काठमाडौं:  नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...

काठमाडौं:   नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजका दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

काठमाडौं:  साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए । त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जङ्गल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । परिवारका साबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकीन जानकारी आउन सकेन । यही साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ । त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त गर्‍यो । वर्षात्‌को मौसम भएकाले विपद्मा पर्नसक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो की भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो । सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौँडा, मुङ्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ । हायु परिवारलाई पोखरा पुर्‍याएर त्यहाँस्थित जननी होटलमा छोडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो । सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायु परिवारका सबै जना पोखरा प्रहरीको सम्पर्कमा आएका छन् । अर्कातर्फ हायु परिवार सम्पर्कविहीन भएको घटनालाई दिनभरजसो सबै सञ्चारमाध्यमले प्राथमिकताकासाथ प्रचारप्रसार गरेका थिए भने हायु परिवार सम्पर्कविहीन भएको घटनालाई विभिन्न अड्कलबाजी गरिएको थियो । घरबाट बाहिरिँदा हायु परिवारले घरमा बाँधिएका छ वटा बाख्रा छोडेर गएका थिए । ती पशुको अवस्था हेर्दा हायु परिवारले एक–दुई दिनअघि मात्र घर छोडेको पूर्वअनुमान गरिएको थियो । खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाइ किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैँमा गम्भीर बन्न पुगेको थियो । उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ । उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ । सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्ष मुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन् । अन्य सदस्यहरू कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायुलाई पनि यकीन गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

पोखरा:   देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ ।  नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो ।  सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो ।  उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पका बारे पनि सहजीकरण गरेको छ ।  बिक्री पछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको हो । उद्घाटनका अवसरमा ग्राहकलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो । जगदम्बा मोटर्सले पोखरामा सोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ ।  सोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले गरे । उनले पोखरा अटोमोबाइल्सको दोस्रो हव भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरे । पोखरामा पहिलो वाडा अटो सो सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै उनले दोस्रो संस्करणको तयारीमा जुटेको सुनाए ।  जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारी साधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित सोरुम महत्त्वपूर्ण हिस्सा बन्ने बताए । ‘पोखरामा हामीले डिलर नै चलाउन खोजेको हो तर अहिलेको बजारको स्थितिलाई हेर्दा सहज नभएकोले आफै संरचना बनायौं,’ उनले भने, ‘भविष्यमा यहीका स्थानीयले गर्छौं भनेर आउनुभयो भने सहकार्य गर्न तयार छौं ।’  जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले पोखराको बजारलाई महत्त्व दिएर सोरुम स्थापना गरेको बताए । ‘यहाँको पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘काठमाडौंमा मन जित्न सफल भएका छौं, पोखरामा पनि सफल हुनेछौं ।’ सोमबार नै कम्पनीले पोखरा इभेन्ट सेन्टरमा प्रोटोनको एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा गत चैतदेखि ईमास ७ को आधिकारिक रुपमा लन्च गरेको थियो ।  जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास ७ सार्वजनिक गरे । ‘प्राकृतिक सौन्दर्य र आधुनिक सोचले भरिपूर्ण सहर पोखरामा प्रोटोन ल्याउन पाउँदा हामी गर्व गर्छौं,’ उनले भने, ‘यस विस्तारसँगै हामी पश्चिम क्षेत्रभरका व्यक्ति र परिवारका लागि सफा, स्मार्ट र सजिलो यातायात अझ पहुँचयोग्य बनाउनेछौं । यो त केवल सुरुआत हो ।’ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा यो ईभी उपलब्ध छ । जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ । प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसमा नयाँ पुस्ताको एजिस सर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ । सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई शून्य देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ । प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास ७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ । प्रोटोन ईमास ७ मलेसियाली कम्पनीद्वारा उत्पादित ईभी हो । यो मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई प्रो–नेटद्वारा वितरण गरिन्छ । पहिलोपटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको यो ईभीका लागि विस्तारित डिलर नेटवर्क, व्यापक बिक्री पछिको सेवा र इकोसिस्टम निर्माण गरिने र यसले प्रत्येक ग्राहकलाई सहज र सन्तोषजनक अनुभव प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।  

