काठमाडौं: पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो । उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ । तर, ग्यासको व्यावसायिक उत्पादनको विषयमा भने थप अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘चिनियाँ अनुसन्धान पक्षले दिएको जानकारीअनुसार अनुसन्धान गरिएको ठाउँमा एक अर्ब १२ घनमिटर क्षेत्रमा ग्यास रहेको हुनसक्ने देखिएको छ, तर, यो प्रारम्भिक अनुमान हो, व्यावसायिक उत्पादनको सम्भाव्यताको विषयमा थप अध्ययन गर्नुपर्छ’, उनले भने । दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ । प्रवक्ता नापितले थप अध्ययन वा उत्पादनको विषयमा अगाडि बढ्नको लागि चिनियाँ पक्षसँग जानकारी माग गर्दा अध्ययन गरेको ठाउँमा मिथेन ग्यासको सम्भावना रहेको जानकारी प्राप्त भएको बताए । तर, अब अध्ययन गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ । साथै, उनले चिनियाँ पक्षले नै अहिलेसम्मै ठूलो मेहनत र प्राविधिक तयारी गरेकाले थप अध्ययनको लागि उसैको सहयोग माग्न विभागले सरकारलाई सुझाव दिएको समेत उनले बताए । ‘प्रारम्भिक अनुमानले मिथेन ग्यास रहेको भन्ने देखाए पनि कति छ भन्ने कुरा भने अहिले अनुमान गर्न सकिँदैन, अब केही समय सम्भावित ठाउँमा कच्चा पदार्थ निकाले उत्पादन गरेर पनि हेर्नुपर्ने हुन्छ, तर, यसको लागि भने हामीसँग जनशक्ति र प्राविधिक क्षमता दुवै छैन’, उनले भने । आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि प्रवक्ता नापितको भनाइ छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ । ‘लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने रास्वपाको सचिवालय बैठकले निर्णय गरेको हो । बुधबार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न्न नौ बुँदे निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको वर्तमान अवस्था र ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको संसदीय गतिविधिबारे गहन छलफल भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो । बैठकले रास्वपाको केन्द्रीय विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको छ । नीति तथा विचार विभागको प्रमुखमा डा स्वर्णिम वाग्ले र उपप्रमुखको जिम्मेवारी सन्तोष परियारलाई तोकिएको छ । सचिवालयको बैठकले अभियान तथा प्रचारप्रसार विभागका प्रमुखमा मनिष झा, कृषि विभागका प्रमुखमा राजन गौतम र ऊर्जा तथा जलस्रोत विभागको संयोजकको जिम्मेवारी राम न्यौपानेलाई तोकेको छ । रास्वपाले विषम राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहलाई एउटै धागोमा बाँध्न पार्टीले नेतृत्व लिने भन्दै ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गरेको छ । पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन सफल बनाउन सातै प्रदेशमा महाधिवेशन केन्द्रित सङ्गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौं: समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुनुहुने जनाइएको छ । प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिनुभएको जानकारीअनुसार बुुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हाल काठमाडौँबाहिर रहनुभएकाले आजका लागि सारिएको हो ।
काठमाडौं: नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ । इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक ती दुई मुलुकको भ्रमण नगर्न अपिल गरेको हो । बुधबार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यात्रासम्बन्धी जानकारी अर्थात् ट्राभल एड्भाइजरी जारी गर्दै सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउँदै हाल इजरायल तथा इरानमा रहेका तथा नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकले अत्यावश्यकबाहेक भ्रमणमा ननिस्कन अनुरोध गरेको हो । विश्वका कतिपय मुलुकले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न अनुरोध गरेको औँल्याउँदै मन्त्रालयले कतिपयले त्यहाँ रहेका नागरिकलाई सुरक्षित रहन, समुदायमा सम्पर्कमा रहन, सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी सूचना, जानकारी तथा निर्देशन पालना गर्न र तोकिएको समय र स्थानबाहेक घरबाट बाहिर ननिस्कन अपिल गरेको प्रस्ट पारेको छ । सरकारले द्वन्द्वग्रस्त इजरायल र इरानमा रहनुभएका नेपाली नागरिकलाई आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बङ्कर तथा सेल्टरबाट बाहिर ननिस्कन भनेको छ । त्यस्तै इजरायल सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थानसम्बन्धी सूचना, मापदण्ड तथा जानकारी लिन भनेको छ । त्यहाँस्थित नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित रूपमा सम्पर्कमा रहँदै परराष्ट्र मन्त्रालय र राजदूतावासले जारी गरेका सूचना तथा यात्रासम्बन्धी जानकारी नियमित रूपमा हेर्न पनि भनिएको छ । आपत्कालीन सङ्कट आइपरेमा उद्धार तथा सहायतासँगै पहुँचमा रहन परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अबिबको वेबसाइटमा राखिएको विवरण भर्न सुझाइएको छ ।
