काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद् भवन पुगेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् भवन प्रवेश गरेका हुन्। रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ुनिलो रिबनुको प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए। रास्वपा गत जेठ १३ गतेदेखि लगातार सदनमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै विरोध जनाउँदै आइरहेको छ। तर सत्तापक्षले भने यसलाई इन्कार गरिरहेका छन्।
चितवन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताउनुभएको हो । दाहालले भन्नुभयो, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उहाँको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उहाँले बताउनुभयो । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।” प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।” अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पार्नुभयो । संविधानको रक्षार्थ आफूहरूले दुई बुँदे सहमति गरी सत्ता पक्षकै जस्तो भूमिका निर्वाह गरेको उहाँले बताउनु भयो। काँग्रेस एमालेको दुई तिहाइ भए पनि संविधान रक्षार्थ माओवादी पार्टी पनि सत्तापक्ष जस्तै जिम्मेवार बन्नुपर्ने अवस्था रहेको उहाँको भनाई थियो ।
काठमाडौं: वर्षापछिको बाढीपहिरोका कारण आज विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएको छ । यसका कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा तीन ठाउँमा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारी, वडा नं ३ लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको बाढीले डाइभर्सन नै बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी, गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बर्लबामा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ भने जुम्लाको सिंजामा पहिरो खस्दा बन्द गराएको जुम्ला–मुगु सडक र धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को रवि–राँके–भेडेटार सडक एकतर्फी खुलाइएको छ । अवरुद्ध रहेका सडक खुलाउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाल्पा: पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी समेत रहेका बगनासकाली गाउँपालिका वडा नं। १ गाप्टुङ घर भई हाल बुटवल उप महानगरपालिका ११ मझुवा बस्ने बिनोद ढुङ्गाना र सनाखत हुन नसकेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका पूर्वखोला गाउँपालिका(५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडि अचानक सडकदेखि खस्दा चालकसहित तीन जना घाईते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ढुंगानालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । यस्तै पहिचान खुल्न नसकेका पुरुषलाई युनाइटेड मिसन अस्पताल तानसेनमा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको सूचना अधिकारी मल्ले बताए । दुर्घटनामा घाइते भएका सवारी चालक जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. ११ बस्ने ३० वर्षीय राजु खड्काको अवस्था गम्भीर रहेको हुँदा लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । अण्डा लोड गरेको बोलेरो जीप सडकदेखि तीन सय मिटर तल खसेको थियो । दुर्घटानाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मङ्गलबार देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् । म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भने प्रतिष्ठानको शाखा छैन । विश्व सङ्गीत दिवसको दिन असार ७ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको जिल्ला अडिसनबाट छानिएको प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढिरहेको उनले बताए । प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीयले निःशुल्क एउटा अडियो रेकर्ड गर्ने अवसर समेत पाउनेछन् । प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् । सेमिफाइनल र फाइनल प्रतिष्पर्धा असार ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ । प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्ने कार्यक्रम संयोजक सुवेदीले खुलाए । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले गर्ने कार्यक्रम आउन एक महिना बाँकी हुँदै गर्दा तयारी तीव्रताका साथ अगाडि बढाइरहेको कार्कीले बताए । यो वर्ष अधिवेशनको वर्ष समेत भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम समेत भएको भन्दै कार्कीले सबैको साथ सर्पोटमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने विश्वास गरेको सुनाए । प्रतियोगितामा मुख्य प्रायोजन पोखराको सिर्जनाचोकमा रहेको आरके हस्पिटालिटी ह्युमन रिर्सोस मेनेजमेन्ट प्रालिले गरेको छ ।
