पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्री रहेको मोबाइलसहित पक्राउ गरेको हो । प्रहरीले पीडित र आरोपी दुवैको पहिचान गोप्य राखेको छ । नेनेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन ९एनसिएमइसी० बाट विद्युतीय माध्यमको प्रयोग गरी डिजिटल प्लेटफर्ममा बाल यौन दुर्व्यवहार सामग्री राखिएकोबारे साइबर टिपलाइन रिपोर्टमार्फत नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी प्राप्त भएको थियो । सोही सूचनाका आधारमा ब्यूरोले अनुसन्धान गर्दै जाँदा कास्कीका एक व्यक्तिले आफ्नै हाडनाताकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएको तथा अर्की एक बालिकालाई समेत बाल यौन दुर्व्यवहार गरी त्यसको समेत भिडियो आफ्नो डिजिटल प्लेटफर्ममा राखेको खुलेको थियो । त्यसपछि ब्यूरो र जिल्ला प्रहरी कार्यालय, कास्कीको संयुक्त टोलीले आरोपीलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जबरजस्ती करणी, बालबालिका विरुद्धको कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतका तीनवटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
पोखरा: हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ । साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेत सम्म वसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए । हाइकिङ समुह धितालबाट, अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोक सम्म पैदल आई हाइकिङ समापन गरिएको थियो । त्यसपछि माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा समुन्द्री सतहबाट १५५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ । हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागि आफैले व्यहोर्नु पर्ने यस कार्यक्रममा दिनप्रतिदिन सहभागिताको वढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए । पहिलो पटक सहभागि जनसंचार डटकमका प्रकाशक, पत्रकार ओम हमालले हरेक महिना नयाँनयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाईने भएकोले यसको आकर्षण वढ्ने वताए । उनले यस्ता राम्रा कार्यक्रमहरु गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नु पर्ने पनि बताए । हाइकिङमा सहभागि पवित्र वचत तथा ऋण सहकारीका अध्यक्ष तथा समाजसेवी बुद्धिबहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफु पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने वानीको विकास गर्ने बताए । हाइकिङ कार्यक्रममा पोखरा ११ फुलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन वास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा व्यवसायमा आवद्ध सहभागी भएका थिए । आगामि ६२ औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार २८ गते आयोजना गरिने छ भने कहाँ जाने भन्ने निर्णय तेश्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले बताए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार इजरायलमा हमास समूहले बन्धक बनाएका विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइको लागि हर सम्भव पहलमा जुटिरहेको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले हर सम्भव पहलमा जुटिरहेको जानकारी दिनुभएको हो । “सरकार बिपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विपिनका परिवारको साथमा नेपाल सरकार रहेको समेत बताउनु भएको छ । “इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ, ।” प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ता सबैप्रति विशेष धन्यवादसमेत दिनुभएको छ ।
काठमाडौं: काठमाडौंको बूढानीलकण्ठमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गोल्फुटारदेखि बूढानीलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर र बूढानीलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । बूढानीलकण्ठ ७ मा राति १ बजे बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा सिराहा जन्दहका २९ वर्षीय भोला थापाको मृत्यु र अर्का करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको आफन्तको खोजी भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