तनहुँ: बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा खेल्दै गरेको अवस्थामा चितुवाले आक्रमण गरी बालकको ज्यान लिएपछि सिद्धथान सामुदायिक वनमा बाख्रासहितका पाँचवटा खोर राखेर पासो थाप्ने काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्जका भेटेरिनरी प्राविधिक दिनेश ढकाल, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरणराज रिजाल र वन्यजन्तु प्राविधिक थिरुलाल थारूको डार्टिङ टोलीले त्यस क्षेत्रमा निगरानी बढाइरहेको छ । डार्टिङ टोलीले चितुवा भेटेको अवस्थामा बेहोस बनाएर अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको डिभिजन वन कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘डार्टिङ टोलीले चितुवाको पदमार्ग र दिशा भेटिएकाले छिट्टै नियन्त्रणमा लिन सकिनेमा विश्वस्त रहेको जनाएका छन् ।’ बन्दीपुरमा चितुवा आक्रमणमा परी चालु आर्थिक वर्षको साउनदेखि यता ११ महिनाको अवधिमा तीन बालबालिकाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने बालक दुई र एक बालिका रहेका छन् । डिभिजन वन कार्यालयका अनुसार २०७४ फागुन ९ गतेदेखि आठ वर्षको अवधिमा १२ बालक र पाँच बालिकाले ज्यान गुमाइसकेका छन् । जिल्लाका भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाको आक्रमणले मानवीय क्षति भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षको अवधिमा २१ जना घाइते भएका छन् । घटना भएपछि स्थानीयवासीलाई साँझपख घरबाहिर ननिस्कन र सतर्कता अपनाएर बस्न तथा चितुवा देखिए तुरुन्त सम्पर्क गर्न स्थानीयलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले आग्रह गरेको छ । चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिनका लागि सोही ठाउँ आसपासमा पासो राखिएको अर्का वन अधिकृत नवीन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लैदुक्लै छाड्न नहुने विश्वकर्माको भनाइ छ । साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम अत्यधिक हुने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरिएको कार्यालय प्रमुख शरदकुमार अधिकारीले बताए ।
काठमाडौं: सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुँदैछ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुने सम्भावित कार्यसूची छ । वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्राल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल गर्ने कार्यसूची छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत उल्लिखित मन्त्रालयका विभिन्न शीर्षकमाथि प्राप्त खर्च कटौतीका प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै अवरोध कायम गर्दै आएका छन् । माग सम्बोधन नभएसम्म सदनमा अवरोध कायम गर्ने रास्वपाका नेताहरुले बताउँदै आउनुभएको छ । राष्ट्रियसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ पेस गर्नुहुनेछ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । बैठकले संविधानसभा सदस्य वीरेन्द्र जुहारचन र प्रतिनिधिसभाका पूर्वसदस्य ढुण्डिराज शास्त्रीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछ ।
नवलपुर: लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्गको नारायणगढ(बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार, केही दिनयताको अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ। यसैगरी, दुम्कीबास–दाउन्ने सडक खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोला जस्ता स्थानहरूमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या देखिएको छ, जसले गर्दा आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले सवारी साधनलाई वैकल्पिक मार्गबाट आवतजावत गर्न सूचित गरेको छ। पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनलाई नारायणगढबाट मुग्लिङ, पोखरा र स्याङ्जा हुँदै बुटवल जान भनिएको छ। त्यसैगरी, काठमाडौंबाट पश्चिम जाने सवारी साधनले पनि मुग्लिङ(पोखरा(स्याङ्जा हुँदै बुटवलको बाटो प्रयोग गर्नुपर्नेछ। पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधनले पनि सोही मार्ग, अर्थात् बुटवलबाट स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै यात्रा गर्नुपर्ने सूचनामा उल्लेख छ। साना सवारी साधनका लागि भने अवस्था हेरेर कालिगण्डकी करिडोर अन्तर्गतको गैंडाकोट(पिपलडाँडा सडकखण्ड प्रयोग गर्न सकिने विकल्प पनि दिइएको छ।
पोखरा: पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।
पोखरा: गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको भन्दै उनलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र कुमार चुडाल रहेको संवैधानिक इजलासले बुधबार मनाङेको पद गएको गरिएको निर्णय सुनाएको हो। यससँगै गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा रहेका मनाङेको पद तत्काल प्रभावबाट खारेज भएको छ।