पोखरा: कप्तान सन्दिप क्षेत्रीको कप्तानी इनिङस्मा स्याङजा गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एक रनले शतकबाट चुकेका सन्दीपले उत्कृष्ट ब्याटिङ गर्दै ६६ बलमा ६ चौका र ८ छक्कासहित ९९ रन बनाए । टोलीलाई फाइनलमा पुर्याउन भूमिका खेलेका उनी म्यान अफ दि म्याच समेत बने । नरेश शाहीको बलमा चन्द्रकान्त पौडेलको हातबाट उनी क्याच आउट भए । पोखरामा जारी तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत समूह ‘ए’ बाट स्याङजा फाइनलमा प्रवेश गरेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको लिग चरणअन्तर्गत स्याङ्जाले पारीको सुरूवात गर्दै तनहुँ विरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १८८ रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो । तर तनहुँ १५९ रनमा समेटिंदा २९ रनले बिजयी हुँदै स्याङजा फाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको स्याङ्जाको सुरुवात भने राम्रो भएन । ओपनर करण पंगेनी खाता नखोली दोस्रो बलमै पेवेलियन फर्किए । त्यसपछि ईश्वर क्षेत्री (२९ रन, २१ बलमा) र कप्तान सन्दीप क्षेत्री बीच दोस्रो विकेटका लागि सशक्त साझेदारी गरे । मध्यक्रममा अंकित न्यौपानेले १८ बलमा ३७ रन बनाउँदै आक्रामक योगदान गरे । इनिङ्सको अन्त्यतिर प्रदीप पाण्डेले २ बलमा ८ रन बनाउँदै स्याङ्जाको स्कोरलाई १८८ सम्म पु¥याए । तनहुँका लागि बलिङमा चन्द्रकान्त पौडेलले ४ ओभरमा ३३ रन दिँदै २ विकेट लिए भने नरेश शाहीले पनि प्रभावशाली प्रदर्शन गर्दै २ विकेट लिए । कृष ऐयर र प्रदीप यादवले एक–एक विकेट लिए । यता जवाफी व्याटिङ गरेको तनहुँले १८९ रनको लक्ष्य पछ्याउँदै १९.३ ओभरमा सम्पूर्ण १० विकेट गुमाउँदै १५९ रन मात्रै बनाउन सक्यो । स्याङ्जाको उत्कृष्ट बलिङ प्रदर्शनका कारण तनहुँ २९ रनले पराजित हुन पुगेको हो । तनहुँका ओपनर दिपेश अधिकारीले आक्रमक सुरुआत गर्दै ८ बलमा १३ रन बनाए तर त्यसपछि विकेटको पतन रोक्न सकेन । क्रिश अयर शून्य रनमा आउट भए । समीर कंडेलले २९ बलमा ४० रनको योगदान दिए भने बंश क्षेत्रीले ६ चौका प्रहार गर्दै ४५ बलमा सर्वाधिक ५६ रन बनाए । व्याटरहरु मध्ये सौरभ कुशुवाहले ८ बलमा ११, नरेश शाहीले ११ बलमा ११ रन बनाए । तर अन्य खेलाडीहरू दोहोरो अंकमा पुग्न सकेनन् । स्याङ्जाको तर्फबाट अंकित न्यौपाने सबैभन्दा प्रभावशाली बलर बने । उनले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । करण पंगेनीले ३ विकेट हात पारे भने सन्दीप खत्री क्षेत्रीले १ विकेट लिए । तुलसीराम भण्डारीले ६.५० को इकोनोमी रेटमा ४ ओभर बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबावमा राखे । भोली (मंगलबार)बाट समुह ‘बी’ अन्तर्गतका खेलहरु सञ्चालन हुनेछन् । जस मध्ये पहिलो खेल कास्की र पर्वत तथा दोस्रो खेल नवलपुर र गोरखाका बीच हुनेछ । समुह बीको बिजेताले फाइनलमा स्याङजा संग प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ । एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोती ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘चुरे भावर र तराई मधेसमा करिब ६१ प्रतिशत मानिस बसोबास गर्ने भएकोले पानीको स्रोत नै चुरे क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘३७ जिल्लाका कूल भू–भागको झण्डै १३ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा चुरे क्षेत्र रहेको छ ।’ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ क्रियाशील राष्ट्रिय गौरवको आयोजना बताउँदै उहाँले नेपाल सरकारले २०७१ साल असार २ गते यस क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र दिगो व्यवस्थापन तथा यहाँ हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण र नियमन गर्ने उद्देश्यले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरेको बताउनुभयो । नेपालको अन्न भण्डार तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन चुरे क्षेत्र बचाउन अपरिहार्य रहेको भन्दै उहाँले चुरे दिवसका अवसरमा चुरेको संरक्षण र सम्बद्र्धनतर्फ अग्रसर रहन हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सरकारले चुरे संरक्षणको २० वर्षे गुरुयोजना समेत स्वीकृत गरी सोहि अनुरुप चुरे क्षेत्रदेखि तराई मधेशसम्मका सरोकारवाला सबै निकाय र समुदायको सहभागितामा संरक्षणका विभिन्न कामहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँको भनाई छ । नेपालको चुरे शृंखला हिमालय पर्वतमालाको दक्षिणमा अवस्थित पूर्वमा मेचीदेखि पश्चिम महाकाली नदीसम्म तन्किएको छ । जैविक विविधता र दुर्लभ बन्यजन्तुको वासस्थान रहेको चुरे क्षेत्र भौगर्भिकरूपमा भने कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त छ । अव्यवस्थित बसोबास, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण लगायतका कारण यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ ।
काठमाडौं: फेसबुकमा ‘अलबिदा’ सहित सन्देश लेखेर सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ बालाजुमा सकुशल भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार डा. श्रेष्ठ केहीबेरअघि एक रिसोर्टमा भेटिएका हुन् । डा. श्रेष्ठ आज बिहान फेसबुकमा लामो स्टाटससहित ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका थिए । डा. श्रेष्ठको अन्तिम लोकेशन चावहिल क्षेत्र देखिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । डा. श्रेष्ठले जिल्ला अस्पताल रामेछापमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर काम गर्दा स्पष्टीकरण सोधेको डाक्टरहरूलाई प्रयोग गरी झुटो आरोप लगाएर सरुवा गराएको लगायतका विभिन्न आरोप लगाएका छन् । यो पनि पढ्नुहोस ‘अलविदा’ लेख्दै डा.केशव श्रेष्ठ सम्पर्कबिहीन