पोखरा: कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रतियोगिता ‘कास्की आइडल’ को गायनतर्फको फस्ट रनरअप सुशान्त भण्डारी र सेकेन्ड रनरअप सबिना परियार भएका छन् । सन्तोष परियार र विशाल पाण्डेले गायनतर्फ सान्त्वना पुरस्कार प्राप्त गरे । यस्तै नृत्यतर्फ क्रिस्टिना जिसी फस्ट रनरअप, आकृषा पोखरेल सेकेन्ड रनरअप तथा लोजिना पटेल र ऋदम लिम्बू सान्त्वना भए । दुवै विधामा उपाधि विजेताले जनही रु. ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै फस्ट रनरअपले रु. ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सेकेन्ड रनरअपले रु. १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । विगत डेढ महिनादेखि सञ्चालित आइडलका विभिन्न चरण पार गरेर दुवै विधामा ५र५ जना फाइनलमा प्रवेश गरेका थिए । रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले ‘कास्की आइडल’ जस्तो कार्यक्रमले स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउँदै राष्ट्रिय स्तरका कलाकार जन्माउने आधार निर्माण गरेको बताए । कार्यक्रम संयोजकसमेत रहेका अध्यक्ष आदर्श पोखरेलले सामाजिक, साहित्यिक र सांस्कृतिक विकाससँगै युवा प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै प्रतिष्ठानहरूको उद्देश्य भएको बताए । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले यस्ता कार्यक्रमले सांस्कृतिक पहिचान संरक्षण, प्रतिभा विकास र यस क्षेत्रको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्याउने धारणा राखिन् । गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार प्रतिष्ठान गीतकारको हकहितका लागि मात्र नभई समग्र साङ्गीतिकरसांस्कृतिक क्षेत्रको उत्थानका लागि क्रियाशील संस्था भएको बताए । उनले आगामी दिनमा पनि नेपाली वाङ्मयका विविध क्षेत्रमा प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना रहेको सुनाए । गायक रामभक्त जोजिजू तथा गायिका ईतु जोजिजूको समेत प्रस्तुति रहेको कार्यक्रममा अनिल ढुऽगाना र सनम गुरुङलगायतका कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन झलक गुरुङ र ज्योति खड्काले गरेका थिए । कार्यक्रममा रूपा गाउँपालिका–२ का वडाअध्यक्ष राजन सुवेदी, एचएम एजुकेसन सर्भिसका निर्देशक दुर्गाप्रसाद गुरुङ, उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, मन्टेश्वरी एसोसिएसनकी अध्यक्ष डा. ऋतु पौडेल, गीतकार रेशम रचक, समाजसेवी सन्तोष तिमिल्सिना, मधु क्षेत्री, डा. निराजन कोइराला, मदन घिमिरेलगायतले शुभकामना दिएका थिए ।
काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार २०८२ पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम पुस २८ गते सोमबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा नाम फिर्ता लिन सकिने उहाँको भनाइ छ। प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिनका लागि निवेदन दिन सकिने जानकारी गराइएको आयोगले जनाएको छ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ । दोस्रो विशेष महाधिवेशन सचिवालयले विज्ञप्ति जारी गर्दै प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले नाम दर्ता गराएको जनाएको छ । कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबले स्थापना कालदेखिनै पोखरा महोत्सवको आयोजना गरि संकलित रकमबाट शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनको क्षेत्रमा खर्च गर्दै आएको क्लबका अध्यक्ष लोक बहादुर थापाले स्पष्ट पारे । उनका अनुसार १४ औं संस्करणको पोखरा महोत्सवबाट युनाईटेड क्लबको आफ्नै जग्गा रहेको पोखरा २७ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास नर्माणको लक्ष्य राखेको छ । उक्त योजनाको डिपिआर अनुरुप निर्माण कार्य अगाडी बढेको क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार सो जग्गामा २० कोठाको भवन निर्माण हुनेछ । यस वर्ष ३ कोठाको भवन निर्माण भइसकेको र १४ औँ पोखरा महोत्सवको आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक शत्रदेखि कार्यविधि निर्माण गरी छात्राबास सञ्चालनमा ल्याइनेछ । यससँगै पोखरा महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैँया