काठमाडौं: ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा अवस्थित मुलुक भएकाले यहाँ सधैँ भूकम्पको जोखिम रहने भूकम्पविद्हरुले बताएका छन्।
काठमाडौं: यस पटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २२औं संस्करणमा हुनेछ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले छुटिन्छ । यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए । अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ । यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको उत्तर भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद । यसको सुरुआत भएको थियो, २०३८ सालमा । त्यसयताको दोस्रो संस्करण २०४० मा पोखरामै भएको थियो । अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास कोट्याउनुपर्छ, चार दशकभन्दा बढी समय अगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन् । पोखरा नै २०७९ पनि फेरि एकपल्ट नवौं राष्ट्रिय खेलकुद आयोजना भयोे । त्यसो त यो राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्टिय खेलकुद परिषद थियो, तर पोखरा त्यसको मुख्य आधारस्थल थियो । त्यस अर्थमा पोखरा नेपाली खेलकुदको केन्द्र हो, खेलको भाषामा भन्दा ‘स्पोर्टस हब’ । पोखरासँग विशाल भौतिक संरचनाहरू रहेको छ । यत्तिको संरचना अन्यत्र पाइन्न भन्दा नै हुन्छ । अझ केही खेल पोखरामै मात्र हुन सक्ने स्थिति समेत छ । जस्तो केही साहसिक खेलहरू । त्यसमा सबैभन्दा अगाडि आउने नाम त ट्रायथलन र प्याराग्लाइडिङ नै भए । पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएका छन् । तिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । यस्ता खेलाडीको उत्पादनमा सहयोग पुराइरहेको छ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र यस्तै खालका स्पोर्टस अवार्ड कार्यक्रमले । विगतदेखि स्पोर्टस अवार्ड गर्दै आएको संस्था नेपाल खेलकुद पत्रकार मञ्च पनि हो । छोटकरीमा एनएसजेएफ । नेपाली खेलकुद पत्रकारको छाता संगठन मञ्चको नेपाली खेलकुदको सबैभन्दा ठूलो जिम्मेवारी भन्नु नै यो अवार्ड कार्यक्रमको आयोजना गर्नु हो । मञ्चको के मान्यता रहेको छ, यो अवार्ड कार्यक्रम अब काठमाडौंमै मात्र सीमित हुन्न । कार्यक्रम मोफसलमा हुने हो भने यो अवार्डको महत्व अझ बढ्नेछ । मञ्चको खास उद्देश्य त क्रमशः यो अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा गर्ने रहेको छ, यसकै पहिलो खुड्किलो हो, पोखरा । मञ्चको के पनि तर्क रहेको छ, यो अवार्ड कार्यक्रम मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्व नजानिँदो तरीकाले बढ्ने छ नै, अर्कोतर्फ आम खेलाडीलाई स्टार हुनुको महत्व पनि थाहा हुनेछ । अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये सबैको भनाइमा एउटा समानता पाइन्छ र यो हो, स्टार हुनुको अनुभव । मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् र यसैकै लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आईरहेको अवस्थामा यसपल्ट केन्द्रले गर्ने अवार्ड कार्यक्रम पहिलो पटक राजधानी बाहिर पोखरामा ल्याउनुमा महत्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । उनी आफै नेपाली खेलकुदलाई मन पराउने व्यक्ति हुन् । उनकै शब्दमा भन्ने हो भने पोखरामा अहिलेसम्म धेरै खाले गतिविधि भए । खेलकुदका ठुल्ठूला प्रतियोगिता भए, त्यसमा १३ औं दक्षिण एसियाली खेलकुद पनि पर्छ । अनि उत्तिकै संख्यामा साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका हुँदै आइरहेको छ । साथै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा निरन्तर हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करण पनि वैशाखमा हुदैंछ ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो। नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नुभएको थियो। प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता बिमलेन्द्र निधिले