पोखरा: कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार पत्रकार गुरुङ र श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कृत पत्रकारहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कार दाता बिमलमान गुभाजु र उनको परिवार, फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङ लगायतले दोसल्ला, सम्मान पत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन् । फोनिज स्थापना दिवसका अवसरमा पत्रकारितामा क्रियाशील रहेर काम गरिरहेका २ जनालाई हरेक यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । सोही अनुसार २६ औं स्थापना दिवसका अवसरमा यो वर्ष पोखराका फोटोपत्रकार गुरुङ र गोरखाका पत्रकार श्रेष्ठ सम्मानित भएका हुन् । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले २६ वर्ष अगाडि स्थापना भएको संस्थाले आदिवासी जनजाति पत्रकारहरुलाई उत्प्रेरणा प्रदान गर्ने काम गरिरहेका बताए । फोनिजमा आवद्ध पत्रकारहरुले पत्रकारिता क्षेत्रको विकास गर्दै आदिवासी जनजाति समुदायका लागि सकारात्मक परिवर्तनको सन्देश दिने सामाचार सामाग्री तयार गर्नुपर्ने उनको सुझाव थियो । प्रमुख आचार्यले पुरस्कृत पत्रकारहरुलाई बधाई दिदै पुरस्कार प्राप्त गर्नु कुनै एकदिनको कर्मको फल नभएको बताए । निरन्तरको मेहनतले मात्र पुरस्कार र सम्मान प्राप्त गर्न सकिने उनको भनाई थियो । ‘पुरस्कार प्राप्त गर्नु चुनौती हो, फोनिजले यसलाई निरन्तरता प्रदान गरेको छ र पुरस्कृत व्यक्तिलाई प्रोत्साहन हो,’ उनले भने, ‘यस्ता पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तरता दिन अझै हौसला मिल्छ ।’ सम्मानित पत्रकार श्रेष्ठले कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै पहिले र अहिलेको पत्रकारिता पेसामा धेरै परिर्वतन आइसकेको बताए । आफूहरुको पुरानो अनुभव हालका नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने समेत उनको भनाई छ । अर्का सम्मानित फोटो पत्रकार गुरुङले पुरस्कारले पत्रकारिता क्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन मिलेको बताए । गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता क्षेत्रमा रहेर पत्रकारले निष्पक्ष ढंगले पारदर्शितापूर्ण काम गर्नुपर्ने बताइन् । प्रेस रजिष्ट्रार कार्यालयले संविधानको मर्म अनुसार केन्द्रमा गए मात्रै हुने काम गण्डकी प्रदेशबाटै हुने गरेर अगाडि बढिरहेको उनले जानकारी दिएकी छिन् । पत्रकारिता क्षेत्रको सृवृद्धिका लागि गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको स्थापना भएको भण्डारीको भनाई थियो । फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने भण्डारीले बताइन् । ‘विभिन्न आस्था र विचार भएपछि फोनिजभित्र प्रवेश गरेपछि एकरुप देख्छु,’ उनले भनीन्, ‘यसबाट गैर फेनिजकर्मीले समेत सिक्नुपर्छ ।’ प्रेस रजिष्टार कार्यालय फोनिज गण्डकी प्रदेशसंग मिलेर पत्रकारिता क्षेत्रमा काम गर्न तयार रहेको उनले बताएकी छिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष तथा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषदका उपाध्यक्ष खीम छन्त्याल आदिवासी जनजातिको मुद्दा उठानमा फोनिजमा आवद्ध पत्रकारहरुले ख्याल राख्नुपर्ने बताएका थिए । कार्यक्रममा पुरस्कारदाता बिमलमान गुभाजू र प्रेस रजिष्ट्रार बिमला भण्डारीलाई समेत दोसल्लाले सम्मान गरिएको थियो । फोनिज गण्डकीका इन्चार्ज तथा छनौट समितिका सदस्य रुद्र श्रीष मगरले पुरस्कृत व्यक्तित्वको परिचय दिएको कार्यक्रम फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन) ले स्वागत मन्तव्य र सञ्चालन फोनिज गण्डकीका महासचिव सुरज थापा मगरले गरेका थिए । २०७७ सालबाट स्थापित कञ्चन पत्रकारिता पुरस्कारबाट योभन्दा अगाडि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भइसकेका छन् । फोनिज स्थापना दिवसका अवसरमा फोनिज गण्डकी र फोनिज कास्कीले ३ दिवसीय कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । यस अन्तर्गत साउन २५ गते मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल विषयक फोनिज संवाद, २६ गते पत्रकार महिला, पुरुष र भेट्रान्स फुटसलसँगै रस्साकस्सी प्रतियोगिता आयोजना गरिएको थियो ।
