काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गर्नुभयो। सभापति थापाले यसअघि तीन पटक चुनाव जितिसक्नुभएको थियो । काठमाडौं–४ मा आफ्नो उम्मेदवारी घोषणा नहुँदासम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार खोज्न नसकेको उहाँको भनाइ छ । ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलले उम्मेदवार नै खोज्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘मैले काठमाडौँमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।’ उहाँले आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौँका मतदाता स्तब्ध बनेको दाबी गर्नुभयो। यस सन्दर्भमा उहाँले काठमाडौँका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्नुभयो। ‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।’ कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा पुग्नुभएको छ।
काठमाडौं: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो । टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो ।सुरुमा ब्याटिङ गरेको जिम्बाब्बेका लागि केलिस नोड्लोभुले अविजित ५२ रन बनाउनुभयो । जिम्बाबेलाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले खेलको पहिलो ओभरमा विकेट हात पर्नुभयो । कविताले बिम्बाबेकी ओपनर चिपो ट्रिपानोलाई बोल्ड गर्नुभएको हो । नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले एकएक विकेट लिनुभयो । १३० रनको लक्ष्य पछ्याएको नेपालका लागि उपकप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाउनुभयो । ५० बलको सामना गर्नुभएकी पूजाले चार चौका र दुई छक्काको मद्दतमा ५२ रन जोड्नुभयो । चार विकेट गुमाएको नेपालले १९ ओभर तीन बलमा १३३ रन बनाउँदै ६ विकेटको जित निकालेको हो । यो जितसँगै विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने नेपालको झिनो आशा बाँकी नै छ । घरेलु मैदानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटमा यसअघिका दुई नेपालले गुमाइसकेको छ । पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले हारेको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित हुन पुगेको थियो । अब नेपालले लिगको अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्दैछ । उक्त खेलको नतिजाले नेपालको सुपर सिक्स यात्रा तय गर्नेछ । चार वटा खेल खेलिसकेको जिम्बाब्बे सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैंक खातामार्फत गर्न र उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् । सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ । निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट गएराति घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबारको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित ग¥यो । पुलिसले पहिलो जित निकाल्दा आर्मीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो सेट २५–१६ ले जित निकालेको आर्मी त्यसपछिका सेटमा सम्हालिन नसक्दा दोस्रो हार बेहोर्नुप¥यो । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । पुलिसकी एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित भइन् । च्याम्पियनसिपमा आजको दोस्रो खेल महिलातर्फ शसस्त्र प्रहरी बल एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुनेछ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुने तालिका छ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
काठमाडौं: प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले प्रकृति र वन्यजन्तु संरक्षणमा प्राप्त सफलतालाई विश्व जगत्ले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएको छ । अहिले १२ वटा राष्ट्रिय निकुञ्ज, एक वटा वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा नेपाली सेनाका आठ वटा गण, सात वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयका गरी करिब आठ हजारभन्दा बढी फौज परिचालित हुँदै आएका छन् । यसअघि विसं २०१८ मा नेपाली सेनाबाट गैँडा गस्ती कार्य सुरु गरिएको थियो । त्यसो त प्रकृति संरक्षणमा नेपालको औपचारिक प्रयास सन् १८६९ मा श्री ५ सुरेन्द्रको समयमा वन सम्पदा संरक्षणका रूपमा सुरु भएको थियो । जुन कुरा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भेटिएको शिलालेखमा समेत