ताप्लेजुङ:  सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।  स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छो...

काठमाडौं:  फेसबुकमा ‘अलबिदा’ सहित सन्देश लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिएका छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डा. श्रेष्ठ केहीबेरअघि एक रिसोर्टमा भेटिएका हुन् । डा. श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए ।  डा. श्रेष्ठको अन्तिम लोकेशन चावहिल क्षेत्र देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरुवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन् ।    यो पनि पढ्नुहोस   ‘अलविदा’ लेख्दै डा.केशव श्रेष्ठ सम्पर्कबिहीन

काठमाडौंः   प्रतिनिधिसभाको आजको बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिस्कार गरेको छ । यी दुई प्रतिपक्षी दल भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै विरोधमा उत्रिएका हुन् । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट माथि छलफल चलिरहँदा रास्वपा सांसदहरुले नाराबाजी गरिरहेका छन् ।  आजको बैठक सुरुभए लगत्तै आकस्मिक समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्ष दलहरुको विरोधकै बीच संसद् अघि बढ्दा आफ्नो दलले बहिस्कार गर्ने बताउनुभएको थियो । “संसदमा रहेका राजनीतिक दलहरुबीच गणितमा फरक होला तर कुनैपनि विचारलाई निषेध गर्ने व्यवस्था संविधानमा छैन,  सभामुख एक सिट भएका राजनीतिक दलको पनि अविभावक हो । अहिले दुई दलले विरोध जारी राख्दा बैठक सञ्चालन गरिनु संसदीय मर्यादाअनुकुल हुँदैन”, लिङ्देनले भन्नुभयो, “जबसम्म जबरजस्ती बैठक सञ्चालन हुन्छ, राप्रपाले बहिस्कार गर्छ । बहिस्कार गरेको बैठकको भत्ता सरकारको राजस्वमा जम्मा गर्ने व्यवस्था गर्न आग्रह छ ।” आकस्मिक समयमा रास्वपा सांसद सन्तोष परियारले भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठनको माग दोहोर्‍याउनुभयो । बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बजेटमाथिको छलफल जारी छ ।

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा बहिष्कार गरेको असार १ गतेको संसद भत्ता नलिने निर्णय गरेको छ । राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै असार १ गते आइतबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरिएकाले उक्त दिनको भत्ता अस्वीकृत गरिएकाले राजश्वमा फिर्ता गरिदिन आग्रह गरेका छन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्षीको विरोधका बावजुत बैठक सञ्चालन गरिएको भन्दै राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो ।  राप्रपाले पत्रमा भनेको छ, ‘उक्त दिनको बैठक भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर गर्दै राप्रपा संसदीय दलले मिति २०८२ असार १ गतेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको व्यहोरा यसै पत्रमार्फत जानकारी गराउँदछौँ ।’

काठमाडौं:   सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेका चिकित्सक डा.केशव श्रेष्ठलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ। प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविद अर्यालले सूचना पाईसकेपछि लोकेसन खोजी कार्य जारी राखेको जानकारी दिए। रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर  मोवाइल बन्द गरेको पाईएको थियो। उनले करिब २ घण्टाअघि फेसबुकमा सबै जनालाई अलविदा मलाई माफ गरिदिनु भन्दै लेखेका छन्।  १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्।  झुटो आरोप लगाएर रामेछापबाट हेटौँ अस्पतालमा  सरुवा गराएको तर हाजिर स्वास्थ्य मन्त्रालयमा गराईएको छ। ‘मलाई धेरै दुख दिए, अहिले यो दुखरपीडा सहन अनि सोचन पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘कतैबाट केही साथ सहयोग पाउन सकिनँ।’  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस सबै जनालाई अलविदा मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष-संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले ।   करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, system मा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो ।   डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे ।एउटा ब्यबस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई system मा लिएर आए ।   केदार कार्कीले(रामेछाप-०८) मागेको पैसा नदिदा अनि उसले भनेको कार्यालय सहयोगी लाई जागीर नलगाउदा उसको नेतृत्वमा मैले कार्यवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर)गरेका डाक्टरहरू लाई प्रयोग गरेर अहिले मलाई बिभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन (apron)किन नलगाएको भनेर एक जना डाक्टर लाई प्रश्न मात्र गरेको थिए म माथी मुख-मुखै लागेर morning conference मा प्रस्तुत भई । तेही डाक्टरले तेही दिन केदार कार्की लाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाड़ी, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्कि दिएर हिड्यो ।   केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफ़नो कार्यकक्षमा नबस्ने, आफ़नो बाउको राजनीति power को दम्भ देखाउने, बाहिर lab संग CD/RPD को comission को deal गर्ने, पटक-पटक भन्दा पनि आफ़नो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधे। तेही स्पष्टीकरण सोधिएका हरू लाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो बिरुद पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड़न बाध्य बनाईयो ।   अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कार्यवाहीमा परेका करारका ४,५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने?मैले आफ़नो कुरा राख़्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिबले नै सुन्नु भयो ।   शरीरमा १६ ओटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछाप बाट काठमाण्डौ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाण्डौ आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागे । नया आएको निमित मेसू लाई हाजिर गराउन CDO कार्यालयमा call गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन CDO लाई call गरिएन? २०८२/०२/२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टा पछी ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?   हेटौडा पुगे पछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो , मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे। सरुवा गरिएको छ हेटौडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा। मलाई धेरै दुख दिए, अहिले यो दुख/पिड़ा सहन अनि सोचन पनि सकेको छैन। मैले ज़िन्दगी बाट नै हार खाए। कतै बाट केही साथ/सहयोग पाउन सकिन।   डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाचे भने न्याय पाउछु जस्तो लागेन। असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन ।   मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान ।म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बििक्षपत हुन पुगेको छ। one man army भनेर चिनिएको थिए अहिले आएर हार खाए ।   मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगे, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु। मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का sir, माननीय उत्तम जोशी sir हजुरहरू लाई धेरै धन्यवाद छ। तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाए।   तर आज आएर मैले ग़ल्ति बिनाको सजाय भोगेको छु।आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाए सम्म मेरो आत्माले शान्ती पाउने छैन।दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाए(१५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्यवाही खाएको छु ।   नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि sir (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन ।मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु ।   फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई-बुहारी, बहिनी अनि भान्जी

काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका–५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका–४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् । पक्राउमध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट २३ लाख ५० हजार र व्रिजेशले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख ५० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।  पैसा लिएर सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट शनिबार र व्रिजेशलाई काठमाडौँ महानगरपालिका–१२ बाट आइतबार पक्राउ गरेको हो । पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ । 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । चुरे संरक्षण दिवस २०८२ को अवसरमा आज नवलपरासीको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भएनभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरूरी रहेको बताउनुभयो । सो अवसरमा नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित अठ्ठाइस बिघा क्षेत्रको ज्योतिपुञ्ज सामुदायिक वनमा राष्ट्रपति पौडेलले बर र प्रथम महिला सविता पौडेलले पीपल रोपेर चुरे संरक्षण दिवसको शुभारम्भ गर्नुभयो । उहाँले चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सीमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जुन उद्देश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन ।” राष्ट्रपति पौडेलले चुरे क्षेत्रको प्राकृतिक स्रोतहरूको संरक्षण र सदुपयोग गरी चुरे क्षेत्रको वर्तमान अवस्थामा सुधार गर्ने, चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।  उहाँले स्थानीय जनताको जिवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ चुरे पहाडको जलाधार क्षेत्रका १६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई वातावरण संरक्षण क्षेत्र कायम गरी उक्त क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको गठन गरेको स्मरण गराउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिव ६० प्रतिशत मानिसको जीवन पद्धतिसँग जोडिएको छ । जनसङ्ख्याको चाप, गरिबी, अवैज्ञानिक खेतीप्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहनजस्ता मानवीय कृयाकलापको कारणले गर्दा यस क्षेत्रका प्राकृतिक स्रोतहरूको क्षयीकरण भइरहेको छ ।” राष्ट्रपति पौडेलले माथिबाट गेग्रान आउने, त्यसले खोला पुरिने  र खोला गाउँ तथा खेततिर हिंडेपछि ठूलो क्षय हुने गरेकाले खोला घर ९बाटो० खोलेर गेग्रानको उपयोग गर्न सके तराई–मधेशलाई बचाउन सकिने धारणा व्यक्त गर्नुभयो ।  उहाँले चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहँदै आएको उल्लेख गर्दै क्षतिग्रस्त क्षेत्रलाई वृक्षरोपण र संरक्षण गरेर हराभरा बनाउने र पानीको संरक्षणको लागि ठूला–ठूला पोखरी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्ने कार्यलाई अझै व्यापक बनाउनुपर्ने बताउनुभयो । उहाँले कमलो चट्टानबाट निर्मित चुरे क्षेत्र भौगर्भिक हिसाबले कमजोर छ जसका कारण यो क्षेत्र भूक्षय, बाढीपहिरो, नदी कटानलगायत प्राकृतिक प्रकोपहरूबाट अति जोखिमयुक्त र संवेदनशील क्षेत्रको रूपमा रहेको भन्दै चुरे पहाडको भूक्षय तथा पहिरोको  कारणले उत्पन्न बाढीले तराईको उर्वराभूमि मरूभूमि बन्ने  खतरा बढिरहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “चुरे क्षेत्र तराईको जल पुनर्भरण क्षेत्र हो ।  चुरे क्षेत्र जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको वासस्थान र जैविक मार्ग  भएकाले पारिस्थितिकीय प्रणाली संरक्षण तथा सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

