काठमाडौं: पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिनुभयो । उहाँले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाउनुभयो । शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उहाँले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिनुभयो । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित असिनाको सम्भावना रहेको पनि ढकालले बताउनुभयो । शनिबार केही सुधार हुने भए पनि बदलीको असर देशभर देखिने र चिसो बढाउने विभागले जनाएको छ । मौसम बदलीको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन विभागले आज एक सूचना जारी गरी अनुरोध गरेको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहेको आयोगले जनाएको छ । उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो । आज बेलुका ५ बजेसम्म उजुरीमाथि जाँचबुझ गरिएको हो । बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उहाँले गराउनुभयो । देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारीअनुसार पुरुष ३०८८, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८६ को उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् । गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को काठमाडौंको पार्टी प्यालेसमा राखिएको थियो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा विशेष महाधिवेशनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैछन् । सानेपामा शुक्रबार दिउँसो पदस्थापना गरेपछि उनी यसपटक उठ्न लागेको नयाँ निर्वाचन क्षेत्र सर्लाही ४ पुग्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । जहाँ उनलाई कांग्रेस छाडेका डा। अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनौती दिँदैछन् । विशेष महाधिवेशनको विवादमा सर्वोच्च अदालत अदालतले अन्तरिम आदेश नदिएसँगै गगनलाई कामको बाटो खुलिसकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गैरकानुनी रहेको बताउँदै सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा न्यायाधीश सुनीलकुमार पोखरेलले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सभापति थापाको नाममा कारण देखाऊ आदेश मात्रै दिएको छ। उनले १५ दिनभित्र लिखित जवाफ दिनुपर्नेछ । प्रारम्भिक आदेशमा सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै कानुनी र संवैधानिक अवस्था हेरेर सुनुवाइ गर्नुपर्ने देखिएको जनाएको छ। विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसक्दा पनि कांग्रेसले आफ्नो वेबसाइट अद्यावधिक गरेको छैन। कांग्रेसको वेबसाइटमा पुरानै कार्यसमितिको नाम र तस्बिर छ। तर जहाँबाट गगन थापा र विश्वप्रकाश शर्मासहितको नाम र तस्बिर हटाइएको छ। यस्तोमा शुक्रबार गगनले सानेपामा पदस्थापन गर्न लागेका हुन् । ‘भोलि पार्टीको निर्वाचन केन्द्रित बैठकहरू छन् । सभापतिज्यू पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुनेछ’, चालिसेले भने, ‘त्यसपछि निर्वाचन क्षेत्रमा जाने कार्यक्रम निर्धारण गर्छौँ ।’
म्याग्दी: बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नुभएको थियो । नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधनपछि समीर र यास्मिनलाई आमाका नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो । समीर र यास्मिनका आमा मनिरजा नेपाली हुनुहुन्छ भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुनुहुन्छ । ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आउनुभएको छ । श्रीमान् सलिमले भारतको नागरिकता त्यागिसक्नुभएको छ । उहाँले विसं २०५२ र २०६४ मा नेपालमा भएका निर्वाचनमा मतदानसमेत गरिसकेको बताउनुभयो । समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा विभिन्न सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका समाजिक विकास शाखाको बृद्धाश्रम सहयोग कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ लागतका सीरक, डसना, ग्याँस, तेल, प्लेट, हटकेश लगायतका समाग्री सहयोग गरिएको हो । बृद्धाश्रममा आज आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले समाग्री हस्तान्तरण गर्नुभएको हो । बृद्धाश्रमको सहयोगका लागि वडाका तर्फबाट निरन्तर साथ र सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । राधाकृष्ण बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष विश्वराज लामिछाने र संस्थापक अध्यक्ष प्रेम लिगलले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यस किसिमको सहयोगको निरन्तरताको अपेक्षा गर्नुुभयो । संस्थापक अध्यक्ष लिगलका अनुसार बृद्धाश्रममा विभिन्न जिल्लाका ३५ जना ज्येष्ठ नागरिक बस्दै आएका छन् । असहाय ज्येष्ठ नागरिकहरूलाई आश्रय दिदै आएको बृद्धाश्रमको सञ्चालनलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारी निकायसँगै सामाजिक संघ संस्थाको निरन्तर सहयोग आवश्यक रहेको बृद्धाश्रम सञ्चालक समितिका सदस्य विष्णुबहादुर बस्नेतको भनाइ छ ।