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो । करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए । पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । उनले आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए । पाल्पा रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान हटियाबाट सुनिल प्रधानको नेतृत्वमा करिब ४५ सदस्यीय टोली गाडी रिभर्ज गरी पोखरा आएको थियो । यसप्रकारको नाच यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङलगायतका सहरमा पनि प्रदर्शन भइसकेको राजकुमार रणपालले बताए । यस वर्ष भने पाल्पा भैरव लाखे समूह नाच देखाउन पोखराबाहेक अन्य सहर गएन । गाँठेमंगलदेखि कुखुराको भालेलाई बली दिई पूजाआजा गरी सुरु हुने नाच कृष्णजन्माष्टमी पर्वसम्म चल्ने गर्छ । पाल्पालीहरु ५ सय वर्ष पुरानो इतिहास बोकेको यो नाच जोगाउन लागिपरेका छन् । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए । पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए । कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका हुन् । कार्यक्रम संचालन पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष केशव नेपालले गरेका थिए । दर्शकलाई पाल्पाको भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिएको थियो ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ । जसको प्रभावले मङ्गलबार देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर पूर्णतया बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिव एक दशकदेखि सुरूआत भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् । पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ, भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिनुभयो । केही वर्ष पहिलेदेखि सुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्तीनै दुर्घटनामापर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ । गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो । विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो । नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ । वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन् ।
पोखरा: कास्कीको तीन पालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा भोलि कास्कीको अन्नपूर्ण, मादी र माछापुच्छ«े गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको हो । सार्वजनिक बिदाको दिन गाउँपालिका क्षेत्रभित्र अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् । गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् । ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
काठमाडौं: साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ । साउन महिनालाई शिवको विषेश महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन । साउन महिनाको सोमवार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।
पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ । व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरुङ गहना घरकी सञ्चालिका गुरुङले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकी थिईन् । गुरुङले आफ्नो जन्मदिनको अवसरमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय १४ जनाले रक्तदान गरेका थिए । रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ । ‘पाठशाला’ र ‘हिउँको गीत’ उपन्यासका लेखक गुरुङलाई नगद रु २० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई प्रदेश सांसदहरु पञ्चराम गुरुङ, सरस्वती गुरुङ, गुरुङ गहना घर प्रालिका सञ्चालक सीमा गुरुङ, प्रबन्ध निर्देशक नेल्सन गुरुङ, तमु तमुधि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, सञ्चारकर्मी बालकासी गुरुङ लगायतले नगद, कदरपत्र, दोसल्ला प्रदान गरेका हुन् । कार्यक्रममा सञ्चालक सीमा गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रक्तदान कार्यक्रम आयोजना गरेको बताईन् । आर्थिक अप्ठ्याराहरुका बाबजुद पनि अर्थ बजारमा योगदान दिन र आत्मनिर्भर बन्नका लागि सुनचाँदी व्यवसायमा लागेको बताउँदै त्यसमा अहिले सरकारले विलासिता कर र मुल्य अभिवृद्धि कर लगाएपछि मारमा परेको उल्लेख गरिन् । उनले विलासिताको नाममा थपिएको करले व्यवसायी र ग्राहक दुवैलाई नकारात्मक असर पारेको बताउँदै आफूहरु विलासीता करको विरोधमा रहेको बताईन् । प्रबन्ध निर्देशक नेल्सन गुरुङले गुरुङ गहना घरको नयाँ शाखा विस्तार गर्न लागेको बताए । नयाँ शाखाको असोज ६ गते घटस्थापनाको दिन शुभारम्भ गरिने जनाउँदै सो दिन सहभागी भैदिन आग्रह गरे । युवाहरुको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको बताए ।