हुम्ला:  हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा आएको हो । आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट रुपमा भएको  स्थानीय धनबहादुर रावतले जानकारी दिए । आगलागीको कारण खुलेको छैन ।   सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुली फडेराको घर जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको पीडित धनबहादुरले बताए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

म्याग्दी:    म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वी रुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।   चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजनामार्फत म्याग्दीको धवलागिरि –२ मरेनीदेखि ढोरपाटनको जलजलासम्म सडकको ट्याक निर्माण भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।  “मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ करिब नौ किलोमिटर सडकको ट्याक निर्माण भएको छ । ढोरपाटनबाट जलजलासम्म पनि १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो,” उहाँले भन्नुभयो “डोजर जलजला पुगेपनि स्तरोन्नतिको काम सकिएपछि मात्र यातायातका साधन सञ्चालन गर्न सकिन्छ ।” बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरिया–मरेनी हँुदै जलजला करिब ६४ किलोमिटर सडकको मार्ग खुलेको हो ।  धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खोल्ने काम सकिए मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने बताउनुभयो ।  उहाँका अनुसार पूर्वी रुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगङ्गा जाने पर्यटक तथा स्थानीयवासीलाई यो सडक छोटो पर्छ ।  धवलागिरि गाउँपालिका–२ खोरियामा पाँच वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले तीन वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।  बेनीदेखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकारमार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।  मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको बाँकी मार्ग खोल्ने, विस्तारसँगै मर्मत, स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ 

गण्डकी:   गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, क्व्होलाँसोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दीहुँदै दुधपोखरीलगायतका स्थानलाई समेट्दै गरिएको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न भएको छ । गुरुङ सम्पदा पदमार्गका रूपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ यही जेठ २३ गतेदेखि असार १ गतेसम्म विभिन्न कार्यक्रम तय गर्दै प्रवद्र्धनात्मक खोज तथा अनुसन्धानत्मक पदयात्रा गरिएको गुरुङ पर्यटन व्यवसायी सङ्घका संस्थापक अध्यक्ष एवम् कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो । सङ्घको आयोजनामा यसअघि पहिलो चरणमा कास्कीको ताङतिङहुँदै मनाङको तिमाङसम्म र दोस्रो चरणमा कास्कीको सिक्लेस हुँदै कोरी क्होँलासोँथर, कर्पु हुँदै याङ्जाकोटसम्म खोज तथा अनुसन्धानात्मक पदयात्रा गरिएको थियो । “यस पदमार्गमा ठाउँठाउँमा टि हाउससहितका पूर्वाधार, खानेपानीको व्यवस्थासँगै सञ्चार सम्पर्क सहज हुने किसिमका व्यवस्था गरिनु जरुरी देखिन्छ”, सङ्घका अध्यक्ष किसमकुमारी गुरुङले भन्नुुभयो । खोज तथा अनुसन्धानका चरणसँगै आगामी सन् २०२६ देखि यस पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ । गुरुङ सम्पदा पदमार्गमा समेटिएका ऐतिहासिक गुरुङ गाउँहरूका प्राचीन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै पर्यटकीय रूपमा भरपुर उपयोग हुनुपर्ने उहाँले बताउनुुभयो ।  पदयात्राका क्रममा उक्त क्षेत्रमा सञ्चार सम्पर्कको विद्यमान अवस्था बारे स्थलगत प्राविधिक अध्ययन गरिएको थियो । अध्ययनका क्रममा कतिपय स्थानमा सञ्चारसम्पर्क विहिनताको अवस्था रहेको पाइएको छ । खोज अन्वेषण पदयात्रामा ४८ जनाको सहभागिता थियो । पदमार्गमा ठाउँठाउँमा खोला तथा मनोरम पोखरीसँगै ठूलाठूला खर्क र पाटन रहेको पदमार्गबाट अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लुजस्ता हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने जनाइएको छ । पदमार्गमा भेंडा, गाई, भैँसी तथा चौँरीको गोठ बस्ने खर्क, गोठाले जीवनको रहनसहनलाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ ।  पदमार्गमा यार्सागुम्बा, जटामसी, सतुवा, पाँचऔंले, वन लसुन जस्ता धेरै प्रजातिका जडीबुटी पाइन्छ भने ठाउँठाउँमा हावापानीअनुसारका लालीगुराँस तथा विभिन्न लेकाली फूलहरू अवलोकन गर्दै पदयात्रा गर्न सकिने जनाइएको छ । पदमार्गमा पर्ने गुरुङ गाउँहरूमा घरवास सञ्चालन सँगै घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समूहका नाच प्रचलनमा छन् । घरवासमा आएका पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरिएको सिउरुङ सामुदायिक होमस्टेका सञ्चालिका सन्तकाशी गुरुङले जानकारी दिनुुभयो ।