या निर्धारण गर्दा नाम समावेश गर्नुपर्ने महिलाको संख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण संख्यामा नाम समावेश गर्नुपर्नेछ । उमेदवारको नाम सूचीकृत गर्दा कम्तीमा चार दशमलव तीन प्रतिशत पिछडिएका क्षेत्रका उमेदवारको नाम समावेश गर्नुपर्नेछ । यसैगरी अपांगता भएका व्यक्तिको नाम उल्लेख गरेको हुनुपर्नेछ । बन्दसूची आयोगमा पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले स्वीकृत गरी सो निर्णयको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने जनाइएको । सूचीमा रहेका प्रत्येक उमेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ । समानुपातिक उमेदवारको बन्द सूची पेस गर्दा उमेदवारको योग्यता निर्धारण गरिएको छ । त्यसमा नेपालको नागरिक हुनुपर्ने, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्नेछ । समानुपातिक निर्वचन प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उमेदवारको बन्दसूची पेस गर्नुपर्ने समय सीमा तोकिएको छ ।
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डायमण्डले जनप्रकाशलाई २ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको हो । खेलमा डायमण्डले टस जितेर फिल्डिङ लिदा जनप्रकाशले २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउन सफल भयो । जनप्रकाशका ब्याटर कुशल श्रेष्ठले ३६ बलमा ३६ रन, संसार दर्जीले १३ बलमा १२ रन बनाउन सफल भएभने डायमण्डका बलर भीम बहादुर बिकले ४ ओभरमा २४ रन दिएर ३ विकेट लिन सफल भए । जवाफी ब्याटिङमा उत्रेको डायमण्डले १९ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १६ रन बनाउन सफल भए । डायमण्डका ब्याटर सुशान्त तिवारीले ३३ बलमा ४१ रन, सन्दिर तिमिल्सिनाले १५ बलमा १७ रन बनाउन सफल भए । त्यस्तै जनप्रकाशका बलर रोहित किसानले ४ ओभरमा २७ रन दिदै ३ विकेट लिन सफल भए । हिमाल आचार्यले ४ ओभरमा १ मेडेन राख्दै २० रन दिएर ३ विकेट लिन सफल भए । डायमण्डले उक्त खेल २ विकेटले जित्न सफल भयो । खेलको प्लेयर अफ दी म्याच सुशान्त तिवारी घोषित भए । प्रतियोगिताको बेष्ट बलर प्रतिभा सेकेण्डरीका साहबुद्धिन अनसारी भए उनले हिमालय एकेडेमीको एडमिसन फि मा ५० प्रतिशत छुट प्राप्त गरे । बेष्ट बलर हिमालय बोर्डिङका आयुष पनेरु बन्न सफल भए उनले हिमालय एकेडेमीको एडमिसन फि मा ५० प्रतिशत छुट प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडी डायमण्डका सुसांक तिवारी घोषित भए उनले हिमालय एकेडेमीको भर्ना फिमा १०० प्रतिशत छुट प्राप्त गरे । उदयीमान खेलाडी रत्नज्योतीका प्रितिश गुरुङले हात पारे उनले समेत एकेडेमीमा शत प्रतिशत छुट प्राप्त गरेका छन । प्रतियोगिताका बिजयीहरुलाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, हिमालय क्रिकेट एकेडेमी प्रा.लि.का अध्यक्ष शक्ति बराल, खेलकुद पत्रकार मञ्च झापाका भुमिका पिया लगायतले, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । परापूर्वकालमा तपस्या गर्न ऋषिमुनिहरू आउने स्वर्गाश्रम आधुनिक समाजमा विपाशना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ । आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदम पुनले बताए । ‘पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत्, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,’ उनले भने, ‘स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ ।’ बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताए । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो । महायज्ञबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो । बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुङ्गा विछ्याउने, पदमार्ग र घेराबार निर्माण भएको वडा सदस्यसमेत रहेका स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष रत्नबहादुर जिसीले बताए । उनका अनुसार समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रममा दुई सय वर्षअघि ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । फाट्टफुट्ट रुपमा नेपाल र भारतका विभिन्न ठाउँका तपस्वीहरू स्वर्गाश्रममा आउने गरेका छन् । हिमालको काखमा शान्त वातावरणमा योग, ध्यान र विपाशनाका लागि स्वर्गाश्रम उपयुक्त भएको योगी बद्रीनाथले बताए । अर्का योगी त्रीशक्तिनाथले यहाँ आउँदा कोलाहल र तनावबाट मुक्ति मिल्ने भएकाले स्वर्गाश्रम नाम रहन गएको बताए । स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको दृष्य अवलोकन गर्न सकिन्छ । नागबेनी परेर बगेको म्याग्दी नदी, जिल्ला सदरमुकाम बेनी बजार, पर्वतको मल्लाज, म्याग्दीको अर्थुङ्गे, पुलाचौर, कुहुँ, बरङ्जा, बाबियाचौर, भकिम्ली गाउँको दृष्य अवलोकन गर्न सकिन्छ । स्वर्गाश्रमको फेदीमा रहेको बागखोरमा उद्यान छ । जहाँ हिमशृङ्खला अवलोकन गर्दै वनभोज खान सकिन्छ । हरेक वर्षको वैशाख १ गते स्वर्गाश्रमदेखि केहीमाथि म्याग्दी र बागलुङको सिमानामा रहेको बेलढुङ्गासम्म रथयात्रा गर्ने चलन छ । स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृत पर्यटन विकासमा बागलुङको काठेखोलाको धम्जा र म्याग्दीको बेनी नगरपालिकाको भकिम्लीको वडा कार्यालय र सङ्घ संस्थाले साझेदारी गर्दै आएका छन् । स्वर्गाश्रमको महत्वलाई उजागर गर्ने उद्देश्यले आइतबार दोस्रो विश्व योग दिवसको अवसरमा यहाँ कार्यक्रम आयोजना गरिएको थियो । बेनी नगरपालिका–३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो । दिवसको अवसरमा योग, ध्यानको नमूना प्रदर्शन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयवासी स्वर्गाश्रममा भेला भएका थिए । बेनीदेखि भकिम्ली र काठेखोलाको धम्जा हुँदै स्वर्गाश्रम पुग्न सकिन्छ । बेनीदेखि एक घण्टा ३० मिनेट गाडीमा यात्रा गरेपछि स्वर्गाश्रम पुगिन्छ । त्यहाँ कच्ची सडक पुगेको छ । धम्जामा बेलढुङ्गा होमस्टे सञ्चालन भएको छ । भकिम्लीको भुकभुके र मुसुङका बासिन्दाले पनि स्वर्गाश्रम, बेलढुङ्गा घुम्न आउने पाहुनालाई घरमा खाने, बस्ने व्यवस्था मिलाएका छन् । भुकभुके र मुसुङमा होमस्टे सञ्चालनको तयारी भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका कोषाध्यक्ष पूर्णमाया जिसीले बताइन् । आफैँ बन्दोबस्तीका सामान ल्याएर आउने पाहुना र पर्यटकले स्वर्गाश्रम र बाघखोरको आश्रयस्थल भवनमा पकाएर खान सक्छन् ।

