काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा– ५ बाट उम्मेदवार बनाएको हो । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् । तामाङले भनेका छन् । ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुभएको छ । नेतृत्वगणलाई आभारसहित झापा क्षेत्र नं. ५ बासी आम मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु ।’ सो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यो पटक पनि सो क्षेत्रबाट अध्यक्ष ओली उम्मेदवार हुने चर्चा छ ।
काठमाडौं: नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’ बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, ‘हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।’ सञ्चारकर्मीहरूको जिज्ञासामा महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपा छोड्ने प्रश्नै नउठ्ने बताए। उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’ देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ।
पोखरा: पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योति क्लब र पोखरा युनाइटेड क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । नवज्योति क्लबले एपिएफ पोखरामाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । पहिलो सेट २५–२३ ले जितेको एपिएफ पोखराले दोस्रो सेट २२–२५ ले नवज्योतिलाई सुम्पियो । तेस्रो सेटमा पुनः २५–१८ ले जित निकाल्दा एपिएफ पोखराले चौथो सेट १७–२५ ले नवज्योतिलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १६–१४ को रोमाञ्चक जित निकाल्दै नवज्योतिले सेमिफाइनलको यात्रा तय ग¥यो । शुक्रबार भएको अर्को खेलमा पोखरा भलिबल टे«निङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखरा युनाइटेडले सेमिफाइनलमा स्थान बनायो । युनाइटेडले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले जित दर्ता ग¥यो । मनोहर युवा क्लब ‘ए’ र पकुवा भलिबलले यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेका थिए । प्रतियोगिताको पहिलो सेमिफाइनल आयोजक मनोहर क्लब र नवज्योति क्लबबिच भोलि बिहान ८ बजेबाट सुरु हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल पोखरा युनाइटेढ र पकुवा भलिबलबिच हुनेछ । फाइनल खेल पनि भोलि नै हुने तालिका छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् । माघी मेलाको अवसरमा सभा युला सभाथर परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनारले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। विजेताले सुनारले रु ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। त्यस्तै, रोहित सुनारले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उपविजेता भएका उनले ४० हजार नगद पुरस्कार प्राप्त गरे । आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।
पोखरा: पोखराको अमरसिंहमा जारी १४ औं पोखरा महोत्सवमा माघ ४ गतेदेखि विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने उक्त प्रतियोगिता अन्तर्गत प्रतियोगिताको पहिलो दिन पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ५ गते सेन्ट मेरिज, अञ्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदन बीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी माघ ६ गते डायमण्ड सेकेण्डरी स्कुल, सूर्योदय स्कुल र ज्ञानुबाबा स्कुल बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी माघ ७ गते कास्की मोडनाइज्ड, सोसल पब्लिक स्कुल, अमरसिंह मावि (ई) र डियरवक स्कुल बीच प्रतिस्पर्धा हुने छ । माघ ८ गते अमरसिंह मावि (नेपाली) कालिका मावि, शाइनिङ स्टार स्कुल र अक्सफोर्ड एकेडेमी बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी १७ समुहबाट उत्कृष्ट ५ विद्यालय फाइनलमा प्रवेश गर्ने र फाइनलको नतिजा माघ ९ गते प्रकाशित गरिने प्रतियोगिताका सह संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । फाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरु बीच माघ १० गते फाइनल प्रतिस्पर्धासंगै सोही दिन पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान हाँसिल गर्ने दुई समुहले क्रमश नगद ५०, ३५, २५, १५ हजार, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन । चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकहरुको उपस्थिति दिन प्रतिदिन बढीरहेकोे महोत्सवका सचिवालय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सवमा दर्शकको उपस्थितिसँगै महोत्सव स्थलमा राखिएको स्टलहरुमा समेत ब्यापार बढीरहेको महोत्सवका अर्थ तथा सटल ब्यवस्थापन संयोजक जयराम आचार्यले जानकारी दिए । आचार्यका अनुसार महोत्सवमा लत्ताकपडा तथा घरायसी सामाग्रीको ब्यापार बढ्दो रहेको छ । महोत्सवमा शुक्रबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । पंगेनीसंगै कलाकारहरु चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, नबिना सुवेदी अर्चना चापागाईको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने