काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” उहाँले भन्नुभयो, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।” जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा योगदान पुर्याएको उल्लेख गर्नुभएको छ । सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, आर्थिक रुपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ । सोनाम ल्होसार पर्व प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाताको भनाई छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङका साथै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले पनि आ–आफ्नै शैली र परम्परा अनुसार यस पर्व मनाउँदै आएको पाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अर्ब १९ करोड ९५ लाख चार हजार मूल्य बराबरको ३४ लाख ६१ हजार ३५० केजी अलँैची निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा चालू आवमा अलैँचीको निर्यात ५८ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले बताउनुभयो । गत आवको साउनदेखि पुससम्ममा रु चार अर्ब ५५ करोड ७० लाख ६९ हजार मूल्य बराबरको अलैँची पूर्वीनाकाबाट निर्यात भएको थियो । कुकुर र बिरालोको खानाको रुपमा तेस्रो मुलुक निर्यात हुँदै आएको छुर्पीको निर्यात चालु आवको अर्धवार्षिक अवधिमा गत आवको सोही अवधिको तुलनामा ६६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । चालु आवको छ महिनामा रु ७६ करोड पाँच लाख तीन हजार मूल्य बराबरको चार लाख ३२ हजार ४०५ केजी छुर्पी निर्यात भएको छ । गत आवको सोही अवधिमा रु ४५ करोड ७६ लाख ३४ हजार मूल्य बराबरको दुई लाख ६६ हजार २४३ केजी छुर्पी निर्यात भएको भन्सारले जनाएको छ । भेनियर सिट र मुसुरो दालको निर्यातसमेत उच्च रहेको छ । चिया र प्लाइउडको निर्यात प्रगति भने गत आवको तुलनामा ऋणात्मक रहेको छ । चालु आव २०८२/८३ को छ महिनामा रु. ५३ करोड चार लाख ९६ हजारको भेनियर सिट र रु नौ करोड १२ लाख ८७ हजार मूल्यको मुसुरो दाल निर्यात भएको छ । गत आवको तुलनामा मुसुरो दाल ४८१ प्रतिशतले र भेनियर सिट १०९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अर्धवार्षिक अवधिमा चियाको निर्यातमा २६ दशमलव ४ प्रतिशतले र प्लाइउडको निर्यातमा ४४ दशमलव ५ प्रतिशतले गिरावट आएको मेची भन्सारले जनाएको छ । चालु आवको छ महिनामा रु दुई अर्ब १७ करोड ८७ लाख पाँच हजार मूल्य बराबरको चिया र रु एक अर्ब नौ करोड ७४ लाख तीन हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ । गत आवको सोही अवधिमा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार मूल्य बराबरको चिया र रु एक अर्ब ९७ करोड ७६ लाख ४६ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको थियो । यसैगरी, चालु आव २०८२/८३ को पुससम्मको अर्धवार्षिक अवधिमा रु ३३ करोड ८९ लाख तीन हजार मूल्य बराबरको अम्लिसो, रु ५० करोड १७ लाख ३२ हजार मूल्य बराबरको अदुवा र सुठो, रु ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली, बन्दाकोभी र ब्रोकाउली र रु पाँच करोड ७४ लाख २७ हजार मूल्य बराबरको जडीबुटी निर्यात भएको भन्सारका सूचना अधिकारी हुमागाइँले जानकारी दिनुभयो ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् । यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता रामप्रसाद भट्टराईले बताए ।
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयाँको दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद गर्दा पाउने कुपनको माध्यामबाट तीनजना भाग्यशाली उपभोक्तालाई बेटरले विभिन्न उत्कृष्ट पुरस्कार प्रदान गर्ने भएको छ । जस अन्तर्गत बेटरले भाग्यशाली उपभोक्तालाई प्रथम पुरस्कारको रुपमा एक टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई १५ लिटरको भिक्ट्री वाटर डिस्पेन्सर, मोनाको गिजर, तेस्रो भाग्यशाली उपभोक्तालाई बेटर ब्रेथ ९० ग्लासहुड चिम्नी, चौथौ भाग्यशाली उपभोक्तलाई रेडियान्स भ्याकुम क्लिनर र कन्सोलेशन प्राइजमा एमिनेट एयर फायर प्राप्त गर्ने महोत्सवका प्रायोजक उपसमिति संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने छ । महोत्सवको अवधिभर मुक्तिनाथ दर्शनका लागि पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी संगको सहकार्यमा २५ सय रुपैयामा दुई तर्फी यात्राको ब्यवस्था मिलाइएको छ । महोत्सवको सचिवालयमा नाम टिपाएका दर्शकलाई दैनिक इभी मार्फत पोखरा मुक्तिनाथ र मुक्तिनाथ पोखरा दुईतफी यात्रा २५ सय रुपैयामा यात्रा गराउनुका साथै निशुल्क शाकाहारी खाना र खाजाको ब्यवस्था गरिएको महोत्सवका अतिरिक्त ब्यवस्थापन उपसमिति संयोजक गणेश खड्काले जानकारी दिए । महोत्सवको प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि.ले पोखरा महोत्सवमा प्रत्येक दिन ५ जना भाग्यशालीलाई केबलकारको फ्रि टिकट प्रदान गरिरहेको छभने महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले महोत्सवमा राखिएको स्टलबाट भर्ना भएका विद्यार्थीहरुलाई भाषा कक्षामा ५० प्रतिशत छुट र गिफ्ट ह्याम्पर संगै गोलाप्रथाको माध्यमबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर प्रदान गरिरहेको छ । ग्रुमिङ पार्टनरमा रहेको बबि ब्यूटी सलुन एण्ड ट्रेनिङ सेन्टरले महोत्सव अवधिभर महोत्सवको टिकट लिएर ब्यूटिसियन कोर्स तथा सर्भिस लिन आउने विद्यार्थी तथा ग्राहकहरुलाई ३० प्रतिशत छुट र फुड पार्टनरमा रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवमा कान्तिपुर डेण्टल हस्पिटलले दैनिक निःशुल्क दातको स्क्रीनिङ गरिरहेको छ । महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्ने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको एप पार्टनर वीपोखराको एप महोत्सव अवधिर ३० हजार डाउनलोडर पुगे ३० हजार मध्येबाट एकजनालाई आइफोन सेभेन्टिन प्रो प्रदान गरिने छ । महोत्सवमा आइतबारदेखि छेलो प्रतियोगिता शुरु भएको छभने गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता समेत आइतबार देखिनै शुरु भएको छ । आइतबार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञानगंगा स्कुलले आफ्नो प्रस्तुती राखेभने सोमबार सेन्ट मेरिज, अन्जुली बोर्डिङ स्कुल र विभूती शिक्षा सदनको प्रस्तुती रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए । महोत्सवको छैठौ दिन समीक्षा अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । अधिकारी संगै लोकदोहोरी कलाकारहरु राजन कार्की, चोलेन्द्र पौडेल, माया गुरुङ, शिव शर्मा, कमला गैह्रे, अनिल चापागाईं लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ कन्सर्टमा दुर्गेश थापाको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको सातौं दिन सोमबार लोकदोहोरी तर्फ अर्जुन सापकोटा, चोलेन्द्र पौडेल, रामजी पौडेल, सरीता सारु मगर, केशव घिमिरे, रमा राना, आयुष परियार, मिलन दुलाल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टमा लेकाली ब्याण्डको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको हो । कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने । ३५० रनको विशाल विजयी लक्ष्य पाएको लेखनाथलाई २७.४ ओभरमा अलआउट गर्दै कास्कीले आफ्नो विजयी सुरुवात गरेको हो । लेखनाथले ७६ रन मात्रै जोड्न सफल रह्यो । लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० तथा साहिल जैसवालले ९ रन बनाए । कास्कीका लागि विश्वास पराजुलीले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै रोहित चन्द र अर्जुन कुमालले १÷१ विकेट लिए । त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कास्कीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनायो । कास्कीका लागि सोहिल कुँवरले शतकीय पारी खेले । उनले ९५ बलमा ११० रन बनाए । सहबुद्धिन अन्सारीले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५० रन बनाए भने रोहित चन्दले पनि अर्धशतक पुरा गरे । उनले २८ बलमा ५० रन बनाए । लेखनाथका लागि सुवाष बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कृपेश पौडेलले २ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच कास्कीका सोहिल कुँवर घोषित भए । जिल्ला स्तरीय प्रतियोगिताबाट विजेता क्लबले प्रदेशस्तरीय एक दिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ । जारी प्रतियोगिता प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसीय प्रतियोगिताको जिल्ला छनोट समेत रहेको छ ।