बताउनुभयो। उहाँकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताउनुभयो। यसअघि कांग्रेसले पुस २६, २७ र २८ गते महाधिवेशनको कार्यतालिका स्तुत गरेको थियो। अधिवेशन कार्यतालिका नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन तथा मातहतका निकायहरूको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन सम्पन्न गर्न चरणबद्ध समयसीमा तोकिएको छ । अधिवेशन गर्न बाँकी रहेका नेपाली जनसम्पर्क समितिहरूका लागि क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली २०८२ माघ ७ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रबाट उक्त नामावली २०८२ माघ १५ गतेभित्र स्वीकृत गरिने र अधिवेशन २०८२ माघ २९ गतेभित्र सम्पन्न गर्नुपर्नेछ । यसैगरी केन्द्रीय महाधिवेशन र मातहतका निकायहरूको अधिवेशन कार्यतालिकाअनुसार गाउँ(नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ(नगरपालिका अधिवेशन २०८२ चैत २५ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८२ चैत २८ गते हुने भएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०८३ वैशाख २ गते र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०८३ वैशाख ५ गते तोकिएको छ । प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते हुने छ भने केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा आयोजना गरिने भएको छ । विज्ञप्तिअनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समिति, क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति र केन्द्रीय निर्वाचन समितिले तोकिएको कार्यविधिअनुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य सम्पन्न गर्नेछन् । सबै निर्णय प्रक्रिया सहमतिका आधारमा गरिने जनाइएको छ । विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । आज सम्पन्न बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवन परियार तथा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, उमा रेग्मी, जीपछिरिङ लामा र सुजाता कोइरालाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रमार्फत यहाँ आउने पर्यटकलाई उक्त क्षेत्रको पर्यटकीय जानकारीसँगै यहाँस्थित होटेल तथा ९होमेस्टे० घरबासलगायत विषयमा जानकारी प्रदान गरिने छ । केन्द्रमा एक्यापबाट एक र स्थानीय एकजना कर्मचारी व्यवस्थापन गरिने छ । केन्द्र सञ्चालनसँगै सिक्लेस आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्याङ्क राखिने वडाध्यक्ष गुरुङले बताउनुभयो । वरिपरिबाट जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायका धार्मिक आस्थाका पवित्र कोइबोले सजिएको छ । यो गाउँ प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । सिक्लेस नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा समेत परिचित छ । पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूरी र समुद्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा रहेको सिक्लेसबाट गुुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरीलगायत गन्तव्यमा पदयात्रामार्फत जान सकिन्छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक यहाँ आएको तथ्याङ्क छ । एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२४ को अनुपातमा सन् २०२५ को १२ महिनाको अवधिमा यहाँ सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रबाट दुई हजार १०५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यस हिसाबले सार्कतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ सात दशमलव ४४ प्रतिशत पर्यटकको सङ्ख्या वृद्धि भएको हो । हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहेको छ । यद्यपि, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रभावका कारण अपेक्षा गरिएअनुरुपको विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताको भनाइ छ । सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या कम हुँदा अनुमानअनुसार पर्यटक वृद्धि हुन नसकेको हो । युवा आन्दोलनको असरले यहाँ सन् २०२४ को भन्दा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक घटेका जनाइएको छ । एक्याप प्रमुख गुप्ताले सन् २०२५ मा जनवरीदेखि अगस्त र डिसेम्बर अन्तिमसम्म पर्यटकको सङ्ख्या वृद्धि भएको बताउनुभयो । यहाँ भ्रमण गर्नेमा बढी मात्रामा भारतीय पर्यटक रहेका छन् । एक्याप प्रमुख गुप्ताले यहाँ भित्रिएका पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेकामा सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको जानकारी दिनुभयो ।