हाँस्य ब्यंग्य तर्फ पोखरेली माग्नेबुढा र धुर्मुसको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । साँझको लाइभ कन्सर्टमा पोखरेली ब्याण्ड डी मर्चाको प्रस्तुती रहेको थियो । महोत्सवको पाँचौ दिन माघ ३ गते शनिवार प्रकाश सपुतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्ट तर्फ अनुप्रस्थाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिनुभयो। स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउनुभयो। अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब ४० करोड भुक्तानी लिन बाँकी रहेको छ। “स्वास्थ्य बिमामार्फत मासिक दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भन्नुभयो, “बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो। आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो।” अस्पतालले २०७७ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो। बिमा वापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताउनुभयो।
पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा नवज्योति क्लब र पकुवा भलिबल क्लबले जित निकालेका छन् । बुधबार भएको पहिलो खेलमा नवज्योतिले मादी–७ माथि रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२० र दोस्रो सेट ३३–३१ ले जित निकालेको नवज्योतिले तेस्रो र चौथो सेट मादीलाई सुम्पियो । मादीले तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले पुनरागमन ग¥यो । पाँचौ सेटमा १५–१२ ले जित निकाल्दै नवज्योति अर्काे चरणमा प्रवेश गर्न सफल भयो । आजको दोस्रो खेलमा पकुवाले आयोजक महोनर क्लबको ‘बी’ टिममाथि सोझो सेटको जित निकाल्यो । पकुवाले पहिलो सेट २५–७, दोस्रो सेट २५–६ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । प्रतियोगिताअन्तर्गत भोलि ३ खेल हुनेछन् । भोलिको पहिलो खेल बिहान ८ बजे नवज्योति क्लब र एपीएफ पोखराबिच हुनेछ । त्यसपछि पोखरा युनाइटेड र पोखरा भलिबल टे«निङ सेन्टरबिच खेल हुने तालिका छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टोलीलाई एक लाख एक हजार १११ रुपैयाँ प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई टोलीले समान २० हजार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ८ हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । एक टिममा धेरैमा तीन राष्ट्रिय खेलाडी राख्न पाउने व्यवस्था छ । भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताका सबै खेल हेर्नका लागि दर्शकलाई निशुल्क गरिएको छ ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेस्रो दिन हजारौ दर्शकले महोत्सवको अवलोकन गरे । महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियारको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । शान्तिश्री संगै लोकदोहारी कलाकारहरु चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरस्वती लामिछाने, सन्तोष सुवेदी, पार्वती गुरुङ, रमेश थापा मगर लगायतले प्रस्तुती राखेका थिए । साँझको लाइभ कन्सर्टमा युवाहरुमाझ चर्चित लाहुरे आशिष रानाको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरञ्जन लिए । महोत्सवको चौथो दिन लोकदोहोरी गायक बद्री पंगेनी, पार्वती जी.सी. चोलेन्द्र पौडेल, कृष्ण सुवेदी, परशुराम अधिकारी, कमला सुनार, अर्चना चापागाई लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्टमा डी मर्चाको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा साँझको लाइभकन्सर्टतर्फ माघ ३ गते अनुप्रस्था, माघ ४ गते दुर्गेश थापा, माघ ५ गते लेकाली ब्याण्ड, माघ ६ गते ए वाई जी, माघ ७ गते रकहेड्स, माघ ८ गते जेम्सी, माघ ९ गते सबिन राई एण्ड फारोह र माघ १० गते भी टेनको प्रस्तुती रहने छ । त्यसैगरी लोकदोहोरी तर्फ माघ ३ गते प्रकाश सपुत र प्रजापति पराजुली, माघ ४ गते समिक्षा अधिकारी, माघ ५ गते अर्जुन सापकोटा, माघ ६ गते प्रीति आले, माघ ७ गते शान्तारानी परियार, माघ ८ गते अस्मिता अधिकारी, माघ ९ गते सम्झना लामिछाने मगर र माघ १० गते प्रकाश दुतराजको प्रस्तुती रहने छ । महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्नुका साथै सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्ताले १ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लि.भिक्ट्री वाटर डिस्पेन्सर÷मोनाको गिजर, तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तालाई रेडियान्ट भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फ्रायर प्राप्त गर्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिनेछ । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर साथै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गर्नेछन । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट प्राप्त गर्नेछन । फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गर्नेछ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