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अडिटर एशोसिएसन नेपाल (अडान) का केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. डोलप्रसाद दाहाल, केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदी, उपमहासचिव शिवराज बराल र हेमराज पौडेल, सचिव लिला भट्टराई, केन्द्रीय सदस्यहरू पदमबन्धु पोखरेल, रुद्रनाथ पौडेल, भोला शर्मा तथा अडान गण्डकी प्रदेशका अध्यक्ष ज्ञानबहादुर कार्की विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा बोल्दै अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेले लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सीपीई तालिम अनिवार्य र अपरिहार्य रहेको बताउनु भयो। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले लेखा क्षेत्रमा भइरहेको परिवर्तन, दक्ष जनशक्ति विकास र व्यावसायिक आचरणमा सीपीई तालिमको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो। केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले लेखापरीक्षणमा प्रयोगमा आएका नयाँ प्रविधि, आर्थिक ऐनले गरेका नवीन व्यवस्था तथा अन्तर्राष्ट्रिय अभ्यासमा आएका नयाँ प्रविधिबारे जानकारी गराउनु तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। तालिममा रोशन सापकोटा र विवेक श्रेष्ठले प्रशिक्षकको रूपमा प्रशिक्षण दिनु भएको थियो। अडान कास्कीका सचिव कृष्णप्रसाद ढुंगानाले कास्की जिल्लालाई आर्थिक रूपमा सबल बनाउँदै अडिटरहरूबीच एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अग्रजहरूको सल्लाह, सहभागिता र सहयोगका कारण कार्यक्रम सफल भएको हो। तालिममा करिब १५० जनाको सहभागिता रहेको थियो। सोही अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई अडान गण्डकी प्रदेशद्वारा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भिजिट तथा साक्षात्कार कार्यक्रममा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल र सृष्टी श्रेष्ठ सहभागी भएका हुन् । कार्यक्रममा उपस्थित दर्शकले सिनेमाप्रति दिएको प्रतिक्रिया अत्यन्तै प्रशंसालायक देखियो । साक्षात्कारका क्रममा अधिकांश दर्शकले सिनेमाको कथावस्तु मन परेको प्रतिक्रिया दिएका थिए। समय सान्दर्भिक विषयवस्तु, पारिवारिक कथा र सामाजिक सन्देशले आफूहरूलाई छोएको दर्शकको भनाइ थियो। हल भिजिटपछि कलाकारहरूसँग फोटो खिच्दै प्रतिक्रिया दिँदा दर्शकहरू उत्साहित र खुशी देखिन्थे। यसै अवसरमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता सौगात मल्लले ‘भाइरल गोर्खे’ बाट राम्रो प्रतिक्रिया पाइरहेको बताए । “अहिले भाइरलको जमाना छ, विशेषगरी टिकटकमार्फत। यही समसामयिक विषयलाई आधार बनाएर यो सिनेमा निर्माण गरिएको हो,” उनले भने। सौगातले सिनेमाको छायांकन लमजुङ जिल्लाको भुजुङ गाउँमा गरिएको जानकारी दिँदै गोरखा क्षेत्रका विभिन्न सुन्दर भूगोललाई पनि सिनेमामा समेटिएको बताए। ग्रामीण परिवेश र आधुनिक प्रवृत्तिको संयोजनले दर्शकलाई फरक अनुभूति दिएको उनको विश्वास छ । अभिनेत्री सृष्टी श्रेष्ठ पनि ‘भाइरल गोर्खे’ बाट सन्तुष्ट देखिइन्। सिनेमामा आफ्नो अभिनयलाई दर्शकले रुचाएको प्रतिक्रिया पाउँदा खुशी लागेको बताउँदै उनले कथावस्तु समय सान्दर्भिक भएकाले हलमा दर्शकको आकर्षण क्रमशः अझै बढ्दै जाने विश्वास व्यक्त गरिन्। “कथा राम्रो लागेकै कारण म यो सिनेमामा अनुबन्धित भएकी हुँ,” उनले भनिन्। पोखराबाट आफू निकै आशावादी भएर फर्किएको उनको भनाइ थियो। निगम श्रेष्ठको कथा तथा निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ मा सौगात मल्ल, सृष्टी श्रेष्ठ, रिसी धमला, बुद्धी तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरूको अभिनय रहेको छ । समय सान्दर्भिक विषयवस्तु र सामाजिक सन्देश बोकेको यो सिनेमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमको दाबी छ । चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कास्की चलचित्र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