उल्लेख छ । यस आधारमा नेपालको प्रकृति संरक्षणको प्रयास अमेरिकामा रहेको विश्वकै सबैभन्दा पुरानो यल्लोस्टोन नेशनल पार्क भन्दा तीन वर्ष अगाडि भएको देखिन्छ । सो पार्कको स्थापना सन् १८७२ मा भएको थियो । नेपालको संविधान २०७२ को धारा २६७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र विसं २०६७ असार १६ को मन्त्रिपरिषद्को बैठकबाट पारित भएको संशोधित ‘स्थायी कार्य सञ्चालन विधि–२०६७’ अनुसार नेपाली सेना प्रकृति संरक्षणमा खटिँदै आएको छ । त्यसक्रममा संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरू, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षामा सेना प्रत्यक्ष रूपमा संलग्न छ । नेपालको कूल क्षेत्रफलको करिब २३ प्रतिशत भू–भाग राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा शिकार आरक्षलगायत संरक्षण क्षेत्रले ओगटेको छ । चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपरी– नागार्जन, सगरपामाथा, बाँके, मकालु बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो निकुञ्ज तथा कोशीटप्पु बन्यजन्तु आरण र ढोरपाटन शिकार आरक्षसहितले हिमाल, पहाड र तराईका ३३ जिल्ला समेटिएको छ । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि समग्र संरक्षण क्षेत्रकै नमूना हुन् । नियमित गस्तीका साथै जिम्मेवारी क्षेत्रमा सुरक्षा पहुँच बढाउन तथा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न ‘अपरेसन संरक्षण’ सञ्चालन गरिएको छ । फलस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा हाल ७५२ वटा भएको तथ्याङ्क रहेको छ । जटिल भौगोलिक बनावट, ४२ डिग्री सेल्सियसदेखि माइनस २० डिग्री सेल्सियससम्मको मौसमी प्रतिकूलता एवं विषम् परिस्थितिका बाबजुत पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्दै आइरहेको छ । प्राकृतिक स्रोत, वनस्पति तथा वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय र भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासमेत नेपाली सेनाले गर्दैआएको छ । प्रकृति संरक्षणमा परिचालित हुँदै गर्दा नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन् । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ । संरक्षित क्षेत्रमा प्रविधिको प्रयोगलाई बढी प्रभावकारी र सुरक्षित बनाउन सरोकार निकायसँगको सहकार्यमा सेनाले वास्तविक समय ‘स्मार्ट’ गस्ती र ‘स्मार्ट आई’को आफ्नै मौलिक प्रविधिको विकास गरेको छ । जलवायु परिवर्तन, जैविक विविधता तथा पर्यापर्यटनको दृष्टिले नेपालका हिमाली क्षेत्र अतिनै संवेदनशील क्षेत्रमा रहेकाले यसको सौन्दर्यतालाई कायम राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सेनाकै नेतृत्वमा केही वर्षअघिदेखि सफा हिमाल अभियान सञ्चालन गरिएको छ । सेनासहितका सबै सरोकारवाला निकायसँगको समन्वयमा सन् २०१९ मा सुरु भएको अभियानबाट सेनाले सन् २०२४ सम्ममा हिमालबाट ११९ टनभन्दा बढी फोहोर सङ्कलन गरिसकेको छ । त्यसक्रममा १२ वटा शव र चार वटा अस्थिपञ्जर व्यवस्थापन कार्य गरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी पुरन घलेले बताउनुभयो । सेनाले यस अवधिमा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि, अमदब्लम, मनास्लु, कञ्चनजङ्गा, अन्नपूर्ण, बरुञ्चे र नुप्से हिमालमा उक्त अभियान सञ्चालन गरेको थियो । त्यसले जिम्मेवार पर्वतारोहणको विश्वव्यपापी सन्देश प्रवाह गर्न सफल भएको छ । प्रकृतिको अनुपम बरदानमध्ये नेपाललाई सगरमाथाको उचाइले झन समृद्ध बनाएको छ । प्रकृति तथा पर्यावरण संरक्षणमा राष्ट्रलाई योगदान गर्ने नीतिअनुरूप सफा हिमाल अभियान सेनाको प्राथमिकतामा परेको छ । उहाँका अनुसार प्रकृति संरक्षण कार्यमा परिचालित भएका फौजको अपरेशनल क्षमता अभिवृद्धि तथा देशका सम्पूर्ण संरक्षणकर्मी साझेदारको साझा शिक्षालयको रूपमा स्थापित गर्ने उद्देश्यले विसं २०७१ असार २८ गते चितवन राष्ट्रिय निकुञ्जको कसरामा श्री प्रकृति संरक्षण शिक्षालयको स्थापना गरिएको छ । उक्त शिक्षालयमा सेनाको संरक्षणमा खटिएको फौजको अतिरिक्त निजामतीतर्फका गेम स्काउट तालिमसमेत सञ्चालन गरिएको छ । हालसम्म सैनिकतर्फ दुई हजार ३०४ जना र गैह्र सैनिकतर्फ २३६ जनाले प्रकृति संरक्षणसम्बन्धी तालिम प्राप्त गरिसकेका छन् । गैरसैनिकतर्फ निकट भविष्यमा रेन्जर तहसम्मको तालिमसमेत सञ्चालन गर्ने सेनाको योजना