पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷...

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा भवनको शिलान्यास गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदीपुरमा बन्ने प्रदेश सभा भवनको आज मंगलबार मुख्यमन्त्री पाण्डेले शिलान्यास गरेका हुन् ।  काठमाडौंको श्रेष्ठ एण्ड सन्स/इष्ट–वेष्ट जेभीसँग ३ वर्षभित्र भवन निर्माण कार्यसक्ने गरी २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा सम्झौता भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय कास्कीका प्रमुख ओमराज ढुङ्गानाले बताए ।  उनका अनुसार निर्माण कम्पनीले २०८१ माघ १८ देखि सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । अहिले भवनको निर्माणस्थल सम्माउने र रड बिछ्याउने काम भइरहेको कार्यालय प्रमुख ढुङ्गनाले बताए ।  निर्माण कम्पन्नीले दुई सिफ्टमा काम गर्ने जनाइएको छ । तीन तलाको बन्ने भवनमा भुईतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भिआईपी कार्यालय निर्माण हुनेछ । भिआईपी कार्यालयहरमा मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद सचिवको हुनेछ ।  त्यसमाथिको तलामा ७८ जना क्षमताको संसद बैठक कक्ष, कार्य व्यवस्था परामर्श समिति बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल, टिभी स्टुडियो, सामान्य र भिआईपी कक्ष, मार्सल अफिस रहनेछ । यस्तै त्यसमाथिको तलामा ८० जना क्षमताको हलसँगै मल्टिप्रपोज हल निर्माण हुनेछ ।  यसै आर्थिक वर्षको माघ मसान्तसम्म पहिलो तलाको ढलान सम्पन्न गर्ने निर्माण कम्पनीले लक्ष्य लिएको छ ।  गण्डकी प्रदेश सभा अहिले तत्कालीन नगर प्रशिक्षण केन्द्रको हलमा संसद चलाइएको छ । यस भवन साँघुरो भएपछि गण्डकी प्रदेश सरकार नयाँ भवन बनाउन लागेको हो ।  भवन निर्माण लागि गरिएको बोलपत्र आह्वानमा ३५ वटा कम्पनीले भवन बनाउने प्रस्ताव पेश गरेका थिए । 

झापा:  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए ।  स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलीग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।    अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको खुलेको उनले बताए । साउन ३२ गते साँझ गणेश चोकबाट उनीहरूलाई नियन्त्रणमा लिँदा ३९ ग्राम २२ मिलीग्राम तौल भएको सिक्रीको टुक्रा र रु ३० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो । आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दर्ता भएका छन् । साथै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा(माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल दर्ता भएको छ । त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल उपनिर्वाचनका लागि दर्ता भएको आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ ।