गण्डकी:  अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।  छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने। र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ ।  पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । झण्डै साढे चार दशक अघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउँछन्।  केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए ।  अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटेलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन् । पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिए । होटेलको संख्या बिस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि बृद्धि गरिएको छ । पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ्रे आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन् । ‘होटेलको संख्यासँगै क्षमता बिस्तार गरिएपछि अहिले यस क्षेत्रमा आउने पर्यटकलाई दैनिक पाँच सयदेखि छ सय जनासम्म राख्न सकिन्छ’, उनले भने, ‘अन्नपूर्ण आधार शिविरको पदयात्रामा आउने पर्यटकलाई यहाँका होटेल व्यवसायीले राम्रो आतिथ्यता प्रदान गर्ने गरेका छन् ।’ पर्यटकको आगमनलाई लक्षित गरी यहाँका व्यवसायीले पदमार्ग नियमित रूपमा सरसफाइ गर्ने गरेका छन् । सामान्यतः असार पहिलो हप्ता र साउन  अन्तिम हप्ता यस पदमार्गमा नियमित सरसफाइ गर्ने गरिएको छ । चैत–वैशाखको मुख्य पदयात्राको यामसँगै त्यस यता पदमार्गमा हुने गरेको फोहोरलाई असारको पहिलो हप्तामा सफा गर्ने गरिएको छ । यस वर्ष मात्रै उक्त पदमार्ग क्षेत्रबाट २९० बोरा सिसा तथा प्लास्टिकजन्य फोहोर संकलन गरी पोखरास्थित ग्रिन वेष्ट म्यानेजमेन्ट जोनमा पठाइएको सचिव गुरुङले जानकारी दिए । भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमन बढ्ने उक्त समयलाई लक्षित गरी तयारी थालिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तर्राष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ ।  अन्नपूर्ण आरोहण दिवसका अवसरमा २०७५ सालदेखि म्याराथन प्रतियोगिता गरिँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । हालसम्म पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथन सम्पन्न गरिसकिएको जानकारी दिँदै उनले यसले पनि यस क्षेत्रको पदयात्रा पर्यटनलाई स्वदेश एवम् विदेशमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए।  सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस ९अन्नपूर्ण डे०का अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए ।  अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । 

काठमाडौं:  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित समारोहमा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले भन्नुभयो, “निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढ्नुस्, सरकार समन्वयका लागि तयार छ। निजी क्षेत्र अघि बढेपछि मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ।” उहाँले संविधानसभा मार्फत २०७२ सालमा जारी भएको नयाँ संविधानसँगै सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालय नीतिगत रूपमा अघि बढेको जानकारी दिनुभयो। उहाँले संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलको चरणमा रहेको र मन्त्रालयमार्फत १३ वटा विधेयकहरू समेत अघि बढिसकेको उल्लेख गर्नुभयो। मन्त्री पाण्डेले २०६५ सालको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै तयार पारिएको नयाँ ‘पर्यटनीति २०८२’ मा ‘अद्वितीय पर्यटकीय गन्तव्य स् नेपाल’ भन्ने शब्दावली नीति संरचनाकै दृष्टिकोणको रूपमा समावेश गरिएको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “नेपाललाई ‘आकर्षक जीवनपर्यन्त अनुभव, सुरक्षित, भरपर्दो र दिगो गन्तव्य’ का रूपमा विकास गर्न पर्यटन नीति ल्याइएको हो। यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पुर्‍याउनेछ।”

सिन्धुली:  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका छन्। गोलान्जोर गाउँ पालिका वडा नस् ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क विहीन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले बताए ।  घरमा केही हल्का क्षति भएको छ । बाख्रा ,कुखुरा,भैसि अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी राखेका वडाध्यक्ष क्षेत्रीले बताए ।  वडा अध्यक्ष श्रेष्ठका अनुसार उक्त्त घरबाट अरू घर पुग्न १५ मिनेट बढीको दुरीमा छ एकान्तमा भएकाले कहिले देखि घर अलपत्र छाडेर कहाँ गए केही पत्तो छैन । घर भन्दा केही माथि गोठ छ त्यो गोठमा बाधेको भैसिलाइ घाँस हाल्न घरका नगएको नै ३ दिन भएको बताए ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुबेदीका अनुसार १६ जना सम्पर्क विहीन भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी पुगेको छ ।  केही दिन अगाडि हायुको भत्ता लिएका रहेछन् कतै घुम्न गएका पनि हुन सक्छन् हामी मोबाइलको लोकेसन हेर्दै हेर्दै गरेको उनले बताए ।    घरका सबै जना सम्पर्क विहीन हुँदा पशु चौपायाको बिजोग भएको स्थानीयले जनाएका छन् । उक्त्त घरमा १८ जना रहेको र १ जना काठमाडौँ र १ जना विदेशमा रहेको स्थानीयले बताएका छन् ।

रसुवा:  पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार साँझ बेपत्ता भएका दुईजनाको शव सोमबार बिहान फेला परेको छ । नेपाली सेनाको उद्धार टोलीले आज बिहान मोरङ वेलबारी घर भएका मनोज न्यौपाने र विराटनगर घर भएका सुजन ढकालको शव निकालेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।   सेनाले आइतबार राति नै गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्व सन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सवाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिनुभएको हो ।  उहाँले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो । परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबिच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिनुभएको थियो । छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुर्व आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी हुनुन्थ्यो ।

काठमाडौं:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिनुभयो । रेविज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आए लगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरूलाई अभाव नहुनेगरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो ।  उहाँले सम्बन्धित अधिकारीहरूलाई आपूर्ति अवस्था बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरी आवश्यक सबै उपाय अपनाउन दिर्नेशन दिनुभएको थियो । सोहीअनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरूमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो । विभागको तथ्याङ्कअनुसार रेविज विरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ ।  बागमतीमा १० हजार ८० भायल रेविज विरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंश विरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ ।  यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेस प्रदेशमा सर्पदंश विरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेविज विरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ । मागका आधारमा अन्य प्रदेशमा भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण जनाएको छ ।