गलकोट: नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुराअवस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन् । हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ । बागलङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो । जसमध्ये बिहुँ घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन । आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो । ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशत मात्रै प्रगति भएको छ । चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गर्नुभयो । ट्रक मात्रै हैन दर्जनाँै कार तथा जिप सडकमा फस्ने गरेका छन् । लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ । बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ । नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर कल्पना मिश्रले बताउनुभयो । “पुन ठेक्का लगाएको एक वर्ष भयो, रु २१ करोडको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ”, मिश्रले भन्नुभयो, “निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ ।” बिहुँ–घोडाबाधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ÷रिजाल भगवती जेभीसँग रु २१ करोड ४९ लाखमा पुन ठेक्का सम्झौता गरिएको थियो ।
पोखरा: पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् । संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा ३५ प्रतिशट छुट दिने सम्झौता भएको हो । सम्झौतमा संघका अध्यक्ष गोकर्ण कार्की र युआरएल अध्यक्ष ठकुरप्रसाद पन्थले आइतबार हस्ताक्षर गरेका छन् । संघका सदस्य र उनीहरुका परिवारले पोखराको न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालयसहित युआरएलका सबै शाखाबाट परिचयपत्रका आधारमा छुट पाउनेछन् । भदौ १ बाट सुरु भएको सम्झौता २०८७ साउन मसान्तसम्म कायम हुनेछ । संघ पोखराको अग्रणी संस्था हो भने युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला हो । युआरएल अध्यक्ष पन्थले पछिल्लो क्रममा बेला बेलामा आफैं रक्त परीक्षण गराउने चलन बढेको जनाउँदै पोखरेली उद्योगी, व्यवसायीको हितका लागि सम्झौता भएको बताए । ‘खासगरी कोभिडपछि बेला बेलामा सेल्फ टेस्ट गराउने चलन बढेको छ,’ अध्यक्ष पन्थले भने, ‘पोखराका उद्योगी, व्यवसायी र उहाँहरुको परिवारलाई स्वास्थ्य जाँचमा प्रोत्साहन र सहजताका लागि सहकार्य गरेका हौँ ।’ १२ वर्षअघि स्थापना भएको युआरएलले सामाजि उत्तरदायित्व वहन गर्दै आफैं र विभिन्न संघसंस्थासँग सहकार्य गरी अहिलेसम्म २ सय ५ वटा निशुल्क रक्तजाँच शिविर गरिसकेको छ ।
पोखरा: पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बागलुङमा जन्मिएर पनि पर्यटकीय राजधानी पोखरा हुँदै गण्डकीको यात्रा तय गर्नु खुसीको कुरा रहेको बताए । ‘बागलुङमा जन्मेर पोखरा हुँदै गण्डकीको यात्रा तय गर्ने हिम्मत राखेको ढोरपाटन अझै स्थापित हुनेछ’ उनले भने । आचार्यले प्रविधि फेरिए पनि संचारमाध्यम र पत्रपत्रिकाको महत्व बढ्ने क्रम नेपालमा मात्र नभइ संसारभर रहेको दृष्टान्त सुनाए । अमेरिकामा पुग्दा पनि उनले पत्रपत्रिकाको महत्व बढी देखिएको बताए । डिजिटल फड्कोसँगै दस्तावेजीकरणका लागि पत्रपत्रिकाको महत्व जहिले पनि रहने बताए । कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले पत्रपत्रिका नविकरणको काम अब पोखराबाटै हुने बताए । उनले संघियताको सच्चा अभ्यास अब प्रेस रजिष्ट्रार कार्यालयले थाल्ने भन्दै संचारकर्मीहरुले अब काठमाण्डौं धाउने समस्या भोग्न नपर्ने बताइन् । उनले संचार उद्यममा सहकार्य र एक अर्काको सम्मान गर्ने भावनाको आवस्यकता रहेको पनि बताइन् । उनले संचारमाध्यम र संचारकर्मीहरु सहकार्य गरेर हिंड्दा मात्रै गन्तव्यमा पुगिने बताइन् । प्रेस स्वतन्त्रताका लागि संचारमाध्यमको एकताको आवस्यकतामा उनले जोड दिइन् । ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमको अध्यक्षता, पोखरा व्युरो प्रमुख बासुदेव मिश्रको संचालन र कार्यकारी सम्पादक रामकृष्ण बोहोराको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरियो । महानगरप्रमुख आचार्यले दुवैजनालाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे । ढोरपाटनले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कार तथा सम्मान गर्दै आएको छ भने दुइ वर्षमा सामाजिक क्षेत्रका अगुवालाई पनि सम्मान गर्दै आएको छ । २०५९ साल भदौ १ गते ढोरपाटन दैनिक स्थापना भएको हो । राजाको निरंकुश शासन व्यवस्थाको समयमा पत्रिकाले बागलुङको ग्रामीण क्षेत्रको सूचना प्रवाह गथ्र्यो । संघियता कार्यान्वयन पछि ढोरपाटनले बागलुङबाट पोखराको यात्रा तय गर्दै गण्डकी प्रदेश स्तरीय बनाएको प्रधान सम्पादक गौतमले जानकारी दिए । आगामी दिनमा पनि ढोरपाटनलाई अब्बल बनाउन पहल गर्ने उनले बताए । गण्डकीका नविनतम् प्रयास, पोखरा पर्यटन वर्ष २०२५ समेतलाई ध्यान दिएर विशेषांक प्रकाशित गरिनुको साथै आगामी दिनमा पनि सोही प्रकृतिका सामाग्री पस्कने गौतमले प्रतिबद्दता समेत जनाए ।