काठमाडौं:  सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले २०८१ असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा उक्त आदेश गरिएको उल्लेख छ । सीधाकुरा डटकममाले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो र भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै २०८१ वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गर्नुभएको थियो । सोही मुद्दाको फैसलामा सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनु भनिएको हो । उक्त मुद्दामा सीधाकुरा डटकम प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको थियो । “जसरी आमसञ्चार र प्रेस स्वतन्त्रताको कुरा महत्त्वपूर्ण छ, त्यसरी नै गलत सूचना प्रवाह गर्ने कार्यलाई निरुत्साहित गर्नु पनि उत्तिकै आवश्यक हुन्छ”, फैसलाको पूर्णपाठमा भनिएको छ, “विचार र अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलाई जसरी राज्यले संरक्षण गर्नु जरुरी हुन्छ, त्यसरी नै मिस इन्फर्मेसन, डिस इन्फर्मेसन र माल इन्फर्मेसन जस्ता गलत सूचनालाई नियन्त्रण गर्नु पनि राज्यको दायित्व हुन्छ ।” फैसलाको पूर्णपाठमा स्वदेशी वा विदेशी अनलाइन तथा सामाजिक सञ्जाललगायत प्लेटफर्मलाई सञ्चालनपूर्व अनिवार्य रूपमा साधिकार निकायमा दर्ता गरी त्यस्ता अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्नेगरी डिजिटल मिडिया र सामाजिक सञ्जाललाई समेत जिम्मेवार तथा जवाफदेही बनाउन भनिएको छ । “आफ्नो वास्तविक परिचय लुकाइ काल्पनिक नामबाट सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्यलाई समेत निरुत्साहित गर्न, कानुनको परिधिभित्र रहने गरी नियमनकारी निकायबाट भरपर्दो अनुगमन गर्न र यस विषयमा आवश्यक अन्य व्यवस्था गर्न अबिलम्ब उचित कानुनी प्रवन्ध गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउनू”, फैसलामा भनिएको छ । यस्तै, समाचार सम्प्रेषण गर्ने कार्यलाई न्यायपालिकाको मर्यादा, सम्मान, जनआस्था तथा विश्वसनियता कायम हुने गरी व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि आवश्यक मापदण्ड तयार गर्न अदालतका मुख्य रजिष्ट्रारलाई र अदालतसँग आबद्ध सञ्चारकर्मीलाई यस सम्बन्धमा अभिमुखीकरण गर्नु गराउनु भनी प्रेस काउन्सिलमा लेखी पठाउनू आदेश गरिएको छ । “प्रविधिको विकाससँगै विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी रूपमा बढेको छ । परम्परागत सञ्चारमाध्यमभन्दा विद्युतीय माध्यमबाट प्रवाहित हुने समाचारहरू व्यापक र शीघ्र रूपमा भाइरल भई आमजनसमुदायमा पुग्ने हुन्छन्”, फैसलामा भनिएको छ, “युट्युबको दृश्य र श्रव्यले समाचारलाई आकर्षित रूपमा प्रस्तुत गरेको हुन्छ, यस्ता सञ्चार माध्यमहरूको नियमन र व्यवस्थापन हुन नसकेमा गलत समाचार प्रवाहित हुने अवस्था सिर्जना हुन्छ । गलत सूचना प्रवाह हुँदा सही सूचना पाउने नागरिक अधिकारमा पनि आधात पार्दछ ।” अदालतले यस्ता माध्यमबाट गलत सूचना सम्प्रेषित हुँदा न्यायिक काम कारबाहीमा बाधा पार्ने र अदालतको जनआस्था र विश्वसनीयतामा पनि प्रतिकूल प्रभाव पर्ने उल्लेख गरेको छ ।

पोखरा: निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपाली नारीहरुको पर्व हरितालिका तिज सामुहिक रुपमा मनाउने संस्कार बढेको बताउनु भएको छ । माझठाना पोखरा सम्पर्क समाजद्धारा आज पोखरामा आयोजित तिज विशेष एवम् विद्यार्थी सम्मान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सस्थागत रुपमा तिज मनाउनदा  मनाउँदा एक आपसमा आत्मियता अभिवृद्धि हुने बताउनुभयो । संस्कृति र संस्कारको माध्येमवाट धार्मिक एवम् पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा जोड दिंदै उहाँले समाज बढ्दै गएको विकृति र विसंगतिका विरुद्धमा एकतावद्ध भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा समाजमा आवद्ध सदस्यका छोराछोरी मध्येवाट एसइई २०८१ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्ततिर्ण हुनु हुने पाँच जनालाई नगद सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । समाजका अध्यक्ष सारदा लामिछानेको अध्यक्षमा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछाने,समाजका निवर्तमान अध्यक्ष भोलानाथ ओझा,सल्लाहकारव्दय डा निर्मल लामिछाने र डा. मानवहादुर केसी,सुर्यज्योती लाइफल इन्स्वरेन्स प्रालि गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद वराल,कार्यक्रम संयोजक सूर्यराज चपाई, विष्णुहरि तिवारी लगायतले समाजले खेल्दै आएको भूमिका माथि प्रकाश पार्नुभएको थियो ।    