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण गरिएको छ । सभाहल दुई सय सीट क्षमताको छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट सेवा प्रवाह हुनेछ । वडा नम्बर १ र २ भाडाको भवनबाट सञ्चालन भइरहेको छ भने वडा नम्बर ६ को भवन निर्माणाधीन छ । वडा नम्बर ४ को भवन बनाउन जग्गा व्यवस्थापन गर्न बाँकी छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै चाँदीको मोल चार हजार ४१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल चार हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उहाँले राजनीतिक स्थिरता तथा विश्वास कायमगरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्नुभयो। “यो सरकार बनेको मुख्य उद्देश्य सुशासनलाई संस्थागत गर्ने र तोकिएकै समयमा चुनाव गराउनु हो। हामी त्यसतर्फ ठोस रूपमा उन्मुख भइरहेका छौँ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो। उहाँले अघिल्ला राजनीतिक परिवर्तनले आमनागरिकको रोजगारी, आयआर्जन र जीवनस्तरमा अपेक्षित सुधार ल्याउन नसकेको स्वीकार गर्नुभयो। “राजनीतिक परिवर्तन आए तर नागरिकका आकाङ्क्षा पूरा हुन सकेनन्। नेतृत्वको व्यवहारमा पनि सुधार हुन सकेन”, प्रधानमन्त्रीले औँल्याउनुभयो। जेनजी आन्दोलनका क्रममा देशले भोग्नुपरेको करिब ८४ अर्ब रुपैयाँ बराबरको क्षतिलाई उल्लेख गर्दै उहाँले शान्ति र कानुनी सुव्यवस्था कायम राख्न सबैपक्ष संयमित बन्नुपर्ने आवश्यकता दोहोर्याउनुभयो। आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न पनि सबै दल, नागरिक समाज र निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले व्यावसायिक सुरक्षाका लागि सरकारले केही महत्त्वपूर्ण कदम चालिसकेको दाबी गर्नुभयो। मौद्रिक, वित्तीय र विकास योजनामार्फत निजी क्षेत्रलाई सहुलियत प्रदान गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कर तिर्ने समय थपिएको छ, सूचना प्रविधि कम्पनीलाई विदेशमा लगानी गर्न मार्ग खोलिएको छ, जग्गा कित्ताकाट सहज बनाइएको छ। साथै कालोसूचीमा परेका कम्पनीलाई पनि कानुनी ढाँचाभित्र रहेर बाह्य लगानी ल्याउन सहज बनाउने प्रयास गरिएको छ।” निजीक्षेत्रले आफ्ना चुनौती लुकाएर पनि देशको अर्थतन्त्रलाई अघि बढाइरहेको उल्लेख गर्नुहुँदै उहाँले सरकार त्यसका पीडा सुन्ने र व्यावहारिक समस्या समाधानमा साथ दिन तयार रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले वर्तमान सरकारलाई कानुन परिवर्तन गर्ने अधिकार नहुँदा पनि प्रणालीभित्र रहेर सुधारको बाटो लिन सकिने बताउनुभयो। “कानुन बदल्ने अधिकार यो सरकारलाई छैन। तर, भएकै संरचनाभित्र सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वतर्फ काम भइरहेको छ”, उहाँले स्पष्ट पार्नुभयो। निजीक्षेत्रका सम्पत्ति फेरि नजलोस् भन्ने राष्ट्रिय प्रतिबद्धता सरकारबाट रहँदै आएको उल्लेख गर्दै उहाँले निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्न सरकार तयार रहेको पुनःआश्वासन दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री कार्कीले राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताउँदै आगामी निर्वाचन, शान्ति र विकासलाई साझा राष्ट्रीय एजेन्डाका रूपमा अघि बढाउन आह्वान गर्नुभयो। “निर्वाचनमार्फत शान्ति, स्थायित्व र समृद्धिका लक्ष्यप्राप्तिका लागि सरकार कटिबद्ध छ। सबैपक्षको साथ र संयमले मात्र हामी सफल हुन्छौँ”, उहाँले भन्नुभयो।