छ । प्रकृति र पर्यावरण संरक्षणमा नेपाली सेनाकै पहल र क्रियाशीलताका कारण नेपाल सन् २०११, १३, १५, १६, १८ र १९ मा शून्य शिकारी वर्षको रूपमा मनाउन सफल भयो । त्यसबापत ‘अब्राहम संरक्षण पुरस्कार’बाट नेपाली सेनाका विभिन्न छ वटा युनिटहरू सम्मानित भए । बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भयो । सेनाको अगुवाइमा ‘वन र वन्यजन्तु सबैका लागि’, ‘प्रकृति र वन्यजन्तु भावी पुस्ताका लागि’ जस्ता नारा दिइएर संरक्षण अभियान तीव्र पारिएको छ । प्रकृति संरक्षणजस्तो पवित्र कार्यको आधा शताब्दी पार गर्दै गर्दा नेपाली सेनाले नेपाल सरकार तथा अन्य साझेदार निकाय एवं जनसमुदायसँग एकीकृत ढङ्गबाट कार्य गर्दै आएको छ । फलस्वरूप लोपोन्मुख वन्यजन्तु, वन पैदावार तथा हिमाली क्षेत्रको संरक्षणमार्फत विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुगेको छ । यसबाट नेपालको दिगो पर्यापर्यटनमा समेत टेवा पुग्न गएको छ । प्रकृति संरक्षण कार्यमा नेपाली सेनाको क्षमता र योगदान क्रमिक रूपमा विस्तार हुँदै गएको नेपाली सेनाले जनाएको छ । हरियाली प्रवद्र्धनअन्तर्गत ‘फलफूल रोप्न बढाऊ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरियो । त्यस क्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा र तेजपातजस्ता बोटबिरुवा रोपियो । वातावरणलाई सन्तुलित तुल्याउन सेनाले ‘एक सैनिक, एक फलफूल बिरुवा’ अभियानसमेत चलाउँदै आएको छ ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उहाँले बताउनुभयो । फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो । रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताउनुभयो ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमण्डले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–८ ले जित निकाल्दै सहज सुरुआत ग¥यो । पुरुषतर्फ आर्मीले माल्दिभ्स भलिबल एशोसियसनलाई सोझो सेटमा गर्न सफल रह्यो । आर्मीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा नतिजा निकाल्यो । आजको अन्तिम तथा तेस्रो खेलमा एपीएफले गण्डकी प्रदेशलाई स्तब्ध पा¥यो । पहिलो सेट २६–२४ र दोस्रो सेट २७–२५ ले रोमाञ्चक जित निकालेको एपीएफले तेस्रो सेट गण्डकीलाई सुम्पियो । तेस्रो सेट गण्डकीले २५–१९ ले आफ्नो पक्षमा पार्दा खेल चौथो सेटमा पुग्यो । चौथो सेटमा एपिएफले २५–२१ ले आफ्नो पक्षमा पार्दै सुखद सुरुआत ग¥यो । प्रतियोगिताअन्तर्गत भोलि शनिबार ४ खेल हुनेछन् । पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । उक्त खेल बिहान साढे ८ बजेबाट सुरु हुनेछ । भोलिको दोस्रो खेल महिलातर्फ एपिएफ र थाइल्याण्ड क्विन्सबिच हुने तालिका छ । महिलातर्फको दुई खेलपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएनबिच हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुनेछ । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपमा पुरुष र महिला दुवैतर्फ विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट हुने खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि. ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन । दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी ८ मिनेट ५५ सेकेण्ड १७ मिलिसेकेण्डमा पार गर्दै तृतीय स्थान पक्का गरे । दौडमा रेम्बो एकेडेमीका रोनाल थापाले शान्तवना स्थान हासिल गरे । महिला तर्फको पाँच किमि दौडको उपाधि सेन्ट मेरिजकी समृद्धि मार्सलले जितिन । मार्सलले निर्धारित दुरी ११ मिनेट ११ सेकेण्ड ९३ मिलिसेकेण्डमा पार गर्दै उपाधिको रक्षा गरिन । दौडमा निर्धारित दुरी १२ मिनेट १७ सेकेण्ड ३७ मिलिसेकेण्डमा पार गर्दै सेन्ट मेरिजकै प्राप्ति श्रेष्ठले दोश्रो स्थान हाँसिल गरिन । त्यस्तै थ्री एन्जलकी छात्रा ओमेगा शाहीले निर्धारित दुरी १२ मिनेट २४ सेकेण्ड ९९ मिलिसेकेण्डमा पार गर्दै दौडमा तेस्रो स्थान सुरक्षित गरिनभने सेन्ट मेरिजकी दीब्याले शान्तवना स्थान हाँसिल गरिन । महोत्सवको अन्तिम दिन शनिवार महानगर स्तरिय साइकल दौड, ह्वीलचियर दौड, ह्वीलचियर बास्केटवल प्रतियोगिता, आमा समुह तथा टोल बिकास संस्था स्तरिय महिला भलिवलको फाइनल खेल र पुरुष तर्फ टोल बिकास संस्था तथा क्लब बीचको फाइनल फुटवल प्रतियोगिता संगै समापन समारोह हुने महोत्सव आयोजक पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।