सेती नदी संरक्षणका लागि छुट्याउने कार्यलाई निरन्तरतासमेत दिइने उनले बताए । रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर मुख्य प्रायोजक रहेको १४ औं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता, ठेलो प्रतियोगिता, टिकटक प्रतियोगिताको आयोजना गरिने वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार महोत्समा चर्चित लोकदोहोरी गायक गायिकाहरु रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, प्रीति आले, शान्तारानी परियार, अस्मिता अधिकारी, सम्झना लामिछाने मगर, प्रकाश दुतराज, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, प्रजापति पराजुली, जीवन दाहाल, घनश्याम रिजाल, शंकरबिरही गुरुङ लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछन् भने लाईभ कन्सर्टतर्फ लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, लेकाली, एवाईजी, रकहेड्स, जेम्सी, सविन राई, भिटेन र पर्पल संगै स्थानीय ब्याण्डहरुको प्रस्तुती रहने छ ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ तर, आइतबारसम्म कसैलेपनि बुझाएका छैनन् । त्यसोत बुझाउने समय अझै दुईहप्ता बाँकी छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी अवैध रुपमा राखिएका हातहतियार बुझाउन सूचित गरिएको हो । ‘आसन्न फागुन २१ गते सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि कास्की क्षेत्र भित्र अवैध रुपमा राखिएका हातहतियार माघ १५ भित्र बुझाउन सूचना जारी गरेका हौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी शिव लम्सालले भने । लम्सालका अनुसार प्रशासनको तथ्याङ्कमा १ हजार ४ सय बढी इजाजत प्राप्त हातहतियार छन् । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रशासन जलेसँगै सबै तथ्याङ् जलेर नष्ट भएको उनले बताए । ‘कास्कीमा इजाजत प्राप्त हातहतियार १ हजार ४ सय बढी नै छन् । यकिन तथ्याङ्क संघीय मन्त्रालयबाट माग्दै छौ । आएपछि कति इजाजत प्राप्त छन् भन्ने यकिन तथ्याङ्क दिन सकिन्छ, प्रवक्ता लम्सालले भने, ‘दुई÷दुई वर्षमा ति हातहतियारको नवीकरण हुन्छ ।’ प्रवक्ता लम्सालका अनुसार हतियारको प्रकृति हेरेर शुल्क निर्धारण हुन्छ । उनले न्यूनतम ३ हजार शुल्क लाग्ने बताउदै भने ‘हतियार कस्तो र कुन प्रकृतिको छ त्यो हेरेर नवीकरण शुल्क लाग्छ ।’ उनले गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपनि सबै सेवा सुचारु भएपनि हतियार नवीकरण गर्ने सेवा सुचारु हुन नसकेको बताए । ‘कार्यालयबाट सबै प्रकारका सेवाहरु पुनः सुरु भइसेको छ । यही हातहतियार नवीकरण गर्ने सेवा मात्रै सुचारु हुन सकेको छैन । सबै तथ्याङ्क जलेकाले माथी मन्त्रालयबाट डेटा मगाउँदै छौ, आउने क्रम पनि छ । त्यसपछि यो सेवा पनि यथाशिघ्र सुरु हुन्छ ।’ तोकिएको समयमा अवैध हातहतियार खरखजना नबुझाएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।
पोखर: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा शुभकामना सन्देशमार्फत् राष्ट्र एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘आज मनाइँदै गरेको ३०४ औं पृथ्वी जयन्तीले नेपाल एकीकरण अभियानको गौरवमय इतिहाससँगै मुलुक एकीकरणको योगदानकर्ताहरूलाई स्मरण गराएको छ ।’ सन्देशमा भनिएको छ – ‘पृथ्वीनारायण शाहकै अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो । त्यसपछिका विभिन्न कालखण्डमा वीर पुर्खाले पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिएकै कारण नेपालको अस्तित्व कायम रहन पुग्यो । पृथ्वीनारायणको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’ सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन राष्ट्रिय एकता दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गर्नुभएको छ । यो दिवसले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । यससँगै उपभोक्ताले एक तोला सुन किन्न दुई लाख ७० हजार ६०० रुपैयाँ खर्चिनुपर्नेछ । यसअघि शुक्रबार (पुस २५) छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गर्नुभयो । मुख्यसचिव सुमनराज अर्याल,नेपाल सरकारका उच्चपदस्थ अधिकारी,संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