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगिता जारी रहेका छन । बुधवार आयोजित डोरी तान प्रतियोगितामा जनजागृति र संगम बीचको खेलमा जनजागृती आमा समुह प्रथम भएका छन । प्रतियोगितामा सानी मजुवा आमा समुह बसुन्धरा मार्ग तृतिय भएका छन । पोखरा १५ मितेरी बहुद्देश्यीय भवन मितेरी टोलमा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा सिंगल पुरुषतर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरिबहादुर आले प्रथम भए । प्रतियोगितामा चन्द्र सूर्य क्लबका तोरण गुरुङ दोश्रो र नागमणी टोलका रिशाल गुरुङ र मितेरी टोल बिकास संस्थाका अमर खड्काले तृतीय स्थान हाँसिल गरे । पुरुष डबल तर्फ तल्लो नयाँगाउँ टोल बिकास संस्थाका हरि बहादुर आले र मन बहादुर सुनारको जोडी प्रथम, ठूलो मजुवा टोल बिकास संस्थाका क्या. कृष्ण बहाुदर गुरुङ र रमेश शाहीको जोडी दोश्रो र चन्द्र सूर्य क्लबका तोरण गुरुङ र रिम बहादुर कार्कीको जोडी र स्यानीपाटन टोल बिकास संस्थाका सुरज केसी र दर्पण श्रेष्ठको जोडी तेस्रो भए । प्रतियोगितामा महिला सिंगल तर्फ मितेरी टोलका चन्दा तामाङ छन्त्याल प्रथम, जनजागृति आमा समुहकी पुनम मल्ल दोस्रो र एकता आमा समुहकी लाली खाँड र प्रतिभाटोल आमा समुहकी लक्ष्मी पुन तेस्रो भए । महिला डबल तर्फ माछापुच्छ«े आमा समुही विमला तामाङ र जी माया रानाको जोडी प्रथम, एकता आमा समुहकी शुसिला पुर्जा र लाली खाँडको जोडी दोश्रो र स्यानीपाटन आमा समुहका बिनीता राना र सिर्जना गुरुङको जोडी र जनजागृती आमा समुहका पुनम मल्ल र टु माया गुरुङको जोडीले तेस्रो स्थान हाँसिल गरेको मितेरी टोल बिकास संस्थाका सचिव तथा ब्याडमिन्टन प्रतियोगिताका संयोजक पूर्ण बहादुर जिसीले जानकारी दिए । त्यसैगरी खेलकुद महोत्सवमा जनजागृति आमा समुह र एकता आमा समुह महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमी फाइनलमा जनजागृति आमा समुहले चेतना महिला कृषक समुहलाई ३–२ को सेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । त्यसैगरी दोश्रो सेमी फाइनलमा एकता आमा समुहले संगम टोल महिला समुहलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । पुरुष तर्फको भलिबलमा गलेश्वर युवा क्लब फाइनलमा प्रवेश गरेको छ । बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा गलेश्वर युवा क्लबले तल्लो नयाँगाउँ टोल बिकास संस्थालाई ३–२ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । बिहीबार चन्द्रसूर्य क्लब र स्यानी मजुवा टोल बिकास संस्था बीच दोश्रो सेमी फाइनलको खेल हुने छ । विद्यालय स्तरीय फुटवल तर्फ बुधवारको पहिलो खेलमा भ्यूप्वाइन्टले गोल्डेन फ्युचरलाई २–१ गोल अन्तरले पराजित गार्यो । दोश्रो खेलमा सिद्ध माविले रेन्वो एकेडेमीलाई ४–३ गोल अन्तरले पराजित गर्यो । क्लब तथा टोल बिकास संस्था बिचको फुटवलमा स्यानी मजुवा टोल बिकास संस्थाले अलकाटोल बिकास संस्थालाई २–१ गोल अन्तरले पराजित गर्यो । दोश्रो खेलमा दिब्यज्योती युवा क्लबले ठूली मजुवा टोल बिकास संस्थालाई ८–० गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । महानगर विद्यालयस्तरीय यूनी हक्की प्रतियोगितामा छात्रछात्रा दुवै विद्याका खेलहरू अत्यन्तै रोमाञ्चक बनेका छन् । प्रतियोगिताअन्तर्गत सम्पन्न १० खेलमा फरक–फरक विद्यालयहरूले उत्कृष्ट प्रदर्शन गरेका छन । प्रतियोगिता अन्तर्गत छात्र तर्फको पहिलो खेलमा सेन्ट फ्रान्सिसले माउन्ट हेभेनलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा इमानुएल र नेपाल भारत मैत्री बीच ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा नेपाल भारत मैत्रीले इमानुएललाई १–० ले पराजित गर्यो । महिला तर्फ सेन्ट फ्रान्सिसले एसओएस माथी ७–० को एकतर्फी जित निकाल्यो । छात्र तर्फको चौथो खेलमा खेलमा एसओएसले जनकीलाई २–० ले पराजित ग¥यो । छात्रा तफएको पाँचौ खेलमा खेलमा विभूति र सिद्धबीच २–२ को बराबरी भएपछि पेनाल्टीमा विभूति १–० ले विजयी बन्यो । छात्र तर्फको छैठौं खेलमा कालिकाले भ्यु पोइन्टलाई ६–२ ले हरायो । छात्रा तर्फको सातौं खेलमा पनि कालिकाले आफ्नो दबदबा कायम राख्दै थ्री एन्जेल मिशन स्कुललाई ३–० ले पराजित ग¥यो । पुरुषतर्फको खेलमा सुक्रराज वलभद्र र सेन्ट फ्रान्सिसबीच ४–४ को बराबरीपछि पेनाल्टीमा सेन्ट फ्रान्सिस १–० ले विजयी बन्यो । नवौँ खेलमा छात्रा तर्फ शुक्रराज बल भद्रले इमानुएललाई ५–० ले हरायो । बुधबारको अन्तिम खेलमा पुरुषतर्फ नेपाल भारत मैत्रीले राम आधारभुतलाई ३–२ ले पराजित गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थिति देखाएको प्रतियोगिता संयोजक आशीष भण्डारीले जानकारी दिए ।
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए। डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।
काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो। राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ। निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ।