पोखरा: प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको फोनिज संवादमा उनले मिडियामा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् । फोनिज गण्डकीको आयोजना र फोनिज कास्कीको सह–आयोजनामा भएको ‘मिडियामा आदिवासी जनजाति समावेशिताको सवाल’ कार्यक्रममा उनले सञ्चार क्षेत्रमा सम्पूर्ण समुदायको सहभागिता र समावेशिता आजको आवश्यकता बताए । आदिवासी जनजातिलाई पत्रकारिताको क्षेत्रमा कसरी टिकाउने भन्ने कुरा सोच्नुपर्ने अवस्था आएको उनको भनाई छ । साथै, समग्र पत्रकारिता क्षेत्र नै जोगाउनुपर्ने अवस्था आएको सम्पूर्ण पत्रकारहरुको क्षमता विकासका कार्यक्रम भइरहनुपर्नेको उनको जोड थियो । कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले नेपालमा भएको जातीय सद्भावलाई नियालेर सबै नागरिकले गौरव गर्नुपर्ने बताए । कुनै पनि समुदायका नागरिकलाई राज्यले विभेद गरेको जस्तो अनुभव नभएको उनको भनाई छ । ‘राज्यले आदिवासी जनजाति लगायतकालाई विभेद गरेको जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘पिछडिएको र आफूलाई विभेद भएको जस्तो लाग्छ भने सम्बन्धित स्थानमा आवाज उठाउनुपर्छ ।’ आदिवासी जनजाति समुदायलाई मिडिया क्षेत्रमा क्रियाशील बनाउने विषयमा बहस गर्नु जरुरी रहेको उनको भनाइ थियो । फोनिज गण्डकी÷कास्कीका सल्लाहकार हुमबहादुृर गुरुङले कार्यपत्र प्रस्तुत गर्दै राज्यलाई पूर्ण समावेशी नीति निर्माण गर्न र कार्यान्वयनका लागि दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए । मिडियामा समावेशिता नीतिगत रुपमा सकारात्मक तर्फ अग्रसर भएपनि आदिवासी जनजातिले चाहे अनुसार पूर्ण रुपमा समावेशीताको नीतिको भने अभाव रहेको उनको गुनासो छ । ‘नेपालमा व्यवस्था परिर्वतन भयो, आदिवासी जनजातिको विषय उठान हुँदै आयो, तर सोचमा परिर्वतन हुन सकेन,’ सल्लाहकार गुरुङले भने, ‘सञ्चारमाध्यमले मौलिकताको प्रचार गर्दै विभेदको अन्त्य र समानतामूलक समाज निर्माणका लागि भूमिका खेल्नुपर्छ ।’ पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति भन्नासाथ उनीहरुको पोशाक, खानपान र गरिबीलाई मात्र अहिलेसम्म बाहिर ल्याउने कार्य भइरहेको बताइन् । उनीहरुको समुदायमा भएका रहनसहन र सकारात्मक विषयलाई मिडियाले उठान गर्न सक्नुपर्ने उनको भनाई छ । यसका साथै महासचिव शर्माले कार्यक्रममा गण्डकी प्रदेश सरकारले कामकाजी भाषाका रुपमा मगर र गुरुङ भाषालाई प्रमाणीकरण गरिसकेको अवस्थामा कार्यान्वयनका लागि फोनिजको भूमिका महत्वपूर्ण हुने उनले बताइन् । ‘अहिलेको संविधानले हरेक समुदायको हक अधिकारलाई समावेश गरेको छ ।’ उनले भनिन्, ‘कार्यान्वयनमा कसरी लैजाने भन्ने मात्रै हो ।’ संविधानले दिएको हक अधिकारले गर्दा नेपालमा लोकतन्त्र सफल भएको मान्न सकिने महाासचिव शर्माको भनाई छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज गण्डकीका सल्लाहकार मनोज घर्ती मगर लगायतले आदिवासी समुदायका पत्रकारहरुको संरक्षणसँगै क्षमता विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
पोखरा: पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घका महासचिव नीर बहादुर विश्वकर्माले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत शुक्रबार व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति महासङ्घले ध्यानाकर्षण भएको जनाएको हो । ुपिडित पक्षहरुको निवेदन अनुसार उनीहरु मध्ये अधिकांशले नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई व्यवसाय गर्दै आएको र कतिपयले केवल ज्याला मजदुरी स्वरुप अरुको सुन लिएर कालिगढी गरी गहना निर्माण र ज्याला मजदुरी लिने गरेको बुझिएको छ,ुजारी प्रेस विज्ञप्तिमा भनिएको छ । महासङ्घले यस विषयमा सत्य तथ्य स्पष्ट रूपमा बुझी मात्र दोषी ठहरिएकामाथि कानुनी प्रक्रिया अघि बढाउन र यथार्थ नबुझी हचुवामा व्यवसायी तथा मजदुरलाई दुःख दिने वा झमेलामा पार्ने कार्य रोक्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, महासङ्घले नेपालको प्रचलित कानुनअनुसार निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।