काठमाडौं:  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले छिटै राजनीतिक दल खोल्ने बताएका छन्  ।  सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताएका हुन् । देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमान सहितको पार्टी छिटै घोषणा हुने उनले जानकारी दिए । प्रसाईले वर्तमान शासन प्रणाली अन्तर्गत नै राजनीतिक शक्ति निर्माणका लागि दल खोल्ने निर्णयमा पुगिएको जिकिर गरे  ।  उनले अब राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका केन्द्रित हुने उल्लेख गरे । 

म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् ।  रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् । उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।  ‘घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन्’, उनले भने, ‘मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।’

पोखरा:   पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।  पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।   विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए ।  गत संस्करणका तुलनामा पुरस्कार राशि दोब्बर गरिएको  र दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यबस्था गरिएको उनले जनाए । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ ।   गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो । यसैगरी, वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।  प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।  प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फराम भर्नु पर्ने छ, अनलाइन फारम आज (सोमबार) देखि खुल्ला गरिएको प्रतियोगिातका निर्देशक ओम लामाले बताउनु भयो । यही भदौं २५ गतेसम्म मात्र धावकहरुले अनलाइन फारम मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा क्लिक डटकममा अनलाइन फारम भर्न सकिन्छ ।   पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेकामा प्रतिकुल मौसमका कारण ७९ जना सहभागी भएकामा खुलातर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफ क्लवका निरोज भट्ट क्षत्रीले उपाधि जितेका थिए ।  उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको प्रा.लि.का व्यबस्थापक सागर सुनारले बताए । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी ल्याफ्टेनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् ।  उनी अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष अवकार प्राप्त ल्याफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानधारी धावक हुनुका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुन् । यस्तैगरी नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।   पत्रकार सम्मेलनमा बोल्दै पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले उक्त इभेण्टलाई वडाले आफ्नो चार्डको रुपमा लिएको बताउदै यसको स्तरोन्नती गर्न विस्तारै हाफ्म्याराथनसम्म लैजाने योजना रहेको बताए ।  पुम्दी भुम्दीमा सडक निर्माणसंगै पदमार्गहरु समेत निर्माण भएको तथा ताल पारीको क्षेत्रमा इको टुरिजमको सम्भावनालाई उजागर गर्न राउण्ड फेवा भ्यू फेवा जस्ता परियोजना सुरु भएको समेत बताए ।  पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले उक्त दौडलाई ८ किलोमिटरबाट बढाउदै हाफ म्याराथन हुदै लेकसाइड देखि पन्चासेसम्मको म्याराथन दौड गर्न सुझाव दिए ।  तालपारि इको टुरिजमको सम्भावना भएकोले गगन चुम्वी भवनहरु नबनाउन उनले आग्रह गरे ।    पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि बहादुर भुजेलले विश्व पर्यटन दिवसको अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावहरु बढी भन्दा सहभागि गराउन पहल गर्ने बताए ।   

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईपटक उत्कृष्ट अवार्डबाट सम्मानीत भएको छ ।   तीन वर्ष अगाडि मात्रै प्रदेश प्रमुखको जिम्मेवारी पाएका  अधिकारीको नेतृत्वमा  कर्णाली प्रदेश तथा लगातार दुईपटक गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको हो ।  नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२ सम्पन्न गरेको छ । सबै जीवन बीमा कम्पनीहरूलाई पछि पार्दै गण्डकी प्रदेशमा नेपाल लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले गत वर्षभन्दा करिब ४९५ व्यवसाय वृद्धि गरी ८३ करोडभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।  उक्त कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको रणनीति समेत  तय भएको छ । नेपाली बीमा बजारको हालसम्मकै ऐतिहासिक १० अर्ब भन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको यस जीवन बीमा कम्पनीले उत्कृष्ट व्यवसाय गर्न सफल भएका प्रदेश प्रमुख, शाखा प्रमुख र अन्य कर्मचारीहरूलाई सम्मान गरेको हो ।