पोखरा: पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । रेडियो नेपालमा २०५१ साल भदौं १ गते पहिलो पटक मगर भाषामा समाचार प्रसारण भएको दिनलाई स्मरण गर्दै नेपाल मगर पत्रकार संघ कास्कीको आयोजनामा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । मगर पत्रकार संघ कास्कीले ३१ औं मगर प्रसारण दिवसको अवसरमा पोखरामा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र खेम सारुमगरलाई सम्मान समेत गरेको छ । सञ्चारकर्मी आले र सारुमगरलाई गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगर, मगर संघ गण्डकी प्रदेश अध्यक्ष तारामाया थापा मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगरले सम्मानपत्र, फेटासहित सम्मान गरे । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखरामा हर्क आलेमगर २०५१ साल र खेम सारुमगर २०५३ सालदेखि कार्यरत हुनुहुन्छ । उहाँहरुले मगर भाषामा समाचार तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । रेडियो नेपालमा २०५१ साल भदौं १ गते देखि मगर भाषासहित ९ वटा मातृभाषामा समाचार प्रसारण भएको थियो । मगर प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनपछि बौल्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले मगर समुदायले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा पछाडि परिरहेको बताउनुभयो । ‘हामी शिक्षा र चेतनाको अभावले पछाडि परिरहेका छौं, शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा नै हामी पछि परिरहेका छौं, सांसद गाहामगरले भन्नुभयो, ‘समुदायमा जनचेतना वृद्धि गर्न हरेक क्षेत्रमा अगाडि बढ्न मगर समुदायले अब शिक्षालाई प्राथमिकतामा दिन आवश्यक छ ।’ सांसद गाहामगरले सामाजिक क्षेत्रमा सक्रियता बढाउन नसक्दा सरकारले गरिरहेको कामको बारेमा समुदायले त्यसको बारेमा जानकारी लिन नसकेको समेत बताउनुभयो । ‘अहिले सरकारले हरेक क्षेत्रमा काम गरिरहेको छ, तर हाम्रो हाम्रो समुदायबाट सामाजिक क्षेत्रमा चासो र सक्रियता हुन नसक्दा भइरहेको काम बारे जानकारी लिन सकिरहेका छैनौं, उनले भने, ‘समाजको विकासका निम्ति सबैले सामाजिक क्षेत्रमा चासो राख्न जरुरी छ ।’ उनले गण्डकी प्रदेशमा सरकारी कामकाजको लागि मगर र गुरुङ भाषासम्बन्धी बनेको विद्येयक प्रमाणिकरण भइसकेकाले कार्यान्वयनका लागि सबैको साथसहयोग रहेको बताउनुभयो । ३१ औं मगर प्रसारण दिवसको अवसरमा सम्मानित भएका आले र सारुमगरले मगर समुदायको भाषा, कला र संस्कृतिको संरक्षणको लागि यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए । ‘५१ साल ९ वटा मातृभाषामा एकैपटक समाचार प्रसारण भएको थियो, उहाँहरुले भन्नुभयो, ‘नेपाल बहुभाषिक र बहुजाति भएको देशमा सरकारको यो निर्णय भाषा,कला र संस्कृति संरक्षणको लागि महत्वपूर्ण भुमिका खेलेको छ, यसमा हामीले सबैले चासो देखाउन आवश्यक छ ।’ कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगरले गण्डकी प्रदेश सरकारले कामकाज भाषाको रुपमा मगर र गुरुङ भाषालाई प्रयोग गर्न बनेको विद्येयक प्रमाणिकरण भइसकेको भन्दै कार्यान्वयनका लागि सबै एकजुट हुन आवश्यक रहेको बताईन् । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले आदिवासी समुदायको संस्कृति संरक्षणसँगै हरेक क्षेत्रमा पत्रकारहरुले कलम चलाउँदै आएको बताए । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका इन्चार्ज रुद्र श्रीस मगर, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, मगर संघ सराङकोट इकाई समितिका अध्यक्ष सञ्जिव थापा मगर लगायतले बोलेका थिए । कार्यक्रम नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षता, उपाध्यक्ष प्रविण थापा मगरको स्वागत र कार्यवाहक सचिव बलबहादुर रोकामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
काठमाडौं: यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सङ्गठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् । २०७८ सालमा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । शनिबार भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूको तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसङ्गठनले लिएका छन् । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने जनाइएको छ । महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ब्यापक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ । गौतमका अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ । एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेले पेस गर्ने छन् । एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए । व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधी तय गर्ने उत्सव भएकाले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिए । एमालेले आजदेखि विधान महाधिवेशनको काउन्ट डाउन ९दिनगन्ती० पनि सुरु गर्ने भएको छ । विधान महाधिवेशन सुरु हुन अब १९ दिन बाँकी छ ।